बदलियो रणनीति
काठमाडौं, १० पुस : जटिल बन्दै गइरहेको राजनीतिक अवस्था र सहमतिका लागि भइरहेका निष्फल प्रयासबीच एकीकृत माओवादीले संघर्षको स्वरूप बदलेर दुई कदम पछाडि हटेको संकेत दिएको छ । तेस्रो चरणसम्म माओवादी आन्दोलन हेरेका राजनीतिक विश्लेषकले ठानेका थिए- 'माओवादीको चौथो चरणको आन्दोलन अझ कठोर हुनेछ, देशमा राजनीतिक जटिलता बढ्नेछ, मुठभेडको खतरा निम्तनेछ र नयाँ संविधान समयमै लेखिने छैन ।' तर, माओवादीको बदलिएको रणनीतिले गर्दा कतिपय अनुमान फिका साबित भए । तेस्रो चरणको आन्दोलनको तीनदिने आमहडताल समापन गर्न नयाँबानेश्वरमा आयोजित विरोधसभामा प्रचण्डले कुनै आक्रामक योजनाविना चौथो चरणको आन्दोलनको स्वरूपबारे बोले । नयाँबानेश्वर, जहाँ आमहडतालको पहिलो दिन युद्धमैदानजस्तै भयो, त्यो देख्दा लाग्थ्यो- अबको आन्दोलन अझ कठोर प्रकृतिको हुनेछ । तर, पृथक बनेर आयो माओवादीको चौथो चरणको आन्दोलन । माओवादीले आफ्नो कठोर आन्दोलनले नयाँ संविधान बनाउन नदिने र संविधानसभा भंग गर्नेलाई सहयोग पुग्ने अड्कल काट्यो र दुई कदम पछाडि हट्ने रणनीति लियो । यसको अन्तर्वस्तु नयाँ समीकरणका लागि आधार बनाउने गोप्य योजनामा थियो वा थिएन ? यो भने भन्न सकिँदैन । सदन अवरुद्ध गर्दै आएको माओवादीलाई नयाँ सरकार बनाउन सदनमा बहुमत पुर्याउन भन्दै सत्तारुढ दलले चुनौती दिँदै आएका थिए । तेस्रो चरणको आन्दोलनसम्म सरकारविरुद्ध निकै आक्रामक बनेको एकीकृत माओवादी चौथो चरणको आन्दोलनमा आउँदा भने अलि शान्त प्रकृतिका आन्दोलनमा उत्रेको छ । शुक्रबारदेखि माओवादीको चौथो चरणको आन्दोलन सुरु भएको छ, जुन भौतिक रूपले र तयारीका हिसाबले विगतका आन्दोलनभन्दा निकै कमजोर प्रतीत हुन्छ । तर, चौथो चरणको आन्दोलनले ठूलो 'दलाल र वैदेशिक शक्ति' को तीव्र भन्डाफोर हुने र पाँचाँै चरणको आन्दोलन थप आक्रामक हुने माओवादीको दाबी छ । तेस्रो चरणको आन्दोलनबाट समेत सत्तारुढ दल र सरकारलाई दबाब दिन नसकेको माओवादीको चौथो चरणको आन्दोलनले निणर्ायक दबाब दिन्छ भन्ने आधारहरू छैनन् । निणर्ायक दबाब दिन नसक्ने र विगतको भन्दा कमजोर आन्दोलन आउनु पनि माओवादी पछाडि हटेको प्रस्ट संकेत हो । कार्यक्रमको विस्तृत खाका केही दिनमा दिइने भन्दै माओवादी अध्यक्ष प्रचण्डले शुक्रबार नै चौथो चरणको आन्दोलनको स्वरूप र आन्दोलनको निसाना कहाँ लगाउने भन्ने स्पष्ट पारेका छन् । अबको आन्दोलन माओवादीकै भाषामा 'सत्तारुढ दल र सरकारलाई आफ्नो प्रभावमा राख्ने भारतविरुद्ध केन्दि्रत हुनेछ ।' यसको अर्थ, एकैपटक नेपालभित्रका पार्टी र भारतसँग पौँठेजोरी खेल्नु सजिलो छैन माओवादीलाई । माओवादीले चौथो चरणको आन्दोलन राष्ट्रिय स्वाधीनताको विषयलाई केन्द्रमा राखेर अघि बढाउनुपर्नेमा खास कारण रहेको दाबी गरेको छ । पछिल्लो चरणमा नागरिक सर्वोच्चताको विषय राष्ट्रिय स्वाधीनतासँग जोडिएकाले यो आन्दोलनलाई आन्तरिक राष्ट्रिय एकता र बाहिरी राष्ट्रियताको सुरक्षाका रूपमा अघि बढाउन लागिएको