देख्दा राजेशको जीवन एक्लो छ । तर, उनी भन्छन्, 'श्रीमती नभएर धेरैले एक्लो जीवन बाँचेको भन्छन् । हुन त मलाई धेरैपटक एक्लोपन पनि महसुस हुन्छ । त्यो मैले मात्रै होइन, सबैले महसुस गर्ने कुरा हो । तर, मलाई कहिल्यै पनि विवाह नगरेर म एक्लो भएँ भन्ने पछुतो लागेन । एक्लोपन जीवनको एउटा पाटो न हो । एक्लो हुनुको मीठो अनुभूति अरू केही नहोला सायद ।'
के राजेशको सुझाव अरूलाई पनि 'विवाह नगर, एक्लै बस' भन्ने हो ? 'मैले अरूलाई विवाह नगर भन्न खोजेको होइन, इच्छा हुनेले विवाह गर्दा हुन्छ । मलाई इच्छा नभएर नगरेको हुँ ।' कहिलेकाहीँ एक्लो महसुस भए विवाह गर्नु नि ! 'मैले विवाह गर्नुपर्छ भन्ने सोच नराखेकै कारण सायद विवाह भएन । आमा त कराइरहनुहुन्थ्यो- 'राजेश अब विवाह गर ।' तर, मैले त्यो सोचाइ कहिल्यै ल्याइनँ । स्त्रीविनाको जिन्दगी सुखी हुँदैन भन्ने सोचाइ त्याग्नुपर्छ ।'
हैन, स्त्रीसँग नजोडिने हो भने त राजेशको वंश नै रित्तिने भयो नि ? 'आफैं मरेपछि आफ्नो वंश रहोस् कि नरहोस्, के मतलब ? मलाई आफ्नो वंशका माध्यमबाट सधैंभरि जीवित रहनुपर्छ भन्ने छैन । आफ्नै कृतिले बाँचे बाँचिन्छ, नभए आफू मरेपछि अरूले सम्झनै पर्छ भन्ने के छ र ?' राजेशको जीवन-निष्कर्ष यस्तो पो रहेछ ।
एक्लै बाँचे पनि उनलाई स्त्रीको छायाले लखेटिरहन्छ । स्त्री प्रत्येक समय साक्षी बन्न आउँछिन् । 'स्त्री मेरो जीवनमा शुभचिन्तक र साथीको रूपमा बढी आएका छन् । उनीहरूले जीवनमा बाँच्न र केही गर्न मलाई ऊर्जा दिन्छन् । व्यक्तिगत जीवनमा उनीहरूको सल्लाह जीवन बाँच्ने प्रेरणा बनेको छ ।'
स्त्रीको अनुभूति भनेको यौनसित पनि त जोडिन्छ । अविवाहित राजेश यौवनशून्य मान्छे हुन् त ? 'यौनलाई त्यति महत्त्वसाथ हेरिनुपर्दैन, समझदारहरू यौनसम्पर्क गर्छन् । यौनविना संसार चल्दैन । मेरा पनि केही छन् यौनसाथी । यौनसम्पर्क त गरिहालिन्छ नि । यौनसम्पर्क गर्नैका लागि विवाह गर्नु जरुरी छैन । यो सबैको इच्छाको विषय हो र सबै यसमा समाहित पनि हुन्छन् । चाहे विवाह भएको मान्छे होस् या विवाह नभएको, उनीहरूलाई यौन चाहिन्छ र उनीहरू यसका लागि सधैं तयार पनि रहन्छन् ।
बिपी कोइरालाले भनेका थिए, 'स्त्री हरदृष्टिबाट पुरुषभन्दा कमजोर हुन्छे, तर एउटा कुरोमा भने उसले आफूलाई पुरुषभन्दा अलिक बलियो पार्न सक्छे- शरीरको आकर्षणमा । तर, त्यही शरीरको पनि उपयोग ऊ आफ्नो हितमा गर्न पाउँदिन ।' राजेशलाई के लाग्छ, स्त्रीले आफ्नो शरीर आफ्नो हितमा उपयोग गर्न पाउँदिन त ? 'कहीँ कुनै परिस्थितिमा त्यस्तो देखिए पनि स्त्रीले आफ्नो शरीरलाई अनेक ढंगबाट आकषिर्त देखाएर प्रयोग गरिरहेका हुन्छन् । अनेक मेकअपका प्रसाधन प्रयोग गरेका हुन्छन् । यौनकै मामलामा पनि उनीहरूले सन्तुष्टि पाएकै हुन्छन् नि ।'
