लेबनानमा महिला कामदार पठाउने प्रक्रिया खुला गर्न माग
नयाँ पत्रिका काठमाडौं, २५ फागुन लेबनानमा महिला कामदार पठाउने प्रक्रिया खुला गर्न व्यवसायीले माग गरेका छन् । वैदेशिक रोजगार व्यवसायीले मंगलबार श्रम मन्त्री मोहम्मद आफताब आलमलाई भेटी नेपाली महिलाका लागि आवश्यक गन्तव्य मानिएको लेबनानमा कामदार पठाउने प्रक्रिया तत्काल खुला गर्न माग गरेका हुन् । घरेलु कामका लागि लेबनान पुगेका नेपाली महिलालाई सुरक्षाको कारण देखाउँदै सरकारले करिब ३ महिनाअघि जान रोक लगाएको थियो । घरेलु कामदारका रूपमा महिला कामदार पठाउने प्रक्रियालाई व्यवस्थित गर्न आफूहरू तयार रहेको वैदेशिक रोजगार व्यवसायी संघका केन्द्रीय सदस्य कमल तामाङले बताए । व्यवसायीले दक्ष कामदार पठाउन नेपालमा तालिम दिइनुपर्ने, गैरकानुनी रूपमा कामदार पठाउने क्रियाकलाप रोक्न संस्थागत रूपमा मात्रै जाने व्यवस्था गरिनुपर्ने प्रस्ताव श्रममन्त्रीसँग राखेका थिए । उनीहरूले लेबनान गएर बिचल्लीमा परेका महिला कामदारको उद्धारका लागि 'सेभ हाउस'को अवधारणा पनि अगाडि सारेका छन् । गैरकानुनी रूपमा ठूलो संख्यामा नेपाली कामदार गएर विचल्लीमा परेपछि सरकारले सुरक्षाको कारण देखाउँदै लेबनानमा कामदार पठाउने प्रक्रिया रोकेको वैदेशिक रोजगार प्रवर्द्धन विभागका महानिर्देशक मोहनकृष्ण सापकोटाले जानकारी दिए । मन्त्री आलमले गैरकानुनी रूपमा कामदार पठाउने प्रक्रिया रोकिनुपर्ने, भनेको काम पाउनुपर्ने र समस्या आए उद्धारको व्यवस्थालगायत विषय सुनिश्चित गरिए प्रक्रिया खुला गर्न सकिने आश्वासन दिएका थिए । मन्त्रालयले लेबनानमा महिला कामदार पठाउने प्रक्रिया खुला गर्ने विषयमा व्यवसायीसँग छलफल गर्ने बताइएको छ । लेबनानमा अहिले १० हजारभन्दा बढी नेपाली महिला घरेलु कामदारका रूपमा कार्यरत छन् ।



del.icio.us
Digg
Post your comment