शीर्षनेता बैठक स्थगित
नबनयाँ पत्रिका काठमाडौं, ५ असोज सहमतिमा संसद् गतिरोध अन्त्य गर्न सोमबार बोलाइएको प्रमुख सत्तारुढ एमाले, कांग्रेस र प्रतिपक्षी माओवादीका शीर्षनेताको बैठक बस्न सकेन । साझा सहमतिको ठोस प्रस्ताव तयार नभएकाले शीर्षनेताको बैठक बस्दै नबसी स्थगित गरिएको हो । तीन दलका प्रतिनिधिको दुईपक्षीय र बहुपक्षीय छलफलपछि सोमबार शीर्षनेताहरूको बैठक तय भएको थियो । पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको महाराजगन्जस्थित निवासमा कोइराला, माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष झलनाथ खनालसहितका उच्च नेताको बैठक तय भएको थियो । गतिरोध अन्त्यका लागि साझा धारणा बनाउन तीनदलीय नीतिगत सहमति भए पनि सहमतिको ठोस प्रस्ताव हालसम्म तयार भएको छैन । यस्तो प्रस्ताव तयार गर्न आफूहरू प्रयासरत रहेको एमाले महासचिव ईश्वर पोखरेलले बताए । 'सहमतिको साझा निष्कर्ष निकाल्न प्रयासरत छौँ,' महासचिव पोखरेलले नयाँ पत्रिकासँग भने । माओवादीले भने सहमतिको ठोस निष्कर्ष ननिस्कनुमा सत्तापक्ष जिम्मेवार भएको दोषारोपण गरेको छ । 'सत्तापक्ष जिम्मेवार देखिएन, ठोस प्रस्तावसहित वार्तामा बोलाए जान्छौँ, नत्र दसैँपछि आन्दोलनका कार्यक्रम ल्याउँछौँ,' माओवादी प्रवक्ता दीनानाथ शर्माले भने । उनले सहमतिका लागि दसँैसम्म पर्खने बताए । सत्तापक्षका अडान र माओवादी माग समेट्नेगरी साझा संकल्प-प्रस्ताव तयार गरी संविधान निर्माणको आधारभूमि तयार गर्ने उनीहरूको नीतिगत सहमति थियो । सोहीअनुरूप साझा प्रस्ताव तयार गर्न नसक्दा सोमबारको शीर्षनेताको बैठक स्थगित भएको हो । यसअघिका सबै वार्तामा कांग्रेस र एमालेले राष्ट्रपतिलाई विवादमा तान्न नहुने बताउँदै संसद्मा माओवादीको मागबमोजिम संकल्प-प्रस्तावमाथि छलफल गर्न नसकिने अडान राखेका थिए भने माओवादीले राष्ट्रपतिको कदममाथि कुनै न कुनै रूपमा संसद्मा छलफल र मतदानको अडान राखेको थियो ।



del.icio.us
Digg
Post your comment