Newsletter
Email:
Home | दृष्टिकोण | स्वायत्त शासन र स्रोतको बाँडफाँड

स्वायत्त शासन र स्रोतको बाँडफाँड

Font size: Decrease font Enlarge font
image

स्वायत्त शासनबारे विभिन्न किसिमका विचार अगाडि आएका छन् । धेरैजसो व्यक्तिमा केन्द्रको दृष्टिकोण हावी रहेको छ, जसले स्थानीय दृष्टिकोण समेट्दैन । स्थानीय जनताको दृष्टिकोणबाट स्वायत्त शासनलाई हेर्नुभन्दा केन्द्रको सरकारी खर्च कसरी घटाउन सकिन्छ भन्ने सम्बन्धमा यस्तो दृष्टिकोण प्रतिपादित भएको देखिन्छ । स्वायत्तताबारे स्थानीय जनताको दृष्टिकोण कस्तो छ र कस्तो हुनुपर्छ भन्ने प्रश्न यो खाले दृष्टिकोणले प्रतिविम्बित गर्दैन । यसले केवल प्रशासनिक कोणबाट स्वायत्तताको प्रश्नलाई हेर्छ । यसले वित्त नियन्त्रण गर्ने र अनुदान दिने एजेन्सीहरू, योजना आयोग र अर्थ मन्त्रालयको कोणबाट मात्र स्वायत्तताको समस्यालाई परिभाषित गर्न खोज्छ ।
यसको सीमा के पनि हो भने यसले राजनीतिक दृष्टिकोणबाट स्वायत्त शासनको समस्यालाई हेर्दैन । स्थानीय तहमा जनताको अधिकार कसरी बढाउने, उनीहरूका साधन-स्रोत र उत्पादन कसरी बढाउने भन्ने कोणबाट यसले स्वायत्तताको प्रश्नलाई हेर्दैन । खालि अनुदान र खर्च घटाउने कोणबाट मात्र यसले समस्यालाई हेर्छ । स्थानीय तहमा प्रान्तीय सरकारले जनताका लागि आर्थिक कारोबार कसरी बढाउन सक्छ ? बढ्दो आर्थिक कारोबारमा प्रान्तीय सरकारले कर लगाएर साधन-स्रोतमाथि स्थानीय जनताको पहुँच कसरी बढाउन सक्छ ? र, प्रान्तीय सरकार स्वायत्त ढंगले सञ्चालन गर्न सकिन्छ ? यी कोणबाट यसले स्थानीय स्वायत्तताको मुद्दालाई हेर्दैन ।
स्वायत्तताका लागि मूलतः पैसाको होइन, राजनीतिक कार्यको सघनता आवश्यक हुन्छ । यसका लागि केन्द्रबाट आउने अनुदानको होइन, स्थानीय राजनीतिक कामको सघनता जरुरी हुन्छ । अब प्रश्न उठ्छ, राजनीतिक कार्यको सघनता कसरी ल्याउने त ? राजनीतिक कार्यको सघनता भनेकै प्रान्तीय निर्वाचित सरकार र त्यसका पदाधिकारीले त्यहाँका जनताका सबै खाले समस्यालाई उजागर गर्ने र राजनीतिक समाधान खोज्ने हो । त्यसका लागि स्थानीय जनतालाई संगठित गर्दै, संघर्ष चलाउँदै, उनीहरूलाई शक्ति र अधिकारसम्पन्न पार्ने तथा स्रोत-साधनसम्पन्न पार्ने काम हो । सबैजसो स्थानीय जनताका, मुख्यगरी भूमिहीनका, किसानका, मजदुरका, महिलाका, जनजातिका, त्यसमा पनि मूलतः दलितका गरिबी र बेरोजगारको समस्या उजागर गर्ने र संगठित भएर ती समस्याको हल गर्न खोज्ने उद्यमलाई मैले राजनीतिक कार्य भनेको हुँ ।
