Newsletter
Email:
Home | दृष्टिकोण | खै कहाँ छ सरकार ?

खै कहाँ छ सरकार ?

Font size: Decrease font Enlarge font
image

सञ्चारउद्यमी जमिम साहको हत्या भएको महिनादिन नबित्दै १७ फागुनमा जनकपुर सहरको केन्द्रमा अर्का सञ्चारउद्यमी जनकपुर टुडे सञ्चारगृहका अध्यक्ष अरुण सिंघानियाको दिनदहाडै गोली हानी निर्ममतापूर्वक हत्या गरियो । यसअघि सुरक्षाका दृष्टिले सबैभन्दा सुरक्षित ठानिएको राजधानीको मुटु लाजिम्पाटमा दिउँसै गोली हानी जमिमको हत्या भएको थियो । गत मंगलबार भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सका अध्यक्ष नागेन्द्र किसन पम्पाटीमाथि राजधानीकै लाजिम्पाट रानीवारीनजिक हत्या गर्ने नियतले गोली प्रहार गरियो । फागुन २३ गते बारामा प्रहरी र तराई जनतान्त्रिक मुक्तिमोर्चाका कार्यकर्ताबीच भिडन्त हुँदा एकजनाको मृत्यु भयो । संविधानसभा निर्वाचनयता मात्र २७ जना व्यवसायीको हत्या भइसकेको छ भने ६७ जनाको अपहरण भएको छ । ६ जना त पत्रकारकै हत्या भएको छ । अपहरित दर्जनौँ व्यवसायीबाट अपराधीले करोडौँ फिरौती असुलेका छन् । धाकधम्कीका भरमा आफ्नो ज्यान जोगाउन अन्देखामा करोडौँ रकम तिर्न व्यवसायी विवश छन् ।

यतिवेला पत्रकार र व्यवसायीलाई दैनिकजसो अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिइरहेका छन् । सरकारले एक महिनाभित्र सुरक्षाको अनुभूति नदिए आफ्ना उद्योग व्यवसायमा ताला लगाएर साँचो सरकारलाई बुझाउने चुनौती उद्योगी-व्यवसायीले दिएका छन् । हत्यारालाई कारबाही माग गर्दै पत्रकार र व्यवसायी आन्दोलित छन् । कतिसम्म भने सरकारले सुरक्षा दिन सक्दैन भने हामीलाई हतियार राख्न देऊ भनेर उद्योगपतिहरू सरकारलाई ललकार्न बाध्य छन् ।

देशका विभिन्न भागमा गोली हानी मान्छेको हत्या गर्ने क्रम दिनहुँजसो चलिरहेको छ । खासगरी पूर्वी तराईमा हत्या, हिंसा र

अपहरणका घटनामा बढोत्तरी भइरहेको छ । अपराधका घटनामा सुरक्षा निकायका जिम्मेवार व्यक्तिकै संरक्षण रहेको पटकपटक पुष्टि हुँदै आएको छ । भर्खरै एकजना व्यापारी सञ्जय सुरेखाको अपहरणमा एआइजी तहका उच्च प्रहरी अधिकृतको संरक्षण रहेको खुलासा भएको छ भने यसभन्दा गम्भीर कुरा के हुन सक्छ ? तर, न अपराधीलाई न संरक्षणकर्ता वा मतियारलाई नै कारबाही हुन्छ । सरकारले तामझामका साथ अघि सारेको विशेष सुरक्षा योजना पनि यतिवेला बेवारिसेजस्तै भएको छ ।

यतिवेला हत्या-हिंसालगायतका अपराधका घटना बढिरहेका त छँदै छन्, अपराधमा संलग्नलाई कारबाहीसमेत हँुदैन । अपराधी छाती खोलेर हिँडिरहेको हुन्छ, तर ऊ पक्राउ पर्दैन, कानुनी कारबाहीको दायरामा आउँदैन । यो दण्डहीनताको पराकाष्ठा हो । दण्डहीनताकै कारण यतिवेला अपराधीको मनोबल बढेको छ र अपराधका घटनामा वृद्धि भइरहेको छ । अर्कातिर जनता आफूलाई असुरक्षित ठानिरहेका छन् ।

