अलबिदा, असल मान्छे
इमानदार कानुन व्यवसायी, सफल न्यायाधीश, अनुभवी संविधानविद् हो उनको एउटा परिचय । असल शिक्षक र जागरुक नागरिक पनि उनकै अर्काे पहिचान हो । यसरी जीवनका अनेक बाटोमा हिँडे लक्ष्मणप्रसाद अर्याल ।
जीवनका अनेक बाटोमा हिँड्दा अर्यालले कानुनमा स्नातक गरे, मानविकी शास्त्रमा एमए गरे । नेपाल ल क्याम्पस र नेपाल कमर्स क्याम्पसमा १४ वर्ष पढाए । आफूलाई असल शिक्षकको रूपमा पेस गरे । ०२१ सालमा अधिवक्ताका रूपमा कानुन व्यवसाय सुरु गरे उनले । ०३१ सालमा उनले वरिष्ठ अधिवक्ताको उपाधि पाए । उनी ०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा
लागे । ०४२-४३ मा नेपाल बार एसोसिएसनको अध्यक्ष भए अर्याल । उनी ०४६ सालमा संविधान सुधार आयोगका सदस्य भए । ०५० सालमा सर्वोच्च अदालतको न्यायाधीश भई सेवा गरे । वर्तमान अन्तरिम संविधान मस्यौदा समितिको संयोजकको भूमिका निर्वाह गरे उनले । सर्वोच्च अदालतको न्यायाधीश भएपछि उनले आफूलाई सामाजिक रूपान्तरणको अभियन्ताका रूपमा पेस गरे । उनको नेतृत्वमा लैंगिक समवेदनासँग जोडिएका मुद्दाले निकास पाए । ती मुद्दाको फैसलापछि नेपाली अदालतको अन्तर्राष्ट्रिय मञ्चमा समेत चर्चा पायो । निष्ठावान् न्यायाधीशको पहिचान बनाएका अर्यालको संवैधानिक कानुनमा विशेष दख्खल थियो ।
मुटु र मिर्गौला रोगबाट पीडित भएपछि अर्याल एक साताअगाडि उपचारार्थ महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना भएका थिए । बुधबार बिहान त्रिवि शिक्षण अस्पतालमा ७२ वर्षको उमेरमा अर्यालको निधन भयो । उनका श्रीमती, दुई छोरा र तीन छोरी छन् । अर्यालको स्मृति:
चिरकालसम्म बिर्सन सकिन्न गिरिजाप्रसाद कोइराला सर्वोच्च अदालतका पूर्वन्यायाधीश लक्ष्मणप्रसाद अर्यालको आज असामयिक निधन भएको खबरले मलाई स्तब्ध पारेको छ । उहाँ मानव-अधिकारको सम्बर्द्धन तथा जनताको हकहितको रक्षामा सधैं लागिरहने एक सुविख्यात कानुनविद् हुनुहुन्थ्यो । निरंकुशताविरुद्धको लामो जनआन्दोलनमा २०५९ सालदेखि नै सक्रिय रूपमा संलग्न भएर लोकतन्त्रको स्थापनामा उहाँले महत्त्वपूर्ण योगदान पुर्याउनुभएको थियो । २०४७ को संविधान निर्माणमा पनि उहाँको महत्त्वपूर्ण भूमिका छ । सर्वोच्च अदालतको न्यायाधीशमा रहेर न्याय क्षेत्रमा उहाँले चिरकालसम्म कसैले बिर्सन नसक्ने उल्लेखनीय कार्य गर्नुभएको थियो । उत्साही र सकारात्मक मान्छे मानवअधिकारकर्मी उहाँ पद्मोदय स्कुलको शिक्ष्ाक हुँदादेखि नै मैले उहाँलाई चिनेको हुँ । तर, खासै संगत भने गर्न पाएको थिइनँ । ४६ सालको जन- आन्दोलनदेखि हो उहाँसँग मेरो बाक्लो र घनिष्ट संगत हुन थालेको । त्यसपछि भने हामी निरन्तर सहकार्य गरिरहेका थियौँ । ६२/६३ को जनआन्दोलन, नागरिक आन्दोलन, मानवअधिकारसम्बन्धी विविध कार्यक्रममा उहाँसँग सँगै काम गरियो । म उहाँभन्दा ५/६ वर्ष कान्छो भए पनि उहाँ मलाई पद्मदाइ भन्नुहुन्थ्यो । उहाँ एकदमै