स्थानीय तहमा स्वायत्ततालाई टिकाउन र सबल तुल्याउन त्यहाँका सबै बासिन्दाको, मूलतः उत्पीडित-उपेक्षित समूहको जीविकोपार्जनसम्बन्धी, शक्ति र अधिकारसम्बन्धी, पहिचानसम्बन्धी, शिक्षा एवं स्वास्थ्यसम्बन्धी प्रश्नमा सघन र संगठित छलफल चलाउनुपर्छ । अर्थात् जीवनका सबै पक्षसम्बन्धी समस्या हल गर्न सामूहिक र संगठित उपाय निकाल्नुपर्छ । के गरेमा समस्याको न्यूनीकरण र निर्मूलीकरण हुन्छ भन्नेबारे छलफल गर्नुपर्छ । देशका छत्तीसै हजार वडामा, त्योभन्दा तल हरेक बस्तीमा यस्ता प्रश्नमा छलफल चलाउनुपर्छ । स्थानीय तहमा स्रोत-साधनको दायरालाई कसरी बढाउन सकिन्छ, ती स्रोत-साधनको उत्पादकत्व कसरी बढाउन सकिन्छ, उत्पादनको बढीभन्दा बढी हिस्सा कसरी वास्तविक श्रमिकको अधिकार क्षेत्रभित्र पार्न सकिन्छ भन्नेबारे सचेत रहनुपर्छ ।
यस्तो संघर्ष चलाउने मुख्य आधार हुनुपर्छ ः मानवीय श्रमको उच्चतम मूल्यांकन । श्रमको मूल्यांकनको आधारमै उत्पादनको न्यायपूर्ण बाँडफाँड हुनुपर्छ स्थानीय तहमा । यो भनाइको मतलब के पनि हो भने जन्मजात रूपमा पाइने खालका विशेषाधिकारलाई निषेध गर्दै जानुपर्छ । त्यसको अर्थ हो ः वर्गको विशेषाधिकार, जातको विशेषाधिकार, शासकवर्गीय भाषाको र धर्मको विशेषाधिकार, जातिको विशेषाधिकार आदिको अन्त्य गर्दै जानुपर्छ । श्रमको कदर गर्ने भनेको जन्मजात विशेषाधिकारको नास गर्ने पनि हो । जन्मजात विशेषाधिकारलाई प्रश्रय दिने खालको संरचनालाई भत्काउँदै लैजाने पनि हो । त्यसरी भत्काउँदै जाने क्रममै स्थानीय स्वायत्तता राजनीतिक रूपले सघन र बलियो हुँदै जान्छ । उत्पीडितहरूको छलफल, संगठन र संघर्ष फलदायी हुँदै जान्छन् ।
यस्ता छलफल र संघर्षका साथै केन्द्रीय र मध्यवर्ती सरकारसित बढीभन्दा बढी स्वायत्तता लिने प्रक्रिया पनि थाल्नुपर्छ । वार्ता र संघर्षको माध्यमबाट भन्नुपर्छ, 'अब हामी राजनीतिक रूपले सक्षम छौँ, किनभने हाम्रो राजनीतिक कार्य सघन हुँदै छ, हामी स्रोत-साधन पनि ज्यादा बटुल्दै छौँ, किनभने हामी स्थानीय तहमा घर-घरले गर्ने उत्पादन र उत्पादकत्व पनि बढाउँदै छौँ, हामीले तिर्ने कर पनि बढाउँदै छौँ !' यसकै आधारमा प्रान्तीय सरकारले केन्द्रीय सरकारसित बढीभन्दा बढी स्वायत्तताको माग गर्ने हो ।
स्थानीय स्तरमा राजनीतिक, आर्थिक र सांस्कृतिक कार्य जति ज्यादा सघन हुन्छ, उति प्रान्तीय सरकारले केन्द्रीय सरकारसित बढी स्वायत्तताको माग गर्न सक्छ । जुन गाउँ, बस्ती वा प्रान्त आर्थिक र राजनीतिक कार्यको सघनताको हिसाबले बलियो हुँदै जान्छन्, जुन गाउँ, बस्ती वा प्रान्तले आप\mनो सांस्कृतिक पहिचानको जगेर्ना पनि गर्दै जान्छन्, तिनले त्यही आधारमा केन्द्रसित बढी स्वायत्तताको माग गर्न सक्छन् ।
