जमिम हत्यामा पाँचविरुद्ध मुद्दा
नयाँ पत्रिका काठमाडौं, २७ फागुन सञ्चार-उद्यमी जमिम शाहको हत्यामा संलग्न भनिएका पाँचजनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । शाहको हत्यामा संलग्न भनिएका नेपाल प्रहरीका पूर्वडिएसपी जगदीश चन्दसहित पाँचजनाविरुद्ध बिहीबार मुद्दा दायर गरिएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले पेस्कोट-६ बैतडीका पूर्वडिएसपी चन्द, कञ्चनपुर घर भई ललितपुर बस्ने नेपाल प्रहरीका निलम्बित सइ प्रकाश क्षेत्री, काउले-१ नुवाकोटका श्रीकृष्ण पौडेल, नीकलण्ठ-५ धादिङका लक्ष्मण धमला र तुप्चे-८ नुवाकोटका किशोर खड्काविरुद्ध मुद्दा दर्ता गरेको हो । दर्ता मुद्दामा भारत घर भएका बब्लु भन्ने दीपक शाहीलाई हत्याको मुख्य योजनाकारका रूपमा प्रस्तुत गरिएको छ । उनको वास्तविक नाम त्रिलोकसिंह श्रीवास्तव रहेको पनि उल्लेख गरिएको छ । यसैगरी पूर्वडिएसपी चन्द र अर्का आरोपी श्रीकृष्ण पौडेललाई हत्याका लागि काठमाडौंका विभिन्न ठाउँमा बसेर योजना बनाएको तथा हतियार प्रदान गर्ने, हत्यारालाई सुरक्षित राख्ने र हत्या भइसकेपछि हत्यामा प्रयोग भएको सामान फाल्ने काम गरेको अभियोगपत्रमा उल्लेख छ । शाही, चन्द र पौडेलको निर्देशनमा क्षेत्री, धमला र खड्काले हत्याका लागि विभिन्न तवरले सहयोग गरेको आरोप छ । तर, शाहीको योजनामा अन्य व्यक्तिले हत्यामा सहयोग गरेको आरोप लगाइए पनि सञ्चार-उद्यमी शाहमाथि कसले गोली चलायो भन्ने अभियोगपत्रमा उल्लेख गरिएको छैन । प्रहरीले हत्यामा संलग्न रहेको दाबी गरेका र हत्यामा प्रयोग भएको मोटरसाइकल बेच्ने दिलीप थापा, रोशनकुमार पाण्डे र राजु लामालगायतमाथि भने प्रमाण नपुगेकाले मुद्दा दर्ता गर्नुपर्ने नदेखिएको अभियोगपत्रमा उल्लेख गरिएको छ । प्रहरीले मुद्दा दर्ताका लागि पक्राउ परेका निलम्बित सई प्रकाश क्षेत्री, लक्ष्मण धमला र किशोर खड्कालाई अदालतमा उपस्थित गराएको थियो । हत्याका मुख्य योजनाकार दीपक शाही भने भारतीय नागरिक भएको र पक्राउ परिनसकेको तथा अनुसन्धान जारी रहेकाले उनीविरुद्ध पछि मुद्दा दर्ता गरिने अभियोगपत्रमा उल्लेख छ । प्रकाश क्षेत्रीको बयान बब्बु भन्ने त्रिलोक सिंह मेरो फुपाजुको बहिनीको छोरा हुन् । निज माघको पहिलो हप्तातिर काठमाडौं आएका हुन्, निजले आफ्नो मोबाइल नं. ९७२१५३५०७३ बाट फोन गर्ने गरेका थिए । निज बब्बु सिंहले आइकन सेल्स कार्गो ठमेलका श्रीकृष्ण पौडेललाई समेत चिनजान गराएका हुन्, निज बब्बु सिंहले