कोइराला मण्डिखाटार सरे
नयाँ पत्रिका काठमाडौं, २८ फागुन अस्वस्थ रहेका कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला शुक्रबार छोरी सुजाताको निवास मण्डिखाटारमा सरेका छन् । सभापति कोइराला आफ्ना सहयोगीसहित १० बजेर पाँच मिनेटमा मण्डिखाटार पुगेका थिए । कृष्णरक्षा राजभण्डारीको महाराजगञ्जस्थित घरमा बस्दै आएका उनी बिहान १० बजे छोरी सुजाताको निवास प्रस्थान गरेका थिए । क्रोनिक ब्रोंकाइटिसबाट पीडित उनी स्वास्थ्यमा छिटोछिटो उतार-चढाव हुन थालेपछि आफ्नी एक मात्र सन्तान सुजाताको घरमा सरेका हुन् । आफैँ गाडी चढेर डेरा सरेका सभापति कोइरालाले सर्ने क्रममा आफ्नो स्वास्थ्य ठीकै रहेको संकेत गर्दै उपस्थित सञ्चारकर्मी र शुभेच्छुकलाई हात हल्लाउँदै गाडीबाट बाहिरिएका थिए । नियमित अक्सिजन लिइरहेका कोइराला अक्सिजनमै छोरी सुजातानिवास गएका थिए । उनको साथमा उपचारमा संंलग्न चिकित्सक डा. जगदीश अग्रवाल पनि थिए । सुविधासम्पन्न अस्पताल शय्यासरह सुविधामा बस्दै आएका कोइरालालाई सुजातानिवास मण्डिखाटारमा पनि त्यस्तै व्यवस्था गरिएको छ । यसअघि सुजाता बस्दै आएको कोठामा कांग्रेस सभापति कोइरालालाई बस्ने व्यवस्था मिलाइएको छ । कोइराला मण्डिखाटार पुग्दा घरको मूलढोकाको दायाँ र बायाँ सिँगारिएका कलश राखिएका थिए । यसैगरी, महाराजगञ्जबाट कोइरालाको चारवटा दराज पनि मण्डिखाटार सारिएका छन् । उनका कपडा र ओछयान शुक्रबार बिहानै सारिएको छ । केही सामान शनिबार सार्ने तयारी गरिएको छ ।



del.icio.us
Digg
Post your comment