बढी स्वायत्तताको मागको स्वरूप कस्तो हुन्छ त ? कुनै क्षेत्रमा पानीको स्रोत छ भने त्यसबाट बिजुली निकालिएमा वा खानेपानीको पाइप लगिएमा उसले केन्द्रसित त्यसको रोयल्टी माग गर्न सक्छ । उदाहरणका लागि, मेलम्चीका जनताले केन्द्रसित आफूकहाँबाट लगिएको पानीको रोयल्टी माग्न सक्छन् । कणर्ाली प्रदेशका मान्छेले आफूकहाँ बाँध बाँधेर बिजुली निकालिएमा त्यसबापतको रोयल्टी माग गर्न सक्छन् । अहिले त्यस्तो प्रचलन केही मात्रामा चल्न पनि थालेेको छ ।
स्थानीय स्रोतबाट रोयल्टी माग गर्ने क्रममा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रलाई पनि उदाहरणका रूपमा लिन सकिन्छ । त्यस क्षेत्रमा पर्यटनबाट जति पैसा आउँछ, त्यसको केही भाग त्यहाँका स्थानीय निकायले पाउँछन् । यो प्रचलनलाई व्यापक बनाउनु आवश्यक छ । स्थानीय स्रोत-साधन भनेको हाम्रो स्रोत-साधन हो, केन्द्रले त्यसमाथि जथाभावी गर्न पाउँदैन भन्ने दाबी गर्ने स्थिति स्थानीय राजनीतिक कार्य र आर्थिक कार्यको सघनताबाट बन्दै जाने कुरा हो ।
प्रान्तीय सरकार भनेको त्यहाँका धनी र जन्मजात विशेषाधिकार सम्पन्नको मात्र नभई त्यहाँको गरिब, त्यहाँका जनजाति, त्यहाँको दलित, त्यहाँका महिलाको समेत आँखामा बैध हुने हो भने यो सबल हुन्छ । र, सबल स्थानीय सरकारले आफूभन्दा माथिल्ला निकाय वा केन्द्र सरकारसित बढी स्वायत्तताका लागि लड्न सक्छ । यस्तो प्रकृतिको प्रान्तीय सरकारको बोलीमा दम हुन्छ ।
यी खालका दाबी लोकतन्त्र, समता र सामाजिक न्यायमा आधारित भने अवश्य हुनुपर्छ । जे पनि दाबी गर्न सक्दैन प्रान्तीय सरकारले । 'मेरो ठाउँमा पानी छ, म कसैलाई दिँदै दिन्नँ, म तँलाई बिजुली निकाल्न दिन्नँ' भन्न सरकारले पाउँदैन । समता, राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायका आधारमा दाबी जायज हुनुपर्छ ।
प्रान्तीय सरकार स्वायत्त, लोकतान्त्रिक र न्यायपूर्ण हुन सिंगो राज्यसत्ता पनि त्यस्तो हुनु र हुँदै जानु जरुरी छ । केन्द्र लोकतान्त्रिक र न्यायप्रति समर्पित नहुने, तर प्रान्त मात्र त्यस्तो हुने कल्पना गर्न सकिन्न । प्रान्तीय सरकारको स्वायत्ततालाई लोकतान्त्रिक र न्यायप्रति समर्पित ढाँचामा ढाल्न केन्द्रीय राज्यसत्ताले पनि सोही रूप धारण गर्नु र गर्दै जानुपर्ने जरुरी हुन जान्छ । प्रान्तीय सरकार स्वायत्त, लोकतान्त्रिक र न्यायपूर्ण भयो भने, त्यस्तो हुनेको संख्या धेरै भयो र संगठित हुँदै गयो भने तिनले केन्द्रीय सरकारसित द्वन्द्व गर्न सक्छन् । केन्द्रीय सरकार स्वायत्तताको पक्षधर, लोकतान्त्रिक र न्यायपूर्ण भयो भने त्यसले प्रान्तीय सरकारलाई पनि त्यही स्वरूपमा ढाल्ने प्रयत्न गर्छ । प्रान्तीय सरकार धेरै यस्ता चरित्रका हुँदै गए, तर केन्द्रीय सरकार त्यस्तो चरित्रको भएन भने त्यस्तो सरकारलाई ढाल्न पनि सघाउ पुर्‍याउँछ यो प्रक्रियाले ।
