तनाबमा कसले के गर्छन् ?
यो लेख लेख्न बस्दा पनि म तनाबमा छु । तनाब अर्थात् टेन्सन । यसले कसैलाई पनि नछाड्नेरहेछ । एकजना मित्रले भनेका थिए, 'म सधैँ तनाबमा हुन्छु, कति गर्दा पनि यसबाट मुक्ति पाउन सक्दिनँ ।' तनाब मान्छेको जीवनशैली बनिसक्यो । चाउचाउ, जिन्स र कोकजस्तै । जता पुगे पनि यसले पछ्याइरहन्छ । मान्छेलाई आफ्नो कार्यालयीय कामले भन्दा पनि दैनिक जीवनमा आइपर्ने सामान्य घटनाले बढी तनाब दिँदोरहेछ । टेलिभिजनमा समाचार सुन्दा मट्टीतेलको भाउ बढ्यो, तनाब । खोजेजस्तो सामान पाइएन, तनाब । गर्लफ्रेन्ड भेटिएन, तनाब । यस्ता धेरै तनाब हुन्छन्, जसले मान्छेलाई दैनिक जीवन बाँच्न पनि मुस्किल बनाएको हुन्छ । मान्छेलाई किन तनाब हुन्छ ? कस्तो अवस्थामा तनाब हुन्छ ? अनि तनाबको वेला मान्छेले के गर्छन् ? हाम्रो खोजीको विषय थियो यो ।
वाचनप्रवीण दीनबन्धु पोखरेललाई सामान्य कुराले पनि तनाब दिँदोरहेछ । सामान्य घरायसी समस्याले पनि तनाब दिने बताउँछन् उनी । 'पारिवारिक समस्याले बढी तनाब गराउँछ,' उनी भन्छन्, 'मलाई समाज विकास गर्न सकिन्न कि, समाजलाई आफूले केही पनि दिन सकिन्न कि भन्ने तनाब हुन्छ । अनि प्रायःजसो हुने गरेका राष्ट्रिय दुर्घटनाले पनि तनाब दिन्छन् ।' पोखरेल तनाबलाई मानसपटल एकीकृत नभएको अवस्था मान्छन् । 'यो भनेको दिमाग एकीकृत नभएको वेला हो,' मान्छेलाई यस्तो वेला म सिद्धिएँ कि वा अब जीवनका उज्याला बाटा नै सिद्धिए कि भन्ने हुन्छ ।' उनी बढी नै तनाब भएका वेला एकान्त ठाउँमा बस्ने र ध्यान गर्ने गरेको बताउँछन् । 'एकाग्र चिन्तनले मान्छे तनाबबाट बाहिरिन्छ,' उनले भने । नाटकनिर्देशक सुनील पोखरेलले आफू पूरै समय तनाबमा रहने गरेको बताए । 'अब कसरी अगाडि बढ्ने ? के गर्ने भन्ने कुराले तनाब दिन्छ,' उनले भने, 'म सधैँ तनाबमा रहने एउटै कुरा- काम हो । त्यो तनाब गुरुकूलकै बारे हुन्छ ।' कहिलेकाहीँ कुनै कारणविनै पनि उनलाई तनाब हुने गर्छ । 'बढी तनाब भएका वेला म संगीत सुन्छु, पढ्छु । अथवा केही पनि गर्दिनँजस्तो तनाबको वेला म निदाउँछु पनि । यसले मलाई तनाबबाट बाहिर निस्किन सघाउँछ ।' एकपटक सुनील 'नर्भस तनाब'का कारण दिमागी बिरामी भएका रहेछन् । 'त्यो तनाबको वेला म १८ महिनासम्म सुत्नुपरेको थियो,' उनी भन्छन् । पत्रकार धर्मेन्द्र झालाई समाचार सम्पादन गर्दा आइपर्ने विवादास्पद कुराले तनाब दिँदारहेछन् । 'आफूलाई ठीक लागेको कुरा परिवारले बुझेनन् भने, आफ्नाबारेमा कसैले आफँैले अपेक्षा नगरेको टिप्पणी गरे भने, आफूले सोचेको परिणाम आएन भने, महँगी बढ्यो भने पनि तनाब हुन्छ,' उनले भने । उनी तनाबको समाधानस्वरूप सुत्न मन पराउँछन् । 'तनाबको वेला ठूलो आवाजमा संगीत सुनेर सुत्छु,' उनले भने । फिल्मका नायक भुवन केसीलाई सोचेजस्तो काम नहुँदा तनाब हुँदोरहेछ । 'कुनै काम गर्न लागेको छु, त्यो काम नबन्दा बढी तनाब हुन्छ, मैले गर्न खोजेको काम ढिला हुँदा बढी तनाबमा रहन्छु,' उनले भने । तनाबबाट बाहिरिन उनी एउटाको विकल्पका रूपमा अर्को खोज्दारहेछन् । 