शान्ति-सुरक्षाको अवस्था कति भयावह छ भन्ने पछिल्ला केही दिनमा घटेका घटना जिउँदा साक्षी हुन् । व्यवसायी, पत्रकार, बुद्धिजीवी नै असुरक्षित छन् भने यतिवेला राजनीतिक दलका कार्यकर्ता र सर्वसाधारणको अवस्था के होला ? संविधानसभा निर्वाचनको समयमा षड्यन्त्रमूलक ढंगले हत्या गरिएका सुर्खेत क्षेत्र नं १ का एमाले उम्मेदवार ऋषिप्रसाद शर्माका हत्यारालाई कारबाही नहुँदा उहाँकी श्रीमतीले संविधानसभामै त्यसका योजनाकारमाथि चप्पल हिर्काउनुपरेको थियो । अहिले पनि सुर्खेतका गाउँगाउँमा माओवादी कार्यकर्ताद्वारा एमाले कार्यकर्तामाथि प्रहार भइरहेको छ, घरमा आगो लगाइँदै छ । ताप्लेजुङमा शिक्षकहरू गाउँबाट विस्थापित भएर सदरमुकाम आएर बसेका छन् । सल्यानमा एमाले अधिवेशनमाथि आक्रमण गर्ने माओवादी कार्यकर्तालाई अहिले पनि पक्राउ गरी कारबाही भएको छैन । देशव्यापी यस्ता अनेकौँ उदाहरण छन् ।

जमिम साहको हत्याले राजधानीको शान्ति-सुरक्षाको अवस्थाबारे गम्भीर प्रश्न खडा गरिदिएकै थियो । त्यसपछि पनि निरन्तर जारी हिंसाका घटनाले राजधानीको शान्ति-सुरक्षाको स्थिति सरकारको नियन्त्रणबाहिर जान थालेको त होइन ? प्रश्न खडा भएको छ । राजधानीकै अवस्था यस्तो भएपछि सीमावर्ती र दूरदराजका गाउबस्ती, जहाँ राज्यको आँखा पर्दैन, त्यस्ता ठाउँहरूको अवस्था झन् कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । यतिवेला शान्ति-सुरक्षा र शासन सञ्चालनको शैली हेर्दा देशमा सरकार पनि छ र भन्ने प्रश्न पो उठ्न थालेको छ ।

सरकारका मन्त्रीहरूको चर्तिकला हेर्दा यो गाईजात्रे तरिकाले देश कसरी चलिरहेको होला भन्ने प्रश्नहरू सतहमा छताछुल्ल भएका छन् । एउटै क्याबिनेटमा बसेकी उपप्रधानमन्त्री क्याबिनेटको निर्णय उल्लंघन गर्दै आफैँ रहेको सरकारको नेतृत्व परिवर्तन गर्नुपर्छ भन्दै सडकमा कुर्लिरहेकी छिन् । अर्का उपप्रधानमन्त्री शान्ति र संविधान निर्माणमा सघाउन गठित उच्चस्तरीय राजनीतिक संयन्त्रविरुद्ध विषवमन गर्दै हिँडिरहेका छन् । रक्षामन्त्रीबाट त झन् बृहत् शान्ति-सम्झौताविरुद्ध नै खुलेआम भाषण गर्दै शान्ति-प्रक्रियामाथि प्रश्न उठाउने काम भइरहेको छ । बिचरा प्रधानमन्त्री यी सबै रमिता मूकदर्शक भएर हेरिरहनुभएको छ । सरकार टिकाउन जम्बो मन्त्रिपरिषद् बनाएर सबैतिरबाट खप्की खानु त परेकै छ, यसैमा आफ्नै मन्त्रिपरिषद्का सदस्यहरूको ताण्डवनृत्यलाई पनि सहज रूपमा पचाउनुपरेको छ । कुनै मन्त्री सिडिओ कुटेर बहादुरी देखाउँदै छन् त कुनै मन्त्री एलडिओमाथि प्रहार गरेर बाहुबलको प्रदर्शन गर्दै छन् । कुनै मन्त्री गाडीमोहले व्याकुल भएर सडकमै सुतिदिन्छन् त कतिपय मन्त्रीहरू खुलाआम भ्रष्टाचार गरेर रेकर्ड बनाउँदै छन् ।

यतिवेलाको ठूलो समस्या होअपराधीहरूलाई पक्राउ गर्न नसक्नु । अपराधमा प्रहरीकै संलग्नता भएपछि पक्राउ कसले गर्ने भन्ने प्रश्न निरुत्तरित छ । अपराधीलाई एकातिर प्रहरीको सहयोग र संरक्षण छ भने अर्कातिर राजनीतिक संरक्षण छ । तराईमा घटेका हत्या-हिंसाका घटनाबारे सशस्त्र समूहहरू त जिम्मेवारी लिन तँछाडमछाड गर्छन् नै मधेसवादी पार्टीहरूसमेत प्रतिक्रियावीहिन छन्, बोल्दैनन् । तराईमा यतिवेला सशस्त्र समूह ४९ बाट बढेर एक सय नौ पुगेका छन् । एउटै हत्यामा धेरै समूहले जिम्मेवारी लिन्छन् । जनकपुर हत्याकाण्डकै सवालमा चार सशस्त्र समूहले जिम्मेवारी लिएका छन् । यसको अर्थ अपराधीहरू अपराधको जिम्मा लिन होडबाजी गरिरहेका छन् । दण्डहीनताका कारणले अपराधीले खुलेआम हत्या-हिंसामा गर्व गर्ने स्थिति छ । पछिल्ला केही वर्षमा राजनीतिमा जुन अपराधीकरण बढ्दै छ, शान्ति व्यवस्था खल्बलिनुमा यो एउटा कारक बनेको छ ।

