'प्रभुको इशारामा राष्ट्रपति शासनको ध्वाँस’
नयाँ पत्रिका
काठमाडौं, २२ कात्तिक एकीकृत माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले राष्ट्रपति शासनको अभिव्यक्ति दक्षिणतिरका 'प्रभु' को इशारामा आएको दाबी गरेका छन् । 'संविधानसभा विघटन गरेर राष्ट्रपति शासन लागू गर्ने हल्ला चलाइएको छ, यो विदेशी प्रभुहरूको इशाराबाट आएको ध्वाँस हो,' जनसञ्चार अभियानले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा माओवादी नेता किरणले भने । माओवादी नेता किरणले कांग्रेस र एमालेभित्रका प्रतिगामी र यथास्थितिवादी शक्तिले राष्ट्रपति शासन र संकटकालको वकालत गरेको आरोप पनि लगाए । 'कांग्रेस-एमालेका सबैले यस्तो चाहेका छन्जस्तो लाग्दैन,' उनले अगाडि भने, 'यो कांग्रेस र एमालेभित्रका प्रतिगामी र यथास्थितिवादी शक्तिले ल्याएको षड्यन्त्र हो ।' उनले राष्ट्रपति शासनको अभिव्यक्ति ध्वाँस मात्र भएको टिप्पणी गरे । 'राष्ट्रपति शासन ध्वाँस र फासीवादी अभिव्यक्ति हो,' किरणको भनाइ थियो, 'उनीहरू प्रतिक्रियावादी कु गर्न चाहन्छन् तर हामी उनीहरूका महत्त्वाकांक्षा पूरा हुन दिनेछैनौँ ।' सहमतिका लागि जारी छलफल फलदायी बन्न नसकेको पनि किरणको निष्कर्ष थियो । 'अहिलेसम्मको अवस्था हेर्दा सहमति भइहाल्छ भन्ने देखिन्न,' उनले भने । नेता किरणले अहिले शान्ति, नयाँ संविधान, नागरिक सर्वोच्चता र माओवादी नेतृत्वको राष्ट्रिय संयुक्त सरकार पक्षधर र यसका विरोधीबीच टकराव भइरहेको बताए । 'एक ढंगले बजेट पास गर्न दिनेबारे सोचेका थियौँ, संकटकालको ध्वाँस आयो, अब हामी हेर्छाैँ,' उनले भने, 'अहिलेको अवस्थामा बजेटका लागि सदन खोल्ने सम्भावना छैन ।' राष्ट्रसंघ महासचिव वानकी मुनको अभिव्यक्ति नेपाली राजनीतिलाई निकास दिन, नयाँ संविधान बनाउन र शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउन सकरात्मक रहेको उनले बताए ।



del.icio.us
Digg
Post your comment