Newsletter
Email:
Home | झन् नयाँ | अध्यापनमा व्यस्त सेलिब्रेटी

अध्यापनमा व्यस्त सेलिब्रेटी

Font size: Decrease font Enlarge font
image


रामेश श्रेष्ठ
गायक, संगीतकार तथा शिक्षक

एउटा शिक्षक भएपछि धेरै संवेदनशील हुनुपर्नेरहेछ । बालबालिकालाई गीत/संगीतमार्फत सिकाउन सहज हुन्छ । त्यही भएर सधँै बालबालिकालाई बालगीतमार्फत समाजबारे जानकारी गराउने कोसिस गरेको छु । टेलिभिजनमा देखिएको व्यक्ति भएर होला, शिक्षक र विद्यार्थीले राम्रै रेस्पोन्स गर्ने गरेका छन् । विद्यालय तथा अभिभावकले सेलिब्रेटी शिक्षक भन्छन्, तर म सेलिब्रेटी होइन । म विद्यालयमा एक शिक्षक हुँ र विद्यार्थीलाई आफूले जानेका कुरा सिकाउनु मेरो पेसा हो, मैले त्यही गरिरहेको छु । एउटा शिक्षकले बालबालिकाको चौतर्फी विकासतर्फ सोच्नुपर्छ भन्ने मलाई लागेको छ । मलाई शिक्षकहरूले बालबालिकालाई मायालु र रमाइलो वातावरणमा पढाउनुपर्छ भन्ने लाग्छ । तीसवर्षे शिक्षण अनुभवमा बालबालिकालाई गीत/संगीतमार्फत छिटो सन्देश दिने र चेतनाबोध गराउन सामाजिक चेतना भएका ६ वटा बालगीति एल्बम निकालेको छु ।