सारांशमा, स्वायत्तता केन्द्रबाट आउने अनुदानमा आधारित नभएर प्रान्तीय सरकारको राजनीतिक कार्यको सघनतामा र लोकतन्त्रमा आधारित हुनु आवश्यक छ । जुन दृष्टिकोणले स्वायत्ततालाई वित्तीय अनुदान घटाउने साधनका रूपमा बुझ्छ, सांसदको संख्या, प्रान्त वा जिल्लाको संख्या घटाएर स्थानीय वा प्रान्तीय सरकार बढी स्वायत्त हुनसक्छ भन्ने तर्क अघिसार्छ, त्यसलाई सारै अपूरो र गलत ठहर्‍याउनुपर्छ ।
स्वायत्तताको कुरो गर्दा जुन-जुन प्रान्त र क्षेत्रमा जुन भाषाको बाहुल्यता छ, त्यो भाषा अरूले सिक्नुपर्छ अनि प्रान्तीय सरकारले त्यसलाई त्यहाँको कामकाजको भाषाका रूपमा चलनचल्तीमा ल्याउनुपर्छ । जस्तो, ताप्लेजुङमा त्यहाँको बाहुल्यता भएको लिम्बू भाषा अरूले सिक्नुपर्छ र लिम्बू भाषामा स्कुलमा पठन-पाठन पनि हुनुपर्छ । त्यस्तै, काठमाडौं उपत्यकामा नेवार भाषा, सिन्धुपाल्चोकमा तामाङ भाषा, अनि मनाङमा गुरुङ भाषा ।
तर, प्रान्तीय सरकारले त्यहाँ अरू पनि जे-जति २/४ वटा भाषा छन्, तिनलाई पनि अड्डा-अदालतमा प्रयोगमा ल्याउन दिनुपर्छ । सबै भाषालाई समान मान्यता दिनुपर्छ र धर्ममा पनि यस्तै नीति लागू गर्नुपर्छ । कुनै एउटा भाषालाई राष्ट्रभाषा, अरूलाई राष्ट्रिय भाषा भन्ने प्रावधान संविधानमा राखिनु हुन्न । आप\mनो भाषामा बोल्ने, लेख्ने, लागू गर्ने शिक्षा र प्राप्त गर्ने हक हरेक भाषाभाषीले प्राप्त गर्नुपर्छ ।
तर, जातीय आधारलाई नै एक मात्र वा मुख्य आधार मानेर स्वायत्त शासनको संरचना सिर्जना गर्ने र त्यसअनुरूप राजनीति सञ्चालन गर्ने अवधारणाको पक्षमा भने म छुइन । पक्कै पनि लामो कालदेखिको जातीय उत्पीडनले नै त्यस्तो अवधारणा जन्माएको हो । तर, त्यस्तो एकांगी दृष्टिकोणले लोकतन्त्र, बहुलवाद, समानताजस्ता मूल्य-मान्यतालाई सघाउँदैन । यस्तो अवधारणा कालान्तरमा प्रत्युत्पादकसमेत हुन सक्छ । काठमाडौंमा नेवार भाषा सरकारी कामकाजको भाषा होस्, यो भाषा अरूले पनि सिकून् । तर, काठमाडौं नेवारको मात्र क्षेत्र होइन, किनभने यसले राष्ट्रिय एकता बढाउँदैन । यहाँ अरू पनि जे-जति २/४ वटा भाषाभाषी छन्, तिनको पनि क्षेत्र होस् काठमाडौं । ती भाषा पनि समान मान्यताप्राप्त र सरकारी कामकाजका भाषा हुन सकून् ।
