केयूको दीक्षान्त समारोह
नयाँ पत्रिका काभ्रे, ६ कात्तिक काठमाडौं विश्वविद्यालयको १५औँ दीक्षान्त समारोहमा यस वर्ष विभिन्न तहका एक हजार चार सय ८६ विद्यार्थी सहभागी भएका छन् । धुलिखेलमा शुक्रबार आयोजित समारोह प्राध्यापकहरूले भने बहिष्कार गरे । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति माधवकुमार नेपाल, श्रीलंकाको कोलम्बो विश्वविद्यालयकी उपकुलपति क्षानिका हिरिम्बुरेगामा तथा काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. सुरेशराज शर्माले प्रमाणपत्र तह, स्नातक र स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेका थिए । प्रधानमन्त्री एवं कुलपति नेपालले विश्वविद्यालयका विभिन्न तहमा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई पदकसमेत प्रदान गरे । यस वर्ष स्नातकोत्तर तहमा सबैभन्दा बढी अंक ल्याएर चान्सलर स्वर्णपदक पाउनेमा एमबिएकी विद्यार्थी परीक्षा पोख्रेल रहेकी छिन् । पोख्रेलले जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदकसमेत प्राप्त गरिन् । यसैगरी स्नातक तहमा सबैभन्दा बढी अंक प्राप्त गर्ने बिटेकका विद्यार्थी हेमन्तराज मैनालीले भाइस चान्सलर स्वर्ण पदक प्राप्त गरे । त्यस्तै एमबिएमा सर्वोत्कृष्ट भएका सुभास कँडेलले रणबहादुर शाह स्वर्णपदक प्राप्त गरे । काठमाडौं विश्वविद्यालयबाट यस वर्ष दीक्षित हुने विद्यार्थीमध्ये ग्रयाजुएट तहबाट तीन सय १२ र अन्डर ग्रयाजुएटबाट ११ सय ७४ जना रहेका छन् । तीमध्ये आठ सय ४४ जना विश्वविद्यालयका आफ्नै शैक्षिक कार्यक्रम तथा ६ सय ४२ जना सम्बन्धनप्राप्त क्याम्पसबाट रहेका छन् । विश्वविद्यालयका अनुसार यस वर्ष दीक्षित हुने विद्यार्थीमध्ये प्राविधिक तथा व्यावसायिक विधामा ६७ प्रतिशत विद्यार्थी रहेका छन् । उपकुलपति डा. सुरेशराज शर्माका अनुसार यस वर्ष काठमाडौं विश्वविद्यालयबाट सात सय ३० जना चिकित्सक उत्पादन भएका छन् ।
कार्यक्रममा कोलम्बो विश्वविद्यालयका उपकुलपति हिरिम्बुरेगामाले दीक्षान्त भाषण गरेकी थिइन् । समारोहमा प्रधानमन्त्री एवं कुलपति नेपालले नेपालमा गरिब र विपन्न परिवारमा हुर्कंदै गरेका लाखौँ बालबालिकाका लागि आधारभूत शिक्षामा पहुँच पुर्याउनु प्रमुख चुनौती भएको बताए ।
प्राध्यापकको बहिष्कार
०६३ देखि काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह बहिष्कार गरेका विश्वविद्यालयका प्राध्यापकले शुक्रबार आयोजित पन्धौँ दीक्षान्त समारोह पनि बहिष्कार गरे । काठमाडौं विश्वविद्यालय प्राध्यापक संघको अगुवाइमा उपकुलपति सुरेशराज शर्मा सहभागी सबै कार्यक्रम बहिष्कार गर्ने निर्णयअनुसार दीक्षान्त समारोह पनि बहिष्कार गरिएको संघका अध्यक्ष रामप्रसाद घिमिरेले बताए ।
'प्राध्यापकका जायज माग पूरा गर्न विश्वविद्यालय गम्भीर नभएकाले दीक्षान्त समारोहमा सहभागी भएनौँ,' घिमिरेले नयाँ पत्रिकासँग भने, 'करिब एक सय ८० प्राध्यापकमध्ये एक सय ५० भन्दा बढी प्राध्यापक दीक्षान्त समारोहमा सहभागी भएनन् ।



del.icio.us
Digg
Post your comment