यसरी मारिएका थिए मिस्टर जोन
नयाँ पत्रिका
नेपालगन्ज, २८ फागुन
काठमाडौंको त्रिपुरेश्वर र बालाजुमा १६ भदौ ०६४ मा एकसाथ भएको बम विस्फोटको जिम्मेवारी लिएपछि एकाएक चर्चामा आएका थिए- मिस्टर जोन । ०६५ भदौमा उनी प्रहरीसितको मुठभेडमा मारिए । जोनको वास्तविक नाम कौशल सहनी थियो । सधै रातो कपडा लगाउन मन पराउने भएकाले गाउँमा उनलाई 'लल्ला' भनेर बोलाइन्थ्यो । रौतहट जिल्ला रघुनाथपुर गाविस सहनी गाउँका कौशल काठमाडौं बम विस्फोटपछि मिस्टर जोन बनेका थिए । आफूलाई तराई आर्मीका अध्यक्ष बताउने जोन २८-२९ वर्षका थिए ।
तराई आर्मी नामक संगठनको अध्यक्ष रहेका जोनले रौतहट र वीरगन्जमा मात्रै १६ जनाको हत्या गरेको नेपाल प्रहरीको भनाइ छ । जोनको आतंक रौतहट, वीरगन्ज, बारा, सर्लाही, महोत्तरी, नारायणघाट, चितवन, पर्सामा अधिक थियो । काठमाडांैमा भएको विस्फोटपछि राजधानीवासी पनि उनको नामबाट आतंकित बन्न थाले । जोनले राजधानीलाई तहसनहस पार्ने धम्की दिएपछि सर्वसाधारणमा त्रास फैलिएको थियो ।
काठमाडौंको विस्फोटबाट हौसिएका जोनले पोखरामा पनि बम विस्फोट गराए । त्यसको केही दिनपछि बाराको पिलुवामा सार्वजनिक बसमा पेट्रोल बम प्रहार गर्दा नौजना सर्वसाधारण मारिए । वर्ष दिनपछि उनको समूहले रौतहटको चन्द्रनिगाहपुरमा बम विस्फोट गराउँदा दुई नाबालकको ज्यान गयो ।
आर्थिक अवस्था अत्यन्त कमजोर भएका सहनीको उचाइ ५ फिट ६ इन्च र वर्णर् गहुँगोरो थियो । उनका श्रीमती, एक छोरा र बाबुआमा छन् ।
चन्द्रनिगाहपुर र बिर्ता बजारमा घुम्ने जोन सामान्य दादागिरी गर्थे । झैझगडाका क्रममा उनी थुप्रैपटक पक्राउ परे । प्रहरीचौकीमा पनि उनको राम्रै सम्पर्क थियो । चौकीमै गएर प्रहरीसँग बसेर खानपिन तथा रमाइलो गर्थे । तर, प्रहरीलाई के थाहा, उनै कौशल पछि गएर जोन बन्ला र देशमा आतंक मच्चाउला भनेर । काठमाडौंमा घटना हुँदासम्म जोनबारे प्रहरी बेखबर थियो । कौशल प्रहरीको नजरमा सामान्य दादा मात्रै थिए । पहिले आर्थिक अवस्था कमजोर भएका जोनले आपराधिक घटना गरेर उठाएको पैसाले भव्य घर बनाउन सुरु गरेका थिए ।
मेरै कमान्डमा भएको थियो अप्रेसन -एसएसपी जयबहादुर चन्द
काठमाडौंमा विस्फोट गराएपछि मात्र जोन प्रहरीको निशानामा परेका थिए । तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्व सरकारले जोनलाई पक्राउ गर्न गृह मन्त्रालयलाई निर्देशन दियो । उनलाई पक्रन गृहले तत्कालीन डिआइजी केबी राना, एसपी राजेन्द्रमान श्रेष्ठ, एसपी सुदीप आचार्यलगायतको टोली बनायो ।
म त्यतिवेला रौतहट जिल्ला प्रहरी कार्यालयमा एसपी थिएँ । जोनलाई पक्राउ गर्न गोप्य रूपमा गठन गरिएको टोलीले गोप्य रूपमै वीरगन्जमा मुकाम बनाएर काम थाल्यो । टोलीले बारा, रौतहट, पर्सा र सर्लाहीलाई क्षेत्र बनाएर जोनबारे अनुसन्धान थाल्यो । टोलीले महिना दिनसम्म गरेको प्रयास सफल हुन सकेन । जोनबारे केही जानकारी नपाएपछि टोली राजधानी फर्कियो ।
तर, जोनको आतंक रोकिएको थिएन । जोनले आपराधिक घटना गराएपछि वीरगन्ज र रौतहटका पत्रकारलाई सम्पर्क गर्थे र जिम्मेवारी लिन्थे । पत्रपत्रिकामा आएका समाचारलाई आधार बनाएर कबोट (गोप्य टोली) गठन गरेर जोनबारे सूचना संकलन गर्ने कार्य जारी थियो ।
