अपहरण गिरोहका दुई पक्राउ
नेपालगन्ज/ सर्वसाधारणको अपहरण गर्ने र फिरौती रकम असुल्ने गिरोहका दुईजनालाई शुक्रबार दिउँसो बाँके प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई वनकट्टी र बेतहनी आसपासबाट हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर, उनीहरूको परिचय भने प्रहरीले खुलाउन चाहेको छैन । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक राजकुमार बैदावारले दुईजना अपहरणकारीलाई पक्राउ गरेको पुष्टि गरेका छन् । तर, उनले घटनाको अनुसन्धान भइरहेको भन्दै परिचय खुलाउन चाहेनन् । बाँकेमा अपहरणका घटना बढेपछि प्रहरीले शुक्रबार बेतहनी क्षेत्रमा सर्च टोली खटाएको थियो । गिरोहले कुनै चेतावनी नै नदिई घरबाटै सर्वसाधारणलाई अपहरण गर्ने र तत्काल फिरौती रकम बुझेर रिहा गर्ने गरेको छ । जिल्लामा पछिल्लो तीन दिनमा चारजना सर्वसाधारण गाउँबाटै अपहरित भएका थिए । अपहरणमा परेका चारजना सर्वसाधारणसँग फिरौती रकम लिएर रिहा गरिएको थियो । पछिल्लोपटक फत्तेपुर-८ पुनरियाका २९ वषर्ीय नवराज खरेल पनि फिरौती रकम बुझाएर रिहा भएका थिए । यसअघि फत्तेपुर-८ का खाद्यान्न व्यापारी कमल मुकेरिले, डिठ्ठाप्रसाद मौर्य, खजुराखुर्द-३ का जगदम्बा पाठकले फिरौती रकम तिरेर मुक्त भएका थिए । पछिल्लोपटक सुरक्षाकर्मीको सहजै पहुँच नहुने गाउँमा अपहरणकारीको गिरोह सक्रिय रहेको छ । तर, चार महिनाअघि अपहरणमा परेका गौरवकृष्ण रस्तोगीको परिवारले सात लाख फिरौती रकम बुझाउँदा पनि उनको अवस्था अज्ञात छ । प्रहरीले रस्तोगीको अपहरण घटनाको अनुसन्धान नजिकै पुगिसकेको बताउँदै आएको छ । त्यसैगरी, एक महिना अपहरणमा परेका बाँके नौवास्ताका २२ वषर्ीय राजु धितालको अपहरणपछि हत्या भएको थियो । धितालको हत्यामा संलग्न आठजनालाई बाँके प्रहरीले पक्राउ गरेको थियो । तर, उनीहरूलाई प्रहरीले सार्वजनिक भने गरेको छैन ।



del.icio.us
Digg
Post your comment