'राष्ट्रपति शासन लाद्ने षड्यन्त्र'
काठमाडौं/ एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शान्तिप्रक्रिया भंग गरी मुलुकमा राष्ट्रपति शासन लगाउने तयारी भइरहेको आरोप लगाएका छन् ।
माओवादीद्वारा सोमबार पार्टी संसदीय दलको कार्यालयमा बोलाइएको 'सर्वदलीय बैठक'मा प्रचण्डले प्रधानसेनापतिको मागअनुसार सरकारले भारतबाट हतियार भित्र्याउन लागेको दाबीसमेत गरे । सरकार शान्तिप्रक्रिया बिथोल्ने, संविधानसभा विघटन गर्ने र राष्ट्रपतिको शासन लागू गर्ने षड्यन्त्रमा लागेको उनको आरोप थियो । 'मुख्यसचिव र प्रमुखसचिव नियुक्त गरी दुईवटा समानान्तर शक्तिकेन्द्र स्थापना गर्न खोजिँदै छ,' नेकपा संयुक्तकी मुख्य सचेतक कल्पना राणाले प्रचण्डको भनाइ उद्धृत गर्दै नयाँ पत्रिकासँग भनिन्, 'राष्ट्रपति कार्यालयलाई सरकारको समानान्तर अंग बनाउन लागिएको छ, अन्ततः शान्तिप्रक्रिया बिथोल्ने, संविधानसभा विघटन गर्ने र राष्ट्रपतिको शासन लागू गर्ने षड्यन्त्र भइरहेको छ ।' १२ बुँदे समझदारीदेखि हालसम्म भएका सबै सम्झौतामा हतियार खरिद गर्न नपाइने समझदारी भए पनि त्यसको उल्लंघन गरिएको प्रचण्डको भनाइ थियो । प्रधानसेनापति रुक्मांगद कटवालको माग र स्वार्थअनुसार हतियार खरिद गर्ने प्रक्रिया अघि बढाइएको दाबी गर्दै प्रचण्डले त्यसले शान्तिप्रक्रियामै नकारात्मक प्रभाव पार्ने आशंका गरे । बैठकमा अन्य दलका नेताले भने प्रचण्डको भनाइ 'रणनीतिक स्वार्थ' हुन सक्ने आशंका व्यक्त गर्दै सहमतिका आधारमा अघि बढ्नुपर्ने सुझाव दिएका थिए । बैठकमा माओवादीका तर्फबाट अध्यक्ष प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ, डा बाबुराम भट्टराई, पोष्टबहादुर बोगटीलगायत सहभागी थिए । बैठकमा संविधानसभामा प्रतिनिधित्व गर्ने अधिकांश दल सहभागी भए पनि सत्तारुढ एमाले र कांग्रेस अनुपस्थित थिए । माओवादी अध्यक्ष प्रचण्ड बैठक छाडेर कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई भेट्न महाराजगन्जस्थित निवास पुगेका थिए । यता, सोमबारै प्रधानमन्त्री माधवकुमार नेपालले सदन अवरोध खुलाउने विषयमा माओवादीलगायत केही दलसँग अनौपचारिक छलफल गरेका थिए ।



del.icio.us
Digg
Kip it up rukmangad katuwal. Bring gyanendra back to power. We are with you. Jai Nepal
Post your comment