भनिन्छ, नारी र पुरुष एउटा रथका दुई पांग्रा । एउटा पांग्राले मात्रै काम नगरे जीवनमा ठूलो दुर्घटना हुन सक्छ । स्त्री नहुनु भनेको राजेशको जिन्दगीको एउटा पांग्रो नहुनु हैन र ? 'जिन्दगीमा तीन पांग्रा हुन्छन् । अरूलाई लाग्ला, तीनमध्ये मेरो एउटा पांग्रा छैन । स्त्री एउटा पांग्रा हो भने त्यो पांग्रा गुड्नैपर्छ भन्ने जरुरी छैन । त्यसैले मेरो जिन्दगीमा एउटा पांग्रो छैन भन्ने म मान्दिनँ ।' स्त्री-पुरुष विपरीत धुव्र भएर रहन सक्छन् र ? पुरुषलाई स्त्री बढी चाहिन्छ कि स्त्रीलाई पुरुष बढी चाहिन्छ ? 'स्त्रीको आवश्यकता पुरुषलाई खट्किँदो रहेछ, जुनै कुरामा पनि । सह-यात्रीको रूपमा पनि आवश्यक हुनु स्वाभाविक हो,' हमालले भन्दै गए, 'सह-यात्राले एउटा निश्चित बिन्दुमा पुर्याउँछ । तर, स्त्रीलाई पनि पुरुषको आवश्यकता हरक्षण पर्छ । दुवै एकअर्काविना सुखी रहन सक्दैनन् ।'
फाटेको चौबन्दीमा मुस्किलले छोपिएको छ स्त्री हुनुको भाव र परिचय । कहाँ छ होला यौवन पुष्पित देहको अपेक्षा ? राजेशले स्त्रीबाट के अपेक्षा गरेहोलान् ? 'उनीहरूबाट हामीलाई आवश्यक यौनको अपेक्षा गर्न सकिन्छ । यौन मात्र होइन, मिल्ने विचारधारा पनि आवश्यक छ स्त्रीसँगको सम्बन्धमा । म स्त्री र यौन दुवै कुरालाई सम्मान गर्छु । समाजले उनीहरूबाट धेरै अपेक्षा गर्न सक्छ ।' साहित्यकार दौलतविक्रम विष्टले स्त्रीका सम्बन्धमा 'चपाइएको अनुहार' उपन्यासमा लेखेका छन्- 'संसारका यी स्वास्नीमान्छेहरूमा ऊ पनि पर्दछे, जो वस्तुस्थितिलाई हेर्नुभन्दा आफ्नो जिद्दीलाई नै ठूलो ठान्छन् ।' राजेश के ठान्दा हुन्, स्त्रीहरू साँच्चै स्थितिको मूल्यांकन नगरीकन आफ्नो जिद्दी मात्र प्रस्तुत गर्नेखाले हुन्छन् ? 'म स्त्रीहरूलाई सामूहिक रूपमा मूल्यांकन गर्दिनँ' उनले भने, 'स्त्रीहरू कोही जिद्दी हुन सक्छन् । तर, सबै स्त्रीहरू जिद्दी स्वभावका हुन्छन् भन्ने सोचाइम राख्दिनँ ।'
बितेका २० वर्षदेखि नेपाली फिल्ममा हाबी राजेशले फिल्मका हिरोनीहरूबाट के सिके ? स्त्रीहरूबाट पुरुषहरूले सिक्नैपर्ने कुरा के हुन् ? 'स्त्रीमा सहनशीलता हुन्छ, भावना हुन्छ, धैर्यता हुन्छ । त्यही सिक्ने हो स्त्रीबाट' अब उनी पुरुषतिर लागे, 'पुरुषहरू त खरा हुन्छन् नि, स्त्रीहरूजस्ता कहाँ हुन्छन् र ? आफूले केही नगर्दा पनि संसार जितेको ठान्छन् पुरुषहरू ।' स्त्रीमा हुने नितान्त फरक कुरा के हुन् जो पुरुषमा हुँदैनन् ? यो प्रश्नको जवाफमा उनले भने, 'स्त्रीहरूको शरीर सुगठित हुँदैन, जुन पुरुषसँग हुन्छ । पुरुषहरूमा शारीरिक शक्ति छ, जुन स्त्रीमा छैन । अरू कु्रा त बराबर भइहाल्छ नि ।'
मान्छेलाई कसैको सानो गुणले पनि आकषिर्त तुल्याउन सक्छ । सामाजिक रूपमा अघि बढ््नेहरूका धेरै फ्यान हुन्छन् । ती फ्यानहरूले मान्छेलाई बाँच्न प्रेरित गर्छन् । सायद, नेपाली फिल्ममा राजेश हमालका तुलनामा अरू कलाकारका फ्यान कमै छन् । राजेश हमालका पुरुष फ्यान बढी होलान् कि स्त्री ?'फ्यान भनेको एउटा स्नेह हो, माया हो । मेरा पुरुष र स्त्री फ्यानहरू बराबरै जस्ता छन् । स्त्री बढी, पुरुष कम भन्ने छैन' उनले भने, 'तर, कहिलेकाहीँ स्त्री फ्यानहरू अलि बढी नै अभिव्यक्तिका साथ प्रस्तुत हुन्छन् ।'
कस्तो हो बढी अभिव्यक्ति भनेको ? उनले केही वर्षअघिको कुरा झिके । एउटी स्त्री रहिछन् । सानै उमेरदेखि राजेश हमालसँग मात्रै विवाह गर्छु भनेर बसेकी । ती पनि राजेशभन्दा निकै कम उमेरकी । हमाललाई ती 'फ्यान'ले अलि बढी नै 'टेन्सन' दिएकी रहिछन् । उनलाई त्यस्ता जिद्दी गर्ने 'फ्यान' मन नपर्ने रहेछ ।