भलाद्मी, मृदुभाषी हुनुहुन्थ्यो । असल मान्छेको उच्च नमुना हुनुहुन्थ्यो । सरलता उहाँको व्यक्तित्वको सबभन्दा महत्त्वपूर्ण पाटो हो । उहाँलेे जीवनभरि कसैको कुभलो चिताउनुभएन, कसैलाई हानिनोक्सानी पुर्याउनुभएन । उहाँ, दमननाथ ढुंगाना, डा. देवेन्द्रराज पाण्डे, डा. मथुराप्रसाद श्रेष्ठ र म शान्तिप्रक्रियाका पर्यवेक्षक थियौँ । शान्तिप्रक्रियाका समयमा प्रधानमन्त्री कार्यालय बालुवाटारमा धेरै मिटिङ हुन्थे । नेताहरूका कुराले हामी कहिलेकाहीँ दिक्क हुन्थ्यौँ । कतिपय अवस्थामा त निराश पनि । तर उहाँ निराश, उदास र थकित हुनुभएको हामीले कहिल्यै देखेनौँ । उहाँ हरेक पल उत्साही र सकारात्मक हुनुहुन्थ्यो । २०४७ सालको संविधान मस्यौदा समितिका सदस्य र अन्तरिम संविधानका संयेाजकका भूमिका असाध्यै कुशलतापूर्वक निर्वाह गर्नुभएको उहाँको नेपालको संविधान निर्माणको इतिहासमा शीर्षस्थान रहनेछ । उहाँ नागरिक आन्दोलनका पनि वरिष्ठ व्यक्तित्व हुनुहुन्थ्यो । त्यस्तै, उहाँ मानवअधिकारवादी कार्यकर्ता नभए पनि मानवअधिकारसम्बन्धी सबै कार्यक्रममा सहयोगी र समर्थकका भूमिकामा खरो उत्रनुहुन्थ्यो । कसैले औंला ठड्याउन नसकेको मान्छे नागरिक अगुवा उहाँ एक सत्यपुरुष हुनुहुन्थ्यो । इमानदार र निष्कपट हुनुहुन्थ्यो उहाँ । उहाँले कसैलाई धोका दिनुभएन । जे बोल्नुहुन्थ्यो, हृदयदेखि बोल्नुहुन्थ्यो । आफ्ना स्वार्थका लागि कहिल्यै जिब्रो चपाएर बोल्नुभएन, न कहिल्यै कुरा बंगाउनुभयो । उहाँको सरलताबाट हायलकायल भएको छु म । पदका लागि जेसुकै गर्न पछि नपर्ने आजको जस्तो माहोलमा केही एक्ला वृहस्पतिमध्ये उहाँ निःसन्देह एक हुनुहुन्थ्यो । उहाँ कहिल्यै पद र पैसाको पछि लाग्नुभएन । कसैले औंला ठड्याउन नसकेको मान्छे हो उहाँ । न्यायका क्षेत्रमा पनि उहाँले गलत फैसला दिएको अथवा कुनै बेइमानी गरेको मैले सुनेको छैन । संविधान लेख्ने समयमा, संविधान लेख्ने काम अवरुद्ध भएको समयमा उहाँजस्तो संविधानविद् राष्ट्रले गुमाएको छ । राष्ट्रका लागि उहाँको निधन साह्रै ठूलो क्षति हो । आजको सन्दर्भमा उहाँको संविधानविज्ञताको यस देशलाई अझ बढी आवश्यकता थियो । तर, नेपालीको दुर्भाग्य ! उहाँ रहनुभएन । उहाँ जहिले पनि कानुनको धरातल टेकेर बोल्नुहुन्थ्यो, मानवअधिकारको धरातल टेकेर बोल्नुहुन्थ्यो । न्याय, मानवअधिकार र नागरिक समाजसम्बन्धी कुनै पनि कार्यक्रममा बोलाइँदा उहाँ कर्तव्य ठानेर जानुहुन्थ्यो । उहाँले दिने सुझाबहरू एकदम सही हुन्थे । मृगौला र मुटुको रोगी भए पनि उहाँ जहीँतहीँ जानुहुन्थ्यो । कहिल्यै आफ्नो स्वास्थ्यबारे चिन्ता प्रकट गर्नुभएन । एक प्रकारले उहाँले आफ्नो स्वास्थ्यमा हेलचेक्र्याइँ गर्नुभएको हो । कार्यक्रममा थकित देखिनुहुन्थ्यो उहाँ र म सोध्ने गर्थें, 'तपाईंलाई धेरै गाह्रो भएजस्तो छ, हो ?' तर, उहाँ- 'त्यस्तो केही भएको छैन, अलि-अलि बिसन्चो हो' भनेर टार्दिनुहुन्थ्यो । रात-दिन मुलुक र जनताको हित सोचेर बित्नुभयो उहाँ । इमानदार र असल कानुन व्यवसायी कांग्रेस नेता लक्ष्मण अर्याल एकजना इमान्दार, सज्जन र असल कानुन व्यवसायी हुनुहुन्थ्यो । नेपालको कानुन क्षेत्रमा उहाँले उल्लेख्य योगदान पुर्याउनुभएको छ । उहाँको राष्ट्रिय व्यक्तित्व २०४७ सालको संविधानको मस्यौदाकारका रूपमै बढी स्थापित छ । अहिलेको अन्तरिम संविधानको मस्यौदा तयार पार्नमा पनि उहाँले आफ्नो अनुभव र मिहिनेत लगाउनुभएको छ । मैले उहाँलाई चिने-जानेको पनि त्यही व्यक्तित्वका रूपमा हो । ०४७ सालको संविधानको मस्यौदाकार भएर पनि उहाँ नेपालको संवैधानिक विकासमा जोड दिनुहुन्थ्यो । उहाँसहितको टिमले मस्यौदा गरेको ०४७ सालको संविधानलाई परिमार्जन र संशोधन गर्नुपर्छ भन्ने उहाँको धारणा थियो । तर, त्यसलाई तत्कालीन राजनीतिक नेतृत्वले सुनेन । उहाँले कुनै पनि कानुन र संविधानलाई दीर्घजीवी र जीवन्त राख्न समयमै र निरन्तर रूपमा संशोधन गर्नुपर्छ भन्नेमा जोड दिनुहुन्थ्यो । २०६२/०६३ को संयुक्त जनआन्दोलनपछि बनेको अन्तरिम संविधानको मस्यौदा पनि राजनीतिक दलहरूले बढी तोडमोड गरे भन्ने उहाँको गुनासो थियो । हुन त, उहाँ मस्यौदाकार मात्रै हुनुहुन्थ्यो, निर्णय गर्ने राजनीतिक दलहरूले नै थियो । तैपनि, आफूहरूले जस्तो संविधान तयार पारेको हो, त्यहीअनुसार घोषणा हुनुपथ्र्यो भन्ने उहाँ इच्छा हुँदो हो । उहाँ मूलतः विधिको सर्वोच्चता, व्यक्तिगत स्वतन्त्रता र लोकतान्त्रिक मूल्यपद्धति नै संविधानको मर्म हुनुपर्छ भन्नुहुन्थ्यो । अहिले हामी नयाँ संविधान निर्माणको प्रक्रियामा छौँ । नयाँ संविधानमा विधिको सर्वोच्चता, व्यक्तिगत स्वतन्त्रता र लोकतान्त्रिक मूल्य-मान्यता स्थापित गर्न सक्नु नै अर्यालप्रति हामीले गर्न सक्ने सम्मान हो । निष्कपट र खुला स्वभावको मान्छे कानुन व्यवसायी मैले उहाँको संगत ३६ सालदेखि गर्ने मौका पाएँ । ४८ सालमा न्यायाधीश भएपछि त झन् बहसका क्रममा पनि भेट हुन थाल्यो । उहाँ निकै सरल र निष्कपट मानिस हुनुहुन्थ्यो । जोसँग पनि घुलमिल हुने खुला स्वभावका हुनुहुन्थ्यो । उहाँमा न्यायाधीश भएपछि बोल्न हुँदैन भन्ने छ, तर उहाँ गमक्क पर्नुहुदैनथ्यो । उहाँले राजनीतिक, सामाजिक र प्रजातान्त्रिक मूल्य-मान्यताका लागि राम्रो काम गर्नुभयो । त्यसमध्ये सबैभन्दा राम्रो सामाजिक क्षेत्रमा गर्नुभयो । उहाँले अन्य न्यायाधीशले देखाउन नसक्ने हिम्मत गर्नुभयो । वैवाहिक बलात्कारलाई अपराध हो भन्ने हिम्मत देखाउनु सानो कुरा थिएन । उहाँका काम सधैं भ्रष्टाचाररहित रहे । उहाँको सार्वजनिक जीवन विवादरहित रह्यो । तीइतरको जीवन सार्वजनिक रूपमा देखिँदैन । सामाजिक रूपान्तरणका योद्धा कानुन व्यवसायी हाम्रो पेसागत मात्रै होइन, व्यक्तिगत सम्बन्ध पनि थिए । उहाँ मेरो अभिभावक नै हुनुहुन्थ्यो , अनि, उहाँका लागि म चेली जस्तो । हामी लामो समय सँगै काम गर्यौं । न्यायाधीश