ठेक्काको अर्थ-राजनीति
बबई सिँचाइ आयोजनाको १२ करोडको ठेक्का आ-आफ्ना ठेकेदारलाई दिलाउन राजनीतिक र अराजनीतिक संगठनका युवाहरू झडपमा उत्रिएपछि गुलरिया तनाबमय भएको दृश्यले नेपालका युवा संगठनहरूको आर्थिक क्षेत्रमा देखिएको भ्रष्ट आचरणको कुरूप तस्बिर देखाएको छ । नयाँ नेपालको नेतृत्व गर्छौं भनी दाबी गर्ने राजनीतिक दलका युवासंगठनहरू वाइसिएल र युथफोर्स पनि स्थानीय ग्याङ्स्टरजस्तै निर्माण ठेकेदारबाट कमिसन पाउन झडपमा उत्रन थाल्नु भनेको युवा संगठनमा भित्रभित्रसम्म पसिसकेको भ्रष्ट आचरणको प्रकट रूप हो ।
अनेक ग्याङ बनाएर, त्यसलाई पालेर-पोसेर आफ्ना पक्षका बाहेकलाई टेन्डर दर्ता गर्न कार्यालयभित्रै पस्न नदिने चलन कुनै नौलो होइन । नेपालमा सरकारी र निजी क्षेत्रका ठूला-साना टेन्डर आफ्ना हातमा पार्न अपनाइने अनेक हथकन्डामध्ये यो पनि एउटा निकृष्ट रूप नै हो । यस्तो रूपबारे सरकारीयन्त्र बेखबर छैन, जसको जिम्मेवारीभित्र पर्छ ः यस्ता भ्रष्टाचार र गुन्डागर्दी रोक्नु । तर, ऊ यस्ता भ्रष्टाचार र गुन्डागर्दीबारे राम्ररी खबर लिएरै त्यस्ता दुष्कर्ममा आफैं सहभागी हुन्छ, आफ्नो र अरूको खल्ती गरम पार्नमा ऊ सक्रिय हुन्छ । सम्बन्धित संस्थाका प्रमुख, प्रशासनयन्त्र र ठेकेदारहरूको मिलेमतोमा फलिफुलिरहेको भ्रष्टाचार रोक्ने र त्यसविरुद्ध संघर्ष गर्नुपर्ने दायित्व हो, राजनीतिक दल र तिनका युवा संगठनहरूको । विडम्बना, ती दल, तिनका युवा संगठन र सदस्यहरूसमेत यस्ता भ्रष्टाचार र गुन्डागर्दीमा नांगै उत्रन थालेका छन् । जब भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने ठेक्का लिएर बसेका युवा संगठन र तिनका नेताहरू नै भ्रष्टाचारलाई मलजल गर्ने आचरणमा लिप्त हुन्छन्, तब भ्रष्टाचार राजनीतिक व्यवहार बन्नु अनौठो हुँदैन ।
चुनावी राजनीतिको एउटा विडम्बना हो— जसरी भए पनि कार्यकर्ता जम्मा गर, जसरी भए पनि संगठन ठूलो बनाऊ अनि तिनका बलमा चुनाव जितेर सरकार कब्जा गर । यही विडम्बनापूर्ण नीतिकै विस्तार हो— जुनसुकै अनैतिक काम गरेर भए पनि कार्यकर्ता पाल्ने र तिनीहरूबाट आफू पोसिने संस्कृति । यो पञ्चायतकालमा हुर्काइएको त्यस्तो मन्डले संस्कृति हो, जुन अचेल लोकतान्त्रिक र वामपन्थी राजनीतिक दल र तिनका युवा संगठनहरूमा संक्रमित भएका छन्, एड्सझैं । आफूलाई कमिसन दिने ठेकेदारलाई ठेक्का दिलाउन ँसंघर्षरत’ युवा संगठनमा देखिएको यो मन्डले संस्कृति त्यसकै एक अभिव्यक्ति हो । यस्तो संस्कृतिले युवा संगठनलाई गाँज्न थालेको हो भने त्यो ठूलो राजनीतिक अनिष्टको संकेत हुनेछ । त्यो अनिष्ट हो— राजनीतिमा भ्रष्टाचारको मार्गबाट प्रवेश गरेको अपराध !
राजनीति र अपराधबीच लगनगाँठो कसियो भने राजनीतिको अपराधीकरण स्वाभाविक बन्न पुग्छ अनि अपराधलाई राजनीतीकरण गरी संरक्षण दिइने र आपराधिक राजनीतिले वैधता पाउने खतरनाक सम्भावना पनि बढ्न पुग्छ । अचेल नेपालमा पनि राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण तीव्र र सघन भएको तथ्य देखिएको छ । यो भयावह तथ्यले दिने नराम्रो संकेत हो— राजनीति र अपराधको सीमारेखा छुट्टयाउन कठिन हुनु र राजनीतिक दलहरूले सम्पूर्ण वैधता गुमाउनु अनि अन्ततः अपराधीहरूकै हातमा राजनीतिको बागडोर पुग्नु । के नेपालमा राजनीतिको सीमा कहाँ गएर अपराधमा टंुगिन्छ र अपराधको रेखा कुन स्थानमा गएर राजनीतिसँग जोडिन्छ भन्ने छुट्टयाउनै गाह्रो हुन थालेको हो त ? हो भने नेपाली राजनीति सचेत नेपाली जनताले बाहेक अरू कसैले बचाउन नसक्ने खतरनाक डिलमा पुगेको ठान्नुपर्ने हुन्छ ।



del.icio.us
Digg
Post your comment