Newsletter
Email:
Home | विशेषांक | मनीषा तनाबमा

मनीषा तनाबमा

Font size: Decrease font Enlarge font
image

२६ माघ ०६६ । यता कामान्डूमा अभिनेत्री मनीषा कोइरालाले कलिउडलाई बलिउडको नक्कल नगर्न आग्रह गरिरहँदा, उता मुम्बईमा एक भारतीय टेलिभिजन च्यानलले भने ँमनीषाको गुलाबी छवि समाप्त भएको’ ठोकुवा गर्दै थियो ।
सन् ९० को दशकारम्भवरिपरि उदाएका मनीषा र माधुरी दीक्षितलगायतका आधादर्जन अभिनेत्री ँआउट डेटेड’ भइसकेको दाबी गर्दै सो विश्लेषणमा भनिएको थियो, ँपछिल्ला केही वर्षका गतिविधि हेर्दा मनीषा अलमलमा परेजस्तो देखिन्छ । अब मनीषाले आफ्नो गुलाबी करिअरलाई कसरी सिफ्ट गर्लिन्, त्यसको जवाफका लागि भने अरू केही समय कुर्नुपर्ने हुन्छ ।’
एउटा तेजस्वी, संघर्षपूर्ण र लगनशील अभिनेत्रीका रूपमा बलिउडमा बितेको २० वर्षपछि अहिले कोइराला यस्तो चौबाटोमा उभिएकी छिन्, जहाँ उनले छिट्टै एउटा बाटो रोज्नु पर्नेछ । उमेर ओरालो लागेको छ । अबको ६ महिनामा उनी ठीक ४० वर्ष पुग्नेछिन् । मुहारमा चाउरीपन देखिन थालेको छ । घरजम छैन ।


