सेलिब्रिटीका भाँडा माज्दै बिते २८ वर्ष
'दिल्लीका त सबै ठाउँ राम्रा', दाङका भोला पाण्डेले भने, 'तर, यहाँका मान्छेले नेपालीलाई गर्ने व्यवहार जति नराम्रा । के गर्नु हाम्रो त भाग्य नै खोटो । उतै बसेको भए के हुन्थ्यो कुन्नि ?'
'सबै कुरा मिलेको भए यो परदेशको आँगन किन टेक्थेँ र हजुर ?' भोला पाण्डेले लामो सुस्केरा हाले, 'यस्तै रहेछ, जन्म नेपालमा भए पनि काम यतै (दिल्ली) गरियो, यहीँ बूढो भइयो ।' हो त सबै कुरा मिलेको भए, जीवन आफूले सोचेकै जस्तो भइदिए को आउँथ्यो परदेशी आँगन ? बाबुबाजेले त खेती गरे । दूध बेचे र छोरा-नाति हुर्काए । तर, दूध भर्नु, भैंसी पाल्नु र खेतबारीको काम गर्नु उनको कर्ममा रहेनछ । क्यान्टिनमा भाँडा माझ्दै, खाना पकाउँदै र तरकारी केलाउँदै दिल्लीको राष्ट्रिय नाट्य विद्यालयमा दिनरात नोकरी गर्न जन्मिएको रहेछु भन्ने निष्कर्ष उनले निकै वर्षअघि निकालेका हुन् । बिहान चारै बजे उनको नोकरी सुरु हुन्छ, २८ वर्ष भयो उनले क्यान्टिनमा ड्युटी गर्न थालेको । उनी राति सपना त देख्छन् । तर, उनले देख्ने सपनाका हरेक एपिसोड लाखौं नेपालीका सपनाझै अधुरा छन् । 'केही कमाएर घर (दाङ) लैजान पाए हुन्थ्यो,' हालैको एक बिहान ड्युटीमा रहेका भोलाले भने, 'बस ।' दाङमा जन्मेर १६ वर्षमा 'केही गर्न' भारत पसेका ५२ वर्षे भोलाको असली नाम शोभाराम प्ााण्डे हो । एकजना दिल्लीकै 'दिलदार' मान्छेले माया गरेर शोभारामलाई 'भोला' भनिदिएका रे । त्यसै दिनदेखि शोभाराम भोलाराम बने, आप\mनो गाउँले परिचय गुमाएर । भोला पाण्डेको त्यो गाउँले परिचय नेपाली सीमाभित्रै सीमित छ । नयाँदिल्लीको राष्ट्रिय नाट्य विद्यालयस्थित विद्यार्थीले खाना खाने क्यान्टिनमा उनलाई त्यो -शोभाराम) नामले कसैले चिन्दैन । 'भोलाजी,' कुनै विद्यार्थी चिच्याउँछ, 'इधर आना ।' एकैछिनमा अर्को विद्यार्थी अल्छे पारामा कराउँछ, 'भोला इधर खाना डालो ।' 'हाँ डाल रहा हुँ' भन्दै भोला जूठा हात लिएर खाना पर्खिरहेका विद्यार्थीतिर लम्कन्छन् । यो भोला पाण्डेको कथा हो, जो थुप्रै गरिब नेपाली र आप्रवासी कामदारहरूको जस्तै संघर्षैसंघर्षले भरिएको छ । फरक यत्ति हो, धेरै त्यस्ता अभागी निराशाले आजित भएर संघर्षको यात्रालाई बीचैमा छाड्छन् र गरिबीको कालीदहमा डुब्छन् । भोलाले भने कहिल्यै त्यसो गर्न सकेेनन् । अर्काको भूमिमा पसेर पनि जिउ धान्ने खाँटी कर्म गरिरहे । 'यहाँ हारेर फेरि कसरी नेपाल जानु ?' उनी भन्छन् । भारतमा बसेर आत्मसम्मान जोगाइराख्न पाइने त होइन । 