Newsletter
Email:
Home | कभरस्टोरी | केन्द्रीय जेलमै बसेर अपहरण धन्दा

केन्द्रीय जेलमै बसेर अपहरण धन्दा

Font size: Decrease font Enlarge font
image

दर्जनौं अपहरणको अभियोगमा केन्द्रीय कारागारमा रहेका अमर टन्डन जेलभित्रै बसेर निर्वाध रूपमा अपहरणको धन्दा चलाइरहेका छन् । उद्यमी महेश सारडाका अपहरणकारी पक्राउ परेपछि टन्डनले जेलभित्रैबाट निर्वाध रूपमा धन्दा चलाइरहेको रहस्य खुलेको हो ।

व्यापारी, उद्यमी र चिकित्सक गरी शृंखलाबद्ध रूपमा १६ जनालाई अपहरण गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको स्पेसल टोली एक महिना मुम्बै बसेर टन्डनलाई १२ फागुन ०६४ मा मुम्बैकै गोरेगाउँमा पक्राउ गरेको थियो । उनी त्यसअघि पनि लागूऔषध कारोबारको अभियोगमा डिल्लीबजार जेलमा थिए । २० वर्षे जेल सजाय भोगिरहेका उनी उपचारको बहानामा वीर अस्पताल जाँदै गर्दा फरार भएर भारत पसेका थिए ।

मुम्बैबाट पक्राउ गरेर ल्याएपछि उनीमाथि लागेको अपहरणको अभियोगमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने फैसला गरेपछि उनी केन्द्रीय कारागारमा छन् । तर, उनले जेलबाट पनि अपहरणको धन्दा चलाइरहेको खुलासा उनकै सहकर्मीले गरेका छन् । टन्डनको आदेशमा उनका सहयोगीहरूले गत २२ जेठमा सारडा गु्रपका प्रबन्ध-निर्देशक सारडालाई उनकै घरबाट बिहान ११ बजे अपहरण गरेका थिए । प्रहरीले एक सातासम्म पनि उद्धार गर्न नसकेपछि सारडा परिवारले फिरौती बुझाएर उनलाई मुक्त गराएको थियो ।

भारतको मुम्बैमा बसेर टन्डनले राम प्याकुरेल र अर्का मोस्टवान्डेट भारतीय अपराधी उदय सेट्टीको सहयोगमा अपहरण धन्दा चलाइरहेका थिए । प्याकुरेल टन्डनसँगै पक्राउ परेका थिए भने केही समयपछि सेट्टी र प्रह्लाद महत पनि बाबुराजा रावल र नीरज कक्षपति अपहरणको अभियोगमा पक्राउ परेका थिए ।


kidnapper
सेट्टी र प्याकुरेल मात्र होइन, अरू सहयोगी पनि पक्राउ परेपछि टन्डनले जेलमै बसेर नयाँ समूह बनाए ।

सो समूहमा टन्डनले तीनजना भारतीयसहित सातजना नेपालीलाई समेटेका थिए । जो उद्योगी सारडाको अपहरण गरेपछि पक्राउ परे । अपहरणकारी सातैजना नेपाली शनिबार पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार टन्डनले केही नेपाली र केही भारतीय अपराधीलाई जम्मा पारेर जेलभित्रै अपहरणको समूह तयार पारेका थिए । उनले केन्द्रीय कारागारमै रहेका राजेश अग्रवालको सहयोगमा गिरोह बनाएको प्रहरीको भनाइ छ ।

प्रहरीले सारडाको अपहरणमा संलग्न रहेको अभियोगमा धरान घर भई काठमाडौं टेकु बस्ने ३६ वर्षीय दावा दोर्जे भन्ने हेमकुमार लामा, सिन्धुली पुरानो झाँगाझोली घर भई ललितपुर चापागाउँ बस्ने २८ वर्षीय टेकबहादुर तामाङ, दाङ धर्ना घर भई काठमाडौं गोल्फुटार बस्ने २३ वर्षीय निरञ्जन खनाल, खोटाङ चिप्रिङ घर भई काठमाडौं नयाँबजार बस्ने २४ वर्षीय कुमार राई, काभ्रे खनालथोक घर भई काठमाडौं टेकु बस्ने ३३ वर्षीय बत्तिमान लामा, मकवानपुर नामटार घर भई ललितपुर धापाखेल बस्ने २६ वर्षीय कुमार गुरुङ र काठमाडौं साङ्ला बस्ने २३ वर्षीय दीपेन्द्र तिमिल्सेनालाई पक्राउ गरेको छ ।

टन्डन र अग्रवालले केन्द्रीय कारागारमा बसेर कुमार राई, हेमकुमार लामा र निरञ्जनकुमार खनालको नेतृत्वमा भारतीय नागरिक मोहित राजा भन्ने मोहित तिवारी, मोहम्मद कलाउद्दीन र फौजी नाम गरेका अर्का एकजनालाई मिलाएर गिरोह बनाएका थिए ।

