Newsletter
Email:
Home | कभरस्टोरी | 'भारतीय ब्युरोक्रेसी माधव नेपालको पक्षमा रहेछ'

'भारतीय ब्युरोक्रेसी माधव नेपालको पक्षमा रहेछ'

Font size: Decrease font Enlarge font
image

फोरम अध्यक्ष, उपेन्द्र यादव

तपाईं यो सरकारमा उपप्रधानमन्त्री बन्ने चर्चा आएको थियो, फेरि किन सेलायो ?

त्यस्तो अफरका कुरा हावामा उडिरहन्छन् ।

के कुरा भएपछि सरकारमा सहभागी हुन्छ फोरम ?

मधेसी जनताको सपना साकार हुने भयो भने फोरम सरकारमा जान्छ ।

कसरी हुन्छ त त्यो सपना साकार ?

मधेसलाई प्रादेशिक, क्षेत्रीय स्वायत्तता दिएर ।

फोरमभित्र कसको नेतृत्वमा सरकारमा जाने कुरामा विवाद छ भनिन्छ नि ?

कुनै विवाद छैन । यथास्थितिमा फोरम कुनै पनि हालतमा सरकारमा जाँदैन । गएर पनि कुनै औचित्य छैन, कुनै तात्त्विक अन्तर हुनेवाला छैन । अहिले फोरम सरकारमा गएर पनि मुलुकको कुनै पनि समस्या समाधान हुँदैन । हामी समष्टिगत रूपमा सबै समस्याको समाधान गर्ने उपायको खोजीमा छौँ, ताकि त्यसले मुलुकको समस्या समाधान होस् ।

दुई फोरम एक हुने सम्भावना कत्तिको छ ?

फोरम दुईवटा छँदै छैन । फोरम एउटै थियो, एउटै छ, एउटै रहन्छ । जो आगन्तुक थिए, जो अवसरका खोजीमा थिए, उनीहरू यहाँ अवसर नपाउँदा अर्को ठाउँ गए । फोरमको भावनासँग मेल नखानेहरू गए, तिनीहरूसँग फेरि एकता गरेर के गर्नु ? विजय त गच्छदार होइन गद्दार हो । पैसा र सत्ताका लागि उनीहरूले मधेसी जनतालाई धोका दिएको जगजाहेर छ । त्यसैले उनीहरूसँग एकीकरण हुँदैन ।

सरकारमा सहभागी नभए फेरि फोरम फुटाइदिने धम्की आइरहेको तपाईंकै सभासद्ले बोलिरहनुभएको छ, के यो सत्य हो ?

फोरम गठन भएदेखि नै फुटाइदिने मात्रै होइन, समाप्त नै गरिदिने धेरै धम्की आए, आउँदै गर्छन् । त्यसले फोरमलाई केही फरक पर्दैन । जतिपल्ट फोरमलाई फुटाइन्छ, यो त्यति नै शक्तिशाली भएर मधेसी जनताबीचमा रहिरहन्छ ।

सरकारमा जान तपाईंको सर्त के हो ?

हाम्रो माग मात्रै होइन, मुलुकको समस्या हल भइहाल्यो भने हामी सहभागी नभए पनि सन्तोष नै लाग्छ । त्यसकारण हामी सहभागी हुने/नहुने भन्दा पनि राष्ट्रसामु देखापरेका समस्या कसरी हल गर्ने भन्ने महत्त्वपूर्ण कुरा हो । अहिले ४६ जना मन्त्री छन्, अझै थपेर ५०/६० जना मन्त्री बनाउन सकिएला, तर त्यसले समस्या हल हुनुको सट्टा मुलुक झन् उल्झनमा पर्छ । अहिले मन्त्री थप्न मान्छेहरू किन उद्यत भइरहेका छन्, त्यो मैले बुझ्न सकिरहेको छैन । 'मान नमान मैं तेरा मेहमान' भनेझैँ हामीलाई किन सरकारमा लग्न खोजिरहेका छन् सत्तारूढ दलहरू, मैले बुझ्न सकिनँ । अब ४६ जना मन्त्री भएर पनि के नपुग्या हो ? सरकार त चलेकै छ, लुटेर खाएकै छन्, त्यसमा हामी किन चाहिएको हो ? अनि, त्यहाँ किन चाहियो हाम्रो सहभागिता, मैले बुझ्न सकिनँ । हाम्रो सहभागिताबिना माधव नेपाल बैतर्नी पार हुन सक्दैनन् र ?