विगतको ओजस्वी छवि त छ, तर सामाजिक, आर्थिक, पारिवारिक र धार्मिक सिन्डिकेटमा रुमलिएको बलिउडमा फिल्म व्यवसाय उनका लागि त्यति सहज छैन । अभिनेत्री कोइरालालाई यो कुरा राम्ररी थाहा छ । भारतीय बिजनेस टाइकुनको मात्र होइन भूमिगत माफियाको समेत लगानी रहने गरेको बलिउडमा प्रतिस्पर्धा गर्न गतिलै आर्थिक 'ब्याकअप' जरुरी हुन्छ । त्यसका लागि सोहीअनुरूपको रणनीति, चालबाजी र सम्बन्धको विस्तार चाहिन्छ । यी सबै कुरा समन्वय गर्न बलिउडमा 'एक्ली नेपाली छोरी' मनीषालाई पक्कै पनि सजिलो छैन । 
मनिषाको पहिलो फिल्म 'सौदागर' -सन् १९९१) सफल भएपछि सुवास घईले भनेझैँ 'बाहिरबाट हेर्दा मनीषा जति स्थिर, शान्त र सौम्य देखिन्छिन् त्यति नै उनको अन्तरमा अभिनयको हुटहुटी मडारिरहेको हुन्छ' भन्ने विश्लेषण अब डाडाँमाथिको घाम भइसक्यो । अभिनय गर्ने हुटहुटी भएकोे तुफानको सट्टा अहिले उनको अन्तरमा द्विविधा, अन्योल र अनिर्णय मडारिरहेको प्रस्ट छ ।
नेपालमा रहेका मनीषानिकटहरूका अनुसार उनले आफूमा रहेकोे तनाव कम गर्न तीन हप्ताअघि मात्रै बूढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा दस दिन बसिन् । उनी चाहन्छिन्, 'आफ्नो लामो अनुभवलाई उपयोग गरेर केही नयाँ काम गर्न सकियोस् । त्यसले आफ्नो छवि पनि बचाओस् र बाँकी जीवन सुखद रहोस् ।' मनीषाले पछिल्ला दिनमा नेपाली फिल्म 'धर्मा' मा अभिनय गर्दै छिन्, त्यो पनि अभिनेता राजेश हमालका साथमा । 'धर्मा' मनीषाका लागि दबाबपूर्ण मनोदशा र परिस्थितिबीच पनि 'नेपाली फिल्मी वृत्तमा पनि केही गर्न सकिन्छ कि' भन्ने परीक्षण हुन सक्छ ।
कतै उकाली कतै ओराली विसं चालीसको मध्यदशकमा नेपाली फिल्म 'फेरि भेटाँैला' मा डेब्यु गरेपछि मनीषा एकाध वर्ष हराइन् । यता, भर्खरै बामे सर्दै गरेको नेपाली फिल्मक्षेत्रमा उनको खोजी भइरहेको थियो । तर, उनी भने भारतीय मूलकी आमा सुष्मा कोइरालाको सहयोगमा मुम्बई पुगिसकेकी थिइन् ।
मुम्बईमा भरत नाटयम् र मनिपुरी नृत्य सिकिसकेपछि मनीषाले सुवास घईको ब्रेक पाइन् 'सौदागर' बाट । यो फिल्म सन् १९९१ को चर्चित फिल्म कहलियो । यसले उनलाई 'फस्र्ट लभलेटर, याल्गार, इन्सानियतकी देवता, अनमोल, धनवान र युहीँ कभीजस्ता फिल्मको लाइन लगाइदियो । तर, सौदागरपछि दुईवर्षे अवधिमा भने मनीषा अभिनीत कुनै पनि फिल्मले तहल्का मच्चाउन सकेनन् । त्यतिवेला उनले एक अन्तर्वार्तामा भनेकी थिइन्, 'फिल्म हिट वा फ्लप भन्ने कुरा धेरै कुराले निर्धारण गर्छ । म एउटा कलाकार हुँ, कलाकारको दौड निरन्तर जारी रहन्छ ।'
 सन् १९९४ मनीषाले विनोद चोपडाको १९४२ ः ए लभस्टोरी गरिन् । त्यसलगत्तै उनको हातमा मनिरत्नम्को बम्बे पर्‍यो । यी दुई फिल्मले भने उनको 'फिल्मी उचाइ' ह्वात्तै अग्लियो । खासगरी समीक्षकले उनको औधी प्रशंसा गरे । 'बम्बे' बाट क्रिटिक अवार्ड पाएको सन्दर्भ पारेर फिल्म पत्रकार खालिद मोहम्मदले मनीषाको प्रशंसामा लेखे-  'कसैलाई एउटा गम्भीर प्रकृतिकी युवतीको ज्वलन्त अभिनय गराउनु छ भने मौजुदा अभिनेत्रीमध्ये मनीषा नै सबैभन्दा उत्तम कलाकार हुनेछिन् ।'
