Newsletter
Email:
Home | अर्थ | 'चतुर लगानीकर्ताले सजिलै नाफा आर्जन गर्छन्’

'चतुर लगानीकर्ताले सजिलै नाफा आर्जन गर्छन्’

Font size: Decrease font Enlarge font
image

नवीन तिमिल्सिना/नयाँ पत्रिका

काठमाडौं, २७ भदौ

नेपालको सेयर बजारले मूल्य संवेदनशील सूचनाको असर तत्कालै नदेखाउँदा चतुर लगानीकर्ताले बजारलाई माथ खुवाउँदै उच्च प्रतिफल आर्जन गर्न सक्ने एक अध्ययनले देखाएको छ ।

नेपाल राष्ट्र बैंकका उप-निर्देशक डा.गोपालप्रसाद भट्टले गरेको अध्ययनका अनुसार सेयर मूल्यमा प्रभाव पार्न सक्नेखाले सूचनाको असर तत्कालै बजारमा देखिनुपर्ने अन्तर्राष्ट्रिय सिद्धान्तविपरीत नेपाली सेयर बजारमा यसको असर ढिलो देखिन्छ । उनको अध्ययनले नेपाली सेयर बजारलाई मूल्य संवेदनशील सूचनाको असर ढिलो देखिने वा नदेखिने कमजोर बजारको संज्ञा दिएको छ । अध्ययनमा २८ कम्पनीले १९९५ देखि २००५ सम्मको अवधिमा प्रदान गरेको लाभांशका कारण भएको उतारचढाव समेटिएको छ भने अन्य अध्ययनका लागि सूचीकृत ३० कम्पनीलाई लिइएको छ ।

अध्ययन अवधिभर सेयर मूल्यमा भएको उतारचढावमाथि गरिएको अध्ययनले कम्पनीहरूले दिने लाभांश तथा अन्य सूचनाको केही लगानीकर्ताले पूर्वानुमान गर्न सक्ने भएकाले बजारमा यसको असर नपरेको हो । 'कम्पनीले घोषणा गर्ने मूल्य संवेदनशील सूचनाको पूर्वानुमान गर्न सक्ने लगानीकर्ताले सूचना प्रवाह हुनुअघि र पछि उच्च मुनाफा आर्जन गर्न सकेका छन्,' अध्ययनको निष्कर्ष छ ।

डा.भट्टको अध्ययनले २००१ मा पुँजीगत लाभकर लागू भएपछि नेपाली बजार केही बलियो हुँदै गएको देखाएको छ । यद्यपि संवेदनशील सूचना प्रभाव देखाउनमा भने बजार अझै कमजोर छ । नेपालको सेयर बजारमा कुनै विशेष महिना वा दिनको प्रभाव नपरे पनि २००१ अघि अक्टाेबरमा उच्च प्रतिफल आर्जन हुने गरेको उनको अध्ययनले देखाएको छ । २००१ पछिको अवस्था पनि उस्तै छ । यसैगरी अपि्रल, जुलाई तथा नोभेम्बर महिनामा सेयर बजारको लगानीले उच्च प्रतिफल दिने गरेको अध्ययनले देखाएको छ । अपि्रलमा नेपाली नयाँवर्ष सुरु हुने, मध्य जुलाईदेखि आर्थिक वर्ष सुरु हुने तथा नोभेम्बरमा दसैं-तिहार सकिएसँगै बजार बढ्ने भएकाले प्रतिफल उच्च हुने गरेको हो । दिनका हिसाबले अध्ययन अवधिभर शुक्रबार बिक्री गर्ने लगानीकर्ताले उच्च प्रतिफल आर्जन गरेको पाइएको छ ।

लगानीका विभिन्न क्षेत्रमा सेयर खरिदतर्फ लगानीकर्ताको उच्च आकर्षण भएको अध्ययनले देखाएको छ । सेयरपछि घरजग्गा, बैंक बचत, सरकारी धितोपत्र तथा बहुमूल्य धातु खरिदलाई क्रमअनुसार प्राथमिकतामा राखेका छन् । सेयरमा लगानी गर्ने मानिस कसैको सुझाव सल्लाहमा नभई स्वयं उत्प्रेरित हुने गरेको अध्ययनले देखाएको छ । सेयरमा लगानी गर्दा हुने उच्च प्रतिफल नै आकर्षणको केन्द्रबिन्दु भएको अध्ययनले जनाएको छ ।

नेपाली लगानीकर्ताले सम्भाव्य नतिजाका आधारमा सेयर खरिद गर्ने गरेको बताउँदै अध्ययन भन्छ, 'सम्भावित सेयर तथा नगद लाभांश, हकप्रद सेयर र प्राथमिक निष्कासनका आधारमा अधिकांश लगानीकर्ताले सेयर खरिद गर्छन् भने कम्पनीको नाफासँगै लाभांश घट्ने सम्भावना, कम्पनीका सञ्चालक कालोसूचीमा पर्नेजस्ता अन्य सम्भावना देखिएमा बिक्री गर्न चाहन्छन् । यसैगरी विभिन्न सरकारी नीति घोषणा तथा कम्पनीले नयाँ वस्तु वा सेवा सुरु गरेको समयमा समेत सेयर खरिद गर्न उनीहरू हिच्किचाउँछन् ।

अध्ययनमा अधिकांश लगानीकर्ताले आफ्नै बचतबाट लगानी गर्न चाहने भएको देखाइएको छ । लगानी स्रोतको अर्का विकल्पमा बैंक, वित्तीय संस्था र आफन्तसँगको सरसापट तथा ऋण रहेको छ ।

अधिकांश लगानीकर्ताका अनुसार सूचीकृत कम्पनीले प्रकाशित गर्ने त्रैमासिक वित्तीय विवरणलगायत अन्य मूल्य संवेदनशील सूचना सञ्चालक समितिको निर्णयको चार दिनपछि मात्रै सर्वसाधारणका लागि उपलब्ध हुन्छन् । त्यस्ता सूचना ढिलो प्रकाशित हुँदा पनि नियमक निकायले अनुगमन नगरेको उनीहरूको गुनासो छ ।

सक्षम बजार परिकल्पना (फिसेन्ट मार्केट हाइपोथेसिस) का अनुसार, पूर्ण सक्षम बजारबाट सेयर मूल्यमा प्रभाव पर्ने सूचनाले तत्कालै बजारमा असर पार्छन्, जसले गर्दा जस्तोसुकै चलाख लगानीकर्ताले पनि बजारलाई माथ खुवाउँदै असमान्य प्रतिफल आर्जन गर्न सक्दैनन् । परिकल्पनाका अनुसार, सक्षम बजारले सेयर मूल्यमा असर पार्ने आर्थिक, गैरआर्थिक, राजनीतिक, गैरराजनीतिक हरेक किसिमका सूचना तत्कालै प्रतिविम्बित गर्छ ।

सूचना प्रतिविम्बित गर्ने क्षमताको आधारमा कमजोर, मध्यम र उच्च गरी तीन प्रकारका बजार हुन्छन् । सक्षम बजारले कम्पनीसम्बन्धी भित्री वा बाहिरी हरेकखाले सूचना तत्कालै प्रतिविम्बित गर्छ भने मध्यम स्तरको सक्षम बजारले सर्वसाधारणका लागि उपलब्ध सूचना तत्कालै प्रविविम्बित गर्छ । यसैगरी सक्षमता स्तर कमजोर बजारका सेयर मूल्यमा पहिले जुन कारणले घटबढ आएको थियो सोही कारणले मूल्य घटबढ हुन्छ ।

 

 

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
1.00
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?