ग्रामीण विकास बैंकका महिला ऋणी आन्दोलित
नयाँ पत्रिका विराटनगर, २५ फागुन सरकारले आफूहरूमाथि विभेद गरेको भन्दै पूर्वाञ्चल ग्रामीण विकास बैंकका महिला ऋणी ६ सूत्रीय माग अघि सारी दोस्रो चरणको आन्दोलनमा उत्रिएका छन् । उनीहरूले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी दुई दिनभित्रमा आफ्ना मागबारे सम्बोधन नभए थप सशक्त कार्यक्रम ल्याउने चेतावनी दिएका हुन् । आर्थिक वर्ष २०६४/६५ मा सरकारले कृषि विकास बैंक र साना किसान सहकारीबाट कर्जा लिएर भुक्तानी गर्न नसकेका किसानको ३० हजारभन्दा कम कर्जा र ब्याज मिनाहा गर्ने निर्णय गरे पनि ग्रामीण विकास बैंकका ऋणीलाई भने सम्बोधन गरेको थिएन । ऋणीहरूले सरकारले विभेद गरेकाले तत्काल ग्रामीण विकास बैंकका सदस्यलाई पनि त्यस्तो सुविधा उपलब्ध गराउनुपर्ने माग गरे । उनीहरूले द्वन्द्व अवधिमा बैंक नियमित किस्ता संकलन गर्न गाउँ नगएका कारण साँवा दोब्बर भएकाले भुक्तानी गर्न नसकेको बताएका छन् । महिला ऋणीहरूले सुनसरी, मोरङ तथा झापा बन्दको कार्यक्रमसमेत सार्वजनिक गरेको संघर्ष समितिकी संयोजक संयुक्ता चौधरीले जानकारी दिइन् । उनले हालसम्म कुनै पनि मागको सुनुवाइ नभएपछि थप आन्दोलनका कार्यक्रम ल्याउन बाध्य भएको बताइन् । १९ फागुनदेखि आन्दोलनमा उत्रिएका ऋणीहरूले पूर्वाञ्चल ग्रामीण विकास बैंकको केन्द्रीय कार्यालयमा अनिश्चितकालीन धर्ना, जुलुस, घेराउ आदि प्रथम चरणका विरोध कार्यक्रम सम्पन्न गरिसकेका छन् । पूर्वाञ्चल ग्रामीण विकास बैंकका ६० हजार ऋणीमध्ये ४० हजारले ऋण मिनाहा माग अघि सारेका छन् । ऋण मिनाहा माग गर्दै सदस्यहरूले आन्दोलन सुरु गरेपछि बैंकको एक अर्बभन्दा बढी कर्जा जोखिममा परेको बैंकका कार्यकारी निर्देशक श्यामदेव योगीले बताए । 'उनीहरूको माग पूरा गर्ने सामथ्र्य बैंकसँग छैन,' निर्देशक योगीले भने । ऋणीहरूले बैंकबाट लिएको ५ हजारदेखि ३० हजारसम्मको ऋण मिनाहा गरिनुपर्ने प्रमुख माग राखेका छन् । यस्तै, ऋणीबाट सेयरबापतमा जम्मा भएको सेयर रकमको यकिन अभिलेख गरी त्यसको प्रमाणपत्र पाउनुपर्ने, बचत रकमको हिसाबकिताब गर्नुपनर्ेे, चक्रवृद्धि ब्याज असुली प्रक्रिया बन्द गर्नुपर्नेलगायतका माग छन् । ऋणीहरूले सरकारसँग अर्थ विधेयकको माध्यमबाट राहत दिन आग्रह गरेका छन् । ऋणीहरूको मागअनुसार ३० हजार रुपैयाँ साँवा र त्यसको ब्याज मिनाहा गर्न ६५ करोड ६३ लाख रुपैयाँ आवश्यक पर्छ । बैंकले अहिलेसम्म ८ अर्ब लगानी गरेकोमा ७ अर्ब मात्र असुल्न सफल भएको जनाएको छ ।



del.icio.us
Digg
Post your comment