'तर, नाम चलेको विद्यालयको क्यान्टिन भएकोले श्रमको मोलचाहिँ पाइन्छ,' उनले भने । भोला यस्ता अपवाद हुन्, जो आफ्नो श्रमको मूल्य पाउँछन् । आत्मसम्मान जोगाउन नसकिने र श्रमको मूल्य पनि नपाइने यस्ता काममा भारतमा लाखौं नेपाली छन् । भोला पनि यतिका वर्ष सौखले भारतको राजधानीको क्यान्टिनमा टिकेका होइनन् । चोकैपिच्छे नेपाली भेटिने दिल्लीमा पस्दा यस्तो लाग्छ- आफ्नो देशमा बेरोजगारीले थलिएका नेपालीका लागि भारत एउटा भास हो, जहाँ तल्लो स्तर र बढी श्रम पर्ने कामबाट मिल्ने थोरै पैसाले उनीहरूलाई वर्षौंसम्म माकुरी जालोेमा पारिरहन्छ अनि फुत्कन सकिँदैन । त्यसैले लाखौँ नेपाली गाउँ नै रित्तो पारेर भारतका सहरमा श्रम गर्न आएका छन् । निर्माण ज्यामी, भरिया, होटल-क्यान्टिनमा खाना पकाउने, भाँडा माझ्ने, दरवानजस्ता काम ज्यानमा बल भएकाहरूको सबैभन्दा सजिलो पेसा बनेको छ । एउटा अध्ययनले भन्छ- दिल्लीमा मात्र क्यान्टिन वा होटल रेस्टुराँमा खाना पकाउने, भाँडा माझ्ने ३० हजार नेपाली छन्, जसमध्ये अधिकांश सुदूरपश्चिमका छन् । 'हामी भाँडा माझ्ने र खाना पकाउनेको लेखेर के हुन्छ ?' त्यही क्यान्टिनमा आलु काट्दै गरेका एकजना नेपालीले भने, 'हाम्रो बेइज्जत मात्र हुन्छ । काम पाए को यता आउँथ्यो र ? उतै बसिन्थ्यो नि ।' भारत आएर भोलाले पहिलोपटक 'कोठी' भनिने कपडा पसलमा काम गरे, मासिक दुई सय रुपैयाँमा । उनी १६ वर्षका थिए । पछि वर्षौं काम गर्दा पनि पैसा नबढाएको निहुँमा छाडे । 'पहिले त जे पनि गरिन्छ भन्ने थियो । कामलाई यस्तो र उस्तो भनिएन, जे पनि गरियो,' उनले सम्भिmए । त्यसबेलासम्म भोलाको कोही पनि नेपाली साथी थिएनन् । त्यही कोठीमा एकदिन भोलालाई कसैले नेपाली स्वरमा बोलायो । बाहुन प्रकृतिको 'अनुहार' भएका भोलालाई नेपाली भनेर झ्वास्सै चिनिन्छ । 'मलाई अझै पनि नेपाली भनेपछि यस्तो लाग्छ कि आफ्नै आमाले जन्माएको दाजुभाइजस्तै प्यारो,' उनले भने, 'अब साथी भेटिएजस्तो लाग्यो ।' उनीहरू दुईजनाले सँग-सँगै होटल, क्यान्टिनमा काम गरे । धेरै वर्षको मित्रतापछि साथी आफ्नै घर बुटवल फर्कियो र भोला भारतकै दिल्लीमा संघर्ष गर्दैै रहे । अहिले राष्ट्रिय नाट्य विद्यालयको यस क्यान्टिनमा सात जना नेपाली काम गर्छन्, सबै दाङका । भोलाले नै त्यहाँका बेरोजगार युवालाई बटुलेर दिल्ली ल्याएका रे । उनीहरू सबै ठिटा छन् । र, जोशले भरिएका छन् । ती ठिटाहरूको जस्तै दिल्ली, सुरुमा भोलाको पनि सपनाको सहर । कत्ति रहर थियो त्यहाँ जाने ! 'लालकिल्ला देख्ने ठूलो रहर थियो,' उनले भने, 'नेपालमा खुब सुनेको थिएँ चर्चा ।' पछि उनले दिल्लीका धेरै ठाउँ घुमे । 'यहाँका त सबै ठाउँ राम्रा,' उनले भने, 'तर, यहाँका मान्छेले नेपालीलाई गर्ने व्यवहारजति नराम्रा । के गर्नु हाम्रो त भाग्य नै खोटो ! उतै बसेको भए के हुन्थ्यो कुन्नि ?' भोलाजस्तै देशमा दुःख पाएर परदेशी आँगन ढुक्न धेरै पुग्छन् । एक लाखभन्दा बढी नेपाली दिल्लीमा छन्, जसको भाग्यमा केवल लेखिएको छ- दुःख । दाङबाट भर्खरै दुःख बिसाउन दिल्ली पुगेका दिनेश भण्डारी, रविलाल भण्डारीहरू त प्रतिनिधिपात्र मात्र हुन्, जो भोलाजस्तै राष्ट्रिय नाट्य विद्यालयको क्यान्टिनमा काम गर्छन् । 