भारत त अहिलेकै सरकारको निरन्तरताका पक्षमा देखियो भनिन्छ, कुरा के हो ?

भारतका केही ब्युरोक्रेटका लागि माधव नेपाल ज्यादै पि्रय रहेछन् । त्यसैले उनीहरूले माधव नेपाल नेतृत्वकै सरकारलाई निरन्तरता दिन चाहेका छन् । ब्युरोक्रेसीको भनाइ मानेर केही भारतीय नेताले पनि माधव सरकार नढालिदिनुहोला भने । तर, आमभारतीय नेताले माधव नेपाल सरकार असफल भइसकेको बुझेको मैले पाएँ ।

सरकार ढाल्ने, बनाउने कुरामा भारतको भूमिका ठूलो हुन्छ नेपालमा, आखिर किन यस्तो भइरहेको छ ?

राजनीतिक दलभित्र असमझदारी रहेसम्म यो भइरहन्छ । हामी आफैँ समझदारी नगर्ने र अरूले सरकार ढाल्यो भन्नु गलत हो । आफैँ समझदारी गरेर अघि बढियो भने त्यसमा कसैले केही गर्न सक्दैन । आफ्नो कमी-कमजोरी नदेख्ने तर भारतले सरकार ढाल्यो वा हस्तक्षेप गर्‍यो भन्नु गलत हो ।

उपराष्ट्रपति प्रकरणमा फोरम के गर्दै छ ?

फोरमले स्पष्ट रूपमा प्रधानमन्त्रीलाई के भनेको छ भने हिन्दी भाषालाई सरकारी कामकाजको मान्यता देऊ । हिन्दीका साथै अरू मैथिली अबधी, नेवारी, तामाङ, मगरलगायतका सबै मातृभाषालाई राजकीय भाषा अथवा सरकारी कामकाजका भाषाका रूपमा मान्यता दिएर भाषिक समानताको मुद्दालाई सम्बोधन गर । अधिकार पाए यस्ता समस्या समाधान हुन्छन् ।

भाषासम्बन्धी विधयेक पनि संसद्मा पुगेको छ, त्यसले समस्या समाधान गर्दैन र ?

कानुनी रूपमा त्यसले समस्या समाधान गर्दैन, त्यस्ता 'ठगीधन्दा'ले उपराष्ट्रपतिको मुद्दा समाधान गर्दैन । यो सरासर ठगी हो ।

के गरे समस्या समाधान हुन्छ त ?

भाषाका सूचीहरू बनाएर भाषा कुन हो, बोली कुन हो छुट्टयाउनुपर्‍यो । जुन भाषामा पर्छ त्यसलाई 'रिकोग्नाइज' गर्नुपर्छ र त्यसलाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिनुपर्छ । स्वतः यो समस्या समाधान हुन्छ । उपराष्ट्रपतिलाई जुन अपमान गरिएको छ, त्यसप्रति क्षमा माग्दै उनको निवासबाट झिकिएको झन्डा फेरि गाडेर उनलाई ब्यान्डबाजासहित स्वागत, सम्मान गरेर, सबै सुविधा उपलब्ध गराएर मधेससामु माफी मागे यो समस्या हल हुन्छ ।

भारतीय नेतासमक्ष नेपालका केही नेताले संविधानसभा भंग गर्ने कुरा गरेका छन् भन्ने चर्चा छ, तपाईंले भर्खरै भारत-भ्रमण गर्नुभएको छ, कुरा के भयो ?

