गुणस्तर तथा नापतौलको काम प्रभावहीन
बुटवल/ गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बुटवलको काम प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । दरबन्दीअनुसार कर्मचारी नहुँदा काममा ढिलासुस्ती भएपछि सो अवस्था देखिएको हो । कार्यालयले विभिन्न व्यापारिक स्थलमा समय-समयमा छड्के गर्नुपर्ने प्रावधान भए पनि अचेल कर्मचारी अभावकै कारण निरीक्षण रोकिएको छ । कार्यालयमा सवारीचालकसमेत नहँुदा गाडी थन्किएको छ । गुणस्तर तथा नापतौल कार्यालय बुटवलमा नौ प्राविधिक र चार प्रशासनिक गरी १३ जनाको दरबन्दी भए पनि प्राविधिकतर्फ तीनजना मात्र कर्मचारी हुँदा काममा समस्या उत्पन्न भएको कार्यालयप्रमुख श्रीपति झाले बताए । उनले सवारीचालक नहुँदा छड्केका काम हुन नसकेको जानकारी दिए । अञ्चलका ६ जिल्लामा नापतौलको निरीक्षण, अनुगमन, नयाँ अनुमति र नवीकरण गर्ने कार्यालयले दक्ष प्राविधिक नहुँदा काममा प्रभावकारिता ल्याउन नसकिएको प्रमुख झाको भनाइ छ । सरकारले ल्याएको स्वेछिक अवकाश कार्यक्रमअन्तर्गत सो कार्यालयका चारजनाले अवकाश लिएका र एकजना सिनियर प्राविधिक बढुवा भई सरुवा भएको तथा एक चालकले अनिवार्य अवकाश पाएपछि कार्यालयमा ६ जनाको दरबन्दी खाली छ । प्राविधिक कर्मचारी अभाव भएपछि प्रशासनका कर्मचारीबाट काम चलाउनुपरेको कार्यालयले जनाएको छ । मन्त्रालयसँग पटक-पटक प्राविधिक कर्मचारी माग गर्दा पनि नपठाएपछि निरीक्षणमा थप समस्या थपिएको कार्यालयप्रमुख झाले बताए । कार्यालयले अहिले रुपन्देहीको भैरहवा क्षेत्रमा लेखाप्रमुखको संयोजकत्वमा कार्यालय सहयोगी र एक प्राविधिक सहायकलाई खटाएर अनुगमन नवीकरण कार्य गरेको छ । कर्मचारी कम भए पनि सकेजति काम गर्दै आएको दाबी झाको छ । उनले पुसमा नवलपरासी र फागुनमा कपिलवस्तुमा अनुगमन गर्ने योजना बनाएको जानकारी दिए । चालक अभावमा दुई वर्षदेखि कार्यालयको गाडी सञ्चालन भएको छैन । यसले गर्दा कार्यालयबाट अनुगमन, निरीक्षण, नवीकरण र नयाँ दर्ताका लागि फिल्डमा जान समस्या भएको कार्यालयले जनाएको छ । नापतौल तथा गुणस्तर क्षेत्रीय कार्यालय बुटवलको कार्यक्षेत्रअन्तर्गत गुल्मीमा एक हजार २१, अर्घाखाँचीमा पाँच सय ९६, नवलपरासीमा तीन हजार तीन सय पाँच, कपिलवस्तुमा दुई हजार नौ सय १५, पाल्पामा एक हजार पाँच सय ८२ र रुपन्देहीमा पाँच हजार ६ सय एक व्यवसायी गरी कुल १८ हजार २० व्यवसायीले नापतौल तथा गुणस्तरको अनुमतिपत्र लिएका छन् ।



del.icio.us
Digg
Post your comment