'स्वार्थ छोडेर सहमति गरौँ’
फिदिम/ संविधानसभा अध्यक्ष सुभास नेम्वाङले समयमा संविधान जारी गर्नका लागि दलहरू आफ्ना स्वार्थ छोडेर सहमतिमा आउनुपर्ने बताएका छन् । समयमै संविधान जारी नभए देश जटिल मोडमा जाने नेम्वाङले चेतावनी दिए । पाँचथरको सिक्किम बोर्डर चरिभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म मध्य पहाडी पुष्पलाल लोकमार्गमा पर्ने तमोर नदीको पुल शिलान्यास कार्यक्रममा आइतबार अध्यक्ष नेम्वाङले लगातार पाँच महिनासम्म संसद् अवरुद्ध हुँदासमेत संविधानसभा बन्द नभएकाले दलहरू सहमतिमा आए समयमै संविधान जारी हुने बताएका हुन् । संविधानसभाप्रति उत्तरदायी बन्न सभासद्हरूलाई राजधानीबाहिर नजान निर्देशन दिएको र आफू पनि बाहिर नजाने उल्लेख गर्दै नेम्वाङले भने, 'हामी समयमै संविधान जारी गर्न दत्तचित्त भएर लागेका छौँ ।' संविधान निर्माणमा हिमाल, पहाड र तराईका जनताले दबाब दिनुपर्ने पनि उनले बताए । जनताबाट प्राप्त सुझावलाई अध्ययन गरी पूर्ण प्रतिवेदन तयार गरेर ११ वटा विषयगत समितिले अवधारणापत्र र प्रारम्भिक मस्यौदामा छलफल गरी २१ माघमा टुंगो लागिसकेको अध्यक्ष नेम्वाङले जानकारी दिए । '२१ माघमा हामीले ऐतिहासिक काम गरेका छौँ । संविधान निर्माणका क्रममा हामीले एउटा चरण पार गरिसकेका छौँ,' उनले भने ।



del.icio.us
Digg
Post your comment