युनुस अन्सारीको मुद्दाको बारेमा पनि सोधखोज गर्ने गरेका थिए । मिति २०६६/१०/२३ गते बेलुका केशरमहलस्थित रहेको द प्यालेस रेस्टुरेन्टमा जाँदा बब्बुले आफ्नो मोबाइल रिसिभ गरी कुरा गर्न थाल्यो । बब्लु श्रीवास्तवसँग कुरा गरेजस्तो लागेको थियो । बब्बुले अरे भाइ यहाँ डिएसपी साहबभी है, कमरासमरा बसका व्यवस्था हो गया, फिकर मत कर्ना, कामसाम हो जायगा भनेको र उताबाट ओ दोनो लड्केको पैसा ऐसा देदिया भनी सोध्दा बब्बुले हँ दे चुका हुँ भनेको र डिएसपी चन्दले फोन आफ्नो हातमा लिई सब सहयोग हाम करेंगे भाइ फिकर मतकर्ना भनेर फोन राखिदिएको बब्बुसँग भेटघाट भएका अवस्थामा बब्बुले एकचोटि जमिम शाह नीलो रंगको पजेरो गाडीमा हिँड्ने गरेको र पानीपोखरीमा बस्छ भनेर भनेको थियो । मिति २०६६/१०/२४ गते श्रीकृष्णको कार्गोमा जाँदा राजु लामा र भकभक गरी बोल्ने केटा बसिरहेका रहेछन्, केहीबेरपछि श्रीकृष्ण पनि आइपुग्यो, दाइहरूले सामान लिई जानुभएको छ आज काम होला जस्तो छ भनेर भन्यो । केहीबेरपछि अफिसबाट फोन आएकोले रिसिभ गर्दा घटनाबारे थाहा पाएको हुँ । त्यसको १० मिनेटभित्रै बब्बुले श्रीकृष्णलाई फोन गरी लैनचौरस्थित दुग्ध विकास संस्थानअगाडि मोटरसाइकल पठाइदिनु भनेको हुँदा श्रीकृष्ण मोटरसाइकल लिएर त्यहाँ गएको, बब्बुलाई फोन गर्दा गल्खुपाखामा छु भनी बताएको बेलुका ६ः०० बजेतिर कलंकी पुगिसकँे भनी बताएको र बेलुका ७ः१५ बजे बब्बुले मेरो दुईजना मान्छेहरू राखिदिनुपर्यो भनी फोनमा भनेको सो कुरा मैले दीपक भन्ने तेजप्रताप सिंहलाई भन्दा निजले ठाउँ छैन राख्न सक्तिनँ भनेकाले सोहीबमोजिम बब्बुलाई जानकारी गराएको बब्बुले राखिदिनुपर्यो भनेका व्यक्तिहरू जमिम शाहको हत्यामा संलग्न व्यक्ति नै हुनुपर्छ । ऐ. २५ गते श्रीकृष्णले मलाई बोलाएको हुँदा निजसँग भेट गर्दा दाइहरूलाई पालैपालो मोटरसाइकलमा राजु लामा र भकभके केटाको सहयोगमा कलंकी कटाइदिएको हत्यामा प्रयोग गरिएको मोटरसाइकल सो दिन आफ्नो घरमा राखी भोलिपल्ट का.जि. फुटुङतिर लगी फाली आएको भनी श्रीकृष्णले बताएको थियो । लक्ष्मण धमलाको बयान मिति २०६६/१०/२४ गतेका दिन श्रीकृष्ण पौडेलको ठमेलस्थित रहेको आइकन सेल्स नेपाल नामक कार्गोमा आएँ, सो अफिसमा पुग्दा दिनको अ. १२ बजेको थियो होला । त्यहाँ श्रीकृष्ण पौडेल बसेका रहेछन् । डेढ घन्टा जति बसेपछि श्रीकृष्णले मलाई तिमी बस्दै गर, मेरो काम छ भनी त्यहाँबाट हिँडेका हुन् । निज हिँडेको डेढ घन्टापछि प्रकाश क्षेत्री दाइ आउनुभयो । उहाँको साथमा प्रहरीले बोक्ने वाकीटकी सेट पनि थियो । निजले श्रीकृष्ण खोइ भनी सोध्दा मैले बाहिर जानुभएको छ भनेँ । निजले श्रीकृष्णलाई फोन गरी बोलाउनुभयो । श्रीकृष्ण अफिसमा आएपछि मलाई तिमी घर जाऊ भनेर भन्दा म जान्नँ भनेपछि त्यसो भए गल्खुपाखा एभरेस्ट कलेजअगाडिको चिया पसलमा बस्दै गर्नु म पछि भेट्छु भन्दा उक्त चिया पसलमा जाँदा दिउँसो अ. १४ः४० बजेको समयमा किशोर खड्का पनि सोही पसलमा आइपुग्यो । श्रीकृष्ण दाइ खोइ भनेर सोध्दा मलाई थाहा छैन भनेर बताएपछि किशोर आफ्नो मोटरसाइकल लिएर त्यहाँबाट गयो । १०/१५ मिनेटपछि आफ्नो मोबाइलबाट श्रीकृष्णलाई फोन गरी तपाईं कहाँ हो भनी सोध्दा म आउँदै छु भनेको र त्यसको १०/१५ मिनेटपछि श्रीकृष्ण पौडेल आफ्नो मोटरसाइकलमा त्यहीँ आउनुभयो । त्यसको १० मिनेटपछि बब्बु ट्याक्सीमा र किशोर मोटरसाइकलमा त्यहीँ आएपछि बब्बु भन्ने त्रिलोक सिंह र श्रीकृष्ण दाइ ५ मिनेटजति कानेखुसी कुरा गरी त्यहाँबाट गोंगबुतिर फर्की गएको र म ठमेल अफिसमा आएँ । दिउँसो अ. ३/४ बजेतिर प्रकाश क्षेत्री दाइ आइपुग्नुभयो । त्यतिखेर प्रकाश दाइको अनुहार कालोनीलो थियो । निज आएको २० मिनेटपछि श्रीकृष्ण दाइ पनि आइपुग्नुभयो । निजले मलाई किन बसिराखेको भनी कराएपछि म पाल्पाली पसलतर्फ गएँ । साँझ अ. ५ः३० बजेतिर किशोर खड्काले मोटरसाइकलमा एउटा व्यक्तिलाई हालेर ल्याएको र त्यसको लगत्तै श्रीकृष्ण दाइले मलाई फोन गरी किशोरले एउटा मान्छे लिएर गएको छ त्यो मान्छेलाई त्यहीँ कलंकीसम्म पुर्याइदेऊ भनेपछि त्यस व्यक्तिलाई स्वयम्भू यातायातको बसमा कलंकीसम्म जाँदा निजको ८/१० जति फोन आयो । ६ बजेतिर कलंकी पुग्यौँ । बेलुका ७ बजेतिर मात्र बब्बुसँग कलंकीमा भेट हुँदा मैले पुर्याउन लगेको व्यक्ति र बब्बु दाइ एक-आपसमा कुरा गर्न थालेपछि करिब एक-डेढ घन्टापछि श्रीकृष्णले फोन गरेको र किन सिरियस भएर बोल्नुभएको भन्दा निजले दिउँसो जमिम शाहलाई दाइहरू बब्बु र मैले पुर्याइदिनु भनेको व्यक्तिले मार्यो, तिमी राम्रो बस है जोगिएर हिँड भनेर मलाई भनेपछि मात्र मैले घटनाबारे थाहा पाएको हुँ । सो दिन राति ९ः३० बजेतिर बब्बु र म कलंकीबाट ट्याक्सीमा चढी श्रीकृष्ण पौडेलको कोठामा आइपुग्यौँ । मैले थाहा भएसम्म जमिम शाहलाई गोली हानी हत्या गर्ने व्यक्तिहरू बब्बु दीपक शाही भन्ने त्रिलोक सिंह र मैले कलंकीसम्म पुर्याउन गएको व्यक्ति नै हुनसक्छ जस्तो लाग्छ । उनीहरूबाहेक सो घटनामा श्रीकृष्ण पौडेल, प्रकाश क्षेत्री, किशोर खड्कालगायतका व्यक्तिहरू पनि संलग्न छन् । प्रकाश क्षेत्रीले उक्त घटना भएको दिन ३/४ बजेतिर तिमीहरू जोगिएर हिँड्नु गल्खुपाखातिर प्रहरीको चेकिङ भइरहेको छ, मानिसलाई भगाउन गाह्रो हुन्छ भनेर भनेका थिए । भकभके भन्ने किशोर खड्काको बयान मिति २०६६।