Newsletter
Email:
Home | दृष्टिकोण | भ्रष्टाचारमा कीर्तिमानी छलाङ

भ्रष्टाचारमा कीर्तिमानी छलाङ

Font size: Decrease font Enlarge font
image

नेतृत्वले देशलाई उँभो लगाउला भन्ने आश मर्दै गएको वेला भ्रष्टाचारमा भने कीर्तिमान कायम गरेको समाचार आयो । ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनलाई उल्लेख गर्दै नयाँ पत्रिकाले नेपालले भ्रष्टाचारमा छलाङ पारेको समाचार प्रकाशित गरेको छ । राज्य कमजोर भएको मौका छोपेर भ्रष्ट, बेइमान, धूर्त, चलाक र छट्टुहरूको दबदबा बढ्दै गएको छ भने सरकार आफैँ भ्रष्टाचार नियन्त्रण गर्न अनिच्छुक देखिएको छ । भ्रष्टाचारको छानबिन गरी कारबाही चलाउन भनी स्थापना गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग -अदुअआ)लाई करिब-करिब नेतृत्वविहीन अवस्थामा राखिएको छ । र, स्वच्छ प्रशासन र सुशासन प्रवर्द्धनका लागि भनेर गठन गरिएको राष्ट्रिय सतर्कता केन्द्रलाई अँध्यारो कुनामा मिल्काइएको छ ।
पछि जति ठूला कुरा गरे पनि पञ्चायती व्यवस्थाविरुद्ध जनताको घोर वितृष्णाको कारण राजनीतिक संकीर्णता र राज्यकोषमाथि मुठ्ठीभर व्यक्तिको हालिमुहाली थियो । ०४६ को परिवर्तनले राजनीतिक संकीर्णताबाट त मुलुकलाई मुक्त गर्‍यो, तर राज्यकोषमाथि हालिमुहाली भने मुठ्ठीभर व्यक्तिबाट पार्टीका कार्यकर्तामा फैलियो । भ्रष्टाचारीलाई कारबाही गर्न होइन, संरक्षण गर्न सरकार नांगिएरै अगाडि आयो । सर्वप्रथम त मन्त्री र सांसदहरूले जति भ्रष्टाचार गरे पनि अख्तियारले छुनै नसक्ने कानुन निर्माण गरियो । सर्वोच्चको आदेशले कानुन फेरिए पनि गोविन्दराज जोशी, खुमबहादुर खड्काजस्ता खुंखार भ्रष्टलाई चोख्याउन त्यस्तै व्यक्ति खोजीखोजी विशेष अदालतमा न्यायाधीश नियुक्त गरियो । गिरिजाप्रसाद कोइरालाले त अदुअआलाई औँलो ठड्याएर 'हामीले भ्रष्टाचार गरेकोमा तैँले प्रश्न उठाउने ? के गर्न सक्छस् गर !' भनेर च्यालेन्ज नै गर्नुभयो । लाउडाकाण्ड, चाइना साउथवेस्ट एयरलाइन्स काण्डजस्ता अनगिन्ती काण्डको थुप्रोलाई नियाल्दा बहुदलकालमा हामीले भ्रष्टाचारचाहिँ कुस्त गर्‍यौँ र भ्रष्टाचारवाहेक केही गरेनाँै भन्ने निष्कर्षमा पुगिन्छ । लोकतन्त्र आएपछि बनेका सरकारद्वारा अख्तियारले डामेका भ्रष्टलाई नै छानीछानी जिम्मेवारी दिइएका तथा सफा र इमानदारलाई पाखा पारिएका दृश्य देख्नुपरेपछि 'जुन जोगी आए पनि कानै चिरेको' उखान सबैले सम्झे ।
कुनै पनि व्यक्तिको बारेमा जनताले ठोकुवा गर्न थाले, 'यसको कथनी र करनीमा अन्तरविरोध छ, त्यसैले यो नेता होला, नेता हो भने पक्कै भ्रष्ट होला !'
नेपालमा भ्रष्टाचार यति व्यापक तवरमा फैलिसक्यो कि यो राज्ययन्त्रमा मात्र सीमित रहेन । पार्टीका आय-व्यय पारदर्शी छैन, आइएनजिओ र एनजिओलाई कसैले अनुगमन गर्दैन, त्यसैले त्यहाँभित्रका घोटाला तेस्रो व्यक्तिले भनकसम्म पाउँदैन । हुँदाहुँदा धार्मिक कार्यमा समेत घोटाला हुन थाल्यो । विश्व हिन्दु युवा संघ र नेपाल अहिंसावादी संघले बुटवलमा गरेको महायज्ञमा जग्गाधनीसँग अनुमति नै नलिई जग्गादान भएको घोषणा गरियो । अहिले नेपालमा भ्रष्टाचारको व्यापकता जुन ढंगले बढ्दै गइरहेछ, त्यसले येल्तसिनको पालाको रुसलाई सम्झाउँछ । त्यसवेला एउटा अन्तर्राष्ट्रिय पत्रिकामा 'येल्तसिनको राजमा अपराधीहरू बिएमडब्ल्यु गाडीमा हुइँकिन्छन्, तर पुलिस थोत्रो बसको सहाराले पिछा गरिरहेको हुन्छ' भन्ने टिप्पणी पढेको थिएँ ।