र वकिलका रूपमा पनि काम गर्यौँ । उहाँ र म धेरै विभेदका विषयमा छलफल गर्थ्यौं । म उहाँसँग तालिममा क्रममा धेरैपटक विदेश पनि गएको छु । उहाँ निकै सरल मानिस हुनुहुन्थ्यो । एकदमै आत्मीय । पछिल्लो समयमा उहाँ बिरामी हुदा म एक/दुईपटक मात्र भेट्न जान पाएँ, व्यस्तताले गर्दा । उहाँ मसँग गुनासो गर्नुहुन्थ्यो, भेट्न आइन भनेर । उहाँलाई हामी सबैले समय दिन सक्नुपर्थ्यो, सकिएन । उहाँ सबै विषयमा चासो राख्नुहुन्थ्यो । उहाँ धार्मिक हुनुहुन्थ्यो । विशेषतः ध्यान गर्न खुब रुचाउने । उहाँको सबैभन्दा राम्रो बानी जेमा विश्वास गर्नुहुन्छ, त्यसमा अथक रूपमा लागिरहने थियो । उहाँ लोकतन्त्र, द्वन्द्व रूपान्तरण, नागरिक अधिकार र सामाजिक मुद्दाका लागि अन्तिम समयसम्म लड्नुभयो । उहाँलाई नयाँ संविधान बन्ने विषयमा धेरै चिन्ता थियो । म त मानवअधिकार र महिलाअधिकारका लागि लडिरहेको मानिस, उहाँले कानुन परिवर्तन गराउन ठूलो भूमिका खेल्नुभएको छ । समानता, हिंसाविरुद्धको अधिकार, धेरै बलात्कारका केसहरूमा उहाँले उल्लेख्य योगदान दिनुभएको छ । वैवाहिक जीवनमा पनि बलात्कार हुन्छ र बलात्कारीले सजाय पाउनुपर्छ भनेर उहाँले भन्नुभयो । फलस्वरूप आज हरेक विवाहित भएको आफ्नो यौनअधिकारको विषयमा सचेत छन् । कुनै पनि श्रीमान्ले एक पक्षीय रूपमा हक जमाउन सक्दैन । त्यसैगरी, यौनव्यवसाय गर्ने महिलामाथि हुने बलात्कारलाई पनि उहाँले अपराधको रूपमा परिभाषित गर्नुभयो । उनीहरूको पनि यौनमाथि आफ्नो अधिकार हुन्छ भन्नुभयो । सम्पत्तिमाथिको महिलाको अधिकारमा विभेद गरिएको स्वीकार गर्नुभयो । अन्तरिम संविधान बनाउँदा उहाँले धेरै महिलाअधिकारका विषयलाई समावेश गर्नुभयो ।
शान्तिप्रक्रियाका क्रममा हामी अरू देशका अनुभव हासिल गर्न दक्षिण अफ्रिका, मोजाम्बिक, श्रीलंका र फिलिपन्स गयौँ । उहाँ योग र ध्यान गर्नुहुन्थ्यो । श्रीलंकामा समुद्रको किनारमा तीन घन्टा ध्यान गरेर बस्नुभएको म सधै सम्झन्छु । उहाँको योगप्रेमको नमुना मैले जेलमा पनि देखेको हुँ । ६२/६३ को आन्दोलनमा कफ्र्यु तोडेर हामी सडकमा उत्रिएपछि हामीलाई समातियो । उहाँ, म र दमननाथजीलाई भक्तपुरको जेलमा राखिएको थियो । उहाँ आफ्ना गुरुको तस्बिर जहाँ जाँदा पनि बोकेर हिँड्नुहुन्थ्यो । जेलमा पनि उहाँले आफ्ना गुरुको तस्बिर टाँग्नुभएको थियो । अहिले उहाँको गुरुको नाम मैले बिर्सें । अचम्मकै थियो उहाँको गुरुभक्ति र अध्यात्मप्रेम । खोइ, कुनचाहिँ एफएममा हो, उहाँ आधा घन्टाको प्रवचन पनि दिने गर्नुहुन्थ्यो । उहाँको निधनले मलाई असाध्यै दुःखी बनाएको छ । उहाँजस्ता बहुआयामिक र कर्मशील व्यक्तिका अवसानले राष्ट्रलाई गम्भीर क्षति पुगेको छ ।
सुन्दरमणि दीक्षित








del.icio.us
Digg
May his soul rest in peace!
May the Lord bless to all of our political leaders to move ahead in a positive way like Late Aryal!
Post your comment