'भाग्य खोज्न आएको नि हजुर', दिनेशले सुनाए, 'उता बसेर केही गर्न सकिएन ।' दिनेशले दिल्ली आएर आफ्नो 'जिन्दगी' भेट्टाए रे । 'गाउँमा खेती मात्र गरिन्थ्यो । पैसा कमाउन, देश-दुनियाँ हेर्न नपाइने । यही आशाले पनि दिल्ली आएको,' उनले सुनाए । यसरी घरमा आर्थिक अवस्था बिगि्रएर काम गर्न दिल्ली हिँडेका ठिटाहरू अन्तसम्म यतै रम्छन् र जिन्दगी सुधार्न फर्केर फेरि नेपाल जाँदैनन् । मैलिएको ढाकाटोपी लगाएका, काँधमा नाम्लो भिरेका अनि यहाँका होटल, रेस्टुराँहरूमा काम गर्ने जुनै पनि मलिन अनुहारलाई सहजै चिन्न सकिन्छ, ती नेपाली हुन् । पाइलैपिच्छे भेटिने नेपालीका हातैमा अडिएको छ दिल्ली सहर । 'कति बज्यो दाइ ?' भोलालाई धेरै नेपालीले यस्तै प्रश्न गर्छन् । दिल्लीलाई एक चक्कर लगाउँदा कति भेटिएलान् नेपाली ? 'नेपाली त पाइलैपिच्छे भेटिन्छन्,' भोलाले सुनाए, 'तर, सबैको अनुहार थकित, गलित र मलिन हुन्छ ।' दिल्लीमा भोलाले भेटेका धेरै नेपाली उनलाई गम्लङ अँगालो हाल्न आइपुग्छन्, कत्ति त घरको दुःख सुनाउँदै रुन्छन् । 'आँखामा टम्म भरिएको आँसु देख्दा मेरो पनि आँखा आँसुले भरिन्छन् ।' नेपालीका दुःख सुनिनसक्नुका छन् रे दिल्लीमा । 'मेरै जिल्लाबाट पनि वर्षैपिच्छे सयभन्दा बढी युवा दिल्ली काम गर्न आउँछन्,' उनले सुनाए । हामी बसेको राष्ट्रिय नाट्य विद्यालय परिसर चिसो छ । साढे २ डिग्री तापक्रम भएको दिल्ली सहर साताअघिदेखि नै शीतांग थियो । बाहिर कुहिरो यति बाक्लो थियो कि, आफूअघिको मान्छे देख्न मुस्किल पथ्र्यो । रातो स्वेटर लगाएका भोलाको ओठ चिसोले कापिरहेको थियो । अब एकैछिन् पछि उनी भित्र पस्नेछन् र आलु काट्न थाल्नेछन् । मेरा अघि एक घन्टादेखि गफ गरिरहेका भोला केहीबेर फ्ल्यासब्याकमा गए, जुनबेला उनी भर्खरै दिल्ली आएका थिए । ३० वर्षअघि दिल्ली पसेका भोला जोकोही नेपालीलाई देखिहाले पनि बोलाइहाल्छन् । गफ झिकिहाल्छन् । 'म सुरुसुरुमा भारत आउँदा निकै दुःख पाएँ । त्यसबेला लाग्थ्यो- मेरो भाग्यनै खोटो रहेछ । कत्ति रात त भोकै पनि सुतेको छु । कत्तिपटक त मैले कमाएको जम्मै लुटी पनि दिन्थे,' उनले भने । पछिल्ला दिनमा भारतीय र नेपाली साथीहरूको संगत पाएयता भोलाको आत्मविश्वास ह्वात्तै बढेको छ । मसँग भन्दै थिए, 'अहिले त दिल्ली खाइयो । अब त कोहीसँग डराइन्न ।' नेपालका अनेक गाउँवस्तीबाट समयका झेलीखेलमा पटक-पटक परे नेपालीहरू । पटक-पटक लघारिए । उनी पनि लघारिएकै हुन् १६ वर्षकै उमेरमा, अर्काको भूमिमा । 'मैले त स्कुल पढेकै छैन,' उनी निस्पिmक्री बोल्दै थिए, 'घरमा बसे मुखमा माड लाग्दैनथ्यो । बरू यता क्यान्टिनमा खाना पकायो, तरकारी काट्यो, आनन्दै । जागिर त पाकेको छ । 