गंगालालमा जँचाउने तयारीमा हुनुहुन्थ्यो जमिम सर ः चालक मथुरा
चालक मथुरामानको सम्झनामा जमिम पछिल्लो एक वर्ष ः एक वर्षदेखि सर -जमिम) को निजी गाडी चलाउन थालेको हुँ । यहीबीचमा उहाँलाई हर्टएट्याक भयो, यसअघि पनि एकपटक भइसकेको रहेछ । पछिल्लो एक महिना ः एक महिनादेखि उहाँ बानेश्वरको अफिस, दरबारमार्गको अन्नपूर्ण र याक एन्ड यती होटेल मात्रै जानुहुन्थ्यो । पछिल्लो एक साता ः कानुनी कुरा होला, वकिललाई भेट्नुभएको थियो । त्यस्तै, कार्यालय र होटलबाहेक अन्त जानुभएन । पछिल्लो एक दिन ः घोप्टो परेर नमाज पढ्दा मुटु दुख्यो भनेर बुबासँग भन्दै हुनुहुन्थ्यो, बुबाले सीधा भएर पढ्न सल्लाह दिनुभएको थियो । पछिल्लो एक घन्टा ः सरलाई याक एन्ड यती होटलमा छाडेर बुबा र भाइ मसुदलाई मैले बैंक हुँदै बागबजारको घर पुर्याएँ, होटल फर्किएर जमिम सरलाई घर लग्दै थिएँ । पछिल्लो एक मिनेट ः लाजिम्पाट पुग्दा एकदमै जाम थियो, अचानक ड्याङ-ड्याङ आवाज आयो । जमिम सरलाई गोली लागेछ, तर उहाँ केही बोल्नुभएन । पछिल्लो एक सेकेन्ड ः मलाई गोली लागेपछि होस उडेजस्तै भयो, उतापट्ट िसिटमा जमिम सरको अनुहार देखेजस्तो लाग्छ, धमिलो तस्बिरजस्तै । तर, ठम्याउन सकिनँ ।
काठमाडौं, २७ माघ : कञ्चट र मुटुमा गोली हानी मारिएका मिडिया उद्यमी जमिम शाह पहिले पनि मुटुरोगी भएको खुलेको छ । चालक मथुरामानका अनुसार जमिमलाई दुईपटक 'हर्टएट्याक' भइसकेको थियो । याक एन्ड यती होटलबाट र्फकंदा पनि मुटुरोगबारे जमिमले चालक मथुरासँग कुरा गरेका थिए । 'एकपटक गंगालालमा चेकअप गराउनुपर्यो,' उनले भनेका थिए । तर, उनी गंगालाल जान पाएनन्, शिक्षण अस्पताल पुर्याइए । त्यतिन्जेल मुटुमा गोली लागेर उनको मृत्यु भइसकेको थियो । मैले जमिम सरलाई चिनेको च्यानल नेपालमा हो । ०५८ सालदेखि मैले च्यानल नेपालको गाडी चलाउन थालेको हुँ । स्टाफ पुर्याउने, अफिसका मालसामान ओसारपसार गर्ने काम गर्थें म । तर, एक वर्षअघि जमिम सरले मलाई आफ्नै गाडी चलाउन भन्नुभयो । मैले खुसीसाथ उहाँको गाडी चलाउन थालेको हुँ । एक वर्ष मैले जमिम सरको निजी गाडी चलाएँ । यसबीचमा काठमाडौंबाहिर म कहिल्यै जानुपरेन । उहाँ पनि काठमाडौंबाहिर गएको मलाई याद छैन । पछिल्लो एक महिनामा त उहाँको दैनिकी बानेश्वरदेखि महाराजगञ्ज, पानीपोखरी ओहोरदोहोर गरेरै बित्यो । उहाँ च्यानल नेपालको नयाँ बानेश्वर कार्यालय गइरहनुहुन्थ्यो, दरबारमार्गको अन्नपूर्ण र याक एन्ड यती होटेलमा पनि गइरहनुहुन्थ्यो । अरूको घरमा भने प्रायः जानुहुन्नथ्यो । कहिलेकहीँ वकिलको घरमा जानुहुन्थ्यो । नाम सम्झना भएन, उहाँको थरचाहिँ ओली हो, उहाँको कार्यालय बागबजारमा छ । उहाँ नियमित नमाज पढ्नुहुन्थ्यो । आफ्नो धर्म -इस्लाम) प्रति उहाँलाई निकै आस्था थियो । अन्नपूर्ण र याक एन्ड यती होटलमा