अनोखा अन्दाज, मिलन, क्रिमिनल, गुड्डू, रामशास्त्रजस्ता केही फिल्मले खासै व्यवसाय नगरे पनि बलिउडमा कुनै न कुनै रूपमा मनीषाको चर्चा भने जारी नै थियो । 'अकेले हम अकेले तुम' बाट उनी फिल्म फेयर अवार्डका लागि मनोनयनमा परिन् । सोही वर्ष अर्थात्  सन् १९९६ मा मनीषा अभिनीत 'अग्निसाक्षी' सार्वजनिक भयो, जसलाई अन्त्यतै रुचाइयो । यो फिल्ममा उनले मानसिक रूपमा अस्वस्थ लोग्नेकी एउटी दुःखी श्रीमतीको भूमिका निर्वाह गरेकी छिन् । त्यसपछिका वर्षमा उनले  'खामोसी' बाट स्त्रिmन अवार्ड  पाइन् । सन् १९९७ मा शीर्ष भूमिका निर्वाह गरेको थि्रलर फिल्म 'द हिडन त्रुथ' पनि त्यत्तिकै चर्चित रहयो । त्यसको अर्को वर्ष सार्वजनिक फिल्म 'दिल से' मा पनि उनको कामलाई उस्तै सरहाना गरियो । सन् १९९९ मा मनीषाले १० वटा फिल्ममा अभिनय गरिन् । यीमध्ये कतिपय थोरै बजेटका फिल्म पनि थिए । कच्चे धागे, लाल बादशाह, लावारिस, जय हिन्द, कारतुस, मन, हिन्तुस्तानकी कसम, च्याम्पियन र खौफमध्ये कुनै फिल्म पनि 'हिट' हुन सकेनन् । सन् २००० लाग्दै गर्दा कतिपय भारतीय फिल्मी मिडियाले मनीषामा विरक्त जागेको टिप्पणी पनि गरे । तर, उनले भने आफ्नो यात्रा निरन्तर गरिरहिन् । यसपछिका लज्जा, छुपारुस्तम, मोक्ष र कम्पनीमा उनको भूमिका र काम दुवैको प्रशंसा गरियो ।
वर्ष दिनमा दर्जनसम्म फिल्ममा अभिनय गर्ने मनीषाले सन् २००० पछि भने फिल्मको संख्या घटाइन् । त्यसपछिको तीनवर्षे अवधिमा उनले अभिनय गरेका एक छोटिसी लभस्टोरी, कलकत्ता मेल, मार्केट, पैसा वसुल, चाहत एक नशा, मुम्बई एक्प्रेस, ताजमहल ः एक इन्ट्रनल लभस्टोरी कुनैले पनि चर्चा पाएन । यीमध्ये कम बजेटको भए पनि एक छोटिसी लभस्टोरी चर्चित त भयो, तर यसले मनीषालाई विवादास्पद बनायो ।  पछिल्ला पाँच वर्षमा उनले झन्डै १५ वटा फिल्ममा अभिनयमात्र गरिनन् बलिउडमा निर्माताका रूपमा स्थापित हुने प्रयास पनि गरिन् । उनले भाइ सिद्धार्थसँग मिलेर 'पैसा वसुल' नामको फिल्म निर्माण गरिन् । तर, फिल्मले राम्रो व्यवसाय गर्न सकेन ।
मनीषाको फिल्मी करिअर हेर्ने हो भने पछिल्ला दस वर्ष उनका लागि त्यति सुखद रहेनन् । बलिउडमा नयाँ अभिनेत्रीको आगमन, बढ्दो सिन्डिकेट र खस्कँदो गुलाबी छविले मनीषा र उनका समकालीनलाई किनारामा पार्दै लग्यो । मनीषाका समकक्षीमध्ये माधुरी दीक्षित बिहे गरेर गृहस्थी सम्हालिरहेकी छिन् भने जुही चावला मुम्बईमा फिल्म उद्योगमै निर्माताका रूपमा क्रियाशील छिन् । रवीना टन्डन, ममता कुलकर्नी, करिश्मा कपुरको पनि खासै चर्चा छैन । उनीहरूले पारिवारिक 'सेटलमेन्ट' गरिसकेका छन् ।
मनीषा, राजनीति र बाँकी करिअर  जस्तो नै दबाबपूर्ण बिन्दुमा आइपुगे पनि मनीषाका अगाडि विकल्प नभएका होइनन् । कहिलेकाहीँ उनले राजनीतितिर पनि रुचि देखाएका समाचार सार्वजनिक हुन्छन् । तर, पछिल्लोपटक 'आफूमा राजनीति गर्ने गुण नभएको,' उनले स्विकारिन् । कांग्रेसमा लागेको राजनीतिक परिवारकी सदस्य भए पनि उनको निकटता अहिले बाबु प्रकाश कोइरालाका कारण कांग्रेसइतरसँग बढ्दै गएको छ । त्यसैले पनि उनले भविष्य नभएको राजनीतिमा अहिल्यै पाइलो राख्ने सम्भावना देखिँदैन । बरु उनले भनेकी छिन्, 'फिल्मी दुनियाँ नै मलाई धेरै प्यारो छ । अब फिल्म क्षेत्र छाडेर राजनीतिमा आउँछु भन्ने सोचेकी छैन ।'


