महत्त्वाकांक्षी म्याराडोना
१९८६ मा कप्तानका रूपमा अर्जेन्टिनालाई विश्वविजेता बनाएका म्याराडोना अब प्रशिक्षकका रूपमा पनि त्यो सफलता हासिल गर्ने महत्त्वाकांक्षामा छन्
समय-समयमा विवादमा नमुछिएको खण्डमा डिएगो म्याराडोनाको नामले पूर्णता पाउँदैन, यो उनको चरित्र नै हो । अनेकौँ विवादको सामना गर्दा पनि उनको आत्मविश्वास कहिल्यै डग्दैन, म्याराडोनाको अनेकौँ सवल पक्षमध्ये त्यो पनि एक हो । अन्तिमपटक १९८६ मा कप्तानका रूपमा अर्जेन्टिनालाई विश्वविजेता बनाएका म्याराडोना अब प्रशिक्षकका रूपमा पनि त्यो सफलता हासिल गर्ने महत्त्वाकांक्षामा छन् ।
अब कसरी प्रशिक्षकका रूपमा पनि अर्जेन्टिनालाई विश्वकप दिलाउने भन्ने चिन्ताले उनलाई सताउन थालेको छ ।
विश्वकप फुटबल छनोट चरणमा कमजोर खेलपछि बल्ल-तल्ल दक्षिण अफ्रिकाको टिकट कटाएको अर्जेन्टिनाका प्रशिक्षक म्याराडोनाले आफ्नो टोलीमा विश्वकप चुम्न सक्ने असंख्य वास्तविक आधारहरू रहेको दाबी गरेका छन् । यसले उनको पछिल्लो महत्त्वाकांक्षालाई दर्शाएको छ ।
अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीलाई सम्हालेलगत्तै ४८ वर्षीय फुटबल महारथीले आपनै मुलुकभित्र निकै आलोचना सहनुपर्यो । छनोट खेलको अन्तिम खेलमा उरुग्वेलाई हराएपछि मात्र अर्जेन्टिनाले दक्षिण अफ्रिकामा हुने आगामी विश्वकपमा स्थान पाएको थियो ।
गत साता म्युनिखमा जर्मनीलाई १-० ले हराएपछि भने उनले आफ्नो महत्त्वाकांक्षा सार्वजनिक गरेका थिए । हुन त, त्यो जितले अर्जेन्टिनी फुटबलमा सुधार आएको भान पनि दिएको छ । तैपनि टोलीमा सुधारको आवश्यकता रहेको उनीसमेत नकार्दैनन् ।
'हामीले विश्वकपको स्तरमा खेल्ने प्रयास गरिरहेका थियौँ, त्यो खेल विश्वकपको क्वाटरफाइनलको स्तरभन्दा कम थिएन किनभने अर्जेन्टिना र जर्मनी भनेको घटीमा त्यो स्तरसम्म पुग्छन् नै,' उनले भने, 'हुन सक्छ अर्जेन्टिनाको प्रेसलाई त्यो जित र मेरो धारणा मन नपर्न सक्छ, तर हामी दक्षिण अफ्रिकामा राम्रो खेल्दै छौँ ।'
'अहिले हामी २४ वर्षपछि विश्वकप जित्न सक्ने क्षमताको टोली बनेका छौँ, जर्मनीसँगको खेलले त्यो प्रस्ट्याइसक्यो । जर्मनी पनि उपाधिको दावेदारमध्ये एक हो तथा हामी उनीहरूलाई समेत हराउन सक्षम छौँ भन्ने स्पष्ट पारिसक्यौँ,' उनले भने । खेलाडी जीवनमा म्याराडोनाको खेलस्तर उच्च थियो । उनको खेल-कौशलकै कारण उनकै कप्तानीमा १९८६ को मेक्सिको विश्वकप जितेयता अर्जेन्टिनाले त्यो सफलता पाउन सकेको छैन ।
अहिले भने उनी लियोनल मेसीमा अर्जेन्टिनालाई फेरि त्यो सफलता दिलाउन सक्ने क्षमता रहेको पनि बताउँछन् । जर्मनीलाई हराउँदा बार्सिलोनाका विंगर मेसीका कारण नभएर गोन्जालो हिगुयनको गोलमा अर्जेन्टिना विजयी भएको थियो । तैपनि, म्याराडोनाले आफ्नो महत्त्वाकांक्षा पूर्ण गराउन सक्ने पहिलो योद्धाका रूपमा मेसीलाई अगाडि सारेका छन् ।