राजेशलाई सबैभन्दा बढी प्रभावित गर्ने स्त्री आमा थिइन् । अब त आमा 'अर्कै लोक' गएको पनि ६ वर्ष भइसक्यो । राजेशलाई थाहा छ, अब आमा फेरि फर्केर आउँदिनन् । अहिले पनि उनी सबैभन्दा बढी आमालाई सम्झन्छन् । 'नोस्टाल्जिया'मा आमा धेरै आउँछिन् । अतीत-स्मृतिमा हराउँदा आमा मात्रै सम्झन्छु,' उनले सुनाए ।
उनी धेरै रोएका छन् आमा सम्झेर । राजेशले कतिपटक सिरान भिजाए होलान् हँ, आमा सम्झेर ? उनी अरू स्त्रीसँग पनि आमाको गुण खोज्छन् होला ? 'खोजिन्छ नि,' उनले झट्पट् भनिहाले, 'पुरुषहरूले आफ्नी जीवनसाथीमा पनि आमाको गुण खोज्छन् । आमाकै जस्ता राम्रा गुणहरू अरू स्त्रीहरूसँग भए राम्रो लाग्छ ।'
स्त्रीले पुरुषबाट सामाजिक रूपमा के खोज्छन् होला ? 'निश्चय नै स्त्रीले पुरुषबाट खोज्ने भनेकै इज्जत र सामाजिक सुरक्षा हो,' राजेशले सुनाए । राजेशलाई चाँहि स्त्रीको के बढी मनपर्छ ? 'उनीहरूको शीलस्वभाव नै हो,' उनले भने ।
स्त्रीहरूले अनेक लुगा लगाएका राजेशले देखेकाछन् । ती लुगाहरूले स्त्रीलाई निकै फरक देखाउँछ, सेक्सी पनि देखाउँछ । उनलाई सोधियो- स्त्रीले कस्तो लुगा लगाएको मनपर्छ ? 'यस्तै भन्ने छैन, सुहाउने र वातावरणअनुसारको लुगा लगाएको मनपर्छ,' उनले भने ।
वेश्यालयमा निर्दोष स्त्रीहरू मोहको भोकमा बारम्बार रगतपच्छे जीवन बाँच्छन् । कोमल ओठमा समयको 'कस'ले कलेँटीको दाग लागेपछि ती षोडषीहरूले शोभा पाउँदैनन् । ती 'दिदीबहिनी'हरू जीवनका रमाइला बिहानीलाई कतै थाति राखेर वेश्यालय आएका छन् । सडकका किनारहरू हेरेर वेश्यालयका फूलहरू आफैंमा फैलन्छन्, खुम्चिन्छन् । जिउ बेचेर जीवनको पांग्रा गुडाउनेहरू पुरुषको स्नेह कति खोज्दा हुन् कुन्नि ? कतै राजेशले बिछट्टै राम्री रजोवती भट्टी पसल्नीले जीवनको फूललाई भीरको सुनाखरी बनाएर फुलाएका पनि देखेका छन् । के ती वेश्या र भट्टी पसल्नीले राजेशको मनलाई संवेदित गर्दैनन् ? 'ती स्त्रीहरू आफ्नो सोखले त्यस्ता व्यवसायमा लागेका हुँदैनन् । उनीहरूमा एउटा बाध्यता हुर्केको हुन्छ । उनीहरूको पीडा मैले महसुस गरेको छु । उनीहरूको आँसुले मलाई संवेदित गर्छन्,' राजेश संवेदित पनि देखिए ।
ताहाचलको सावित्री सदनको तल्लो तलामा फिल्म 'हो, यही माया हो'को सुटिङ भइरहेको छ । अमेरिकाबाट भर्खरै फर्केकी करिश्मा मानन्धर मख्ख परेर हाँसिरहेकी छिन् । उमेर ढल्किसके पनि मानन्धर आज कति 'सेक्सी' देखिएकी ? उमेर छिप्पिँदैमा शरीरको मादकतामा कमी देखिँदो रहेनछ । राजेशले ठट्टा गरे, 'मलाई अरू नायिकहरूसँगभन्दा करिश्मासँग अभिनय गरेको खुब सुहाउँछ है, मलाई धेरैले भनेका छन्- करिश्मा र मेरो जोडी सुहाउँछ ।' सायद, धेरै फिल्ममा राजेशकी प्रेमिका बनेर अभिनय गरेकी करिश्मालाई कतै कुनै क्षणमा राजेशले रियल जीवनमा हुन नसकेकी श्रीमती देखे कि ? साँच्चै, राजेश र करिश्माको जोडी खुबै सुहाएको पनि थियो ।
ture love finds true joys, any way find a beutiful girl and get married, do not waste you wonderful life without wife.
Yah Mum is always great.
Wish U all the best ........win forever.
Netherland(Holland)
Post your comment