'एउटा बाटोबाट नपुगिने भयो भने अर्को खोजी गर्छु', उनले भने, 'तनाबबाट मुक्त हुने राम्रो बाटो भनेकै विकल्पको खोजी हो ।' राजनीति गर्ने नेतालाई केले तनाब हुन्छ होला ? देशको समस्याले ? कार्यकर्ताको भनसुनले ? कांगे्रस वरिष्ठ नेता नरहरि आचार्यलाई यही कुराले तनाब हुन्छ भन्ने छैन । 'समय र परिस्थितिअनुसार तनाब हुन्छ, कुन कुराले मनलाई कति खल्बल्याउँछ त्यहीअनुसार तनाबको मात्रा कम र बढी भन्ने हुन्छ,' उनले सुनाए, 'तनाबको वर्गीकरण र यसको मात्रा मापन गर्न गाह्रो हुन्छ ।' बढी तनाब भएको वेला नरहरि के गर्दा हुन् ? 'म मिलेसम्म चुप लागेर बस्छु, घरमा हुँदा संगीत सुन्छु, यसले थोरै भए पनि मुक्ति दिन्छ ।' सद्भावनाकी नेत्री सरिता गिरीलाई भने अहिले तनाब हुँदैन रे ! त्यसोभए पहिले तनाब हुन्थ्यो ? 'हुन्थ्यो नि !' उनले भनिन्, 'कुनै विषय अगाडि आयो भने त्यसले खुब तनाब दिन्थ्यो ।' तर, अहिले उनलाई कुनै कुरामा तनाब हुँदैन रे ! 'अहिले कुनै काम अगाडि आयो भने बरु त्यो काम गर्ने जिम्मेवारी बढ्छ, तनाब लाग्दैन,' सरिता भन्छिन्, 'पहिले तनाब हुँदा टिभी हेर्ने, संगीत सुन्ने र किताब पढ्ने गर्थें ।' खेलाडी दीपक विष्टलाई खेल्दा 'प्रेसर' भयो भने तनाब हुनेरहेछ । 'कसैले नियम मिच्यो भने वा केही काम बिगार्यो भने बढी तनाब हुन्छ,' उनले भने, 'मलाई यस्तो वेला बढी नै रिस उठ्छ ।' विष्ट तनाबको निराकरणस्वरूप आँखा चिम्लिने, ठूलो स्वरले कराउने गर्छन् रे ! 'आफ्नो तनाबले कसैलाई बिगार्ने काम गर्नु हुन्न,' उनले भने, 'राम्रोसँग विवेक लगाएर तनाबको समाधान गर्नुपर्छ । नभए यसले दुर्घटना पनि निम्त्याउन सक्छ ।' गायिका कोमल वली तनाब दिमागसँग सम्बन्धित कुरा भएकाले कुन वेला मान्छेलाई तनाब हुन्छ भन्न नसकिने बताउँछिन् । 'तर यति भन्न सकिन्छ, मान्छेले चाहेको कुरा वा इच्छा गरेको कुरा पुगेन भने उसलाई तनाब हुन्छ,' उनी भन्छिन्, 'तनाब मुटुसँग गाँसिएको हुँदैन, यो त दिमागसँग गाँसिएको हुन्छ बरु दुःख हृदयसँग गाँसिएको हुन्छ ।' कोमललाई आफूले चाहेको कुरा नहुँदा तनाब हुन्छ रे ! 'मैले इच्छाएको कुरा पुगेन भने एकदमै तनाब हुन्छ,' उनले भनिन्, 'मेरोबारे कसैले नेगेटिभ कुरा गर्यो भने पनि धेरै तनाब हुन्छ ।' निराकरण के त ? 'म विभिन्न तरिका अपनाउँछु, तनाब निराकरणका । तनाब हुनुको सम्बन्धित मान्छेसँग कुरा गर्छु । ध्यान गर्छु वा आफूभन्दा ठूला मान्छेसँग कुरा गरेर तनाब घटाउने प्रयास गर्छु,' उनले भनिन् । गायक रामभक्त जोजिजूलाई पनि आफूले सोचेजस्तो नभएपछि तनाब हुन्छ । 'बिरामी भएको वेला, भनेजस्तो गाउन नसक्दा, कहिलेकाहीँ स्वर बिग्रेको छ र रियाज गर्न नपाउँदा पनि तनाब हुन्छ,' उनले भने, तनाब भएको वेला आराम गर्छु, रेडियो सुन्छु, गीत सुनेर घरमै बस्छु अनि आफ्ना कुरा इतु (श्रीमती) लाई सुनाउँछु ।' द र्याम्पकी जयन सुब्बालाई पनि भनेजस्तो काम भएन भने तनाब हुन्छ । 