कम्युनिस्ट बेमाख गर्न र चीनलाई अप्ठ्यारोमा पार्न साम्राज्यवादीले प्रभावशाली नेता र बुद्धिजीवीको जुन हिसाबले खल्ती गरम गरिरहेका हुन्छन्, त्यसको चर्चा कहीँ कतै हुँदैन । नेपालमा बहुदल आउनासाथ जनतामा अलि राम्रो छवि भएका कम्युनिस्ट नेतालाई विदेश भ्रमण र आइएनजिओको चास्नीमा डुबाए । ती डुब्न पनि कतिसम्म डुबे भने त्यसपछि आफू, परिवार र गुटबाहेक देश र जनतालाई पूरै भुले । इन्डोनेसियामा स्वतन्त्रता सेनानीहरूलाई भोग-विलासमा लिप्त गराएर भ्रष्टाचारतर्फ प्रेरित गरेको इतिहाससँग नेपालको तुलना गर्दा तिनमा सामान्य मात्र फरक पर्छ । नेपालको हकमा थप भयावह के भइरहेछ भने यहाँ व्यक्ति मात्र सिद्धिएका छैनन्, महान् अभियानलाई नै क्यान्सरग्रस्त पारिएको छ । कम्युनिस्ट पार्टीलाई जातीय र साम्प्रदायिक राजनीति गर्न लगाएर वर्गसंघर्षलाई निस्तेज पारिएको छ । वर्गीय चेत र वर्गसंघर्षलाई ध्वस्त पार्न जातीय र साम्प्रदायिक राजनीतिजति फलदायी अस्त्र अरू हुनै सक्दैन भन्ने ज्ञान साम्राज्यवादीसँग छ । साम्राज्यवादीका त्यही ब्रह्मास्त्र बोकेर नेपालका कम्युनिस्ट कुदिरहेछन् । यसको अर्थ साम्राज्यवादीका यत्रा योजना त्यत्तिकै सफल भएका होइनन् ।
उन्नत संस्कृति, सभ्यता र समतामूलक समाजको नारा बोकेर आएको एक्काइसाँै शताब्दीको विडम्बनापूर्ण भ्रमजाल झन् चर्को असमानता बढ्दै गएपछि प्रस्ट भयो । पुँजीवादी व्यवस्थ्ाामा कम्तीमा पनि सामन्तीकालमा भन्दा असमानता घट्छ भन्ने विश्वासमा पहिरो गयो । कम्युनिस्ट भन्नेहरूले भ्रष्टाचार र भोगविलासमा सामन्तलाई पनि माथ गर्न थालेपछि बचेखुचेको आशा पनि च्याप्पै रित्तियो । राज्यतर्फ फर्केर हेर्दा नियमित अभ्यस्त भइसकेको दृश्य के छ भने प्रत्येक नयाँ सरकारले अघिल्लाले व्यापक भ्रष्टाचार गर्‍यो भन्ने विरोधको हल्ला गर्दै सत्तारुढ हुन्छ र झन् बढी भ्रष्टाचार गर्छ । पार्टी राजनीतिक सिद्धान्त, सरकारका स्वरूप र राष्ट्रिय सीमासमेत नाघेर भ्रष्टाचार सर्वव्यापी भइसक्यो भनेर अब ठोकुवा गरे हुन्छ ।
भ्रष्टाचार सर्वव्यापी भए पनि यसले ल्याउने भयंकर दुस्परिणाम के हुन्छ भने, यसले सर्वप्रथम ती व्यक्ति र समूहलाई किनारा लगाउँछ जसले भ्रष्टाचार गर्ने अवसर पाउँदैनन्, जसले अवसर पाउँदा पनि नैतिकतावश भ्रष्टाचार गर्देन । राष्ट्रिय आयको वितरण अन्यायपूर्ण र पक्षपातपूर्ण हुन थाल्छ । छट्टु, धूर्त र बेइमानहरू मालामाल हुन थाल्छन् । अनि इमानदारहरू खुम्चेर उपेक्षित बस्न बाध्य हुन्छन् । राष्ट्रिय स्रोत र साधन धूर्तहरूको कब्जामा पुग्छ । अपराधी र गुण्डा पोषित हुन्छन् । जघण्यभन्दा जघण्य अपराध सामान्य हुन्छ । समानान्तर सत्ता चल्न थाल्छ । बबन सिंह र करिमा बेगमहरूले राज्यसत्तालाई च्यालेन्ज गर्न थाल्छन् । राज्य निरीह हुन्छ ।
हुन त वर्तमान संरचना र सरकारले भ्रष्टाचार नियन्त्रणतर्फ एक इन्च पनि कदम चाल्ला भनेर नचिताए हुन्छ, तैपनि नगर्दा राज्यकै अस्तित्व संकटमा पर्ने स्थिति टड्कारै देखिन्छ । भ्रष्टाचारी र अपराधीकै एकछत्र राज चल्ने हो भने राज्यको आवश्यकता किन भन्ने अजंगको प्रश्न खडा हुनेछ । भ्रष्टाचार नियन्त्रण गर्न सरकारले खासै केही गर्नुपर्दैन । शीर्षस्थ र जिम्मेवार पदाधिकारी सबैले काम-कारबाही र सम्पत्ति पारदर्शी गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने निकायलाई सशक्त गर्ने र दबाबमुक्त राख्ने तथा सफा, इमानदार र सदाचारी व्यक्ति खोजेर सम्मान गर्ने ः यति तीनवटा मात्र काम गरियो भने भ्रष्टाचार नियन्त्रणतर्फ गतिलो पाइला चल्नेछ ।

