स्वाइनफ्लुका बिरामीलाई घर फर्काइयो
नयाँ पत्रिका काठमाडौं, २२ असार सात दिनअघि विदेशबाट आएका थप एकजनामा स्वाइनफ्लुको संक्रमण भेटिएको छ । तर, अस्पताल भर्ना भएको नौ घन्टामा नै अस्पतालले डिस्चार्ज गरेर ती बिरामीलाई घर पठाएको छ । २५ वषर्ीय ती बिरामी भक्तपुरका हुन् । स्वाइनफ्लुको संक्रमण पुष्टि भएपछि उनी सोमबार बिहान नौ बजे टेकु अस्पतालमा भर्ना भएका थिए । आफन्तले घरमै राम्रो स्याहार गर्ने बताएपछि उनलाई अस्पतालले चार बजे खाने औषधि दिएर घर फर्काएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसअघि पनि संक्रमितलाई घरमै बस्ने छुट दिएको थियो । घरमै बस्ने सुविधा दिँदा सरकारले संक्रमितका लागि छुट्याएको अस्पतालको आइसोलेसन वार्ड भने रित्तै छन् । महामारी घोषित रोगका बिरामी प्रत्यक्ष रूपमा चिकित्सकको निगरानीमा रहनुपर्छ । तर, घरमै बिरामी पठाउँदा ऊ अन्य व्यक्तिको संसर्गमा पुग्नसक्ने र त्यसले महामारीको रूप लिनसक्ने भन्दै चिकित्सकले चिन्ता जनाएका छन् । संक्रामक रोग नियन्त्रण ऐन, २०२० ले सरकारले महामारी घोषणा गरेको रोगको तोकिएकै स्वास्थ्य संस्थामा उपचार गराउनुपर्ने व्यवस्था गरेको छ । रोग पूर्ण निको नहुँदासम्म तोकिएको स्वास्थ्य संस्थामा बिरामीलाई राखेर उपचार गराउनुपर्नेमा खाने औषधि दिएर उनलाई घर पठाइएको हो । एक साताअघि सरकारले ए/एचवान एनवान रोगलाई महामारी घोषणा गरेको थियो । अमेरिकाबाट २१ जुनमा राजधानी आएका तीनजनामा सो भाइरसको संक्रमण भेटिएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले महामारी घोषणा गरेको थियो । यसअघि महाशाखाले संक्रमितलाई घरमै बस्ने छुट दिँदा उनीहरूको संसर्गमा रहेका अन्य दुईजनामा पनि ए/एचवान एनवान भाइरसको संक्रमण पाइएको थियो । सोमबार भेटिएको बिरामीसहित नेपालमा ६ जनामा स्वाइनफ्लुको संक्रमण भेटिएको छ । महामारी घोषित रोग नियन्त्रणका लागि 'संक्रामक रोग नियन्त्रण ऐन २०२०' कार्यान्वयन गर्न प्रशासनको सहयोगमा बिरामीलाई नियन्त्रणमा लिई तोकिएको स्वास्थ्य संस्थामा राखी उपचार गराउने कानुनी व्यवस्था छ । प्रमुख जिल्ला अधिकारीलाई सो ऐन लागू गर्ने अधिकार दिइएको छ । ऐनको उल्लंघन गर्नेलाई ६ महिनाको जेल सजाय र जरिवानासमेत गर्न सकिने व्यवस्था रहेको महाशाखा प्रमुख डा. सेनेन्द्र उप्रेतीले बताए । अन्यमा संक्रमणको सम्भावना हुँदाहुँदै सबै संक्रमितलाई घरमै बस्न दिनुभयो नि भन्ने प्रश्नमा उनले भने, 'घरमै बस्न दिइएको छ भन्ने तपाईंसँग के प्रमाण छ ?' घरमा बिरामी बस्न दिँदा उनीहरू अन्य व्यक्तिको संसर्गमा रहे-नरहेकोप्रति महाशाखा बेखबर छ । विश्व स्वास्थ्य संगठनले एचवान/एनवान भाइरसलाई विश्वव्यापी महामारी घोषणा गरेपछि सरकारले स्वाइनफ्लु संक्रमितहरूलाई राख्न शिक्षण अस्पतालमा आठ शय्याको आइसोलेसन वार्ड छुट्याएको छ । त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पाँच शय्याको आइसोलेसन वार्ड छुट्याएको छ । तर, दुवै ठाउँका शय्याहरू खाली छन् ।



del.icio.us
Digg
Post your comment