तत्काल राजनीतिक संयन्त्र बनाउने सहमति
नयाँ पत्रिका काठमाडौं, ८ मंसिर कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच तत्काल उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने सहमति भएको छ । कोइरालाको पछिल्लो स्वास्थ्य अवस्था र जारी राजनीतिक गतिरोध अन्त्यका विषयमा छलफल गर्न सोमबार उनकै निवास महाराजगन्ज पुगेका प्रचण्ड र कोइरालाबीच २/४ दिनभित्र उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने सहमति भएको हो । अपराह्न ३:१० देखि आधा घन्टा भएको भेटमा चाँडो उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने र त्यसबाटै सबै समस्याको समाधान खोज्ने सहमति भएको छ । दुई नेताबीच राष्ट्रपतिको कदमका विषयमा मध्यमार्गी बाटो खोज्ने सहमतिसमेत भएको छ । राष्ट्रपतिको पनि अपमान नहुने र माओवादीलाई पनि मान्य हुनेगरी बीचको बाटो खोज्न उनीहरू सहमत भएको स्रोतले बताएको छ । कोइराला र प्रचण्डबीच राष्ट्रपति र तत्कालीन प्रधानमन्त्री दुवैको कदमको उच्चारण नगरी साझा संकल्प-प्रस्ताव तयार गर्ने विषयमा कुराकानी भएको छ । त्यससँगै अन्तरिम संविधानमै संशोधन गरी राष्ट्रपतिको क्षेत्र अधिकार तोक्ने सहमति नजिक उनीहरू पुगेको स्रोतको दाबी छ । राष्ट्रपतिको कदमका विषयमा राजनीतिक संयन्त्र गठनपछि थप कुरा अघि बढाउने सहमति कोइराला र प्रचण्डबीच भएको छ । राजनीतिक संयन्त्र गठनलाई मूर्तरूप दिन कांग्रेस सभापति कोइरालाले अन्य दलसँग छलफलपछि संयन्त्र गठन गर्ने सहमति भएको कांग्रेस केन्द्रीय सदस्य एवं उपप्रधानमन्त्री सुजाता कोइरालाले जानकारी दिइन् । उनले भनिन्, 'गिरिजाबाबुले अन्य पार्टीसँग पनि कुराकानी गर्नुहुन्छ, अनि संयन्त्र गठन हुन्छ ।' माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापति कोइरालासँग सिंगापुरमा भएको भेटवार्ताको निरन्तरता भएको बताउँदै छिट्टै उच्चस्तरी राजनीतिक संयन्त्र गठन हुने जानकारी दिए । उनले भने, 'तपाईंहरू हेर्दै जानुहोला २/४ दिनभित्रै निकास आउनेछ ।' प्रचण्डले उच्चस्तरीय राजनीतिक संयन्त्र गठनपछि राष्ट्रपतिको कदमका विषयमा मध्यमार्गी बाटो खोज्ने सहमति भएको बताए । मध्यमार्गी बाटो के हो भन्ने स्पष्ट नपारेका प्रचण्डले भने, 'छिट्टै उच्चस्तरीय मेकानिजम बन्छ र त्यसले स्पष्ट खाका तयार गर्छ ।' माओवादी अध्यक्ष प्रचण्डले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने र राष्ट्रपतिको कदममा मध्यमार्ग खोज्ने विषयलाई सरकार परिवर्तनसँग नजोडिएको बताए । उनले भने, 'राजनीतिक संयन्त्र गठन र राष्ट्रपतिको कदमको मध्यमार्ग खोज्ने कुरा सरकार गठनसँग नजोड्नुहोला, यो फरक कुरा हो ।' १८ दलको आग्रहमा तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई थमौती गर्ने राष्ट्रपतिको कदमलाई माओवादीले असंवैधानिक भन्दै आएको छ । कांग्रेस सभापति कोइरालाले सिंगापुरमा आफूसँग हुँदै नभएको कुरा गर्दै हिँडेको भन्दै प्रचण्डसँग असन्तुष्टि पोखेका छन् । सिंगापुरबाट फर्केपछि प्रेसमा दिएको अभिव्यक्तिका विषयमा कोइरालाले चासो व्यक्त गरेका थिए । कोइरालाले असन्तुष्टि जनाएपछि प्रचण्डले आफूले सरकार परिवर्तनको विषयमा त्यस्तो अभिव्यक्ति नदिएको भन्दै प्रेसले नबुझेको बताएका छन् ।



del.icio.us
Digg
Post your comment