यथार्थ के हो भने लोकतन्त्र, संघीयता र गणतन्त्रका विरोधीले आफ्नो स्वार्थरक्षाका लागि भारतसँग गुहार माग्न जाने गरेका छन् । यसको जवाफ गुहार माग्न जानेहरूले दिऊन्, मलाई केही भन्नु छैन ।

समग्र मधेस एक प्रदेश र स्वायत्त मधेस एक प्रदेशमा के भिन्नता छ ?

समग्र मधेस एक प्रदेश र स्वायत्त मधेस एक प्रदेश एउटै हो । मधेसलाई स्वायत्तता दिने भनेको टुक्रा मधेस, आंशिक मधेस भन्या होइन । स्वायत्तता भन्ने कुरा मधेसी जनताको अधिकार हो । मधेसी जनताले आफ्नो भाग्यको फैसला आफैँ गर्ने अधिकार पाउनुपर्छ । र उसको आफ्नो भूमिमा आफ्नो स्वशासन हुनुपर्छ । केन्द्रमा उसको साझेदारी हुनुपर्छ । अनि मात्रै मधेस आन्तरिक उपनिवेशबाट मुक्त भएको मानिनेछ ।

स्वायत्त मधेस प्रदेशका विरोधमा त्यहीँका दलित, मुस्लिम, थारूहरू छन् नि ?

स्वायत्त मधेस प्रदेशविरोधी कोही छैनन् मधेसमा । ती मधेसविरोधी खस शासकवर्गका भरौटे हुन्, जसले विरोध गरेका छन् । केहीले चाहिँ नबुझेर, भ्रमित भएर विरोध गरेका हुन् । तर, मुक्ति उनीहरूलाई पनि चाहिएको छ । स्वायत्त मधेस प्रदेशको जसले विरोध गरेको छ त्यसको हितमा पनि त्यही छ ।

मधेसभित्र रहेका मधेसी दलित, मुस्लिमलाई कसरी स्वायत्त मधेसले सम्बोधन गर्छ त ?

होइन, स्वायत्त मधेसले त्यहाँका मधेसी दलित, मुस्लिम आदिलाई स्वायत्तता दिने होइन । त्यहाँ कुनै जाति, वर्गले स्वायत्तता पाउने होइन, सबैले पाउने हो । त्यसैले, उनीहरूको मुक्ति पनि स्वायत्त मधेस प्रदेशभित्रै हुन्छ ।

मधेस आन्दोलनका घाइते तथा सहिद परिवारले अहिलेसम्म पनि क्षतिपूर्ति पाएका छैनन् नि ?

यो सत्य हो । अहिलेसम्म पनि घाइते तथा सहिद परिवारले राहत पाएका छैनन् । हाम्रो ज्ञापनपत्रमा त्यो कुरा पनि उल्लेख छ । त्यो पूरा भएन भने फेरि हामी आन्दोलनमा जानेछौँ ।

समग्र मधेस एक प्रदेशको माग गर्ने फोरमले पहाडमा पनि संगठन विस्तार गर्ने कुरा गरेको छ, पहाडका जनताका लागि कस्तो ऐजन्डा छ फोरमसँग ?

पहाडी जनताले पनि समान अधिकार पाउनुपर्छ । त्यहाँ पनि राज्यले गरेको भेदभाव र अन्यायलाई हटाउनुपर्छ । कर्णाली क्षेत्रका जनता भए, हिमाली क्षेत्रका जनता भए, त्यहाँका जनजातिहरू भए, दलितहरू भए जसमाथि दुई सय ४० वर्षदेखि राज्यले भेदभाव र असमानता गरेको छ । त्यसको समाप्ति हुनुपर्छ । आर्थिक उन्नति र त्यहाँका जनताले पनि स्वायत्तता पाउनुपर्छ ।

तर, नामै मधेसी फोरम भएपछि पहाडमा संगठन कसरी गर्नुहुन्छ ?

