महामारी पीडितलाई दसा बन्यो दसैँ
जाजरकोट, ७ असोज / दसैं र तिहारको आगमनसँगै सबैका घरघरमा खुसीयाली छाएको छ । तर, जाजरकोटका झाडापखालापीडितलाई पीडा र वेदना थपिएको छ । महामारीबाट आफन्त गुमाएका दुई सय ७५ परिवारमा दसैंको कुनै रौनक छैन । महामारीबाट छोरा, छोरी र श्रीमती गुमाएका ढिमे-२ का हरिबहादुर नेपालीको दैलौ अझै खुलेको छैन । उनी आजभोलि आफ्नो पीडा पोख्न छिमेकका घरघरमा जाने गर्छन् । 'मेरो संसारमा के छ र अब जीवनसंगिनी र छोराछोरीलाई बैरी कालले लगिहाल्यो,' उनले भने, 'यो वर्षको दसैं र तिहारले मेरो आलो घाउमा नुनचुक मात्र थपिएको छ ।' हरिबहादुरजस्तै आफन्त गुमाएका घरहरूमा पुग्दा टाढैबाट चिनिन्छन् । न त कमेरो लागेको छ ती घरहरूमा, न त रातो माटो नै । रोकाय गाउ-७ मा गाउँका सबै घरहरू कमेरोले रंगिएका छन्, तर निमबहादुर गिरीको घर अँध्यारो देखिन्छ । गाउभरिका बालबालिका रंगीचंगी लुगा लगाएका छन्, तर सेतो पहिरनमा बसेका निमबहादुरका छोराछोरीको आङमा उही थोत्रे लुगा छन् । उनकी सात वषर्ीया छोरी राममाया भन्छिन्, 'सबैकोमा दसैंको खसी छ, खै हाम्रो ?' निमबहादुरका बाबुको गत वैशाखमा झाडापखालाबाट मृत्यु भएको थियो । निमबहादुरले अहिलेसम्म सरकारले उपलब्ध गराउने राहतसमेत पाउन सकेका छैनन् । दसैं-तिहार त के अहिले महामारीपीडितलाई साँझ-बिहान छाक टार्न पनि धौधौ परेको छ । 'घरमा भएजति रकम झाडापखालाको उपचारमै सिध्यायौँ,' रोकाय गाउँ-६ का जसे नेपालीलेे भने, 'अरूले दसैं मान्लान्, हामीजस्तालाई छाक टार्न हैरान छ ।' गाउँलेहरूले खेती लगाउनुभन्दा बिरामीको उपचार मृतकको मलामी र काजकिरियामा समय खर्चनुपरेकाले अहिले महामारी प्रभावित गाउँमा भोकमारी बढ्दो छ । मजकोट गाविस-६ मजकोट गाउँ यतिवेला सुनसान छ । यहाँका एक दर्जन घर अँध्यारा देखिन्छन् । माहामारीबाट जिल्ल्ाामै सबभन्दा धेरैको मृत्यु भएको यो गाउँका बासिन्दालाई दसैंको आगमनले थप पीडित बनाएको छ । दसैं-तिहार पर्वभरि देउडा, खाडो, पैसेरी, सिंगारुलगायतका नाचगानमा रमाउने यो गाउँका स्थानीयले मलिन अनुहारमा मृतक आफन्तको बरखी बारेका छन् । महामारीले यस गाउँमा मात्रै एक दर्जनभन्दा बढीको ज्यान लिएको थियो । 'पूरै गाउँ शोकाकुल छ, के दसैं मनाउने ?' स्थानीय रामबहादुर शाहीले भने ।



del.icio.us
Digg
Post your comment