Subscribe to comments feed Comments (5 posted):

Ram sapkota on 22/11/2009 07:11:30
avatar
jun jogi aayepani kanai chireko vanni kathan sabit gare maobadi vanauda. Desh nilne vaye girija makune prachanda.Dekhiyo ganatanta pani.yo vanda ta gyane ko sashan uttam thiyo.
Thumbs Up Thumbs Down
0
madhu & geeta on 22/11/2009 05:01:46
avatar
malai ta ekdum maan paryo yo lekh ..bcoz of the corrupt leader our peace country pushes toward the homewar.
Thumbs Up Thumbs Down
0
nepali ko chhora on 21/11/2009 22:56:29
avatar
poudyal sir is right. he blamed all bastard leaders. i agree what he say. the article is obsoutley right. go ahead sir
Thumbs Up Thumbs Down
0
ADITYA P PYAKURYAL on 21/11/2009 22:08:14
avatar
I appriciate really your article.
Aditya
Thumbs Up Thumbs Down
0
Pramod on 21/11/2009 20:17:38
avatar
Nothing will happen in this country. Every state man has looted country. All including Rana, Shah, Girija, Makune, Shere, Prachande resume are extreemly corrupt. So nothing will happen. I am hopeless for the country. Young leader like Gagan doesn't feel to submmit his property valuation like Girija. Baburam had tried his best but he is also sorrounded by all LOVI PAPI group. So no one can do. I don't know we will get leader like Mahatma Gandhi who change each and every Nepalese mind to think for country not for own family. May be when India vertually swalloed our country then every one will knows about value of country. Then will fight againt the leader and India. This is copy paste of India and badly influenced by India. Otherwise who stopped Makune to control corruption, who stopped Girija, Shere, Prachande, Gyane to stop corruption??
Ouuffff!!! This is extreemly sad part of country we have no good leader to think for country.

Jay ho
Thumbs Up Thumbs Down
0
total: 5 | displaying: 1 - 5

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?