ई-बाइकमा दुई करोड लगानी
काठमाडौं/ चिनियाँ लगानीकर्ताले राजधानीमा पार्टपुर्जा आयात गरी करिब २ करोड लगानीमा ई-बाइक उत्पादन गर्ने कारखाना सञ्चालनमा ल्याएका छन् । १२ घन्टा लामो लोडसेडिङ भइरहेको नेपालमा पनि विद्युतीय साइकल -ई-बाइक) एसेम्बल गर्ने कम्पनी खुलेको हो ।
मुख्यतः चिनियाँ लगानी रहेको कुनलुन मोटरसाइकल प्रालिले राजधानीको धापासी र बालाजुमा एसेम्बल कम्पनी सञ्चालनमा ल्याएको हो । कम्पनीले दुबै कारखानाबाट अहिले मागअनुरूपका ई-बाइक उत्पादन गरिरहेको छ । कुनलुनले राजधानीसहित मुलुकका १० स्थानमा डिलरसमेत राखेर ई-बाइक बिक्री गरिरहेको कम्पनीकी बिक्री प्रबन्धक आइभी च्वाङले बताइन् । 'हामीले अहिले इ-बाइक एसेम्बल, सोरुम सञ्चालन र सर्भिस सेन्टरको काम गरिरहेका छौँ,' उनले भनिन् ।
'बेन्डा' ब्रान्डमा इ-बाइक बजारमा ल्याएको कम्पनीले हाल ८ मोडलका विद्युतीय साइकल उत्पादन गरिरहेको च्वाङले जानकारी दिइन् । राजधानीको पुतलीसडकमा सोरुम रहेको बेन्डाका झापा, विराटनगर, इटहरी, पोखरा, नेपालगन्ज, वीरगन्जलगायतका स्थानमा डिलर रहेको उनले बताइन् । बेन्डाले राजधानीको लाजिम्पाटमा सर्भिस सेन्टरसमेत सञ्चालनमा ल्याइसकेको छ ।
सन् २००७ अन्तिमबाट सुरु गरिएको कम्पनीले साइकल उत्पादन गरेर गतवर्षदेखि बिक्री सुरु गरेको हो । केही वर्षदेखि नेपाली बजारमा भित्रिएका चिनियाँ साइकलभन्दा आफ्ना साइकलको डिजाइन राम्रो र टिकाउ भएकाले ग्राहकले मनपराएको दाबी उनको छ । 'हाम्रो साइकलको डिजाइन र सर्भिस राम्रो भएकाले ग्राहकले मनपराएका छन्,' उनले भनिन् ।
केही चिनियाँ ई-बाइकको बिक्री बन्द भए पनि आफ्नो साइकल भने राम्रो भएकाले फिर्ता गर्नुपर्ने अवस्था नरहेको उनको दाबी छ । बेन्डाका विद्युतीय साइकलप्रति महिला र वृद्धको आकर्षण बढी भएको पनि उनले जानकारी दिइन् । विशेषगरी कामकाजी महिला र पाको उमेरका ग्राहकले विद्युतीय साइकल मनपराउने गरेको च्वाङले बताइन् । '४० प्रतिशत जति यस्ता मानिसले ई-बाइक किनेका छन्,' च्वाङले भनिन्, 'त्यसमा महिला २० प्रतिशत र पाको उमेरका २० प्रतिशत होलान् ।'
उनले ई-बाइकलाई सबैखाले मानिसले मनपराए पनि बढी महिलाले किन्ने गरेको उनको दाबी छ । पेट्रोल, डिजेल नपाइने समस्या, मोटरसाइकल, कारभन्दा चलाउन सजिलो र प्रदूषण नहुने हुँदा ग्राहकले ई-बाइकलाई मनपराएको उनले बताइन् । बेन्डा बाइकमा इपुस गर्न सकिने, ब्याट्री रिचार्ज गर्न सकिने, डिजाइन र स्थायित्व अरूभन्दा बढी भएका कारण ग्राहकलाई यसले आकषिर्त गर्ने दाबी उनको छ ।
बिक्रीपछिको सेवा र स्पेयरपार्टका लागि अन्य ई-बाइकका ग्राहकले दुःख पाउने गरे पनि बेन्डाका ग्राहकले यस्ता झन्झटबाट मुक्ति पाउने उनको दाबी छ । बेन्डा ब्रान्डका विद्युतीय साइकल ३० हजारदेखि ५९ हजार मूल्यसम्ममा बिक्री हुने गरेका छन् । प्रतिवर्ष २० हजार उत्पादन क्षमता भए पनि हाल मागअनुरूप मात्र उत्पादन गरिरहेको उनले जानकारी दिइन् । च्वाङले हाल मासिक ६० वटा ई-साइकल बिक्री भइरहेको बताइन् । उनले ई-बाइक किफायती छैन भन्ने धारणा गलत भएको बताउँदै भनिन्, 'कति किफायती हुने भन्ने कुरा मानिसले कसरी चलाउने भन्नेमा भर पर्छ' ।
एसेम्बल कम्पनीमा लगानी थप गर्ने योजना भए पनि नेपालमा भएको अस्थिरता र असुरक्षाका कारण तत्काल लगानी थप गर्ने योजना नभएको उनले बताइन् । 'यहाँ यातायात, बन्द-हड्ताल, असुरक्षाजस्ता समस्या छन्, यस्ता धेरैखाले बाधा हटे ई-बाइकमा लगानी थप हुन्छ ।'



del.icio.us
Digg
Post your comment