उहाँ खाजा खान, नुहाइधुवाइ तथा एक्ससरसाइज गर्न जानुहुन्थ्यो । होटलमा उहाँ आफ्ना साथीभाइ पनि भेट्नुहुन्थ्यो । कहिले महिनामा २/४ चोटि जानुहुन्थ्यो, घरमा पानी नहुँदा । उहाँले धेरैजसो खाजा पनि घरमै खानुहुन्थ्यो । उहाँले सबैभन्दा बढी भेट्ने साथी वसन्त भट्टराई हुन् । कहिलेकहीँ बहादुरकृष्ण ताम्राकारसँग पनि भेट्नुहुन्थ्यो । खाजा खान याक एन्ड यती वा अन्नपूर्णबाहेक उहाँ बाहिर गएको पनि मलाई थाहा छैन । यस्तो आक्रमण होला भन्ने उहाँलाई कल्पनासमेत थिएन, मलाई त त्यस्तै लाग्छ । उहाँलाई अन्दाज भएको भए बाटोमा गाडी कहिले यो बाटो लग, कहिले ऊ बाटो भन्नुहुन्थ्यो होला । तर, हामी सधैँ एउटै बाटोबाट हिँड्यौँ । फेरि उहाँको खानपिन, हिँडडुलको बाटो र समयमा कुनै परिवर्तन आएको थिएन, त्यसैले मेरो अनुमान छ- उहाँले त्यस्तो कुनै संकेत पाउनुभएको थिएन । सामाखुसीमा मेरो घर छ । सधैँजसो बिहान १० बजे म जमिम सरको घर पानीपोखरी जान्थेँ । म हिँडेरै जान्थेँ । दिनभर उहाँको काम हुने ठाउँमा पुर्याएर घर ल्याउँथेेँ । साँझ ६ देखि सात बजेभित्र हामी उहाँको घर पुग्थ्यौँ । सातभन्दा ढिलो कहिल्यै हुन्थेन । बिहान पनि १० बजेभन्दा अघि एक-दुईपटक मात्र गएको छु । अपर्झट परेर बोलाएको एक-दुईपटक मात्र होला । त्यो दिन -आइतबार) पनि म १० बजे नै -जमिम) सरको घर पुगेको थिएँ । पिता र कान्छा भाइ -मसुद) सँग जमिम सर कुरा गर्दै हुनुहुन्थ्यो । जमिम सर अहिले ४७ वर्षको हुनुहुन्थ्यो, उहाँलाई दुईपटक हर्टएट्याक भइसकेको थियो, पछिल्लोपटक त केही महिनाअघि मात्र । एकपटक नर्भिक र अर्कोपटक गंगालाल अस्पतालमा उपचार भएको हो । पछिल्ला केही दिनदेखि उहाँलाई फेरि मुटु दुख्न थालेको थियो । कुराकानीमा उहाँ बुबासँग भन्दै हुनुहुन्थ्यो, 'म कोल्टे परेर नमाज पढ्न सक्दिनँ ।' मुटु दुख्छ भने किन घोप्टो परेर पढ्छस् त ? सीधा बसेर पढ् न त भनेर बुबाले सल्लाह दिँदै हुनुहुन्थ्यो । उहाँहरूले कुरा गरुन्जेल मैले गाडी सफा गरँे । हामी घरबाट निस्कँदा १२ बजिसकेको थियो । जमिम सरको बुबा अगाडिको सिटमा तथा मसुद र जमिम सर पछाडि बस्नुभएको थियो । हामीले सरलाई याक एन्ड यती होटेलमा छाड्यौँ । त्यसपछि मैले सरका पिता र भाइलाई कान्तिपथमा पुर्याएँ । नबिल बैंकमा उहाँहरूको काम रहेछ । पैसा निकाल्ने हो कि राख्ने हो, वा अरू केही काम हो मलाई थाहा भएन । आधा घन्टामा उहाँहरू र्फकनुभयो । हामी फेरि पुतलीसडकमा रहेको वाणिज्य बंैकमा पुग्यौँ । त्यहाँ पनि त्यस्तै आधा घन्टा लाग्यो होला । त्यसपछि हामी बागबजार गयौँ । उहाँहरू दुवै घर -बागबजारस्थित) मा बस्नुभयो । त्यस्तै पौने दुई बजेको थियो होला । अब तिमी जाऊ भनेर उहाँहरूले भन्नुभयो । म गाडी लिएर याक एन्ड यती होटल गएँ । त्यस्तै १० मिनेटपछि -होटलबाट) सर निस्कनुभयो । सधैँ लिने रातो ब्याग उहाँको हातमा थियो । कहाँ जाने सर भनेर मैले सोधँे । उहाँले घर जाने हो, सीधै घरमा लैजा भन्नुभो । हामी पानीपोखरीतिर गुड्यौँ । दरबारमार्गमा खासै जाम थिएन । लाजिम्पाट पुगेपछि जाम सुरु भयो । सर अगाडिको सिटमा बस्नुभयो, मेरो बायाँतिर । उहाँको साइडको झ्याल खुलै थियो । म गाडी चलाइरहेको थिएँ । उहाँ गाडीमा प्रायः धेरै कुरा गर्नुहुन्नथ्यो । तर पनि मैले बिहान सुनेको आधारमा भनेँ, 'सर हजुरलाई मुटु दुख्न थालेछ, फेरि एकपटक चेक गराउने हो कि ?' उहाँले भन्नुभयो, 'अँ, अब एक-दुई दिनमा गंगालालमा गएर चेकअप गराउनुपर्ला ।' हामीबीच यसभन्दा धेरै कुरा भएन । लाजिम्पाटमा पुग्दा अलि धेरै जाम भएकाले गाडी रोकियो । हामीलाई कसैले 'फलो' गरेको रहेछ । जाम भएको मौकामा उनीहरूले हामीलाई 'ओभरटेक' पनि गरेछन् । तर, त्यस्तो जाममा कसलाई हामीले ओभरटेक गर्यौँ, कसले हामीलाई ओभरटेक गर्यो हेक्का राख्ने कुरै भएन । हामीलाई यस्तो दुर्घटनाको त शंकै थिएन । प|mान्सको दूतावासनजिकै हामी करिब सात मिनेट रोकियौँ, जामले गाडी पूरै रोकिएका थिए । अगाडि-पछाडि गाडी थिए । त्यहीबीचमा एक्कासि आवाज आयो, ड्याङ । आक्रमण गर्ने मान्छे मोटरसाइकलमा थियो, अगाडिबाट हान्यो भन्ने पछिमात्र थाहा भयो । मैले त केही पनि देखिनँ । आवाजमात्र आयो । यस्तो आवाज गोलीको हो भन्ने पनि लागेन सुरुमा त । जमिम सरलाई -कञ्चटमा) गोली लागेछ, उहाँ केही पनि बोल्नुभएन । पछि उहाँलाई अर्को गोली लागेछ, तर पनि केही बोल्नुभएन । मैले पनि के हुँदै छ भन्ने मेसो नै पाइनँ । त्यत्तिकैमा मलाई पनि गोली लाग्यो । ऐया ऐया भन्दै कराएर म गाडीबाट बाहिर निस्किएँ । म बाहिर निस्किएपछि गाडीभित्र सर चुपचाप बसेजस्तो मात्र देखेको थिएँ, तर ठम्याउन सकिनँ । मलाई त्यहाँका मान्छेले सडकपेटीमा ल्याए । गोली लागेछ भन्दै हल्ला गर्न थाले । मलाई ट्याक्सीमा राखेर अस्पतालमा ल्याइयो । अस्पताल आउँदासम्म म होसमै थिएँ । तर, मैले सरको बारेमा केही पनि थाहा पाइनँ । गोली यति छिटो चल्यो, कसले कताबाट चलायो भन्ने भेउसमेत पाइनँ । उहाँलाई कति गोली लाग्यो, कस्तो अवस्थामा हुनुहुन्छ भन्ने पनि थाहा पाइनँ । गाडी जाम भएकाले पछाडितिर ध्यान भएन, अगाडि गाडी नै गाडी थिए, त्यही मौकामा आक्रमण भएछ । संयोग पनि कस्तो ? जमिम सरले मुटु दुख्यो भनिरहनुभएको थियो, तर मुटुमै गोली लागेछ । हुने हुनामी त जसरी पनि हुन्थ्यो । तर म अहिले सोच्दै छु, त्यो दिन जमिम सर पछाडिको सिटमा बस्नुभएको भए गोली सीधै लाग्दैनथ्यो कि । अगाडि बसे पनि सिसा बन्द गरेको भए पनि ज्यान बच्थ्यो कि । -शिक्षण अस्पतालमा उपचार गराइरहेका चालक मथुरामान मालाकारसँगको कुराकानीमा आधारित, मालाकार ६० वर्षका छन्)



del.icio.us
Digg
राज सिलवाल
टेक्शस , अमेरिका
Post your comment