'गाउँ-गाउँबाट उठ बस्ती-बस्तीबाट उठ...., रक्तक्रान्तिको ज्वालामुखीमा आज उठेको बलिदान....., संघर्ष हो जीवन....’ जस्ता गीतका गायक तथा संगीतकार रामेशको अधिकांश समय काठमाडौंको स्वणिर्म स्कुलका विद्यार्थीमाझ बित्छ ।
जनआन्दोलका वेलामा गीतका माध्यमबाट आन्दोलनलाई ऊर्जा थप्ने काम गरेका रामेश विद्यालयमा विद्यार्थीलाई गीत/संगीतको माध्यमबाट देश, समाज र जीवन बुझाइरहेका हुन्छन् । जनगायकजस्तो व्यक्तिलाई शिक्षकका रूपमा पाउँदा विद्यार्थी मात्र होइन, अभिभावकको पनि विद्यालयप्रति सकारात्मक धारणा आउने गरेको विद्यालयकी पि्रन्सिपल स्वस्तिप्रभा बज्राचार्यले बताइन् । उनका अनुसार रामेशले संगीत शिक्षकको मात्र नभई विद्यार्थीलाई सामाजिक र नैतिक शिक्षासमेत दिने गरेका छन् । पि्रन्सिपल बज्राचार्यका अनुसार विद्यालयमा विद्यार्थीले सिकेका कुराले घर-समाजलाई चेतनशील बनाइरहेको हुन्छ भन्दै रामेशले विद्यार्थीलाई सामाजिक परिवेशसँग मेलखाने गीत बनाएर विद्यार्थीलाई समाजप्रति उत्तरदायी बनाउने प्रयास गरिरहेका हुन्छन् ।
विद्यालयमा रामेशले नर्सरीदेखि पाँच कक्षासम्म नियमित र त्योभन्दा माथिल्लो तहका छानिएका विद्यार्थीलाई संगीत सिकाउँदै आएका छन् । पछिल्लो समयमा बाहिरको काम र गीति-एल्बममा बढी व्यस्त हुँदै आए पनि रामेश प्राथमिक कक्षाका विद्यार्थीलाई संगीत सिकाउन भने सधैँ पुगेकै हुन्छन् । 'राष्ट्रिय व्यक्तित्व भएर होला विद्यार्थी पनि रामेशका हरेक कुरा ध्यान दिएर सुन्छन् र उहाँले भनेका कुरा व्यवहारमा उतारिहाल्छन्,' पि्रन्सिपल बज्राचार्यले सेलिब्रेटी शिक्षक राख्नुको फाइदा बताइन् ।
शिक्षक र विद्यार्थीबीचको सम्बन्ध साथी-साथीको जस्तो हुनुपर्ने र बालबालिकालाई पनि आदर गरेर हाँसी-खेली पढाउनुपर्ने उहाँको बुझाइ रहेकाले विद्यार्थीहरू उहाँको कक्षामा बस्न एकदमै खुसी हुने गर्छन् भन्दै पि्रन्सिपल बज्राचार्य भन्छिन्, 'त्यही भएर होला, उहाँले पढाउँदा विद्यार्थीले ४५ मिनेट गएको पत्तै पाउँदैनन् । अहिले त विद्यार्थीहरू संगीत विषयलाई एक घन्टाभन्दा बढी बनाउनुपर्‍यो भन्छन् ।' जनगायकको उपाधि पाएका यी गायक तथा संगीतकार वि.सं. ०३७ देखि नै सो स्कुलमा संगीत शिक्षकका रूपमा पढाइरहेका छन् ।
रामेशजस्तै नेपाली सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा रहेकी गायिका कुन्ति मोक्तान पनि संगीत शिक्षकका रूपमा कार्यरत छिन् । 'माथि-माथि सैलुंगेमा चौँरी....., चोली राम्रो पाल्पाली ढाकाको......., लालीगुराँस अजम्बरी चम्पा चमेली......, हुम्ला-जुम्ला.....' जस्ता लोकपि्रय गीतकी गायिका कुन्ति मोक्तानले चाबहिलमा रहेको जगत मन्दिर उच्च माध्यमिक विद्यालयमा १२ वर्षदेखि संगीत सिकाउँदै आएकी छिन् । जगत मन्दिरका पि्रन्सिपल राजन आचार्यका अनुसार कुन्ति मोक्तानले शिक्षिकाका रूपमा विद्यार्थीमाझ आफ्नो ज्ञान र सीप बाँड्न थालेको २५ वर्षभन्दा बढी भइसकेको छ । २५ वर्षअगाडि नेपाल आएकी कुन्तिले मित्रपार्कमा रहेको शिशु आदर्श स्कुलबाट संगीत शिक्षकका रूपमा सेवा सुरु गरेकी थिइन् । हाल उनी राजधानीका दर्जनभन्दा बढी विद्यालयमा संगीत शिक्षकका रूपमा पढाइरहेकी छिन् । कुन्ति मोक्तानजस्तो सेलिब्रेटी शिक्षक राख्न पाउँदा विद्यालयको सान बढेको भन्दै जगत मन्दिरका पि्रन्सिपल आचार्य भन्छन्, 'उहाँजस्तो व्यक्तित्वलाई हाम्रो विद्यालयको शिक्षक भन्न पाउँदा विद्यालयको हाइट त बढेको छँदै छ, त्यसमाथि पनि अभिभावकले अझ बढी विश्वास गर्नुभएको छ ।'
कुन्ति मोक्तानले जगत मन्दिरमा हप्ताको दुई दिन कक्षा लिँदै आएकी छिन् । विद्यालयका अनुसार कुन्तिले मंगलबार र शुक्रबार पढाउँदै आएकी छिन् । 'साताको दुई दिन उहाँ -कुन्ति मोक्तान) विद्यालयमा आउँदा विद्यार्थीको उत्साह बढेर आउँछ,' पि्रन्सिपल आचार्यले नयाँ पत्रिकासँग भने, 'सेलिब्रटी भएकाले हुन सक्छ, विद्यार्थी तथा अभिभावकले विद्यालयप्रति राम्रो दृष्टिकोण राख्ने गरेका छन् ।'
सेलिब्रटी शिक्षक नै भएको अर्को विद्यालय हो- ज्ञानेश्वरको ग्यालेक्सी पब्लिक स्कुल । पपगीतको क्षेत्रमा चर्चा कमाएको एमटी- ८८४८ ब्यान्डका शिक्षकहरू सबै संगीतका शिक्षकका रूपमा सो विद्यालयमा कार्यरत छन् । बुढेसकालको लाठी....., रात गुजार्न.....जस्ता गीत गाएर पपगीतको क्षेत्रमा चर्चामा रहेको ब्यान्डका शिक्षकलाई विद्यालयमा शिक्षकका रूपमा राख्न पाउँदा विद्यालयप्रति अभिभावकको हेराइमा परिवर्तन आएको विद्यालयका शिक्षक बताउँछन् । नेपाली पप-संगीतका क्षेत्रमा पाँच वर्षयता देखापरेको एमटी- ८८४८ ब्यान्डका पाँच युवा संगीतकर्मी ग्यालेक्सी स्कुलमा संगीत शिक्षकका रूपमा सेवारत छन् । ब्यान्डका सदस्यमध्येको बेस गिटारिस्ट फणेन्द्र लिम्बू सो स्कुलमा १२ वर्षदेखि, गायक दर्शन राई आठ वर्षदेखि, लिड गिटारिस्ट निर्मल गड्तौला ६ वर्षदेखि कार्यरत छन् भने ब्यान्डका ड्रमर विनोद लामा र गितारवादक शिव लिम्बू पाँच वर्षदेखि संगीत शिक्षकका रूपमा विद्यालयमा सेवारत छन् ।
रामेश, कुन्ति र एमटी-८८४८ जस्ता अरू धेरै स्थापित कलाकार अहिले निजी विद्यालयमा संगीत शिक्षकका रूपमा कार्यरत भेटिन्छन् । गीत/संगीतको क्षेत्रमा अलग्गै पहिचान बनाइसकेका सेलिब्रेटी कलाकारलाई विद्यालयले शिक्षकका रूपमा राख्दै आउन थालेका छन् । पहिला-पहिला अतिरिक्त विषयका रूपमा राखिँदै आएको संगीत विषयलाई अहिले अधिकांश निजी विद्यालयले अनिवार्य विषयका रूपमा पढाउन थालिसकेका छन् । निजी विद्यालयले अनिवार्य रूपमा संगीत विषय पढाउन सुरु गरेपछि हाल निजी विद्यालयले आफ्ना विद्यालयमा सेलिब्रेटी शिक्षक राख्न होडबाजी सुरु गरेका स्वयं निजी विद्यालयका सञ्चालक बताउँछन् ।

 

 प्रवीण ढकाल

Subscribe to comments feed Comments (1 posted):

dipesh on 05/03/2010 13:22:58
avatar
ooooooo ho testo po rahe cha la aaja po tha vo .... la aba bhane students le ramro edu paune bhaya....
Thumbs Up Thumbs Down
0
total: 1 | displaying: 1 - 1

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?