प्रहरीका अनुसार टन्डनको योजनाअनुसार नै कुमारलगायतको समूहले मोहित राजासहित तीन भारतीयलाई काठमाडौं बोलाएर उद्योगपति सारडाको अपहरण गरेको थियो । फिरौती रकम हुन्डी हुँदै नेपालबाहिर लैजाने प्रक्रियासमेत टन्डनले नै सिकाएका थिए । अपहरणलगत्तै तीनैजना भारतीय स्वदेश फर्किएका थिए । मोहित राजा भारतमा पक्राउ परेका छन् भने अरू फरार छन् ।

सारडाका आफ्नै चालक कुमार गुरुङले अपहरणकारीलाई सारडाको व्यक्तिगत तथा पारिवारिक जानकारी दिएका थिए । उनले सारडाको घरमै ७०/८० लाख नगद हुने गरेको जानकारी गराएपछि हेमबहादुरले डकैतीको र निरञ्जनले अपहरणको योजना बनाएका थिए ।

पक्राउ परेका अपहरणकारीमध्ये हेम र टेकबहादुर डकैतीको अभियोगमा पाँच वर्ष जेल परी हालै रिहा भएका हुन् । निरञ्जन खनाल प्रहरी भिनाजुको पेस्तोल प्रयोग गरी ०६१ मा १७ वर्षको उमेरमा नबिल बैंक लुटेर चर्चामा आएका थिए । उनी २ वर्ष जेल भुक्तान गरी तीन वर्ष अगाडि मात्र रिहा भएका हुन् । बत्तिमान ट्याक्सीड्राइभर हुन् भने तिमिल्सेना काठमाडौं क्षेत्र नम्बर २ को वाइसिएल अध्यक्ष हुन् ।

अपहरणकारी समूह २२ जेठ मध्याह्न ११ बजे बलेरो गाडी लिएर थापाथली हाइटमा रहेको सारडाको घरमा छिरेर परिवारका सदस्यलाई नियन्त्रणमा लिएको थियो । उनीहरूले पहिले घरमा डकैती गरी सारडाको अपहरण गरी लगेका थिए । अपहरणका लागि आवश्यक पर्ने बलेरो गाडी वाइसिएल इन्चार्ज तिमिल्सेनाले जुटाइदिएका हुन् ।

प्रहरीका अनुसार अपहरणकारीले उद्योगी सारडालाई थापाथलीबाट अपहरण गरी तिमिल्सेनाको साङ्लामा भएको घरमा लगेर राखेका थिए । महाशाखाका प्रमुख वीरेन्द्रबाबु श्रेष्ठका अनुसार अपहरितलाई कुखुरा पाल्ने घरमा राखिएको थियो ।

सारडा अपहरणमा परेदेखि नै प्रहरीले उनको ड्राइभर कुमारमाथि शंका गरेर खोजी गरेको थियो । अपहरणकारीको खोजीका लागि महानगरीय प्रहरी अपराध महाशाखाले प्रहरी निरीक्षक कृष्ण कोइरालाको नेतृत्वमा टोली परिचालन गरेको थियो ।

प्रहरी अपहरणकारीहरूको खोजीमा लागिरहेकै वेला अपहरणमा परेको आठ दिनपछि सारडा आफैं घरमा आएका थिए । अपहरणकारीले उद्योगी सारडाको परिवारलाई १४ लाख हुन्डीमा हाल्न लगाएर सारडालाई बल्खुमा ल्याएर मुक्त गरेको प्रहरीको भनाइ छ । त्यसपछि पनि प्रहरीले अपहरणकारीलाई पिछा गर्न छोडेन ।

एसएसपी श्रेष्ठका अनुसार कुमार मकवानपुर नामटार गाविस- ८ निवासी रहेको र हाल ललितपुर धापाखेल बस्ने गरेको सूचनाको आधारमा प्रहरीले उनको खोजी गरेको थियो । तर, ललितपुरमा उनको डेरामा कोही नभेटिएपछि अपहरणमा उनी संलग्न रहेको किटान गरी कुमारको खोजीमा सक्रिय भएको थियो ।

अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार मकवानपुरमा रहेको उनको घरबाटै कुमार पक्राउ परेका हुन् । पक्राउ परेलगत्तै कुमारले टेकबहादुरको बारेमा प्रहरीलाई जानकारी दिए, त्यही शृंखलामा अन्य सातजना पक्राउ परेका हुन् । प्रहरीले अपहरणकारीबाट सारडाको घरबाट लुटिएका करिब १० किलो चाँदीका गहना र अपहरणमा प्रयोग गरिएका हतियार मात्र बरामद गरेको छ । प्रहरीले अपहरणमा प्रयोग भएको गाडी खोज्न चासो देखाएको छैन ।

Subscribe to comments feed Comments (1 posted):

abhiji on 20/09/2009 14:53:35
avatar
kin hamro nepali police le kahi garn sakain sayad trainingko kami le ya criminal sang ko contract ma.kin nepali police le aafno janta ko sewa gardain.so that nepali janta police dekhi ki darau ki police lai gali garchha.ahile pani yasto derai kura chhan hamra nepali police le sikhnu parne.
Thumbs Up Thumbs Down
0
total: 1 | displaying: 1 - 1

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
4.00
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?