'धन्य छ भगवान् मेसी अर्जेन्टिनी भएकोमा,' म्याराडोनाले थपे, 'हामी फेरि पनि विश्व च्याम्पियन बन्न सक्यौँ भने भगवान्लाई नै धन्यवाद दिने छु ।' म्याराडोनाको दाबीमा अबको विश्वकप उनकै मुलुकले जित्नेछ, कप्तान जेभियर मास्चेरानोको नेतृत्वमा ।
'जर्मनी युरोपेली र विश्वकपमा सधैँ उपाधिको दावेदार मानिन्छ तथा त्यो टोलीलाई हराउन सक्छु ठूलो उपलब्धि हो,' लिभरपुलका मिडफिल्डर मास्चेरानोले म्याराडोनाको भनाइमा सहमति जनाए, 'हामीलाई आफ्नो स्तरको पनि जाँच गर्नु थियो तथा हामी विश्वकप जित्न सक्षम छौँ किनभने हामीसँग योजना बनाएर अघि बढ्ने प्रशिक्षक छन् ।' 'हामीले त्यो खेललाई विश्वकपकै रूपमा लिएका थियौँ, हामीले त्यसलाई मैत्रीपूर्ण खेलका रूपमा खेलेनौँ, हाम्रो विश्वकप-यात्रा जितबाट सुरु भएको छ ।'
पेलेको समर्थन
महान् फुटबलरको कसीमा सधैँ म्याराडोनालाई चुनौती दिने ब्राजिलका पेलेले म्याराडोनालाई अनुभवहीन प्रशिक्षकको संज्ञा दिएका छन् । म्याराडोनाबारे लामो समयपछि मुख खोलेका पेले विश्वकप छनोटमा अर्जेन्टिनाको कमजोर खेलका लागि उनी दोषी नभएको बताउन पनि पछि परेनन् । उनको भनाइमा प्रशिक्षणको अनुभव नभएका म्याराडोनालाई महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएर अर्जेन्टिनी फुटबल अधिकारीहरूले गल्ती गरेको धारणा पनि उनको छ ।
त्यसवेला, छनोट चरणको खेलका आधारमा अर्जेन्टिनाले १९७० पछि पहिलोपटक विश्वकप खेल्न नपाउने हो कि भन्ने आशंकामा म्याराडोनाले निकै आलोचना खेप्नुपरेको थियो । 'छनोट चरणका वेला देखिएका विवाद म्याराडोनाको गल्तीबाट उत्पन्न भएको हो भन्ने मलाई लाग्दैन, त्यो सबै उनको प्रशिक्षणको अनुभवको कमीले गर्दा भएको हो,’ पेलेले भने, 'त्यो गल्ती अर्जेन्टिनी फुटबल महासंघका अध्यक्ष जुलियो ग्रोन्डोना र अन्य पदाधिकारीको हो, जसले म्याराडोनालाई त्यो जिम्मेवारी दिए ।’
मेक्सिको संकटमा रहेको टोलीलाई उपाधि दिलाएका म्याराडोनाले २००८ मा टोली सम्हालेयता अर्जेन्टिनालाई बलियो बनाउँदै लगेको धारणा पनि पेलेको छ । साथै उनले अर्जेन्टिनासँगै ब्राजिल र स्पेनलाई आगामी विश्वकपको दावेदारसमेत बताए ।
'युरोपमा हेर्ने हो भने च्याम्पियन स्पेनको सम्भावना बलियो छ तथा अमेरिकामा हेर्ने हो भने ब्राजिल सशक्त छ तथा अर्जेन्टिना पनि कमजोर छैन । अर्जेन्टिना र ब्राजिल सधैँ विजेताजस्तो खेल्छन्, यो परम्परा नै हो,’ पेलेले भने । साथै उनले ११ जुनदेखि सुरु हुने विश्वकपमा कुनै टोली 'डार्क हर्स’ का रूपमा देखा परे अचम्म नहुने पनि बताए ।



del.icio.us
Digg
Post your comment