नाना पाटेकरसँग धेरै पटक डेटिङ गएँ : मनीषा


   पाँच दिनअघिसम्म अभिनेत्री मनीषा कोइराला नेपालमा थिइन् । फिल्म धर्माको छायांकन स्थलमा पुगी नयाँ पत्रिका सहकर्मी दीपक सापकोटाले गरेको अभिनेत्री कोइरालासँगकोे कुराकानी

फिल्ममा अभिनय गर्ने हुटहुटी कसरी लाग्यो ?
सायद मेरो मनको कुनै कुनामा फिल्म र अभिनय लुकेर बसेको रहेछ । म तीन वर्षको उमेरदेखि नै 'क्लासिकल डान्स' गर्थें । पछि थिएटर एक्टिङ पनि गरियो । मलाई सानैदेखि फिल्म खेल्नुपर्छ भन्ने थियो । हिन्दी फिल्म बढी हेर्थें ।
बलिउडमा नेपाली भएकैले कत्तिको हेपाइ र दुव्र्यवहार सहनुपर्‍यो ?
यो म मान्दिनँ कि त्यहाँ सबैले हेपाइ नै सहनुपर्छ । मिहिनेत गर्नुपर्छ । कसैको चाकरी गर्नैपर्छ वा हेपाइ सहनैपर्छ भन्ने हुँदैन । मसँग भएको विशेषताले नै मलाई बलिउडमा स्थापित नायिका बनायो ।
आफ्नो अभिनय यात्रालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
म धेरै व्यस्त नायिका हुँ । म निर्दोष पनि छु । यो मेरा लागि एउटा अचम्मको जिन्दगी हो । जहाँ म जन्मेँ, हुर्कें त्यहीँ मेरा सपना मौलाएनन् । तर, अर्कैको देशमा मेरो काम अघि बढ्यो । दुःख पनि निकै भयो । हरेक फिल्ममा मेरा नितान्त फरक-फरक अनुभव छन् ।
नेपाली फिल्म 'फेरि भेटौँलाले फिल्मी दुनियाँमा तपाईंलाई प्रवेश दिलायो । पछि मुम्वईमा जम्नु भयो । बलिउड र कलिउडमा ठूलो भिन्नता के पाउनुभयो ?
मैले पछिल्लो समय धेरै नेपाली सिनेमा हेरेको छैन । लाग्छ, बलिउड सिनेमामा विश्व जित्न हिँडिरहेछ । यो सिनेमाको ठूलो दुनियाँ हो जसले अरूलाई बाटो देखाउन थालेको छ । र, त्यहाँका कलाकार/निर्देशक धेरै सिर्जनशील छन् ।
तर, कलिउडका निर्देशकमा त्यस्तो विशेषता नै केही छैन । जसलाई अरूले पछ्याउन सकुन् । हामीकहाँ सिर्जनशीलताको कमी छ । र त बलिउडका फिल्महरूको 'कपी' मात्रै गर्छौं । आफ्ना दुःखमा चलचित्र बनाए कत्ति राम्रो हुन्थ्यो ।
फेरि बलिउड छाडेर कलिउड प्रवेश गर्नुभयो त ?
मैले बलिउड छाडेको होइन । नेपालबाट 'धर्मा' फिल्मका लागि अफर आयो र गरिहालौँ न त भनेर आएको । यो नै मेरो बलिउडको अन्त्य होइन । म फेरि भारत फर्किहाल्छु नि !
तपाईं बिपीको नातिनी, उहाँको विरासत बोकेर राजनीतिमा आउने विचार छ ?
म उहाँको नातिनी भएकोमा निकै गर्व लाग्छ । र, आनन्द पनि । मसँग राजनीतिक गुण छन् भन्नेमा मलाई विश्वास छैन । राजनीतिमा धेरै रुचि भए पनि म यसैमा लाग्छु भन्ने मन कहिल्यै लागेन । अर्को के पनि हो भने राजनीति 'पावर' मा आएर गरिने चिज होइन । बिपी गरिब नेपाली जनताका अधिकारका लागि राजनीतिमा होमिनुभयो । फिल्मी दुनियाँ नै मलाई धेरै प्यारो छ । अब फिल्म छाडेर राजनीतिमा आउँछु भन्ने सोचेकी छैन । तर, समयको बहावमा बग्ने हो । हेरौँ कता पुगिन्छ । राजनीति कहिल्यै गरिन्न भन्ने पनि होइन ।
बलिउडमा तपाईं स्थापित नायिका बन्न कसले बढी सहयोग गरे ?
-दिलीप कुमार, सुवास घाई, शाहरूख खान, आमिर खानहरूको सहयोगलाई म कहिल्यै पनि बिर्सन्न ।
तपाईंलाई बलिउडका राम्रा लाग्ने कलाकारहरू ?
-मलाई 'आर्ट एक्टर' मनपर्छन् । म पनि आर्ट फिल्म खेल्न रुचाउँछु । बलिउडका राम्रा कलाकार आमिर खान हुन्, उनीदेखि म धेरै प्रभावित छु ।  शाहरूख खान, नसरुद्दिन शाह, ओम पुरी, सुस्मिता पाटिल, रणवीर कपुर, नाना पाटेकर, रानी मुखर्जी, कंगना सेन आदि मलाई राम्रा र स्तरीय लाग्ने कलाकार हुन् ।
तपाईं नेपाली हिरोइनहरूको अभियनलाई कसरी लिनुहुन्छ ? कस्ता लाग्छन् उनीहरू ?