यतिवेलाको एउटा गम्भीर समस्या भनेको सीमा-सुरक्षा पनि हो । सीमा-सुरक्षा कमजोर हुँदा राष्ट्रिय सुरक्षामा नै असर पर्छ । अपराधीहरू नेपालमा अपराधकर्म गर्छन् अनि सीमापारि गएर ढुक्कसँग सुरक्षित हुन्छन् । नेपालमा घटना घटाउने व्यक्तिका मालिकहरू भारतका सहरमा बसेका हुन्छन् र उनीहरूको सहयोग र संरक्षणमा यहाँ अपराध गर्छन् । यस्ता संवेदनशील विषयमा सरकार गम्भीर भएर भारतसँग किन कूटनीतिक रूपमा कुरा गर्दैन ?

शान्ति-सुरक्षा र देशको सुरक्षा व्यवस्था फरक कुरा हुन् । सुरक्षा व्यवस्था बिगे्रमा शान्ति-सुरक्षाको अवस्था विकराल हुन्छ । यतिवेला गृह प्रशासनसँग सुरक्षाको 'चेन अफ कमान्ड' कमजोर भएको छ । अहिलेको अवस्था पनि त्यस्तै छ । राज्य कमजोर हुनुको कारण शान्ति-सुरक्षाको अवस्था झन् ज्यादा बिगि्रएको हो । प्रधानमन्त्रीमाथि चितवनमा आक्रमण हुनु वा राजधानीको सबैभन्दा सुरक्षित ठानिएको स्थानमा दिनदहाडै हत्याको घटना हुनु र हत्यारा सुरक्षित फरार हुनु सुरक्षा व्यवस्था खस्किएका जिउँदा नमुना हुन् ।

यतिवेला संसद्को राज्यव्यवस्था समिति र एमाले केन्द्रीय कमिटीले समेत सरकार र खासगरी गृहमन्त्रीलाई शान्ति-सुरक्षा कायम गर्न निर्देशित गरेको छ, तर सकारात्मक परिणाम अझै आउन सकेको छैन । शान्ति व्यवस्था बहाल नहँुदा शान्ति-सुरक्षा मात्र होइन, राष्ट्रिय राजनीतिमै संकट आउन सक्छ । शान्ति-सुरक्षाको अवस्थ्ाा बिग्रँदै जाँदा राष्ट्रिय एकता नै धरापमा पर्ने खतरा बढिरहेको छ । त्यसकारण पनि अहिलेको सरकारले राज्यविहीनताको स्थिति अन्त्य गर्नु जरुरी छ । देशमा शान्ति-सुरक्षा कायम गरी शान्ति व्यवस्था बहाल गर्न र आफ्ना नागरिकलाई सुरक्षा दिन सरकार प्रयत्नशील हुनैपर्छ । अपराधीलाई तत्काल कारबाही गरेर दण्डहीनताको अन्त्य गरी अपराधीको मनोबल घटाएर जनतालाई शान्ति-सुरक्षाको अनुभूति दिनैपर्छ । यो महत्त्वपूर्ण सवालमा सरकार र राजनीतिक दलहरू गम्भीर हुन जरुरी छ ।

Subscribe to comments feed Comments (3 posted):

met mani tharu on 12/03/2010 16:46:19
avatar
why total negative? ke mntre nbna pyar ho? government ko positive kura pne lekhada ramro hun6 ke
Thumbs Up Thumbs Down
0
salyani on 11/03/2010 03:02:50
avatar
Ball prakasha jawalko budhhi pherechha
Thumbs Up Thumbs Down
0
J.P.Bhattarai on 10/03/2010 15:44:57
avatar
Mr Prakash Jwala has written the article above is absolutely true, readable and particularly it has given a very big slap to the government and the leader of political parties. Please write this type of article again and again.
Thumbs Up Thumbs Down
0
total: 3 | displaying: 1 - 3

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?