'महिना सिद्धिएपछि तलब कर्मचारीलाई दिनुपर्दा र घरभाडा तिर्नुपर्ने समयमा तनाब हुन्छ,' उनले सुनाइन् । उनले तनाब कम गर्न कतै नजिक घुम्न जाने गरेको, रेस्टुरेन्ट जाने गरेको र संगीत सुन्ने गरेको बताइन् । मनोविद् डा. निरञ्जनप्रसाद उपाध्याय तनाब दुई किसिमको हुने बताउँछन् । 'एउटा सकारात्मक तनाब र अर्को नकारात्मक तनाब, सकारात्मक तनाबले मान्छेलाई सही बाटो हिँड्न प्रेरित गर्छ र जीवन सुखी हुन्छ, नकारात्मक तनाबले मान्छेलाई झन् डिप्रेसनतिर हिडाउँछ,' उनी भन्छन्, 'कुनै पनि तनाबलाई सही तरिकाले सोच्यो भने जीवन सकारात्मक बन्छ, जस्तै विद्यार्थीको परीक्षा आयो र त्यो तनाबलाई उसले सही ढंगले सोची आफ्नो लक्ष्यको पहिचान गर्यो भने जीवन हिँड्ने बाटोले सकारात्मक हुन सक्छ अथवा उसलाई परीक्षा फोबिया भयो भने त्यो नै ठूलो तनाब हुन सक्छ ।' उनी पारिवारिक वातावरण, साथीसंगीको संगतले मान्छेलाई तनाबमा हिँडाउने बताउँछन् । निबन्धकार युवराज नयाँघरे घरमा बच्चाहरू ठूलो स्वरले चिच्याए भने तनाब हुने गरेको बताउँछन् । 'मलाई तनाब हुने अरू कारण पनि छन्, गाडीको 'हर्न' ठूलो स्वरमा बज्यो भने, लेख्ने वातावरण मिलेन भने तनाब हुन्छ,' भन्छन् उनी । नयाँघरे तनाब भयो भने एकान्त खोज्दै हिँड्छन् । 'कतै घुम्न जाउँजस्तो लाग्छ । तनाबबाट मुक्ति पाउन घुमफिर नै एउटा राम्रो उपाय हो, उत्कृष्ट किताब पढिन्छ, तनाबबाट टाढा हुन संगीत पनि सुन्छु,' उनी भन्छन् । कवि एवं लेखिका गीता त्रिपाठी दैनिक जीवनमा आइपर्ने कुदाकुदले आफूलाई तनाब हुने बताउँछिन् । 'भन्न खोजेको कुरा लेख्न नसक्दा पनि तनाब हुन्छ,' उनले सुनाइन्, 'कहिलेकाहीँ त कुनै तनाबले गहिरो असर पार्दोरहेछ । जीवन तनाबमुक्त हुँदैन ।' गीता तनाबको समाधानका लागि किताब पढ्दिरहिछन् । 'घुम्दा पनि शान्ति मिल्छ, बढी त समकालीन स्रष्टासँग घुमिन्छ,' उनले भनिन् । इन्जिनियर भीम उपाध्याय आफू अव्यस्थित हुँदा तनाबमा हुँदारहेछन् । 'कुनै कार्यक्रमका लागि पूर्वतयारी नहुँदा, बढी राजनीतिक दबाब हुँदा, धारामा पानी नआउँदा, गाडी चलाउँदा आइपर्ने ट्राफिक नियमले पनि तनाबमा आइँदोरहेछ,' उनले भने । उनी तनाबबाट मुक्ति पाउन जीवनमा सकारात्मक सन्देश दिने किताबहरू पढ्ने गरेको बताउँछन् । 'तनाब हुँदा म अब्दुल कलामका किताब पढ्छु,' उनले भने । गृहिणी कमला न्यौपाने बूढाबूढीबीच झैझगडा हुँदा तनाब हुने गरेको बताउँछिन् । 'यस्तो वेला संसारै अँध्यारो लाग्छ,' उनी भन्छिन् । तरकारीको भाउ बढ्दा, एक्लै बस्नुपर्दा पनि तनाब हुने गरेको उनले बताइन् । उनी आफ्नो तनाब कसैलाई पनि नबाँड्ने रहिछिन् । मनोविज्ञ डा. उपाध्याय सामान्य तनाबले पनि मान्छेको जीवनमा ठूलो दुर्घटना निम्त्याउन सक्ने बताउँछन् । 'मान्छेले तनाबलाई कसरी हेर्छ त्यसमा निर्भर गर्छ,' उनले भने, 'तनाबले मान्छेलाई डिप्रेसनमा पनि पुर्याउँछ र त्यो डिप्रेसन लागूपदार्थ सेवन, आत्महत्यासम्म पुग्न सक्छ, सामान्य तनाब पनि जीवन नाश गर्ने ठूलो झल्िको बन्न सक्छ ।'
- spkt.deepak@gmail.com



del.icio.us
Digg
Post your comment