-नेपाली हिरोइनहरू निकै राम्रो अभिनय गर्छन् । अनि आफूलाई बाहिरी दुनियाँसँग 'अपडेट' पनि गरिरहेका हुन्छन् । यहाँ राम्रा निर्देशक नै छैनन् जसले हिरोइनलाई राम्रो अभिनय गराऊन् ।
आफ्नो फिल्मी सपना पूरा भयो त ?
-मलाई लाग्छ, हामी सधैँ सपनासँग मात्रै नजिक हुनुहुँदैन । सपना त एकपटक देखिन्छ, त्यो पूरा हुनैपर्छ भन्ने पनि छैन । खासमा मलाई सानोमा डाक्टर बन्छु भन्ने थियो । त्यो त पूरा भएन । र, मेरो केही अंश मात्रै सपना फिल्मसँग जोडिएको थियो । त्यो केही पूरा भयो र केही पूरा हुँदै छ ।
बिहे कहिले गर्नुहुन्छ ?
त्यो यकिन छैन । कहिले र कोसँग गर्छु ।
बलिउडका हिरोहहरूसँगै बिहे गर्न मन लागेन ?
म धेरै हिरोसँग निकै नजिकमै रहेर काम गरेँ । उनीहरूसँग भावनात्मक सम्बन्ध पनि रह्यो । कुनै समय म उनीहरूसँग आकषिर्त पनि भएँ हुँला । तर, उनीहरूसँगै बिहे गरौँ भन्ने कहिल्यै भएन ।
हिरोइन हुन नेपालमा गाह्रो कि भारतमा ?
खासमा हिरोइन हुन नेपाल, भारत दुवै ठाउँमा गाह्रो छ । हिरोइन भइसकेपछि आफू 'स्ट्रंग' हुनुपर्छ । फिल्ममा टिकिरहन पनि उत्तिकै गाह्रो छ । हिरोइनले आफूभित्र अन्तर्निहित क्षमता प्रदर्शन गर्नुपर्छ ।
हिरोइन हुन चाहिने खास गुण ?
हिरोइन हुन पहिलो सर्त त राम्री हुनैपर्छ । भारतमा पनि त्यस्तै हो । अर्को कुरा अभिनयमा पनि जम्नैपर्छ । अभिनय राम्रो नभएका, तर निर्देशकको 'पावर' मा मात्र आउने हिरोइन सधैँ टिक्दैनन् ।
तपाईंलाई राजनीतिक र आर्ट फिल्ममा खासै अफर आउँदैनन् ?
धेरै राजनीतिक फिल्ममा अफर आएका छन् । तर, मैले नै अस्वीकार गरेको हुँ । मैले दिलसे र बम्बेजस्ता केही राजनीतिक र आर्ट फिल्म पनि गरेको छु नि !
तपाइ्ंलाई मनपरेका नेपाली फिल्म कुन हुन् ?
मलाई पछिल्लो समय हेरेको 'कुसुमे रुमाल' निकै मनपर्‍यो । वसन्ती, क्याराभान र कागबेनी पनि मनपरेका फिल्म हुन् ।
आफू 'पब्लिक फिगर’ भएपछिको जीवनलाई कसरी हेर्नुहुन्छ ?
म पब्लिक जीवनमा खासै विश्वास गर्दिनँ । तर, म फिल्ममा आएपछि मलाई हेर्न चाहने र भेट्न चाहने धेरै भए । तर, मलाई कहिल्यै पनि पब्लिक फिगर भएको अनुभव भएन । मलाई एउटा घटना सम्झना छ, म धेरै व्यस्त थिएँ । कसैसँग बोल्न पनि फुर्सद थिएन । त्यसवेला मेरी एकजना बहिनीले मलाई धेरै घमण्डी भनेकी थिइन् । मैले त्यसवेला उनको धारणालाई गम्भीर भएर सोचेको थिएँ ।
संवादको भाषामा कुन बढी सजिलो लाग्छ ? हिन्दी कि नेपाली ?
-म पहिले पनि अंगेजी र हिन्दी भाषा राम्रै बोल्थेँ । त्यसैले सुरुमा केही अप्ठ्यारो भयो । पछि त सोच्न पनि हिन्दीमा सोच्न थालियो ।
हजुरबा बिपी कोइरालाको कुन-कुन किताब पढ्नुभएको छ ?
उहाँको दोषी चस्मा कथा र नरेन्द्रदाइ उपन्यास पढेकी छु ।
नाना पाटेकरसँग तपाईंको 'लभ’ को हल्ला खुब चलेको थियो । उनी कस्ता कलाकार लाग्छन् ?
त्यो पनि हल्ला मात्र हो । तर, उनीसँग म धेरैपटक डेटिङमा गएको थिएँ । नाना धेरै राम्रा कलाकार हुन् । तर, उनी केही फिल्ममा मात्र सीमित भए । उनी राम्रो 'आर्ट' हुन् भन्ने लाग्छ ।
बुबा प्रकाश कोइरालाको राजनीतिक विचलनबारे के प्रतिक्रिया दिनुहुन्छ ?
मेरो बुबाको स्वच्छ राजनीति हो । उहाँ शाहीकालमा मन्त्री हुँदैमा उहाँले ठूलो गल्ती गर्नुभयो भन्ने लाग्दैन । उहाँ शाहीमन्त्री भएर पनि बिपीको लाइन छाड्नुभएको छैन । बरु गिरिजाप्रसाद कोइरालाले उहिल्यै बिपीको विचार र चिन्तन छाडिसक्नुभयो ।
तपाइले नेपालमा पनि फिल्म निर्माण/निर्देशन गर्ने पहिल्यै घोषणा गर्नुभएको थियो ।
मेरो यो सपना अब केही समयमा पूरा पनि हुनेछ भन्ने मलाई लाग्छ । तर, मैले बनाएको फिल्म नितान्त फरक धारको हुनेछ ।
कस्तो फरक धार ?
त्यो म अहिल्यै भन्न चाहन्नँ । पछि थाहा हुनेछ ।

