Newsletter
Email:
Home | देश | मिर्गौला बेच्दा पनि जीवन उस्तै

मिर्गौला बेच्दा पनि जीवन उस्तै

Font size: Decrease font Enlarge font
image

मिर्गौला बेचेर पनि काभ्रेका यी तीन परिवारको अवस्था जस्ताको तस्तै

पाँचखाल-७ का मानध्वज लामाको घरमा बिहान सबेरै पुग्दा उनी ठूलो बटुकोमा घरेलु जाँड समातेर घुड्क्याउँदै थिए । 'के हो एकाबिहानै जाँड ?' संवाददाताको प्रश्नमा उनले सहज उत्तर दिए, 'के गर्नु, दुई-कचौरा नखाईकन दिनभरि काम गर्न सक्दिनँ ।'

आठजनाको जहान पाल्नुपर्ने जिम्मेवारी भएका मानध्वजलाई गरिबीको पीडाले त सताएकै छ, त्यसमाथि एउटा मिर्गौला नहुँदाको पीडा थपिएको छ । बनेपाका एकजना साहुसँग नौ हजार पाँच सय रुपैयाँ धेरै वर्षपहिले ऋण लिएका थिए रे ! मानध्वजका बाबुले । सो ऋण तिर्न नसकेका कारण अहिलेसम्म उनको १५ रोपनी जग्गा साहुकहाँ बन्धकी छ ।

'रोपनीको ९० हजारका दरले पैसा तिरेर लैजा भनेका छन्,' ४८ वर्षीयले भने, 'त्यत्रो पैसा कहाँबाट ल्याउनु ?'

वृद्ध बाबुआमा, श्रीमती र भाइ-बुहारीसहित उनीहरूका सन्तानलाई मानध्वज एक्लैले मजदुरी गरेर पाल्दै आएका छन् । सात वर्षअघि मिर्गौला बेचेका हुन् मानध्वजले । ६४ हजार रुपैयाँ पाएका थिए, उनले मिर्गौला बेचेबापत । तर, त्यो पैसा रक्सी खाँदै र सानोतिनो ऋण तिर्दैमा सकिएको उनले बताए ।

पोखरामा एक राइसमिलमा काम गर्ने मानध्वजले सँगै काम गर्ने साथीको भर परेर मिर्गौला बेचेका हुन् । 'साथीले दुई लाखभन्दा बढी आउँछ भनेर बेचियो,' उनी भन्छन्, 'तर, मलाई झुक्याए ।' अचेल निकै बिरामी पर्न थालेका छन् उनी । 'दिनहुँजसो बिरामी पर्न थाल्नुभएको छ' मानध्वजकी श्रीमती सीताले भनिन्, 'ठूलो काम गर्न सक्नुहुन्न ।'

मिर्गौला बेचेका श्रीमान् थलापर्दै गएपछि सीताको निद्रा नै हराएको छ । 'उनलाई केही भइहाल्यो भने कसरी परिवार पाल्ने ?' उनको गुनासो थियो । वर्षभरि ज्याला-मजदुरी नगरी मुखमा माड लाग्दैन उनको परिवारको । रोगले च्याप्दै गएपछि कसरी उपचार गर्ने भन्ने चिन्ता पनि बढ्दै गएको छ । 'चिन्ताकै कारण अलिकति पिउने गरेको छु,' मानध्वज भन्छन्, 'खाएन भने जिउ असाध्य दुख्छ ।'

मानध्वजका मीत हुन्, पाँचखाल- ८ का श्यामकाजी कायस्थ (नाम परिवर्तन) । अरनिको राजमार्गकै छेउमा राखेको उनको सानो पसलको भित्र पुग्दा नपुग्दै उनले आग्रह गरे, 'मेरो नाम नछापिदिने भए मात्रै कुरा गर्छु ।' उनलाई विश्वस्त तुल्याएपछि मात्रै मिर्गौला बेच्नुको कारणबारे बताउन सुरु गरे उनले । 'मलाई कसैले झुक्याएको होइन,' उनी खुले, 'छोरा बिरामी हुँदा लिएको ऋण तिर्न नसकेपछि मिर्गौला बेचेको हुँ ।'

