सात महिनापछि सदन खुल्यो
नयाँ पत्रिका काठमाडौं, ८ पुस एकीकृत माओवादीले गर्दै आएको अवरोध हटाएपछि सात महिनापछि बुधबारदेखि व्यवस्थापिका संसद् सुचारु भएको छ । बुधबार बिहान माओवादी संविधानसभा दलको बैठकले एकपक्षीय रूपमा सदन खोल्ने निर्णय गरेपछि सात महिनादेखि अवरुद्ध संविधानसभा व्यवस्थापिका संसद् खुलेको हो । लामो समयको अवोध भएको संसद् बैठकमा पूर्वसांसद दुर्गादत्त जोशीको शोक प्रस्ताव पारित गरिएको छ । पूर्वसांसद जोशीको सोमबार कैलालस्थित आफ्नै घरमा निधत्रन भएको थियो । माओवादीले सदन संघर्षको स्वरूप बदल्ने नीतिसमेत लिएको छ । यसका लागि बिहीबार स्थायी समिति बैठकसमेत बोलाइएको छ । 'एकपक्षीय रूपमा सदन खोल्ने निर्णय लिएका छौँ,' संविधानसभा दलको बैठकपछि दलका उपनेता नारायणकाजी श्रेष्ठ प्रकाशले संवाददातासँग भने, 'राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध आन्दोलन जारी रहन्छ र यसलाई नयाँ ढंगले उठाइनेछ ।' माओवादीले सदन खोल्ने आफ्नो निर्णयले सरकार र सत्तारुढ दलको अधिनायकवादलाई उजागर गरेको निष्कर्ष निकाल्दै जनतामा गएर उनीहरूको भन्डाफोर गर्ने योजनासमेत बनाएको छ । 'यो अलोकतान्त्रिक सरकारले प्रतिपक्षका कुरा सुनेन र आफ्नो नालायकीपन देखायो, भिन्न मतको सम्बोधन नगर्ने र प्रतिपक्षका प्रस्ताव नसुनेर यो सरकारले अधिनयाकवादलाई उजागार गरेको छ,' माओवादी प्रवक्ता दीनानाथ शर्माले नयाँ पत्रिकासँग भने, 'अब हामी जनतामा गएर यो अधिनायकवादी र फासीवादी चरित्रको भन्डाफोर गर्छौँ ।' माओवादी अध्यक्ष प्रचण्डले बुधबार बिहानै सदन खोल्ने जानकारी संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई गराएका थिए । माओवादीको ४ पुसमा बसेको स्थायी समिति बैठकले सदनमा जारी संघर्षको रूपलाई शान्ति र संविधान निर्माणमा केन्दि्रत गर्नेगरी बदल्ने निर्णय लिएको थियो । यसैका आधारमा माओवादीले अवरुद्ध सदन खोल्ने निर्णय लिएको हो । संविधानसभा विघटन गराउने षड्यन्त्रलाई सदन अवरोधले सहयोग पुग्ने आँकलन गर्दै माओवादीले सदन खोल्ने र सदनमै आफ्ना कुरा राख्ने निर्णयमा पुगेको दाबी पनि गरेको छ । अबको सदनमा हुने संघर्षबारे माओवादीको बिहीबार बस्ने स्थायी समिति बैठकले तय गर्नेछ । पछिल्लो रणनीति तयार गर्न र प्रचण्डले सदनमा सम्बोधन गर्ने विषयवस्तुबारे छलफल गर्न माओवादीले बिहीबार बिहान स्थायी समिति बैठक बोलाइएको प्रवक्ता शर्माले जानकारी दिए । २३ साउनयता लगातार सदन अवरुद्ध पार्दै आएको माओवादीले ८ देखि १० मंसिरसम्म तीन दिनका लागि बजेट पारित गराउन सदन चल्न दिएको थियो । माओवादी संविधानसभा दलको बैठकले तेस्रो चरणका आन्दोलन दमन गरी प्रहरीले सभासद्सहित केही कार्यकर्ता घाइते बनाएको भन्दै यसको भत्र्सना गरेको छ । बैठकले राष्ट्रिय स्वाधीनतालाई केन्द्रमा राखेर अब हुने चौथो चरणको आन्दोलनलाई सफल बनाउन सभासद्ले भूमिका निर्वाह गर्ने विषयमा समेत निर्णय लिएको उपनेता प्रकाशले बताए । माओवादीले आफ्नो सडकसंघर्षको रूपसमेत बदलेर नेपालका राजनीतिक दलहरू विदेशीको इशारामा चलेको दाबी गर्दै अबको आन्दोलन विदेशी दलालविरुद्ध केन्दि्रत गर्ने घोषणा गरेको छ । माओवादीले १० पुसदेखि एक महिना चलाउने चौथो चरणको आन्दोलनअन्तर्गत राष्ट्रिय जागरण र विदेशी दलालका विरुद्ध भन्डाफोर गर्ने कार्यक्रम घोषणा गरिएको छ । माओवादीले सेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदम सच्चिनुपर्ने, नागरिक सर्वोच्चता बहाली हुनुपर्ने, शान्ति, नयाँ संविधान र राष्ट्रिय स्वाधीनताका लागि माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार गठन हुनुपर्ने अडान राख्दै आएको छ ।
'दिल्लीसँग वार्ता व्यंग्य मात्र’ माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले पार्टी अध्यक्ष प्रचण्डले अबको वार्ता नयाँदिल्लीसँग हुन्छ भनी दिएको अभिव्यक्ति व्यंग्यात्मक मात्र भएको स्पष्ट गरेका छन् । उनले संसद्वादी दलहरू आत्मनिर्णय गर्ने अवस्थामा नरहेको र उनीहरूले दिल्लीकै सहायता लिने गरेकाले उनीहरूलाई व्यंग्य गर्न यस्तो भनाइ आएको दाबीसमेत गरे ।



del.icio.us
Digg
Post your comment