कबोटले जोनबारे सूचना दिन थाल्यो । मकहाँ जोनबारे पर्याप्त सूचना आए । त्यही सूचनाको आधारमा कौशल सहनी नै जोन हो भन्ने कुरा पत्ता लाग्यो । मैले मातहत प्रहरीचौकी चन्द्रनिगाहपुरका तत्कालीन प्रहरी निरीक्षक श्याम अधिकारीसँग 'टप सेक्रेट' गृहकार्य
सुरु गरे ।
जोनको पहिचान भइसकेको र ऊ सहनी गाउँमा बस्दै आएको कुरा पक्का भएपछि मैले तत्कालीन आइजिपी ओमविक्रम राणा, तत्कालीन डिआइजी किरणकुमार गौतम र तत्कालीन एआइजिपी राकेश बज्राचार्यलाई सम्पर्क गरेर जोनबारे जानकारी गराएँ । 'तिमी जे माग्छौ हामी दिन तयार छाँै । 'गो अ हेड' को निर्देशन आयो उनलाई । उनले जोनलाई पक्राउ गरे के पुरस्कार पाउने ? भन्ने प्रश्न गरे । उताबाट जवाफ आयो, 'तिमी जे चाहन्छौ त्यही, तर जोनलाई पक्राउ गर ।'
मैले बढुवासहितको काठमाडौंमा पोस्टिङको माग गरे । उहाँहरूले 'ओके' भन्नुभयो । यी सब हुँदासम्म काठमाडौं बम विस्फोटको करिब वर्ष दिन बितिसकेको थियो । १३ भदौ ०६५ मा जोनको समूहले चन्द्रनिगाहपुरका भूतपूर्व प्रहरी रामपि्रत सहनीमाथि बिर्ता बजारमा गोली प्रहार गर्यो । उनलाई मेरो सुराकीकोे आरोपमा जोनको समूहले गोली प्रहार गरेका थिए । कोखामा दुईवटा गोली लागेको थियो । उपचारपछि उनको ज्यान जोगियो ।
तर, ऊ मेरो सुराकी थिएन । गाउँकै अन्य थिए । भूपू प्रहरीमाथि गोली प्रहार भएलगत्तै नजिकै रहेको प्रहरीचौकी इन्चार्ज मोहन ओलीको कमान्डमा खटिएका प्रहरी टोलीले जोनको समूहलाई लखेट्दै पक्राउ गर्न सफल भयो । पक्राउ परेका महेन्द्र सहनी हतियार नलकटुवा पेस्तोल र १७ राउन्ड गोलीसहित पक्राउ परे । महेन्द्र जोनका आफ्नै काका रहेछन् । उनीसँग पनि प्रहरीले जोनका बारेमा सोधपुछ गर्यो । रामपि्रतमाथि गोली चलाउने अन्य अपराधी सहनी जोनको घर रहेको सहनी गाउँतर्फ भागेका थिए ।
मिस्टर जोन गाउँमै भएको सुराक पाएपछि इलाका प्रहरी कार्यालय गरुडाको सहयोगमा खोजी अप्रेसनको निर्देशन दिएँ मैले । गरुडाका तत्कालीन प्रहरी निरीक्षक श्याम अधिकारीको कमान्डमा इलाका प्रहरी कार्यालय, शिवनगर, इलाका प्रहरी कार्यालय समनपुर, प्रहरीचौकी बिर्ता, नरकटियासमेतमा रहेका प्रहरी एकसाथ परिचालन गरिएको थियो । सुरक्षाकर्मीको अभावमा ती प्रहरीचौकीमा ताला लगाएर सर्च अप्रेसनमा सहभागी हुन मैले निर्देशन दिएको थिएँ । सबै चौकी खाली गरेर जोनको सर्चमा प्रहरी तैनाथ गरिएको थियो । अप्रेसन रिस्क लिएरै गरेका हाै ।
१३ भदौ ०६५ राति ११ बजेदेखि सहनी गाउँमा प्रहरीले अप्रेसन सुरु गरेको थियो । १ बजे रातिसम्म गाउँ प्रहरीको घेरामा थियो । १४ गते बिहान साढे ३ बजेको समयमा केहीले प्रहरीको घेरा तोड्न खोजे । प्रहरीले अगाडि नबढ्न चेतावनी दियो । तर, उनीहरूले फायरिङ सुरु गरे ।
