रोयल बैंकको घाटा ३.६ अर्ब पाउन्ड
एजेन्सी/ रोयल बैंक अफ स्कटल्यान्ड -आरबिएस) ले सन् २००९ मा ३.६ अर्ब पाउन्ड नोक्सानी गरेको छ । यस कम्पनीको अर्बाै पाउन्ड खराब कर्जा रहेको छ । यसका बाबजुद कम्पनीले कर्मचारीका लागि भने १.३ अर्ब पाउन्ड बोनस दिन सफल भएको छ । बैंक अध्यक्ष स्टेफन हेस्टरले उत्पादक कर्मचारीलाई कायम राख्न बोनस दिन तयार रहेको बताए । सरकारले बैंकलाई २००८ मा बेल आउट गरेपछि ८४ प्रतिशत सेयर सरकारले लिएको छ । बोनस दिएकोमा आलोचना पनि भएको बताइएको छ । लिभरल डेमोक्राटका एक प्रवक्ताले भनेका छन्, 'खेल हारेको टिमका खेलाडी विशेषलाई गोल गर्यो भनेर पुरस्कार दिएजस्तै हो ।' अध्यक्ष हेस्टर आफूले भने बोनस लिएका छैनन् । उनको बोनस १६ लाख पाउन्ड हुने थियो । कम्पनीको गत वर्षको नोक्सान अघिल्लो वर्ष २४ अर्ब पाउन्डको तुलनामा निकै कम हो । विश्लेषकले ५ अर्ब पाउन्ड नोक्सान हुनसक्ने अनुमान गरेका थिए । खराब कर्जा भने २००८ मा रहेको ७.४ अर्ब पाउन्डको तुलनामा बढेर १३.९ अर्ब पाउन्ड पुगेको छ । योभन्दा माथि नजाने बैंकले दाबी गरेको छ । आरबिएससँग गाँसिएका नाटवेस्ट, अल्स्टर र कउट्स बैंक र बिमा कम्पनी चर्चिल र डाइरेक्ट लाइनले पनि अर्काे वर्ष मुनाफा गर्ने अध्यक्षले अपेक्षा व्यक्त गरेका छन् । सन् २००७ को कर्जा संकटको अवस्थाबाट गुज्रेका यी बैंकले कर्जा प्रवाह गर्न निक्कै कडाइ गरिरहेका छन् । उनीहरूले एक आपसलाई समेत कर्जा प्रवाह गरेका छैनन् । कर्जा संकटको केहीअघि मात्रै डच बैंक एबिएन एम्रो खरिद गरेको आरबिएसलाई बैंक खरिद गर्दाको ऋणले समेत थलथलाएको छ । आरबिएसको नेतृत्वमा रहेको कन्सोर्टियमले ७१ अर्ब युरोमा एबिएन एम्रो खरिद गरेको थियो । खरिदयता नोक्सानी व्यहोरिरहेका बैंकले वर्षेनि १७ अर्ब नोक्सानी अपलेखन गर्दै आएको छ । बेलायती केन्द्रीय बैंक, बैंक अफ इंग्ल्यान्डका गभर्नर भेर्भिन किङले लगानीकर्ताहरू 'मूर्खको स्वर्ग' मा रमाइरहेको बताएका छन् । 'लगानीकर्ताको रकम जोखिमपूर्ण कार्यका लागि खर्च भइरहेको छ, तर उनीहरू लगानी सुरक्षित छ भन्नेमा ढुक्क छन् । सन् २००९ को अन्तिम नतिजा सार्वजनिक गर्ने आरबिएस बेलायतको दोस्रो ठूलो बैंक हो । बेलायतकै ठूलो बैंकले २००९ मा ११ अर्ब ६० करोड पाउण्ड नाफा आर्जन गरेको तथ्यांक सार्वजनिक गरिसकेको छ । सरकारको आंशिक स्वामित्व रहेको लोयड्स बैंकले यही शुक्रबार विवरण सार्वजनिक गर्दै छ । बोनसपछि बैंकको आलोचना हुने विषय व्यवसाय तथा आवास खरिदकर्तालाई प्रवाह हुने कर्जा हो । आरबिएसले दुवै क्षेत्रमा कर्जा प्रवाह गर्न सकेकोमा सन्तुष्टि व्यक्त गरेको छ । अन्य बैंकले व्यवसायभन्दा पनि आवास कर्जा बढी प्रवाह गरेका भन्दै आलोचना हुने गरेको छ ।



del.icio.us
Digg
Post your comment