Newsletter
Email:
Home | सप्तरंग | समर फेसन

समर फेसन

Font size: Decrease font Enlarge font
image

लेयर अप

समर अर्थात् गर्मी याम । सूर्यको प्रचण्ड राप र तापबाट बच्न महिलाहरू कमभन्दा कम लुगा लगाउने गर्छन् । अब पहिरन कति र कस्तो लगाउने भन्ने कुरा मौसमले निर्धारण गर्ने कुरा रहेन । यो त अचेल फेसनले निर्धारण गर्छ 

अहिले संसारभरिकै सहरिया महिलामाझ गर्मीमा लेयर अप या लेयरिङ गर्ने फेसन चलेको छ । लेयर अप भनेको लुगामाथि लुगा लगाउनु हो । तर, यसको मतलब जाडो याममा जसरी लुगामाथि लुगा लगाउनु लेयरिङ या लेयर अप होइन । एउटा लुगामाथि अर्काे एउटा या दुइटा लुगा लगाउनु, तर प्रत्येक लुगा देखिनेगरी लगाउनु लेयरिङ हो 

भारतीय फेसन डिजाइनर नाचिकेत बार्भेका अनुसार यस वर्षको गर्मीको फेसन ट्रेन्ड भनेको लेयरिङ हो । 'यस वर्ष महिलाका कपडा पातला हुनेछन् । टुले, अर्गन्जा, सिफोन, सफ्ट नेटजस्ता हावा छिर्ने, हलुका र पारदर्शी कपडा यसपालिको गर्मीमा खुब चल्नेछन्,' बार्भेको भनाइ छ 

लेयरिङ किन ?

लेयरिङले तपाईंको लवाइमा महत्त्वपूर्ण आयाम थप्न सक्छ । विशेषगरी, फरक-फरक रंगका लुगा प्रयोग गरेर लेयरिङ गरियो भने व्यक्ति आकर्षक देखिन्छ । लेयरिङ सक्रिय सामाजिक जीवन बिताइरहेका महिलाका लागि अझ उपयोगी हुन सक्छ । एउटा पहिरन फुकालेर अर्काे पहिरन तुरुन्त थप्न सकिन्छ । र, यसरी पार्टी या जमघटका लागि तुरुन्त तयार हुन सकिन्छ । लेयरिङले महिलालाई स्मार्ट र आकर्षक देखाउने काम गर्छ 

लेयरिङमा के-के प्रयोग गर्न सकिन्छ ?

हलुका फेबि्रकले बनेका समर ज्याकेट, लुज र धर्के लुगा लेयरिङमा प्रयोेग हुन सक्छन् । 'फरक-फरक रंगका पहिरन प्रयोग गर्नु नै लेयरिङ गर्ने उत्तम तरिका हो,' फेसन डिजाइनर बार्भे भन्छन् 

भर्जिनल ह्वाइट

केही वर्षअघिसम्म सेतो रंगलाई गर्मीको प्रतिकात्मक रंगका रूपमा लिइन्थ्यो । तर, फेसनले हामी बाँचिरहेको समयलाई प्रतिनिधित्व गर्ने हो । गृष्म ऋतुमा सेतो रंगकै पहिरन उपयुक्त हुन्छ भन्ने विश्वास लगभग समाप्त भइसकेको थियो । केही वर्षयता कालो र एसिड रंग खुब चल्न थालेका थिए । तर, अचेल सेतोले पुनः प्रवेश पाएको छ । फेसन स्टाइलिस्ट निशा कुन्दनी भन्छिन्, 'अहिले सेतो रंगको महिला पहिरनमा पुनरागमन भएको छ । यो खराब समय -आर्थिक मन्दी)को समाप्तिको संकेतका रूपमा आएको छ । त्यसैले, काल्भिन क्लिन, फेन्डी, इभेस सेन्ट लरेन्ट, गुचीजस्ता विश्वप्रसिद्ध ब्रान्डले आफ्ना स्पि्रङ/समर कलेक्सनमा सेतो रंगको अत्यधिक प्रयोग गरेका छन् ।'

विश्वप्रसिद्ध सेलिबि्रटीहरू लेडी गागा, बियोन्से, रिहाना, इभा लोंगरिया, पिंक, मेगा फक्स आदि ०१० को ग्रामी अवार्डसमा सेतो पहिरनमा देखापरेका थिए 

सेतो रंग सफा र ताजा देखिन्छ । कालो, गोरो जस्तोसुकै छाला भएकालाई पनि सेतो खुल्छ । यसले छालालाई चम्किलो बनाउने सामथ्र्य राख्छ । निशा भन्छिन्, 'सेतो रंग खुल्छ भन्दैमा शिरदेखि पाउसम्म सेतै पहिरन लगाउनुपर्दैन, सहज हुनेगरी पहिरन तय गरे हुन्छ ।' अर्का फेसनडिजाइनर अभिषेक दत्ता सेतोसँग सुन्तला, रातो र हरियो रंगको संयोजन गर्नु राम्रो हुने बताउँछन् 

छोटा-छोटा लुगा

अचेल सहरिया युवतीहरू फिटनेसमा एकदमै ध्यान दिन थालेका छन् । जिम नजाने युवती भेट्टाउन कठिन छ । स्कर्ट र अरू छोटा लुगाले महिलालाई सेक्सी देखाउँछ 