अप्रेसनमा खटिएका प्रहरीले पनि प्रतिकारमा फायरिङ खोले । प्रहरीको प्रतिकारमा दुईजनाको घटनास्थलमै मृत्यु भयो । सनाखत गर्दा तराई आर्मीका केन्द्रीय अध्यक्ष मिस्टर जोन भनिने कौशल सहनी र उनका अंगरक्षक महन्त सहनी भएको खुल्यो । जोनको शवसँगै घटनास्थलबाट अमेरिकामा बनेको ९ एमएमको पेस्तोल, चारवटा गोली, एक खोका, एक मोबाइल, सानो डायरी भेटिएको थियो । त्यस्तै बडिगार्डसँग एक कटुवा पेस्तोल, गोली चार राउन्ड फेलापरेको थियो ।
यसरी विगत दुई वर्षदेखि भूमिगत संगठनका नाइके मिस्टर जोनको इहलीला सकियो । मैले उक्त घटनामा खटिएका प्रहरी अधिकृत तथा जवानले निर्वाह गरेका अत्यन्त उत्कृष्ट र अति प्रशंसायोग्य कार्यलाई पुरस्कृत गर्न आवश्यक पहल गर्नेछु भनेर आश्वासन दिएँ । तर, सकिएन ।
जोनको एन्काउन्टर नभएको भए पोखरामा पनि ठूलै दुर्घटना हुने थियो । किनभने केही दिनमै उनले पोखराको हरेक चोकमा विस्फोट गराउने योजना बनाएका थिए । जोनका काका महेन्द्र पछि जेलबाट छुटे । शान्ति मन्त्रालयसँग तराई आर्मीको सम्झौता भएपछि सरकारले महेन्द्रलाई रिहा गरेको हो । जोनको एन्काउन्टरपछि भैरव यादव तराई आर्मीका अध्यक्ष भएका छन् ।
तराई आर्मीको आतंक एकतिर थियो भने अर्कोतिर भारतको मोतिहारी जेलमा रहेका मुन्ना शर्माको आपराधिक गिरोहले रौतहट र वीरगन्जमा आतंक मच्चाएका थिए । चन्दा, अपहरण, हत्या, वम विस्फोटका घटना बढेका थिए ।
आतंक रोक्न व्यापक अप्रेसन गरियो । त्यही क्रममा मुन्ना शर्मा समूहका सातजना इन्काउन्टरमा मारिए । वीरगन्जमा पनि इन्काउन्टर गरियो । पछिल्लोपटक मिस्टर जोन र उनका अंगरक्षकको एन्काउन्टरमा मृत्यु भएपछि मलाई एन्काउन्टर एसपी भन्थे । म रौतहट र वीरगन्ज बस्दा १० अपराधीको 'इन्काउन्टर' भयो ।
मिस्टर जोनलाई पक्राउ गर्न सके मागेअनुसारको पुरस्कार दिने आश्वासन पाएका थिए । तर, पुरस्कार अझै उधारो छ । मैले काठमाडौंमा पोस्टिङ मागेको थिएँ । तर, पुरस्कारको साटो मलाई अन्यन्त्र पठाइयो ।
सरकार परिवर्तन भए । तर, म जहाँको तहीँ छु । मसँगै एन्काउन्टर अप्रेसनमा सहभागी सुरक्षाकर्मीलाई पनि पुरस्कृत गरिएन । अनि कहाँबाट प्रहरीको मनोबल बढ्छ ?
मिस्टर जोनलगायत मुन्ना शर्माको समूहका अपराधीलाई एन्काउन्टर गर्दा कति धम्की आयो । तर, मतलब गरिएन । यहाँसम्म कि श्रीमतीलाई समेत भनिएन । आफूभन्दा उच्च ओहदाका सरहरूलाई पनि भनिएन । डरायौ भन्लान भनेर सबै धम्की पचाएर बसियो । परिवारले दुःख मान्लान् भनेर लुकाइयो ।
आफ्नै सुरक्षाका लागि गुहार गर्ने सुरक्षा अधिकारीको नेपालमा बढुवा हुन्छ । उसले जे माग्छ, त्यही पाउँछ । तर, हामी काम देखाएर माग्दा पनि सरकार सुन्न तयार हुँदैन । त्यसैले नेपाल प्रहरीको मनोबल बढ्न सकेको छैन ।
एन्काउन्टर गरिएकाको समूह भोलि गएर ठूलो रूप लियो भने सुरक्षामा खतरा हुन सक्छ । यी कुराको मतलब कसैलाई छैन । हामीजस्तो इमानदार प्रहरी अधिकृतको कुरा सुन्न सरकारलाई फुर्सद छैन । हालका प्रधानमन्त्रीको घर पनि रौतहट हो ।
उहाँले आफ्नो गृह जिल्लामा भाषण गर्दा मेरो नाम लिएर प्रशंसा गर्नुभयो । खुसी लाग्यो । तर, मैले र मसँगै काम गर्ने प्रहरी अधिकृत र जवानहरूले पुरस्कार पाउन सकेका छैनौँ । यसमा मेरो दुःख छ ।
(वार्तामा आधारित)



del.icio.us
Digg
Post your comment