नाममा के छ र ? यसले कुनै फरक पार्दैन । मुख्य कुरो सिद्धान्त हो, नाम होइन । कसैको नाम वीरबहादुर राखिदियो भने त्यो ठूलै बलवान् भइहाल्छ भन्ने छैन ।

तोकिएकै समयमा संविधान निर्माण हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

अहिलेका सत्तासीन दलहरूको सुबुद्धि आएन र उनीहरूले आफ्नो चरित्रलाई फेरेनन् भने तोकिएको समयको त कुरै छोडिदिऊँ, उनीहरूले संविधान बन्नै दिँदैनन् । सत्तामा बसेका दलहरूले संविधान निर्माणतर्फ इमानदारीसाथ अघि बढ्नुपर्छ । संविधान बनाउन सत्तासीन दलहरू गम्भीर भएको जनताले महसुस गर्न पाएका छैनन् ।

प्रसंग बदलौँ, राष्ट्रियताका सवालमा मधेसीलाई शंकाको दृष्टिले हेरिन्छ, तपाईंलाई त्यस्तो लाग्दैन ?

मधेसी अनुहार, उनीहरूको भेषभूषा, बोली, भाषा, रहनसहन मन नपरेर नै यस्तो चिन्तन बढेको होला । यो 'संकीर्ण अन्धमण्डले चिन्तनवाद' हो । यो अन्धराष्ट्रवादी चिन्तन हो, यो घोर साम्प्रदायिक चिन्तन हो । त्यही चिन्तन भएकाले मधेसीको अनुहार, भेषभूषा, रहनसहन मन पराउँदैनन् ।

सीमा विवाद हुँदा मधेसवादी दल किन मौन बस्छन् ?

सीमा विवाद सुल्झाउन राज्यले निर्णय गरेर मधेसवादी दलहरूलाई जिम्मा लगाओस्, अनि त्यसपछि हामीले के गर्नुपर्छ गरौँला । तर, कुरा के हो भन्दाखेरि राज्यले नै आफ्नो दायित्व पूरा गरेन । विवाद छ भने त्यो सुल्झाउने काम सरकारको हुन्छ र सरकारले पनि कूटनीतिक माध्यमबाट त्यो विवाद सुल्झाउनुपर्छ ।

तपाईंले भारतबाट फर्कँदा विमानस्थलमै भन्नुभयोभारत माओवादीदेखि सशंकित रहेछ । तपाईंलाई किन त्यस्तो लाग्यो ? भारतीय नेताहरूले त्यस्तो के भने ?

खासमा नेपालका माओवादी र भारतीय माओवादीबीचको सम्बन्ध र माओवादी नेतृत्वबाट आइरहेको अभिव्यक्तिबाट भारत सशंकित छ ।

चीनसँगको निकटताले भारत तपाईंसँग पनि सशंकित छ भनिन्छ नि ?

म चीनसँग नजिक कहाँ कसरी देखिएँ ? मलाई थाहा छैन । मधेसीको भारतीयसँग सांस्कृतिक सम्बन्ध छ, ब्लडको सम्बन्ध छ, प्रत्येक घरको सम्बन्ध छ । त्यसैले भारतसँगको सम्बन्ध स्वाभाविक रूपमा नजिक छ ।

तपाईंहरूको महाधिवेशनमा चिनियाँ उच्च अधिकारीहरूको उपस्थितिले चीनप्रति तपाईंको झुकाब बढी देखिएको छ भनिन्छ नि ?