सारांशमा स्वायत्त शासनको कुरा गर्दा भाषा पनि स्वायत्तताको एउटा आधार होस्, । तर, भाषा, धर्म, जात मात्रै आधार बन्नुहुन्न भन्ने मेरो धारणा छ । स्वायत्तताको मुख्य आधार त राजनीतिक, सांस्कृतिक र आर्थिक
कार्यको सघनता नै हुनुपर्छ । लोकतन्त्र, बहुलवाद र समानता नै हुनुपर्छ ।

Subscribe to comments feed Comments (2 posted):

Balaram Thapa on 22/11/2009 10:34:36
avatar
जाति, भाषा, धर्म​, संस्क्रिति जस्ता कुराहरुलाई एउटा जातीय राज्यको सिमाना भित्र संकुचित गर्नुभन्दा देशको सिमाना मात्र होइन विश्वभरी फल्नेफुल्ने अवसर दिइनु पर्छ । राज्यको पुन​:संरचना जातीय​, सांस्क्रितिक तथा भौगोलिक विविधता बीचको एकता, आर्थिक सम्रिद्धिका संभावनाहरु र जातीय तथा सांस्क्रितिक फ्युजनको आधारमा सम्रिद्ध नेपाल र एउटै सम्पन्न​ नेपाली जाति निर्माण गर्ने दीर्घकालीन सोचको आधारमा हुनु पर्छ ।
Thumbs Up Thumbs Down
0
Dambar Chemjong on 21/11/2009 19:25:29
avatar
प्रोफेसर मिश्रले यो तहको कुरा अगाडि ल्याइदिनु भो, म अत्यन्त खुशी छु । यहाँको प्रस्तुतिमा सिन्क्रोनिक मल्टिकल्चरलिज्म झल्किन्छ । तर हाम्रा योजनाकारहरु, ठुला पार्टिका डाक्टर बिध्याधारी महारथीहरु अझै पनि डाएक्रोनिक मल्टिकल्चरलिस्ट चिन्तनले ग्रसित छन् । र केन्द्रलाई 'फर्वार्ड मुभिङ', 'कुकड्' 'सिविलाइज्ड' र प्रान्तलाई 'ब्याक्वार्ड लुकिङ' 'र' 'अन्सिभिलाइज्ड' को रुपमा बुझेर आज पनि ब्रिहत्तम नेपाली सामाजिक सङ्रचनालाई (यस भित्र धेरै अन्य सङ्रचनाहरु छन्)तेही १९ औँ सताब्दीको इभोल्युसनिस्ट 'ट्र्याप'मा राखेर बुझ्न खोज्छन अनी आफु वा केन्द्र जहीले पनि माउ हुन खोज्छन्, र प्रान्तलाई चल्ला ठान्छन । भर्याङ्को सिँढी चढेजस्तै डार्विनबादी उद्बिकासिय लम्बवत तहहरुको सङ्रचनामा समाजहरुलाई हेर्ने चिन्तन डाएक्रोनिक मल्टिकल्चरलिज्म हो, साँस्क्रितिक भिन्नताहरुलाई यसरी हेर्नुले नै समस्या धेरै सिर्जना गरेको हो पहीले पनि । बिबिधताको फैलावट कन्टेम्पोरनिअस कल्चरल डिफ्फ्रेन्सेस स्पासिअल (क्षेत्रीय ) रुपमा अबस्थित छन् भनेर बुझेर त्यो अनुसार आफुलाई पुन:संरचित गरियो भने चाँही सबै सँस्क्रिती र सामाजिक सम्बन्धहरु समान हुन भन्ने बुझ्न कुनै कठिनाइ पर्ने छैन । स्वायत्तताको आधार बहुल हुनुपर्छ । मागेको कुरा स्थापित हुनु पर्छ, नमागेको कुरा केन्द्र जान्ने भएर कोच्ने होइन र ' 'केन्द्र' भन्ने साँच्चै जान्ने हुँदा पनि होइन ।
Thumbs Up Thumbs Down
0
total: 2 | displaying: 1 - 2

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?