Newsletter
Email:
Home | देश | ऐनविपरीत साढे दुई सय कर्मचारी सरुवा

ऐनविपरीत साढे दुई सय कर्मचारी सरुवा

Font size: Decrease font Enlarge font
image

नयाँ पत्रिका

काठमाडौ, १ चैत

वन मन्त्रालय र विभागले निजामती सेवा ऐनको ठाडो उल्लंघन गर्दै दुई सय पचासभन्दा बढी कर्मचारीको एकैचोटि सरुवा गरेको छ । केही वन अधिकृत एक वर्ष पनि नपुग्दै सरुवामा परेका छन् जुन ऐनविपरीत हो ।

विरोध हुने डरले मन्त्रालय र वन विभागले सरुवाको सूची भने गोप्य नै राखेका छन् । ऐनअनुसार सरुवा भएको दुई वर्षसम्म कसैलाई पनि पुनः सरुवा गर्न पाइँदैन । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले उपलब्ध गराएको सूचीका आधारमा वनमन्त्री दीपक बोहराले ठाडो हस्तक्षेप गरी कर्मचारी सरुवा गराएको स्रोतले बतायो ।

मन्त्रालयले सप्तरीका इमामुद्दिन अन्सारीलाई ६ महिना पनि नपुग्दै इलाम सरुवा गरेको छ । यसैगरी पदावधि नपुग्दै रौतहटका राजबहादुर राउतलाई महोत्तरी र महोत्तरीका सोहरत ठाकुरलाई नवलपरासी सरुवा गरिएको छ । बाग्लुङका योगेन्द्र यादव चितवन पुगेका छन् । रिक्त रहेको काठमाडौंको जिल्ला वन अधिकृतमा भने कसैलाई पनि ल्याइएको छैन ।

वन अधिकृत सरुवा हुँदा आकर्षक स्थानमा जान आर्थिक चलखेल हुने गरेको आरोप लाग्दै आएको छ । मन्त्रालय र विभागमा लाखौँ रुपैयाँ खुवाएर अधिकृतहरू आकर्षक स्थानमा जाने गरेको स्रोतको दाबी छ ।

वन मन्त्रालयले ऐनविपरीत सरुवा गर्न खोजेपछि सामान्य प्रशासन मन्त्रालयले सुरुमा आपत्ति जनाएको थियो । तर, वनमन्त्री दीपक बोहराले पहिला सामान्य प्रशासन मन्त्रालयमै रहेर काम गरेका सहसचिव राजेन्द्र ढुंगेलमार्फत ऐनविपरीतका कतिपय सरुवामा सहमति गराउन सफल भएका छन् ।

ऐनअनुसार मन्त्रालय तथा विभागले आफू मातहतका कर्मचारीको सरुवा फागुनभित्रै गरिसक्नुपर्ने हुन्छ, तर अधिकांश कर्मचारीको सरुवा १ चैतमा मात्र भएको छ । सरुवा १ गते आइतबार मात्रै गरिएको भए तापनि मिति भने २८ फागुनको राखिएको छ ।

स्रोतका अनुसार विभागले २८ फागुनमा थोरै संख्यामा वन अधिकृत र सहायक वन अधिकृतको सरुवा गरेको थियो । 'बँाकी सबै २८ फागुनको निर्णय मिति राखेर १ चैतमा सरुवा गरिएका छन्,' स्रोतले भन्यो ।

वन विभागका महानिर्देशक माधव आचार्यले दुई सय पचासभन्दा बढीको सरुवा भएको पुष्टि गर्दै सरुवाको सूची बन्ने क्रम जारी रहेको बताए । 'सरुवा भएको हो, तर सरुवा सूची बन्दै छ, एक-दुई दिनभित्र सार्वजनिक गर्छौं,' महानिर्देशक आचार्यले भने ।

आचार्यका अनुसार वन अधिकृत र सहायक वन अधिकृत गरी ३५ जना र रेञ्जर, वनरक्षक गरी दुई सय १५ जनाको सरुवा गरिएको छ । मन्त्री बोहराले आफूले दिएको सूचीका आधारमा सरुवा गर्न दबाब दिएपछि, सचिव युवराज भुसाल र वन विभागका महानिर्देशक माधव आचार्य सोहीअनुसार नै सरुवा गर्न बाध्य भएका हुन् ।

महानिर्देशक आचार्य र विभागका एक उपसचिव, दुई शाखा अधिकृतलगायत पाँचजनाको टोली मन्त्री बोहराले दिएको सूची बोकेर एक साताअघिदेखि नै हात्तीसारस्थित जिल्ला वन कार्यालय आएको थियो । विभागमा बसेर सरुवा गर्दा विवाद हुने डरले सुटुक्क जिल्ला वन कार्यालय काठमाडौंमा आएर सरुवाको निर्णय गरिएको हो । आइतबार जिल्ला वन कार्यालयमा पुग्दा वन विभागको सिंगो टोली नै सरुवासम्बन्धी काम गरिरहेको थियो ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?