'यहाँ धेरै नेपालीको आफ्नो देशमा काम नपाएर अर्काकोमा कुकुरको जिन्दगी बितिरहेको छ । हामी नेपालीको हालत साह्रै बिग्रेको छ भाइ,' उनले भने । नेपालीको वास्तविकता त्यही हो, जो भोलाले व्यक्त गरे । नेपालमा बर्सर्ेनि लगभग ५० हजार पुरुष गाउँमा खेती भ्याउनासाथ नोट कमाउने आसमा दिल्ली र आसपासका सहर आइपुग्छन् । तीमध्ये धेरैजना रेलमा साहुको ठेक्कामा काम गर्छन् । कोही भारी बोक्छन् । कोही होटलमा भाँडा माझ्छन् । बितेका थुप्रै वर्षहरूमा अन्य नेपालीले जस्तै दिल्लीमा आएका नेपालीले पनि नेपालमा कयौं सरकार र सत्ता देखेका छन् । ती बदलिए, तर उनीहरूको अवस्था बदलिएनन् । 'पञ्चायत र बहुदल सबै देखियो, तर केही भएन गरिबको जिन्दगीमा,' भोला भन्दै थिए । भोलाले राष्ट्रिय नाट्य विद्यालयको क्यान्टिनमा काम गर्न थालेयता धेरै कलाकार देखेका छन् । यस विद्यालयमा पढ्ने धेरै विद्यार्थी पछि भारतीय रंगमञ्च र पर्दाका नामी कलाकार भएको उनले देखेका छन् । २५ वर्षअघि यसै राष्ट्रिय नाट्य विद्यालयमा पढ्ने इरफान खान भोलालाई निकै माया गर्थे । नाट्य विद्यालय जान छोडेको केही वर्षपछि उनी टेलिभिजनको पर्दामा देखिन थाले । केही वर्षअघि खाना थाप्दै भोलाको अघि देखिने इरफान भोलाकै क्यान्टिनमा रहेको टेलिभिजनमा देखिन थाले । त्यसो त कहिलेकाहीँ आफू पढेको पुरानो विद्यालयतिर झुल्किने नसरुद्दिन शाह र ओम पुरीलाई पनि भोलाले खाना खुवाएका थिए । 'मैले पकाएको खाना भारतका धेरै नामी कलाकारको जिब्रोमा टाँसिएको छ,' भोला भन्छन् । सेलिब्रेटी कलाकार बनेका केही वर्षपछि नाट्य विद्यालय आएका इरफानले भोलालाई दख्नेबित्तिकै अँगालोमा कसे । सुुनील पोखरेल पनि नाट्य विद्यालय पढ्दा भोला उनलाई निकै माया गर्थे रे । 'भोलादाइ मलाई लुकाई-लुकाई मासु र घ्यू थपिदिनुहुन्थ्यो,' भोलासँग कुरा गर्दा मसँगै बसेका सुनील पोखरेलले साउतीको स्वरमा भने । 'कोही नेपाली विद्यार्थी छ भने उसको माया नै बढी लाग्दो रहेछ,' भोलाले भने । भोला नाट्य विद्यालयका स्थायी कर्मचारी हुन् । अबका केही वर्षमा उनी यहाँबाट अवकाश लिनेछन् र दाङ फिर्नेछन् । जीवनका उत्साहपूर्ण वर्षहरू थाल-बटुका र काँटा-चम्चा बजाएर बितेपछि बुढ्यौलीको संघारमा उनी घर फिर्नेछन् । अहिले त भविष्यको योजना, पत्नी र छोराछोरीको सम्झनालाई मनमा साँचेर उनी भारतीय चम्चाका रूपमा घरबाट टाढा कर्म गर्दै छन् । 'अब छिट्टै नेपाल जानेछु,' उनले भने, 'रिटायर्ड भएर नेपाल फर्केपछि फेरि कहिल्यै दिल्ली आउनेछैन ।'
सायद, उनी आफ्नो वर्तमान जीवनप्रति उदासीन छन् र हाम्रो वर्तमान गणतन्त्रले उनीजस्ता लाखौं नेपालीका सपना र पाखुरीलाई विदेश जानबाट रोक्न सकेको पनि छैन । रेमिटयान्समा बाँचेको अर्थतन्त्रमा नागरिकको दशा भोलाजस्तै हुन्छ । भोला पनि नयाँ संविधानका बूढा नागरिक हुनेछन् ।



del.icio.us
Digg
thank you deepak ji
Post your comment