लक्ष्मण बाबा र अपूरो सपना
लक्ष्मण अर्याल अब हामीबीच रहनुभएन । मैले अर्यालबारेे, खासगरी ०४७ सालको संविधान सुझाब आयोगमा उहाँ रहँदादेखि केही जानकारी राख्थेँ । तर, उहाँसँगको अन्तरंग चिनापर्ची भने धेरैपछि मात्र भयो । श्रीलंकाको शान्तिप्रक्रियाबारे थाहा पाउन ०५८ सालमा कोलम्बो जाने क्रममा नै उहाँसँग दोहोरो परिचय र संगत सम्भव भयो । परन्तु अहिले सम्झिँदा अचम्म लाग्छ, के कारणले हो, पहिलो भेटमै र निकै छिट्टो, हामी मनका कुरा गर्न सक्ने हदको नजिक भयौँ । मलाई उहाँको इमान, सरलता र निष्कपट चरित्रले सबैभन्दा ज्यादा तान्यो । त्यहीँदेखि उहाँले मलाई 'पासा' अर्थात् 'साथी' भन्न थाल्नुभयो । मैले पनि उहाँलाई त्यही भन्न थालँे । हामी बैँकक विमानस्थलमा केही घन्टाको विश्रामदेखि नै खुलेर कुराकानी गर्न सक्ने भयौँ । उहाँले विमानस्थलमै एउटा कुनामा ध्यान गर्न थाल्नुभयो । मैले पनि थालेँ । मैले त त्यहाँ धेरैबेर ध्यान गर्न सकिनँ । तर, उहाँ त ध्यानमा डुबेको डुब्यै । पछि त प्लेन हिँड्ने समयमा उहाँलाई साथीहरूले खोज्नु र ब्युँझाउनु नै पर्यो । ध्यानकै सिलसिलामा उहाँ र मबीच कोलम्बोको समुद्री किनारमा भएको एउटा घटना म कहिल्यै बिर्सन सक्दिनँ । लक्ष्मण अर्याल सम्झियो कि अहिले पनि मेरो सम्झनाको मेमोरी डिस्कमा त्यही घटना क्लिक् भइहाल्छ । हामीलाई कोलम्बोको ओवेराय होटेलमा राखिएको थियो जुन समुद्रको एकदम नजिक थियो । 'जाउँ बिहानै समुद्रको किनारमा' भनेर हामी सबै गयौँ । साथमा उहाँसँगै दमननाथ ढुंगाना, पद्मरत्न तुलाधर, गंगा कसजु, शोभा गौतम, मल्ल के. सुन्दरलगायतका अन्य साथी हुनुहुन्थ्यो । समुद्री किनारमा फोटो खिचिसकेपछि अरू साथी अरूतिर लाग्नुभयो, तर उहाँ र म मात्रै एक ठाउँमा रह्यौँ । उहाँले मलाई भन्नुभयो, 'यो समुद्रको छालमा खुट्टा डुबाएर ध्यानमा बस्नु पो मज्जा आउला त ।' लौ न त भनेर उहाँ र म दुवै समुद्रको किनारमा पानीको छालमा खुट्टा चोपलेर ध्यानमग्न भयौँ । बडो आनन्द आयो पनि । तर, घाम झुल्कन र माथि आउन थालेपछि समुद्रको छाल पनि बढ्दै माथि आउनेरहेछ । छाल बढ्दै आएको चाल पाएर म झट्पट् किनारमा आएँ । तर, उहाँ त आउनु नै भएन । समुद्रको छाल घुँडामाथिसम्म आइसक्यो, तर उहाँ त मस्त हुनुहुन्छ अझै ध्यानमा । मलाई त उहाँलाई समुद्रको छालले बगाएर लैजाला भन्ने डर भयो । हत्त न पत्त म समुद्रको किनारमा हाम्फालेँ र बेस्सरी र बलजप\mती पाखुरा समातेर उहाँलाई तानेर ल्याएँ किनारमा । 'ए पासा किन-किन ?' भन्दै हुनुहुन्थ्यो अझै लक्ष्मणजी । एकैछिनपछि देखियो, मैले तत्काल र टाइममै नतानेको भए समुद्रले उहाँलाई त साँच्चै नै तानेर लानेरहेछ, आप\mनो पेटमा । नभन्दै लगत्तैपछि छाल त उहाँ उभिएको ठाउँभन्दा निकै माथिसम्म आयो । मेरो आङ् नै सिरिंग भयो । कस्तो निष्पिmक्री मानिस ! फर्किने क्रममा मैले उहाँलाई भनेँ, 'ध्यानमा बस्नु भनेको होसले परिपूर्ण पो हुनु हो, मदले मत्त भएको मानिस झैँ बेहोस हुनु हो र ?' उहाँले भन्नुभयो, 'ध्यानमा बसेको मानिसलाई केहीले पनि लान्न क्या । व्यर्थमा डरायो पासा त ।' त्यहाँदेखि मैले उहाँलाई दमननाथजीले जस्तै 'लक्ष्मण बाबा' भनेर जिस्क्याउन थालेँ । समयको घडी ज्यादै ढिलो टिकटिक् गर्ने र बित्दो समयसँग कुनै मतलब नराख्ने एकदम निष्पिmक्री स्वभावको मानिस देखेँ मैले उहाँलाई । ध्यान गहिरिएको वेला स्वहीनता, समयहीनता र अनुपम आनन्द स्वभावतः हुने गर्छ, तर अम्मल खाएजस्तो बेहोसी, आलम्वन र मस्ती हुँदैन । उहाँको ध्यानमा त्यो भएकोजस्तो लाग्यो मलाई । त्यसपछि लगातार उहाँसँगको बस्उठ् र सहयात्रा बढ्दै गयो । ०६३ सालको जनआन्दोलनअघि र पछि उहाँसँगै पटक-पटक सँगै हिँड्ने र काम गर्ने अवसर मिल्यो । यो क्रममा ०६२ सालको श्रावणमा नयाँ बानेश्वरमा भएको पहिलो नागरिक सभा गर्दाको दृश्य म अझै सम्झन्छु । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई मञ्चको तल राखेर नागरिक जीवनका विभिन्न फाँटका व्यक्तित्वले बोल्ने, कविहरूले कविता भन्ने र गायकहरूले गीत गाउने कार्यक्रम थियो त्यो । ज्यादै जोखिमपूर्ण समयमा त्यो कार्यक्रममा उपस्थित विशाल जनसमुदायले राजाको शासनको वैधता र लोकपि्रयता नभएको कुरा धेरै राम्ररी छर्लंग पारेको थियो । मैले उद्घोषण गरेेको त्यो कार्यक्रममा उहाँ र विश्वनाथ उपाध्याय मञ्चको एउटा कुनामा खुट्टा तल झुन्ड्याएर पूरै समय बसेको दृश्य अहिले पनि झल्झल्ती सम्झन्छु । राजतन्त्रविरोधी तमाम संघर्षमा उहाँ त्यसपछि नागरिक आन्दोलनमा सँगसँगै हुनुुहुन्थ्यो । पछि ०६२/६३ को ऐतिहासिक जनआन्दोलनको क्रममा कप\mर्यु लागेपछि चैत २४ गते नागरिक आन्दोलनका तर्फबाट त्यो कप\mर्यु तोड्ने निर्णय भयो । विमल अर्याल जेलमै आएर हामीलाई त्यो खबर सुनाउनुभयो । डा. देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी र म त जेलमा नै थियाँै, त्यतिखेर । तर पछि हामीले थाहा पायौँ, कप\mर्यु तोड्न कैयन् साथी हच्किँदाखेरी कुनै पनि हालतमा कप\mर्यु तोड्नैपर्छ भनेर सुरुदेखि अन्त्यसम्म अडान लिने र उत्प्रेरित गर्ने प्रौढ पुस्ताका मानिसमा उहाँ मात्रै एकजना हुनुहुन्थ्यो । स्मरणीय कुरो के हो भने लोकतान्त्रिक आन्दोलनको जतिसुकै जोखिमका समयमा पनि कुनै डर-भर थिएन, त्यो मानिसमा । लोकतान्त्रिक आन्दोलनमा निरन्तर सक्रियता, स्वार्थहीनता र भयहीनता लक्ष्मण अर्यालको अर्को परिचय थियो । धेरैलाई प्रेरित गथ्र्यो उहाँको यो चरित्रले । लक्ष्मण अर्यालप्रतिको मेरो सम्मानको कारण अर्को के रहेको छ भने उहाँ देश र जनताको मामलामा कुनै पनि वाद वा दलीय स्वार्थको घेरोभन्दा माथि उठेर सत्य, न्याय र प्रगतिको पक्षमा बोल्न र खडा हुने आँट गर्न सक्नुहुन्थ्यो । यस्तो गर्न धेरैलाई वादले वा पार्टी पक्षधरताले वा सत्तास्वार्थले छेक्छ, तर उहाँलाई यी कुराले कहिल्यै छेकेको देखिएन । त्यसो भनेर उहाँमा वाद नै नभएको होइन, थियो र त्यो उदारवादी लोकतन्त्र थियो । उहाँमा पार्टी पक्षधरता पनि नभएको होइन । उहाँ नेपाली कांग्रेसलाई सबैभन्दा बढी मन पराउनुहुन्थ्यो । तर, जब पार्टीले बेठीक गथ्र्यो, उहाँ त्यसका विरुद्ध पनि ठीकका पक्षमा निडरतापूर्वक उभिन र बोल्न हिच्किचाउनुहुन्नथ्यो । ठीकलाई ठीक भन्ने, बेठीकलाई बेठीक भन्ने । स्वार्थहीनता र नीडरपना लक्ष्मण अर्यालको महानता हो । उहाँ स्वभावले ज्यादै सरल हुनुुहुन्थ्यो, तर जब लोकतन्त्र, सत्य, सामाजिक न्याय र प्रगतिको कुरो आउँथ्यो, लक्ष्मण अर्याल सही अडान र लिकबाट बरालिएको मैले कहिल्यै पाइनँ । सत्य, न्याय र प्रगतिको पक्षमा वाद भएर पनि वादविहीन, दल भएर पनि दलविहीन, सत्तामोह र स्वार्थमुक्त चरित्रका लागि लक्ष्मण अर्याल सम्झियो कि मेरो शिर सम्मानले झुक्छ । समकालीन उदारवादी वा प्रगतिशील राजनीतिमा यो स्वभावको ज्यादै ठूलो अनिकाल रहेको छ । मैले उहाँसँग उहाँ न्याय क्षेत्रमा लाग्दा आफँै संगत गर्न पाइनँ । तर, उहाँसँगै काम गरेका सबै साथीबाट मैले पाएको अनुभूति के हो भने उहाँ न्याय क्षेत्रमा रहँदा पनि ज्यादै स्वच्छ छविको हुनुहुन्थ्यो । महिला र अन्य पाखा परेका समुदायका लागि समता र सामाजिक न्यायका पक्षमा उहाँले दिएका र आफँैले लेखेका फैसला अहिले पनि प्रगतिशील मानिन्छन् । पछिल्लोचोटि अन्तरिम संविधान बनाउने क्रममा त्यसका मौलिक हकमा जे-जति समतामूलक र सामाजिक न्यायमुखी प्रावधान परेका छन्, त्यसका लागि लक्ष्मण अर्यालको योगदान अतुलनीय रहेको छ । लक्ष्मण अर्याल जीवनको पछिल्लो समयमा ज्यादै चिन्तित र असन्तुष्ट रहेको तथ्य मृत्युभन्दा केही समयअघिको उहाँसितका संवादमा मैले अनुभूत गरेको छु । सहमतीय राजनीति टुटेकोमा र संविधानसभामा कुनै पनि ठूलो दलका प्रमुख नेताले प्राथमिकता नदिएकोमा उहाँ औधी असन्तुष्ट र चिन्तित हुनुहुन्थ्यो । 'यिनले नयाँ संविधान बनाएर खालान्जस्तो मलाई लाग्न छाड्यो पासा,' उहाँको यो थियो मसँगको पछिल्लो अन्तरंग अभिव्यक्ति । दलहरूलाई दबाब दिन अब हामी नागरिकहरू फेरि एकचोटि एकजुट हुनुपर्यो भनेर उहाँले मसित बारम्बार भन्नुभएका शब्दहरू मेरा कानमा अझै गुञ्जायमान छन् । तर, यसो गर्न उहाँ स्वयं लामो समय जीवित रहनुभएन । लक्ष्मण अर्यालको सबैभन्दा आवश्यकता रहेको वर्तमान समयमा उहाँ रहनुभएन । यो अभाव लामो समय खटि्करहनेछ । मर्नुअघिसम्म पनि एकजना अत्यन्त जागरुक र जिम्मेवार नागरिकको भूमिका खेलेर उहाँ त आप\mनो जिम्मेवारीबाट मुक्त हुनुभयो । तर, हाम्रो काँधमा भने अहिले ज्यादै ठूलो जिम्मेवारीको भारी छ । के हामी समयमै नयाँ, अग्रगामी र धेरैलाई स्वीकार्य हुने, समता र सामाजिक न्याययुक्त संविधान निर्माणका लागि राजनीतिक दललाई अग्रसर र एकजुट बनाउन कुनै पनि वाद वा दलको घेरोभन्दा माथि उठेर क्रियाशील र एकताबद्ध हुन सक्छौँ ? लक्ष्मण अर्यालको पूरा नभएको सपना पूरा गर्नु नै उहाँप्रति वास्तविक श्रद्धाञ्जली दिनु हुन सक्छ ।



del.icio.us
Digg
Post your comment