चीन र भारत हाम्रा दुई असल सहयोगी छिमेकी हुन् । यसमा कसैप्रति बढी र कसैप्रति कम झुकाब राख्ने कुरै आउँदैन । जहाँसम्म महाधिवेशनको कुरा छ, त्यसमा चीनका मात्रै होइन, अरू देशका पनि पर्यवेक्षक आएका थिए । त्यसलाई निकटताका रूपमा व्याख्या गर्नु गलत हो ।

तराईका सशस्त्र समूहलाई भारतले सहयोग गरिरहेको छ भनिन्छ, तपाईंलाई के लाग्छ ?

भारत आफैँमा विशाल देश हो, त्यहाँ धेरैथोक पाइन्छन् । त्यहाँबाट हतियार पनि पाइन्छ । ल्याए होलान् । यसमा भारतले सहयोग गरेको भन्ने मलाई लाग्दैन ।

भारत विशाल देश भएकै कारण नेपालका लागि हेडमास्टरको व्यवहार गरेको हो त ?

अब चपरासीको जागिर खान भनेर हात पसारेपछि हेडमास्टरको व्यवहार गरिहाल्छ नि, होइन र ?

मधेसी दल जहिले पनि सत्तामा जानका लागि मात्र किन फुट्छन् ?

मधेसीहरू सत्तामा अहिलेसम्म गएकै छैनन्, सरकारमा मात्र गएका छन् । जहाँसम्म पार्टी फुट्ने कुरा छ, के मधेसी पार्टी मात्रै फुटेका छन् र ? कम्युनिस्ट ६० पटक, कांग्रेस २७ पटक फुटिसकेका छन् । त्यस्तै, राप्रपालगायत अन्य पार्टी पनि फुटेका छन् । कुन यस्तो पार्टी छ, जहाँ गुट-उपगुट छैनन् । मलाई एउटा त्यस्तो पार्टी देखाइदिनुस् त । त्यसैले मधेसवादी दल जुन दिन सत्तामा जान्छन्, यो गुट/पार्टी फुट स्वतः बन्द हुन्छ । मधेसी जनताले पनि सत्ता सञ्चालन गर्ने दिन आउँदै छ । फेरि मधेसी दल फुटेनन् भने खसहरूका पार्टी कसरी चल्छन् ?

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति नै विवादमा आए, तपाईंले कस्तो मूल्यांकन गर्नुभएको छ ?

१८ दलले त राष्ट्रपतिजीलाई झन्डै खाल्डामा हालेका थिए । राष्ट्रपतिलाई गलत काम गर्न सल्लाह दिने १८ दल मुख्य दोषी हुन् ।

अब कसको नेतृत्वमा कस्तो सरकार बन्नुपर्छ ?

त्यो राजनीतिक दलहरूको उच्चस्तरीय संयन्त्रले निर्धारण गर्ने हो । अबको सरकारमा राजनीतिक सुझबुझ भएका र जनताद्वारा विजय गराइएका व्यक्तिहरू सहभागी हुनुपर्छ । भ्रष्टाचार गरी अकूत सम्पत्ति कमाएका र हरुवाहरूविहीन सरकार बन्नुपर्छ । नेतृत्वका सवालमा उच्चस्तरीय संयन्त्रले निर्धारण गर्छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रमा मधेसवादी दलहरूको स्थान के रहला ?

स्थानभन्दा पनि राष्ट्रिय सहमति कायम गर्न प्रमुख राजनीतिक दलबीच समझदारी गरेर उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने र त्यस संयन्त्रले मुलुकसामु देखापरेका जटिल समस्या समाधान गर्ने प्रक्रिया अघि बढाउनुपर्छ । त्यस संयन्त्रले सरकारको स्वरूपलाई समावेशी बनाउने र राष्ट्रिय सहमतिमा आधारित एकताको सरकार बनाउने हो भने महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । होइन, यदि सत्ता साझेदार दुई/तीन दलभित्र मात्र सहमति बनाइने हो भने त्यसको दायरा सीमित र संकुचित हुन्छ, त्यस्तो संयन्त्र अर्थहीन हुन्छ । त्यसैले, संयन्त्र बनाउँदा त्यसको दायरा, क्षेत्राधिकार के-के हुने र त्यसलाई राज्यले कसरी मान्ने भन्ने पक्ष महत्त्वपूर्ण हुन्छन् । राजनीतिक नाराका लागि अलमल्याउन मात्रै संयन्त्र बनाउने हो भने त्यसले समस्या सुल्झाउनुको सट्टा बल्झाएर जान्छ ।

तपाईंहरूसँग यस विषयमा छलफल भएको छ कि छैन ?

