३ दिनमा ४ अपहरण
नेपालगन्ज, ८ पुस : सर्वसाधारणको अपहरण गर्ने र थोरै भए पनि फिरौती रकम बुझेर रिहा गर्ने आपराधिक गिरोह गाउँ-गाउँमा सक्रिय भएको छ । गिरोहले कुनै चेतावनी नै नदिई घरबाटै सर्वसाधारणलाई अपहरण गर्छ र तत्काल फिरौती रकम बुझेर रिहा गरिदिन्छ । अपहरणको घटना गाउँ-गाउँमा हुन थालेपछि सर्वसाधारण आतंकित बनेका छन् । जिल्लामा पछिल्ला तीन दिनमा चारजना सर्वसाधारण गाउँबाटै अपहरित हुनुले गिरोह गाउँमै सक्रिय रहेको पुष्टि भएको हो । अपहरणमा परेका तीनजना सर्वसाधारण फिरौती रकम बुझाएर रिहा भएलगत्तै मंगलबार राति फत्तेपुर— ८ पुनरियाका २९ वषर्ीय नवराज खरेल अपहरित भए । फत्तेपुर राप्तीपारिको विकट क्षेत्रमा पर्छ । उनलाई अज्ञात समूहले घरबाटै अपहरण गरेको बाँके प्रहरीले जनाएको छ । अपहरणमा परेका खरेलको अवस्था अज्ञात छ । उनको खाजीकार्य भइरहेको प्रहरीले जनाएको छ । परिवारजनका अनुसार तीन/चार जनाको समूहमा आएको नकाबधारी समूहले राति ११ बजे घरबाटै अपहरण गरेको थियो । यसअघि सोमबार राति अपहरणमा परेका फत्तेपुर— ८ का खाद्यान्न व्यापारी कमल मुकेरीले एक लाख र डिठ्ठाप्रसाद मौर्यले ८० हजार फिरौती रकम बुझाएर रिहा भएको स्रोतको दाबी छ । त्यसैगरी आइतबार राति अपहरणमा परेका खजुराखुर्द— ३ का जगदम्बा पाठक ७५ हजार फिरौती रकम तिरेर मुक्त भएका छन् । पाठक नेपाली कांग्रेससम्बद्ध हुन् । तर, फिरौती रकम बुझाएको बारे सम्बद्व परिवारले केही बताउन चाहेका छैनन् । डर र त्रासका कारण देखाउँदै अपहरित भएकाहरू पनि मौन रहेका हुन् । बाँके प्रहरीले रिहा भएका व्यक्तिहरूले कसले, कहाँ र किन लगेको भन्ने खुलाउन नचाहेको बताएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले गाउँमा अपहरणकारी गिरोह सक्रिय भएको स्वीकार गरे । तर, अपहरित भएका र फिरौती रकम बुझाएका परिवारले जानकारी नदिने गरेका कारण गिरोहको पहिचान हुन नसकेको उनले बताएका छन् । गिरोहको पहिचानका लागि 'स्पेसल सर्च टोली' परिचालन गरेकोसमेत बैदवारले जानकारी दिए । तर, चार महिनाअघि अपहरणमा परेका गौरवकृष्ण रस्तोगीको परिवारले सात लाख फिरौती रकम बुझाउँदा पनि उनको अवस्था अज्ञात छ । प्रहरीले रस्तोगीको अपहरण घटनाको अनुसन्धाननजिकै पुगिसकेको दाबी गर्दै आएको छ । त्यसैगरी एक महिना अपहरणमा परेका बाँके नौबस्ताका २२ वषर्ीय विद्यार्थी राजु धितालको अपहरणपछि हत्या भएको थियो । धितालको हत्यामा संलग्न आठजनालाई बाँके प्रहरीले पक्राउ गर्न सफल भएको थियो । तर, उनीहरूलाई प्रहरीले सार्वजनिक भने गरेको छैन ।



del.icio.us
Digg
Post your comment