Subscribe to comments feed Comments (10 posted):

sk on 23/02/2010 09:13:20
avatar
Manisa ji

Dherai din pachi nepali filim duniya ma
aawoonu bho, ani filim pani DHARMA,
ani aru k hi darma karma pani garnus
sayad nepal ma nai katai Gharjam hun cha
ki ani Rajesh Dai ko pani ta biya ta bhaya ko chai na kayara.......?

JAY GURU DEV
Thumbs Up Thumbs Down
0
ban kaila on 16/02/2010 06:44:46
avatar
oooooooooooo,manisha d relly u tell me
Thumbs Up Thumbs Down
0
shuka nath bastola on 16/02/2010 01:08:59
avatar
manisha koirala is a good girls. I like manisha.
Thumbs Up Thumbs Down
0
bikram on 15/02/2010 23:58:51
avatar
india ma tapailai chance navayara nepal aaunu vako ta haina maile ta yastai feel garira6u
Thumbs Up Thumbs Down
0
sarala on 15/02/2010 17:17:39
avatar
yo manisha dd le pani bahir rahera jivan kate, kati bahira enjoy garnu hun6 ra ?budhi kanya hune bhoooooooooo
Thumbs Up Thumbs Down
0
gg on 15/02/2010 14:53:07
avatar
i love u
Thumbs Up Thumbs Down
0
Suman Wosti on 15/02/2010 13:09:58
avatar
Manisha Don't give bullshit with Nepalese people. it is crystal clear that you are searching reason to come back to Nepal because you are "super flop" in bollywood.
Thumbs Up Thumbs Down
-4
jhake kiraatee on 15/02/2010 11:20:43
avatar
ए मनिषा जी!
म तपाईलाई मन पराउंछु।म सित बिहे गर्नु हुन्छ?म बस्छु ताप्लेजुंगको हांगपांगमा।कति फिलिम कै बारेमा सोच्नु हुन्छ हाउ?उमेरले चिलिम खाला है!बेलैमा यो सुब्बाको कुरा सुन्नुहोस्!
Thumbs Up Thumbs Down
-6
dipen on 15/02/2010 08:08:05
avatar
hoina ko ho yo kati .....
Thumbs Up Thumbs Down
-1
tek bahadur gurung on 15/02/2010 07:53:05
avatar
if u realy think,in kollywood have no skill full director then please try to be a good director
Thumbs Up Thumbs Down
2
total: 10 | displaying: 1 - 10

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
4.25
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?