केही कुरा भएको छ, तर गहिरो छलफल भएको छैन ।

सबै दलबीच सहमति गराउन राष्ट्रिय सहमति गर्न तपाईंहरू सकारात्मक हुनुहुन्छ । तर, मधेसवादी दलहरूबीचमै एकता होइन, फुट भइरहेको छ नि ?

मधेसवादी दल, पहाडवादी दल र हिमालवादी दल भनेको आधारमा एकता हुदैन । एकता नीतिगत आधारमा हुन्छ, साझा लक्ष्यका आधारमा हुन्छ । सबै मधेसवादी दलका लक्ष्य मधेसी जनतालाई मुक्ति र अधिकार दिलाउने होइन, त्यस कारणले पनि एकता नभएको हो ।

Subscribe to comments feed Comments (6 posted):

shiva on 28/11/2009 07:19:59
avatar
yo upendra le des tukryaune kura gardai cha
pahile des nepal hunu paryo ni
afu hero banna lai des nai tukraune kur a granu bayena ni
Thumbs Up Thumbs Down
1
deshdrohi on 26/11/2009 05:35:08
avatar
तिमी हरु को भाषा को कुरा सुनेर अचम्म हुन्छु म....मेरो बिचार मा त अब अंग्रेजी लाइ सरकारी को भाषा बनाउनु पर्छ र अरु सबै भाषा लाइ पाखा लगाउनु पर्छ....नेपाल मा भाषा मा राजनीती धेरै भयो....
Thumbs Up Thumbs Down
11
saugat on 26/11/2009 05:31:50
avatar
yo chor ho upendra yadav. yesto paji ko interview lina naya patrikalai suhaudaina kinaki hare nepali janta pahila nepali huncha ani balla madhesi huncha yo ta pahila nai madhesi hu bhancha yeslai jantako agadi lagera **ak ma sisnu pani lagaunu parcha.
Thumbs Up Thumbs Down
12
Rohit on 26/11/2009 05:13:32
avatar
Upendra ji vaneko vukne kukur ho, so usko kura patyaunu vanekai maha murkha ko kam ho.
Thumbs Up Thumbs Down
2
Ramesh on 26/11/2009 04:47:32
avatar
Upendra ji ma khas vaye pani adhyan ra dedication ko hisable tapailai Bijay Gachchedar vanda tapailai ali maathillo category ma rakheko chhu tara tapai pani ali over vayera kura garna thale jasto lagyo ho tapaima yogyeta ra powerle saknu hunchha vane awasye tapai pani nepalko prime minister huna saknu hunchha tara desh chalauna tapai pani bjiay gachhedar jasto dekhiyo vane tapailai tapaile leadership dinu vayeko madhesi janta le tukra tukra parchhan tesaile hosh garnu hosh
Thumbs Up Thumbs Down
2
Suresh on 26/11/2009 03:59:55
avatar
..... "अबको सरकारमा राजनीतिक सुझबुझ भएका र जनताद्वारा विजय गराइएका व्यक्तिहरू सहभागी हुनुपर्छ । भ्रष्टाचार गरी अकूत सम्पत्ति कमाएका र हरुवाहरूविहीन सरकार बन्नुपर्छ । नेतृत्वका सवालमा उच्चस्तरीय संयन्त्रले निर्धारण गर्छ ।"...
Thumbs Up Thumbs Down
-3
total: 6 | displaying: 1 - 6

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?