राजुको शव भेटियो
नयाँ पत्रिका नेपालगन्ज, २२ मंसिर स्नातक तहमा अध्ययनरत विद्यार्थी राजु धितालको हत्या भएको पुष्टि भएको छ । अपहरणको १२ दिनपछि धितालको शव सोमबार साँझ उढरापुर-२ स्थित गिजरा सामुदायिक वनमा फेला परेको छ ।
नौवास्ता-८ बानियाभारका २२ वर्षीय राजु धिताललाई ९ मंसिरमा नेपालगन्जको धम्बोझीमा बोलाई अपहरण गरिएको थियो । अपहरण गरेकै दिन हत्या भएको खुल्नमा आएको छ । यसअघि अपहरणकारीले दाङको भालुभाङमा राजुको हत्या गरेको बताएका थिए ।
अपहरण भएको ११ दिनपछि फिरौती रकम बुझ्ने क्रममा खुजुरा-१ बाँकेकी दुर्गा बिसी र सुर्खेत कालागाउँका हेमन्त शाहीलगायत चारजनालाई काठमाडौंबाट र गोविन्द केसीलगायत तीनजना अपहरणकारीलाई नेपालगन्जबाट प्रहरीले पक्राउ गरेपछि धिताल अपहरणको घटना सार्वजनिक भएको हो । राजुलाई ९ मंसिरमा नेपालगन्जको धम्बोझीमा बोलाई अपहरण गरिएको थियो ।
धनु शाहीका एक मात्र छोरा राजु धिताललाई अपहरणकै दिन जंगलमा लगेर हत्या गरेको हेमन्त शाहीले परिवारसँग फिरौती रकम मागेका थिए । अपहरणकारीले धनुलाई फिरौती रकम बुझाएको केहीबेरमा राजुलाई रिहा गर्ने बताउँदै आएका थिए ।
'अपहरणकारीले राजुको हत्या गरी फिरौती रकम असुल्न खोजेका रहेछन्,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, 'अपहरण गरेकै दिन राजुको हत्या हुनुपर्ने आशंका हाम्रो छ ।' राजुका बाबु धनुले अपहरणपछि छोरासँग एकपटक पनि कुराकानी गर्न नपाएको बताएका छन् ।
राजुलाई हेमन्तले फोन गरेर अपहरण गरेको भन्दा सुरुमा मजाक गरेजस्तो लागेको थियो । भान्जाको अपहरण कसरी गर्न सक्छ भन्ने लागेको थियो,' धनुले भनेका छन्,' ऊ त हत्यारा रहेछ ।'
उनका अनुसार अपहरणकारी हेमन्तसँग कुरा गर्दा श्रीमती देवीले भाइ भनेर सम्बोधन गर्ने गरेकी थिइन् । 'भाइ तिमीले यो के गरेको हो ? भान्जालाई अपहरण गर्छ कसैले ? मजाक नगर,' श्रीमती देवीको भनाइलाई धनुले दोहोर्याए ।
योजनाकारद्वारा आत्महत्या प्रयास
नेपालगन्ज/ विद्यार्थी अपहरणपछि 'हत्या' गरेको घटनाका मुख्य योजनाकार हेमन्त शाही पटक-पटक आत्महत्याको प्रयास गरिरहेका छन् । प्रहरी नियन्त्रणका क्रममा पनि उनले आत्महत्याको प्रयास गरिरहेको थाहा भएको छ ।
काठमाडौंमा उच्चमाविमा अध्ययनरत नौवास्ता-८ बानियाभारका २२ वर्षीय राजु धिताललाई अपहरणपछि 'हत्या' गरी काठमाडौंमा १२ लाख रुपैयाँ फिरौती रकम बुझ्ने क्रममा प्रहरीले शाहीलगायत चारजनालाई पक्राउ गरेको थियो । प्रहरीले उनलाई मुख्य अभियुक्त बताउँदै आएको छ ।
पक्राउ परेकाहरूलाई बुद्ध एयरबाट आइतबार साँझ नेपालगन्जको राँझा विमानस्थलमा ल्याइएको थियो । त्यहाँबाट प्रहरीले आफ्नै भ्यानमा राखेर ल्याउने क्रममा शाहीले गुडिरहेको प्रहरीको भ्यानबाट हामफालेर आत्महत्याको प्रयास गरेका थिए । तर, सुरक्षाका लागि गाडीमा बसेका प्रहरीले उनलाई हामफाल्नुअगावै नियन्त्रणमा लिएका थिए ।
'गुडिरहेको गाडीबाट हामफाल्न खोज्यो,' प्रहरी स्रोतले भन्यो, 'आत्महत्याको प्रयास गरेपछि उसलाई गाडीभित्रै बीचमा राखेर जिल्ला प्रहरी कार्यालयसम्म ल्यायौँ ।'
नेपालगन्ज र काठमाडौंमा पक्राउ गरिएका सातजना अपहरणकारीलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ । प्रहरी नियन्त्रणका क्रममा पनि शाहीले आत्महत्याको प्रयास गरिरहेको अनुसन्धानमा खटिएका एक सुरक्षा अधिकृतले नयाँ पत्रिकासँग बताए ।
राजु अपहरणको घटनामा थप अपहरणकारीको संलग्नता हुन सक्ने बाँके प्रहरीको आशंका छ । प्रहरीले अनुसन्धानमा असर पर्न सक्ने भन्दै घटनाको विस्तृत जानकारी दिएको छैन ।



del.icio.us
Digg
Post your comment