सरकार नढल्ने साना दलको दाबी
नयाँ पत्रिका काठमाडौं, २३ असोज संसद्मा प्रतिनिधित्व गर्ने अधिकांश साना दलका नेताले वर्तमान सरकारका विरुद्ध अविश्वास प्रस्ताव ल्याउन चुनौती दिएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनीहरूले माओवादीले नागरिक सर्वाेच्चताको नारा अघि सारे पनि उसको आन्दोलन आफ्नो नेतृत्वमा सरकार बनाउन लक्षित भएको दाबी गरे । 'आफ्नो नेतृत्वमा सरकार बनाउने भए संसद्मा बहुमत पुर्याउनुपर्यो, अरू बाटोबाट माओवादी सरकार बन्न सम्भव छैन,' माले महासचिव सिपी मैनालीले भने । उनले अरू बाटोबाट सरकारमा जाने प्रयासलाई बाँदरे प्रवृत्ति भएको बताए । मैनालीले माओवादी, कांग्रेस र एमाले तीन दल मिलेर राष्ट्रपतिविरुद्धको संकल्प प्रस्तावमा छलफल गरे आफूहरूलाई मान्य नहुने बताएका थिए । 'सरकारलाई तीन सय ६० सभासद्को समर्थन छ, परिआए विश्वलाई देखाइदिन्छौँ,' उनले भने । कानुनमन्त्री प्रेमबहादुर सिंहले वर्तमान सरकार २२ दलको समर्थनमा बनेकाले कसैले ढाल्न नसक्ने जिकिर गरे । माओवादीले बाहिर नागरिक सर्वाेच्चताको ढोङ रचेको र भित्रभित्रै सत्ताको खेल खेलेको उनको आरोप थियो । 'बाहिर नागरिक सर्वाेच्चताको ढोङ भित्र सत्ताको खेल । माओवादीको आन्दोलन यही हो,' सिंहले भने । मधेसी जनअधिकार फोरमका नेता बिपी यादवले डा. रामवरण यादवलाई हटाएर गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति र माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाए वर्तमान गतिरोध अन्त्य हुने बताए । माधवकुमार नेपालको नेतृत्वमा सरकार बनाउनु नै संविधान उल्लंघन भएको उनको जिकिर थियो । नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले माओवादीले भनेको नागरिक सर्वाच्चता माधव नेपाललाई हटाउनु मात्र भएको बताए । 'नागरिक सर्वाेच्चताको अभिव्यक्त रूप के हो ?' जोशीले भने, 'देशलाई खतरा हुने बाटोबाट माओवादी सत्तामा जान चाहेको छ ।' नेपाल सद्भावना पार्टी आनन्दीदेवीकी अध्यक्ष सरिता गिरीले राष्ट्रपति प्रकरणमा माओवादीले ल्याएको संकल्प प्रस्तावलाई सदनमा छलफल गर्न तयार हुनुपर्ने बताइन् । संकल्प प्रस्तावलाई सरकार गठनको विषयसँग जोडेर हेर्न नमिल्ने उनको धारणा थियो । राष्ट्रिय जनमोर्चाका नेता सन्तबहादुर नेपालीले माओवादी सरकारको पालादेखि असंवैधानिक कार्यको सुरुवात भएको बताए ।



del.icio.us
Digg
Post your comment