माओवादीको ठम्याइ छ । राष्ट्रिय स्वाधीनतालाई केन्द्रबिन्दुमा राख्दै 'सम्पूर्ण देशभक्त र गणतन्त्रवादी शक्तिहरू एकजुट होऔँ, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ' भन्ने नाराका साथ आफ्नो चौथो चरणको संघर्षको कार्यक्रम चल्ने माओवादीले जनाएको छ । देशभर हुने प्रचारात्मक कार्यक्रममा वैदेशिक हस्तक्षेपको विरोध गर्दै राष्ट्रिय स्वाधीनताको आन्दोलनको महत्त्व स्पष्ट पार्ने, बुकलेट, पर्चा, पोस्टरसहितका सामग्रीको प्रचार-प्रसार गर्ने, अन्तर्त्रिmया, देशभर जनसमुदायको सहभागितामा सांस्कृतिक टोलीसहित अभियानात्मक कार्यक्रम, सीमा अतिक्रमण भएका मुख्य स्थलहरूमा पार्टीका वरिष्ठ नेताहरूको भ्रमणसहितको विशेष कार्यक्रम गरिने माओवादीले जनाएको छ । त्यसैगरी, निकटका स्वायत्त गणराज्यहरूको राष्ट्रिय स्वाधीनताका पक्षमा एकता जनसभा गर्ने, सन् १९५० सहित सम्पूर्ण असमान सन्धि-सम्झौताहरूको विरोध, राष्ट्रघाती, दलाल, अपराधी एवं भ्रष्ट तत्त्वको भन्डाफोर कार्यक्रम सञ्चालन गरिने माओवादीले जानकारी दिएको छ । वैदेशिक हस्तक्षेपविरुद्ध हुने आन्दोलनमा भारतलाई निसाना बनाउने माओवादीले संकेत दिएको छ । आफ्नो सरकार गिराउन र माधव नेपालको नेतृत्वमा सरकार बनाउने खेलमा भारतको भूमिका रहेको माओवादीको विश्लेषण छ । त्यसै कारण माओवादीले यो सरकारलाई 'भारतबाट चलेको कठपुतली सरकार' भन्दै आएको छ । माओवादी नेता किरण यसले नेपालमा एकपटक राष्ट्रिय युद्धको आवश्यकता निम्त्याएको देख्छन् । 'यस्तो नांगो हस्तक्षेप छ, अब हामीले राष्ट्रिय युद्ध लड्न पनि तयार हुनुपर्छ,' उनले केही दिनअगाडि एक कार्यक्रममा भनेका थिए । 'नागरिक सर्वोच्चता कायम गर्दै शान्तिप्रक्रिया र नयाँ संविधान निर्माणको ऐतिहासिक कार्यभारलाई सफल पार्न पनि वैदेशिक हस्तक्षेप, मुख्यतः भारतीय विस्तारवादी हस्तक्षेप प्रमुख बाधकका रूपमा देखापरेकाले अबको आन्दोलनको मुख्य प्राथमिकता वैदेशिक हस्तक्षेपको विरोध र राष्ट्रिय स्वाधीनताको रक्षाको विषय रहने कुरा पनि हामीले स्पष्ट पारिसकेका छौँ,' माओवादी अध्यक्ष प्रचण्डले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । भारतीय हस्तक्षेपका विषयमा सरकारले अविलम्ब आफ्नो धारणा सार्वजनिक नगरे सदनमा अझ सशक्त आन्दोलन गर्ने माओवादी योजना छ । माओवादी अध्यक्ष प्रचण्डले शुक्रबार एक रेडियोलाई दिएको अन्तर्वार्तामा 'माओवादीले सदन खोलिदियो भन्दै सरकारले माग पूरा गराउन बेवास्ता गरे त्यो गम्भीर भूल हुने' चेतावनी दिएर आफ्नो भावी योजनाबारे केही प्रस्ट्याएका छन् । राष्ट्रपतिको असंवैधानिक कदमको खारेजी र नागरिक सर्वोच्चताको स्थापनालाई तात्कालिक मुख्य विषय बनाएर राष्ट्रिय स्वाधीनता, शान्ति, नयाँ संविधान र राष्ट्रिय संयुक्त सरकारका लागि समेत व्यापक जनदबाब सृष्टि गर्ने उद्देश्यसहित संघर्षको कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको विज्ञप्तिमा जनाएको छ । शाहीकालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहविरुद्ध 'ढाडमा टेकेर टाउको हान्ने' फौजी रणनीति लिएको माओवादीले अहिले राष्ट्रियताको मुद्दामा टेकेर संसद्वादी दल र भारतमाथि आक्रमण गर्ने मुडमा गएको छ । तर, माओवादीले सडक संघर्षको मात्र होइन, सदन संघर्षको स्वरूपलाई पनि बदलेको छ । युद्धकालमा आफ्ना नेता गिरफ्तार हुँदा भारतविरुद्ध 'सुरुङ-युद्ध' को उद्घोष गरेको माओवादीले अहिले नयाँ संविधान बन्न नदिने, संविधानसभा भंग गराउने र देशलाई थप रक्तपात मच्चाउने षड्यन्त्रमा लागेको भन्दै भारतविरुद्धको आन्दोलन सशक्त बनाउन लागेको बताएको छ । सात महिनादेखि अवरुद्ध संविधानसभा व्यवस्थापिका सदन माओवादीले एकतर्फी रूपमा खोल्ने निर्णय लियो । दुई कदम पछाडिमध्येको यो पनि एउटा कदम हो भन्दा फरक नपर्ला । सात महिनादेखि नाराबाजी गर्दै अवरुद्ध पार्दै आएको संविधानसभा व्यवस्थापिका संसद् एकीकृत माओवादीले खोल्ने एकपक्षीय निर्णय लिएको छ । माओवादी संविधानसभा दलको बुधबार बसेको बैठकले एकपक्षीय रूपमा सदन सुचारु गर्ने निर्णय लिएको हो । १० पुसदेखि एक महिना चलाउने चौथो चरणको आन्दोलनअन्तर्गत राष्ट्रिय जागरण र विदेशी दलालका विरद्ध भन्डाफोर कार्यक्रम रहनेछन् । 'एकपक्षीय रूपमा सदन खोल्ने निर्णय लिएका छौँ,' संविधानसभा दलको बैठकपछि दलका उपनेता नारायणकाजी श्रेष्ठ 'प्रकाश' ले सञ्चारकर्मीसँग भनेका थिए, 'राष्ट्रपतिको असंवैधानिक कदमका विरुद्धको आन्दोलन जारी रहन्छ र यसलाई नयाँ ढंगले उठाइनेछ ।' माओवादीले भने सदन खोल्ने आफ्नो निर्णयले सरकार र सत्तारुढ दलको अधिनायकवादलाई उजागर गरेको निष्कर्ष निकाल्दै उनीहरूको जनतामा गएर भन्डाफोर गर्ने योजना बनाएको छ । 'यो अलोकतान्त्रिक सरकारले प्रतिपक्षका कुरा सुनेन र आफ्नो नालायकीपन देखायो, भिन्नमतको सम्बोधन नगर्ने र प्रतिपक्षका प्रस्ताव नसुनेर यो सरकारले अधिनायकवादलाई उजागर गरेको छ,' माओवादी प्रवक्ता दीनानाथ शर्माले नयाँ पत्रिकासँग भने, 'अब हामी जनतामा गएर यो अधिनायकवादी र फासीवादी चरित्रको भन्डाफोर गर्छौँ ।' माओवादी ४ पुसमा बसेको स्थायी समिति बैठकले सदनमा जारी संर्घषको रूपलाई शान्ति र संविधान निर्माणमा केन्दि्रत गर्ने गरी बदल्ने निर्णय लिएको थियो । यसैका आधारमा माओवादीले अवरुद्ध पार्दै आएको सदनलाई खोल्ने निर्णय गरेको थियो । यसअघि माओवादीले कूटनीतिक नियोगका अधिकारीहरूको आग्रहमा दोस्रो चरणको आन्दोलनअन्तगर्तको हवाई नाकाबन्दी फिर्ता लिएको थियो । संविधानसभा विघटन गराउने षड्यन्त्र गरिरहेकालाई सहयोग पुग्ने आँकलन गर्दै माओवादीले सदन खोल्ने र सदनमै आफ्ना कुरा राख्ने निर्णयमा पुगेको दाबी गरेको छ । २३ साउनयता लगातार सदन अवरुद्ध पार्दै आएको माओवादीले ८ मंसिरदेखि १० गतेसम्म तीन दिनका लागि बजेट पारित गराउन सदन खुल्न दिएको थियो । सदन खोलेकै दोस्रो दिन प्रचण्डले निकै आक्रामक ढंगमा सत्तारुढ दल र भारतप्रति आक्रोश पोखे । माओवादी लडाकुको नेपाली सेनामा समायोजन गर्ने सम्बन्धमा भारतीय स्थलसेनाप्रमुख दीपक कपुरले दिएको अभिव्यक्तिलाई नांगो हस्तक्षेप भएको बताउँदै माओवादी अध्यक्ष प्रचण्डले संसद्मै यसको आलोचना गरे । 