चार वर्ष भयो कायस्थले मिर्गौला बेचेको । जेठो छोराको आन्द्रा लामो भएपछि उपचार गर्दा ५४ हजार रुपैयाँ ऋण लागेको थियो । ऋण गरेर छोराको उपचार गर्दा पनि आठ महिनापछि उनका छोराले उनीहरूलाई छाडेर गए । 'अहिलेसम्म बाँचेको भए २३ वर्ष पुग्थ्यो,' छोरा गुमाउँदाको पीडा उनको बोलीमा मात्रै होइन, आँखामा समेत प्रस्ट देखियो ।

छोराको उपचारका लागि ०५४ सालमा लिएको ऋण ०६२ सालसम्म पनि तिर्न नसकेपछि मिर्गौला बेच्नुको विकल्प देखेनन् उनले । भने, 'भएको तीन रोपनी जग्गा पनि बन्धकी राखेकाले मैले अरू उपाय देखिनँ ।' मिर्गौला बेचेका मीत मानध्वजलाई देखेर नै उनी मिर्गौला बेच्न हौसिएका थिए । 'मीतले नै दलाल चिनाइदिएपछि ६० हजारमा चेन्नई पुगेर मिर्गौला दिएँ,' उनले भने । मिर्गौला बेचेको पैसाले उनले ऋण तिरे । अनि अरनिको राजमार्गछेउको जग्गा किनेर चियापसल सुरु गरेका उनले पसलको आम्दनीले जसोतसो परिवार पाल्न सकेका छन् । उनका एक छोरा र एक छोरी स्थानीय एक विद्यालयमा पढ्छन् ।

श्रीमती आबद्ध एक संस्थाबाट पाँच हजार रुपैयाँ ऋण लिएर पसल खोलेको बताउने कायस्थ अचेल बादल लाग्दा पनि मिर्गौला निकालेको घाउ दुख्ने बताउँछन् । भन्छन्, 'गह्रौं काम केही पनि गर्न सक्दिनँ ।'

अहिले भने मिर्गौला बेचेर पछुताउनुपरेको छ उनले । उनलाई परिवारको चिन्ताले पनि निकै सताएको छ ।

नजिकका केही साथीबाहेक उनले मिर्गौला बेचेको कसैलाई थाहा छैन । अन्त्यमा उनले भने, 'बाबु, अब मेरो जसरी कसैले मिर्गौला बेच्नु नपरोस्, दलाललाई समातेर प्रहरीमा बुझाउनुपर्‍यो ।'

केही वर्षअघि मिर्गौला बेचेका पाँचखाल-४ का रामप्रसाद अधिकारीको घरमा पुग्दा वृद्ध आमाबाहेक कोही थिएनन् । 'दूध बेच्न गएको छ,' आमा शेषकुमारी अधिकारीले भनिन्, 'अहिल्यै आउँदैन होला ?' सँगै गएको होक्सेका स्थानीय शिक्षक बद्री ढुंगानाले भनिहाले, 'तपाईंसँगै कुरा गर्दा पनि हुन्छ ।'

छोराले मिर्गौला बेचेर आएकै दिनदेखि उनको घरमा कहिल्यै शान्ति छैन । 'दिनहुँ झगडा पर्छ बाबु,' उनले भनिन्, 'यो बुढेसकालमा कस्तो दुःख भोग्नुपर्‍यो !' रामप्रसाद उनका एक मात्र सन्तान हुन् । मिर्गौला बेचेर आएपछि आमा-छोराबीच कहिल्यै मीठो वचनमा कुराकानी भएको छैन । छोराले नभने पनि छोराभित्र रहेको पीडा उनले राम्ररी बुझेकी छिन् । भन्छिन्, 'ऊ बोल्दैन, तर उसलाई शरीरमा परेको पीडा मलाई प्रस्टै थाहा छ ।' उनी राम्रो ठाउँमा लगेर छोराको उपचार गर्न पाए हुन्थ्यो भन्छिन् ।

