टाढा छैन बलिउड
नायक विराज भट्टले आफू निकट भविष्यमै बलिउडका स्टार कलाकारसँग फिल्म खेल्न सक्ने संकेत देखिएको बताएका छन् । भोजपुरी फिल्म दागको सुटिङ सिध्याएर आइतबार काठमाडौं फर्किएका उनले भने, 'भोजपुरी फिल्ममा बढ्दै गएको मेरो डिमान्ड देख्दा मलाई लाग्छ, अब बलिउडका स्टारसँग फिल्म खेल्ने दिन टाढा छैन ।' नेपालीसहित पछिल्लो समयमा उनी भोजपुरी फिल्ममा समेत जम्दै गएका छन् । दागको सुटिङका लागि मुम्बै पुगेका उनले त्यहाँ जम्बाज जिगरवालाको डबिङ पनि सिध्याएको बताए । 'यहाँ पनि थुप्रै फिल्म छन् । भुल्नै सकिनँको सुटिङ बाँकी थियो । त्यसकै लागि दाग सिध्याउनेबित्तिकै आइहालेँ,' उनले भने, 'यहाँ केही फिल्म सिध्याउँछु र मुम्बै गइहाल्छु । रविकिसनसँग नयाँ फिल्म गर्दै छु ।' भोजपुरी निर्माता आफूलाई आफ्नो फिल्ममा लिन इच्छुक भएको कथन उनको छ । 'थुप्रै निर्माताले अफर गरेका छन् । तर, मेरो पहिलो प्राथमिकता नेपाली फिल्म नै हो,' कारण खोल्दै भने, 'मलाई नेपाली फिल्मले विराज भट्ट बनाएको हो । त्यसकारण उता र यता पालैपालो काम गर्छु ।' भोजपुरी र नेपाली फिल्ममा काम गर्दाको भिन्नता सुनाउँदै उनी भन्छन्, 'त्यहाँ काम गर्ने तरिका निकै गजबको छ । उनीहरू जुनियरदेखि स्टार कलाकारसम्मलाई उत्तिकै सम्मान गर्छन् । हाम्रोमा सम्मानको भावना न्यून छ ।' भोजपुरी फिल्मकर्मी पनि निकै 'एडभान्स्ड' भएको जिकिर उनको छ । भने, 'त्यहाँका निर्देशक, सिनेमाटोग्राफरदेखि लिएर आर्टिस्ट पनि निकै ट्यालेन्ट छन् । भोजपुरीको मार्केट पनि ठूलो छ ।' आफूले अभिनय गरेका भोजपुरी फिल्म एकपछि अर्काे गरी सफल भएको दाबी पनि छ उनको । 'पहिला खेलेका सबै फिल्म हिट भएका छन् । त्यहाँका निर्माता मेरो कामदेखि निकै सन्तुष्ट छन्,' भोजपुरी फिल्ममा आफ्नो डिमान्ड बढ्दै जानुको कारण खोल्दै उनले भने, 'त्यहाँ काम हेरिन्छ । कसले कतिसम्म गर्न सक्छ भन्ने कुरा वाच गरिन्छ । म काममा ध्यान दिन्छु । नेपालमा भएको मेरो क्रेज त्यहाँ पनि फैलँदै छ ।' विराजले त्यहाँका भोजपुरी फिल्मस्टारले ६० लाखसम्म -भारु) पारिश्रमिक पाउने गरेको बताए । उनीहरूको फिल्म उद्योगका लागि नयाँ भए पनि आफूले प्रतिफिल्म १० लाख भारु पारिश्रमिक पाउने गरेको उनी बताउँछन् । भोजपुरी फिल्ममा आफ्नो माग बढ्दै जानुमा गर्व महसुस हुन्छ उनलाई । भने, 'नेपाली कलाकारले भोजपुरी फिल्ममा पनि तहल्का मच्चाउँदै छ । यो त मेरा लागि मात्र नभई सबै नेपालीका लागि गर्वको कुरा होइन र ?'



del.icio.us
Digg
Post your comment