'शान्तिप्रक्रिया विरुद्ध खुलेआम हस्तक्षेप भएको छ । माओवादीविरुद्ध सेनालाई उक्साउने काम भएको छ, सरकारले यससम्बन्धमा अविलम्ब आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ,' लामो समयपछि बिहीबार सुरु भएको व्यवस्थापिका संसद्को बैठकमा माओवादी अध्यक्ष प्रचण्डले भनेका थिए । सरकारले यससम्बन्धमा आफ्नो धारणा सार्वजनिक नगरे माओवादीले सदनभित्रै चर्को आन्दोलन गर्ने चेतावनी पनि अध्यक्ष प्रचण्डले दिएका थिए । 'सरकारले आफ्नो स्पष्ट धारणा बाहिर ल्याए हामी सदनभित्रै फेरि कडा आन्दोलन गर्न बाध्य हुनेछौँ,' उनले भनेका थिए । नेपाली सेनाका प्रधानसेनापति छत्रमानसिंह गुरुङको भारत भ्रमणका समयमा भारतीय स्थलसेनाप्रमुख कपुरले सबै माओवादी लडाकुलाई सेनामा समायोजन गर्न नहुने अभिव्यक्ति दिएका थिए । माओवादी अध्यक्ष प्रचण्डले भारतीय सेनाप्रमुखको भनाइबारे सबै दलको प्रस्ट धारणा आउनुपर्ने बताए । उनले शान्तिप्रक्रियालाई समेत भंग गर्ने गरी सो धारणा आएको दाबीसमेत गरेका थिए । अध्यक्ष प्रचण्डले गणतन्त्रको सुदृढीकरण नचाहने तत्त्वका कारण देश अत्यन्त कठिन मोडमा आइपुगेकाले राष्ट्रिय स्वाधीनता कायम गरी भरपर्दाे राजनीतिक निकासका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताएका थिए । आफ्नो पार्टीले उठाउँदै आएको नागरिक सर्वोच्चताको विषय अब राष्ट्रिय स्वाधीनतासित पनि जोडिएकाले सबै राजनीतिक दलले त्यससम्बन्धमा आफ्नो स्पष्ट धारणा बनाउनुपर्ने उनको भनाइ थियो । हुन त उनले नयाँबानेश्वरबाटै भारतसँग वार्ता सुरु भएको भन्दै आफ्ना एजेन्डासमेत सुनाएका थिए । यसअघि सरकार र सत्तारुढ राजनीतिक दलले फिर्ता लिन आग्रह गरे पनि माओवादीले तेस्रो चरणको आन्दोलनअन्तर्गत २६ मंसिरदेखि ३ पुससम्म १३ वटा स्वायत्त गणराज्य घोषणा गरिसकेको छ । यसबीचमा माओवादीले गत आइतबारदेखि मंगलबारसम्म तीन दिन आमहडतालसमेत गरेको थियो । अनिश्चितकालीन आमहडतालको तयारी र राजनीतिक सहमतिको प्रयासको खेलका लागि दुई कदम पछाडि हटेको माओवादी रणनीतिक कति फलदायी हुन्छ त्यो भने भविष्यले नै देखाउला । तर, आफ्नो जम्बो केन्द्रीय समितिको बैठकबाट यस्तो भावी खाका तयार गर्ने माओवादीले तयारी गरेको छ । यसैका लागि माओवादीले १२ पुसमा पोलिटब्युरो र १५ पुसमा केन्द्रीय समिति बैठक बोलाएको छ । माओवादीको चौथो चरणको आन्दोलनको एक महिनासम्म पनि राजनीतिक सहमति बन्न नसके अनिश्चितकालीन आमहडतालको सामना गर्नुपर्नेछ, सत्तारुढ दल, सरकार र आमनेपालीले । आमहडतालसम्म राजनीति पुग्न पाएन भने अवश्य पनि माओवादी कदम उसले उठाउँदै आएको नागरिक सर्वोच्चताको बहाली, राष्ट्रिय स्वाधीनताका रक्षा र संयुक्त राष्ट्रिय सरकारको एजेन्डासम्ममा पुग्नेछ । तर, अहिलेको समीकरण र राजनीतिक खिचातानीले माओवादीको यो कदमले ठाउँ पाइहाल्ला