दुईवटा बच्चा छन् रामप्रसादका । बिहानभरि पर्खंदै उनको घरमा बसे पनि उनी घरमै आएनन् । श्रीमती शारदा अधिकारी चार वर्षअगाडि रामप्रसादले मिर्गौला बेचेको बताउँछिन् । तर, घरमा एक रुपैयाँ पनि नल्याएकाले कतिमा बेचियो भन्ने थाहा छैन उनको परिवारलाई । श्रीमान् विस्तारै कमजोर हुँदै गएपछि चिन्ताको भारी थपिएको बताउने शारदाले अहिलेसम्म 'उपचार गराउनू' भन्न सकेकी छैनन् । 'पैसा पनि छैन, उपचार गराउन' उनी भन्छिन्, 'फेरि हामीले बोल्नै हुन्न, झगडा पर्न सुरु भइहाल्छ ।' भएको तीन रोपनी जग्गाले मुस्किलले पेट पालेको छ उनीहरूको ।

यी तीन परिवार प्रतिनिधि मात्रै हुन् । काभ्रेमा तीन हजारभन्दा बढीले मिर्गौला बेचिसकेको अनुमान छ । तर, अहिलेसम्म ७५ जनाजतिको मात्रै तथ्यांक संकलन हुन सकेको छ । 'सहरनजिकै त यस्तो छ, ग्रामीण क्षेत्रको अवस्था झन् कति भयावह होला,' मिर्गौला बेच्नेहरूको तथ्यांक संकलन गरिरहेका होक्सेका शिक्षक बद्री ढुंगानाले भने, 'आर्थिक अभावका कारण गाउँतिर जान सकिएको छैन ।'

मिर्गौला बेच्न हुँदैन भनेर सचेतना फैलाउने अभियानमा एक्लै लागेका छन् शिक्षक ढुंगाना । प्रशासन र प्रहरीले सहयोग नगरेकोमा उनको ठूलो गुनासो छ । भन्छन्, 'अस्ति जिल्लाका डिएसपीसँग त झगडै पर्‍यो ।' तस्करी रोक्न प्रहरीले पहल गर्नुपर्‍यो भन्ने आग्रह गर्दा जिल्ला प्रहरी प्रमुख सन्दीप भण्डारीले बेवास्ता गरेको उनले बताए । मिर्गौला बेच्ने अधिकांशको आर्थिक अवस्था निकै दयनीय रहेको ढुंगानाको भनाइ छ । अधिकांशको घरमा मिर्गौला बेचेकै कारण घरझगडा बढेको उनी बताउँछन् ।

अधिकांश मिर्गौला बिक्रेता दलालबाट ठगिएको बताउँछन् । उनीहरूलाई कम्तीमा दुई लाख रुपैयाँ दिने भनेर मिर्गौला बेच्न लगिए पनि बढीमा ९० हजारसम्म पाएका छन् । 'तर, हामी ठगियौँ भनेर कहाँ जाने ?' उनीहरूको प्रश्न छ ।

 विनोद न्यौपाने/काभ्रे

Subscribe to comments feed Comments (5 posted):

suwash on 30/08/2009 03:44:53
avatar
this the weakness of our government ,they should arest all the agend and give them the punishment.
Thumbs Up Thumbs Down
0
RK Pyakurel on 30/08/2009 02:39:54
avatar
too bad and sad
Thumbs Up Thumbs Down
0
mira on 29/08/2009 14:47:21
avatar
kina yasto vairahe6 nepal ma sakar le yasbare kina chinta gardina?
Thumbs Up Thumbs Down
0
jb on 29/08/2009 12:36:47
avatar
yo sab garibi ra ashikchya ko parinam ho. yestai janata bhayeko thaun ma girijau, makune, oli etc. jasta neta haru le avtar linchhan. jun deshma sarkarlai janatako dayitwo bodh chhaina tehi des ka neta munch ma char hat ufrera bhasan dinchhan, hamro kaan lai afno mukhko phohor phalne container thanera. sab bhanda pahila janata lai shikchhya 'nisulka ra aniwarya' garnu parchha. garna sakchha ahile ka neta haru le ?
Thumbs Up Thumbs Down
0
usha jirel on 29/08/2009 10:13:48
avatar
hamro nepal ko rule and regulation ramro chhaina espacially nepal police ko tehe bhayera ta nepal ko condition khatam hudai chha
Thumbs Up Thumbs Down
0
total: 5 | displaying: 1 - 5

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?