स्कर्टभित्र केही नलगाउने बानी भएका युवतीका लागि छोटो स्कर्ट उपयुक्त हुन्छ । तर, स्कर्टभित्र स्टकिङ लगाउने बानी भएकाहरूले चाहिँ रंग, फिटिङलगायतका दृष्टिबाट स्कर्ट र स्टकिङको संयोजन गर्नु जरुरी हुन्छ 

साँघुरा लुगा

साँघुरा खालका, तर फिट हुने पहिरन नै यस वर्षको गर्मीका लागि पुरुष पहिरन हुनेछन् । जिउमा टाँसिनेगरी टाइट हुने टिसर्ट, सर्ट र समरज्याकेट तथा जिन्सपाइन्ट यस गर्मीमा ट्रेन्डी पहिरन हुनेछन् । फेसन डिजाइनर आशिष सोनी भन्छन्, 'छोटो समरज्याकेट र साँघुरो पाइन्टले पुरुषलाई सेक्सी देखाउँछ ।' मिलान फेसन विक, स्पि्रङ/समर २०१०मा अधिकांश डिजाइनरले यस्तै पुरुष पहिरन प्रस्तुत गरेका थिए । रोबर्टा काभालीजस्ता अन्तर्राष्ट्रिय डिजाइनर र बोटेगा भेनेटाजस्ता डिजाइन हाउसहरू भी सेप्ड ट्राउजर, क्रिस्प सर्ट र छोटा ज्याकेट प्रस्तुत गरिरहेका छन् । र, संसारभरि नै यो पहिरनलाई अत्यधिक रुचाइएको छ 

यस लुकको विशेषता के हो भने यसले कम उचाइ भएका र मोटा व्यक्तिलाई पनि आकर्षक देखाउँछ । फेसनडिजाइनर नितिन बाल चौहान भन्छन्, 'कम उचाइ भएका र मोटा मानिसले आकर्षक देखिनका लागि साँघुरा पाइन्ट लगाउनुपर्छ ।'

साँघुरा पहिरन लगाउनेले ध्यान दिनुपर्ने मुख्य कुरा फिटिङ हो । जिन्स या ट्राउजर राम्रोसँग फिट भएन वा पाइन्टको मोता लामो भएर गोलीगाँठोतिर झुल्यो भने लगाउने मान्छे बदमास या जोकरजस्तो देखिन सक्छ । सामान्य उचाइ भएकाहरूका लागि पनि यही कुरा लागू हुन्छ 

ओरेन्ज फेमिली

गत वर्ष विश्व फेसन जगतमा पर्पल (प्याजी रंग) लोकपि्रय भएपछि फेसन गुरुहरूले यस वर्षको गर्मीमा पुरुषहरूमाझ ओरेन्ज फेमिली (सुन्तला रंगको परिवार) लोकपि्रय हुने घोषणा गरिसकेका छन् । पुरुषहरू कालो, खैरो र नीलो रंगदेखि बोर भइसकेका छन् भन्ने निक्र्याेल निकालेका छन् उनीहरूले । सुन्तला रंगको परिवारभित्र रातो, बैजनी, गुलाबी आदि पर्छन् । यस्ता रंगका टिसर्ट, ट्राउजर, ज्याकेटदेखि चप्पलसम्म लोकपि्रय भइरहेका छन् 

फंकी टिसर्ट

फंकी टिसर्ट भन्नासाथ र्‍यापरहरूले लगाउने ह्वाल्र्यांगे टिसर्ट बुझिन्छ । तर, फंकी टिसर्ट नयाँ रूपरंग र प्रविधिमा आइसकेको छ । यसमा इम्ब्रोइडरी पनि समावेश भइसकेको छ । यसमा इन्द्रधनुषी रंगलाई एक-अर्कामा मिसाएर ग्राफिक पि्रन्ट सिर्जना गरिएको छ 

फंकी टिसर्ट जुनसुकै उमेरका पुरुषका फेसन स्टेटमेन्ट बन्न सक्छ । र, यसले मानिसलाई 'कुल' पनि देखाउँछ 

फंकी टिसर्टमा अचेल डिज्ने कार्टुनका मिकी माउसजस्ता लोकपि्रय चरित्र पनि छापिन थालेका छन् । त्यस्तै, सुपरम्यान, ब्याटम्यानजस्ता सुपरहिरोहरू पनि यस्ता टिसर्टमा देखिन थालेका छन् 

जिन्स पाइन्टसँग फंकी टिसर्ट खुब सुहाउँछ । यो संयोजन टिनएजरदेखि प्रौढसम्मलाई आकर्षक देखाउन सफल हुन्छ 

Subscribe to comments feed Comments (1 posted):

sabina on 11/03/2010 11:07:28
avatar
नेपाली डिजाइनरहरु कोही पनि थिएन कि के हो जुन भारतिय डिजाइनर को सहयोग लिनु पर्‍यो । नेपाली डिजाइनरलाई शोधेको भये एक्दम राम्रो हुने थियो ।
Thumbs Up Thumbs Down
-1
total: 1 | displaying: 1 - 1

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?