भन्न सक्ने अवस्था छैन । माओवादीले सेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदम सच्चिनुपर्ने, नागरिक सर्वोच्चता बहाली हुनुपर्ने, शान्ति, नयाँ संविधान र राष्ट्रिय स्वाधीनताका लागि माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार हुनुपर्ने अडान राख्दै आएको छ । पूर्वप्रधानसेनापति रुक्मांगद कटवाललाई अवकाश दिने माओवादी नेतृत्व सरकारको निर्णयलाई राष्ट्रपतिले उल्टाइदिएपछि बढेको राजनीतिक तनाव आमहडतालसम्म पुगेको थियो । प्रचण्डले शुक्रबार विज्ञप्तिमा '१० माघसम्म पनि सरकार र सरकारमा रहेका पार्टीहरू देश तथा जनताको पक्षमा राष्ट्रिय सहमति निर्माण गर्नुको बदला विदेशी शक्तिको निर्देशन र योजनामा नागरिक सर्वोच्चता, शान्ति र नयाँ संविधान निर्माणविरुद्धको षड्यन्त्र र गतिविधिमा संलग्न भइरहे भने त्यसपछि हाम्रो पार्टी अनिश्चितकालीन आमहडताल गर्न बाध्य हुने,' चेतावनी पनि दिएका छन् ।



del.icio.us
Digg
प्रचण्ड र बाबुरामहरूले "लिम्बुवान", "कोचिला" र "थरूहट"का पर्खाल उठाउन नभ्याउँदै लिम्बुहरूले भनिसके, 145कोचिला हाम्रो राज्यभन्दा बाहिर राख्न पाइँदैन। थारू नेता कराइसके, मेची–महाकाली फैलिएको थरूहटलाई पश्चिमका पाँच जिल्लामा थुन्ने जेडदाई को हो? मधेशवादी चिच्याए, हाम्रो सिंगो मधेसको टाउको र खुट्टा काट्ने कसको अधिकार? जातीय पर्खाल उठाउँदा साताभित्रै धेरै कुरा बाहिर परिसके। बाबुरामको गणितले ठानेको थियो– मैले नेवारलाई ससुराली बनाएर उनीहरूका पुराना मल्ल राज्यहरू फिर्ता दिने ठोकुवा गरेपछि सिंगै देशभरीका नेवार भोट हाम्रै ढोसामा ढ्याम्म छ, तर बसन्तपुरमा प्रचण्डको गर्जन नटुंगिदै कामरेड रोहितले लोप्पा देखाउँदै भने, "नेवारलाई उपत्यकामा थुनेर भोट झार्ने सपना नगर" नेपा महासंघले बढी औंला हल्लाउँदै भन्यो, "सबै नेवारभित्रका ससुराली हैनन् र ससुरालीले पनि भोट दिने ज्वाइँलाई नभई आ–आफ्नो आस्थालाई हो " यस्तै प्रवृत्ति कथित "तमुवान"र "मगरात" घोषणामा पनि देखियो। तमुवान पर्खालविरूद्ध पहिलो दिन विद्यार्थी संगठनहरूले विद्यालय बन्द गरे। राष्ट्रपतिले लुम्बिनीबाट राष्ट्रिय एकता र अखण्डताको उद्घोष गरे ! प्रचण्डलाई राष्ट्रिय एकता र अखण्डताप्रति कति घृणा र वितृष्णा रहेछ भन्ने नांगो यथार्थ पुस १ गते बसन्तपुरमा उदांगियो। उनले नेवार समुदायको राष्ट्रवादी भावनामाथि घुस्सा हिर्काउँदै भने, "विस्तारवादी पृथ्वीनारायण शाहले तिमीहरूको राज्य खोसिदिएको थियो, आजदेखि हामीले तिमीहरूको राज्य फिर्ता गरिदियौं" सिंगो नेपालको समन्वित संस्कृतिप्रति माओवादी नेताहरूको घृणा संसद र मन्त्रिमण्डलमा प्रतिबिम्बित भयो। त्यहाँ प्रचलित दौरासुरूवाल र कोटलाई उनीहरूले सामन्ती पोशाक भने बहिष्कार गरे। तर बसन्तपुरको जातीय राज्य घोषणा गर्दा कालो रंगको दौरासुरूवाल, पटुका र भाद्गाउँले टोपी ढल्काएर, ज्यान तनक्क तन्काई केही अग्लिएर सान देखाए प्रचण्डले !
जे.बि . शेर्पा
Post your comment