१०।२४ गतेकका दिन जमिम शाहलाई गोली हानी हत्या गर्ने व्यक्ति मलाई यकिन नभए पनि बब्बु भन्ने दीपक शाहीको समूहले सो घटना घटाएको कुरा मैले थाहा पाएको छु । उक्त घटना घटेको दिन अ. १५ः०० बजेको समयमा गल्खुपाखास्थित एभरेस्ट कलेजअगाडिको चिया पसलमा म तथा लक्ष्मण धमला बसिरहेको वेला श्रीकृष्ण पौडेल, बब्बु, राजु लामा र एकजना इन्डियन व्यक्ति आएको र श्रीकृष्णले इन्डियनलाई आफ्नो कोठामा राख भनेको हुँदा मैले निजलाई आफ्नो कोठामा लिई गएको र सोही समयमा लाजिम्पाटमा इन्डियनले गोली हानेर मान्छे मार्यो भन्ने हल्लाखल्ला भएको सुनी मलाई डर लागेपछि मैले श्रीकृष्णलाई फोन गरी म मान्छे राख्न सक्तिनँ भनी बताएपछि त्यसो भए त्यो मान्छेलाई मोटरसाइकलमा राखी कलंकीसम्म पुर्याइदे भनेको र त्यसै समयमा लक्ष्मण धमला मेरो कोठामा आई खै छिटो हिँड भन्दा मैले लक्ष्मण अगाडि, इन्डियन बीचमा र म मोटरसाइकलमा गल्खुपाखा चिया पसलअगाडि गएपछि सोही घटनाको कारण बाटोमा चारैतिर जाम भएकोले मैले त्यो मान्छेलाई विष्णुमतीको बाटो हुँदै गोंगबुसम्म पुर्याइदिएको र पछि सो व्यक्तिलाई लक्ष्मण धमलाले स्वयम्भू यातायातमा चढाई कलंकी लिई गएको र म फर्की आउँदा श्रीकृष्णले मलाई खैरो रंगको ज्याकेटमा बेरिएको रिभल्वरसहितको पोका दिँदै आज घटनामा प्रयोग भएको हतियार सुरक्षित राख भन्दा मैले घटनाबारे थाहा पाएको र मैले पुर्याएको मान्छे नै जमिम शाहलाई गोली हान्ने मान्छे रहेछ भन्नेजस्तो लाग्यो र भोलिपल्ट श्रीकृष्णले दिएको हतियार मैले आफ्नो स्कुल जाने झोलामा राखी लुकाई लगी बालाजु बसपार्कमुनि विष्णुमती खोलामा फाली फर्की आएको र अफिसमा आउँदा भाइहरू बचेर हिँड, म त फसिसकेँ, अरू हतियार जगदीश चन्दले सुरक्षित राखेछ, प्रकाश क्षेत्रीलाई तिमी किन चिन्ता गर्छौ यसमा डिएसपी त लागे छ भनेको सुनेको र हामीलाई के हुन्छ दाइ भनी प्रकाश क्षेत्रीलाई सोध्दा हामीलाई केही हुँदैन, हामीले गोली हानेको हो र भनी प्रकाशले बताएको तथा घटना हुनुभन्दा ८/१० मिनेटअगाडि नै बब्बुले इन्डियाबाट इन्डियनविरोधी मान्छेलाई मार्नका लागि ३/४ वटा सुपारी लिएर आएको बताएका थिए ।



del.icio.us
Digg
Post your comment