विद्यालय बन्द गरी भ्रमणमा शिक्षक
कैलाली, २४ कात्तिक :
कैलालीको प्रतापपुर गाविसको एक उच्च माविका शिक्षकहरू विद्यालय नै बन्द गरेर विद्यार्थीहरूसँगै शैक्षिक भ्रमणमा गएका छन् । शिक्षकहरू नहुँदा चार दिनदेखि बन्द रहेको विद्यालय अझै चार दिनपछि मात्र खुल्नेछ ।
कक्षा १० र १२ का विद्यार्थीहरूको मात्र भ्रमण भए पनि सम्पूर्ण कक्षाको पठनपाठन ठप्प भएको हो । विद्यालय प्रशासनले विद्यार्थीहरूलाई सार्वजनिक सूचना नै जारी गरी शुक्रबारदेखि बुधबारसम्म विद्यालय बन्द रहने जनाएको थियो । शैक्षिक भ्रमणका लागि विद्यालयले कक्षा १२ का विद्यार्थीलाई ३५ हजार र कक्षा १० विद्यार्थीहरूलाई २० हजार विनियोजन गरेको थियो ।
शिक्षकहरू विद्यालय बन्द गरी शैक्षिक भ्रमणमा गएकोप्रति विद्यालय व्यवस्थापन समितिले आपत्ति जनाएको छ । समितिका अध्यक्ष कर्णबहादुुर चौधरीले भने, 'यो विद्यार्थीको भविष्यमाथि खेलवाड हो ।' उनले विद्यालय बन्द गर्ने सम्बन्धमा व्यवस्थापन समितिसँग कुनै छलफल नभएको बताए ।
'परीक्षा नजिकै आएको बेला विद्यालय बन्द गर्नु गैरजिम्मेवारीपना हो,' अभिभावक राजेन्द्र बमले बताए । सो विद्यालयको परीक्षा मंसिर २१ गतेदेखि सञ्चालन हुँदै छ ।
विद्यालयका प्राचार्य प्रेम कोइरालाले शिक्षकहरू भ्रमणमा गएपछि कक्षा खाली हुने भएकाले शिक्षकहरूको बैठक गरी विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए । विद्यालयमा १२ सय विद्यार्थी अध्ययनरत छन् । उच्च माविमा दुई सय र माविमा एक हजार विद्यार्थी छन् ।
विद्यार्थीले दुई समूहमा भ्रमण टोली बनाएका थिए । १० कक्षाका विद्यार्थी मंगलबार नै फर्किएका छन् भने १२ कक्षाका विद्यार्थीहरू पाँच दिनको भ्रमण प्याकेज बनाएर गएका छन् । उच्च माविका विद्यार्थीको समूहसँग १० शिक्षक गएका छन् भने दस कक्षा समूहसँग प्राचार्यसहितको टोली गएको थियो ।
यसैगरी, बलिया-९ व्यवस्थितनगरमा रहेको श्री राष्ट्रिय उच्च माविका शिक्षकहरू पनि विद्यालय नै बन्द गरी शैक्षिक भ्रमणमा गएको पाइएको छ । गत असोज २७ गतेदेखि ४ दिनसम्म विद्यालयको पठनपाठन रोकेर विद्यार्थीसँगै सबै शिक्षक पोखरा घुम्न गएका थिए ।



del.icio.us
Digg
Post your comment