Newsletter
Email:
Home | कभरस्टोरी | गंगालालमा जँचाउने तयारीमा हुनुहुन्थ्यो जमिम सर ः चालक मथुरा

गंगालालमा जँचाउने तयारीमा हुनुहुन्थ्यो जमिम सर ः चालक मथुरा

Font size: Decrease font Enlarge font
image

चालक मथुरामानको सम्झनामा जमिम

पछिल्लो एक वर्ष ः एक वर्षदेखि सर -जमिम) को निजी गाडी चलाउन थालेको हुँ । यहीबीचमा उहाँलाई हर्टएट्याक भयो, यसअघि पनि एकपटक भइसकेको रहेछ ।

पछिल्लो एक महिना ः एक महिनादेखि उहाँ बानेश्वरको अफिस, दरबारमार्गको अन्नपूर्ण र याक एन्ड यती होटेल मात्रै जानुहुन्थ्यो ।

पछिल्लो एक साता ः कानुनी कुरा होला, वकिललाई भेट्नुभएको थियो । त्यस्तै, कार्यालय र होटलबाहेक अन्त जानुभएन ।

पछिल्लो एक दिन ः घोप्टो परेर नमाज पढ्दा मुटु दुख्यो भनेर बुबासँग भन्दै हुनुहुन्थ्यो, बुबाले सीधा भएर पढ्न सल्लाह दिनुभएको थियो ।

पछिल्लो एक घन्टा ः सरलाई याक एन्ड यती होटलमा छाडेर बुबा र भाइ मसुदलाई मैले बैंक हुँदै बागबजारको घर पुर्‍याएँ, होटल फर्किएर जमिम सरलाई घर लग्दै थिएँ ।

पछिल्लो एक मिनेट ः लाजिम्पाट पुग्दा एकदमै जाम थियो, अचानक ड्याङ-ड्याङ आवाज आयो । जमिम सरलाई गोली लागेछ, तर उहाँ केही बोल्नुभएन ।

पछिल्लो एक सेकेन्ड ः मलाई गोली लागेपछि होस उडेजस्तै भयो, उतापट्ट िसिटमा जमिम सरको अनुहार देखेजस्तो लाग्छ, धमिलो तस्बिरजस्तै । तर, ठम्याउन सकिनँ ।

काठमाडौं, २७ माघ  : कञ्चट र मुटुमा गोली हानी मारिएका मिडिया उद्यमी जमिम शाह पहिले पनि मुटुरोगी भएको खुलेको छ । चालक मथुरामानका अनुसार जमिमलाई दुईपटक 'हर्टएट्याक' भइसकेको थियो ।

याक एन्ड यती होटलबाट र्फकंदा पनि मुटुरोगबारे जमिमले चालक मथुरासँग कुरा गरेका थिए । 'एकपटक गंगालालमा चेकअप गराउनुपर्‍यो,' उनले भनेका थिए । तर, उनी गंगालाल जान पाएनन्, शिक्षण अस्पताल पुर्‍याइए । त्यतिन्जेल मुटुमा गोली लागेर उनको मृत्यु भइसकेको थियो ।

मैले जमिम सरलाई चिनेको च्यानल नेपालमा हो । ०५८ सालदेखि मैले च्यानल नेपालको गाडी चलाउन थालेको हुँ । स्टाफ पुर्‍याउने, अफिसका मालसामान ओसारपसार गर्ने काम गर्थें म । तर, एक वर्षअघि जमिम सरले मलाई आफ्नै गाडी चलाउन भन्नुभयो । मैले खुसीसाथ उहाँको गाडी चलाउन थालेको हुँ ।

एक वर्ष मैले जमिम सरको निजी गाडी चलाएँ । यसबीचमा काठमाडौंबाहिर म कहिल्यै जानुपरेन । उहाँ पनि काठमाडौंबाहिर गएको मलाई याद छैन ।

पछिल्लो एक महिनामा त उहाँको दैनिकी बानेश्वरदेखि महाराजगञ्ज, पानीपोखरी ओहोरदोहोर गरेरै बित्यो । उहाँ च्यानल नेपालको नयाँ बानेश्वर कार्यालय गइरहनुहुन्थ्यो, दरबारमार्गको अन्नपूर्ण र याक एन्ड यती होटेलमा पनि गइरहनुहुन्थ्यो । अरूको घरमा भने प्रायः जानुहुन्नथ्यो ।

कहिलेकहीँ वकिलको घरमा जानुहुन्थ्यो । नाम सम्झना भएन, उहाँको थरचाहिँ ओली हो, उहाँको कार्यालय बागबजारमा छ ।

उहाँ नियमित नमाज पढ्नुहुन्थ्यो । आफ्नो धर्म -इस्लाम) प्रति उहाँलाई निकै आस्था थियो ।

अन्नपूर्ण र याक एन्ड यती होटलमा उहाँ खाजा खान, नुहाइधुवाइ तथा एक्ससरसाइज गर्न जानुहुन्थ्यो । होटलमा उहाँ आफ्ना साथीभाइ पनि भेट्नुहुन्थ्यो । कहिले महिनामा २/४ चोटि जानुहुन्थ्यो, घरमा पानी नहुँदा । उहाँले धेरैजसो खाजा पनि घरमै खानुहुन्थ्यो । उहाँले सबैभन्दा बढी भेट्ने साथी वसन्त भट्टराई हुन् । कहिलेकहीँ बहादुरकृष्ण ताम्राकारसँग पनि भेट्नुहुन्थ्यो । खाजा खान याक एन्ड यती वा अन्नपूर्णबाहेक उहाँ बाहिर गएको पनि मलाई थाहा छैन ।

यस्तो आक्रमण होला भन्ने उहाँलाई कल्पनासमेत थिएन, मलाई त त्यस्तै लाग्छ । उहाँलाई अन्दाज भएको भए बाटोमा गाडी कहिले यो बाटो लग, कहिले ऊ बाटो भन्नुहुन्थ्यो होला । तर, हामी सधैँ एउटै बाटोबाट हिँड्यौँ । फेरि उहाँको खानपिन, हिँडडुलको बाटो र समयमा कुनै परिवर्तन आएको थिएन, त्यसैले मेरो अनुमान छ- उहाँले त्यस्तो कुनै संकेत पाउनुभएको थिएन ।

सामाखुसीमा मेरो घर छ । सधैँजसो बिहान १० बजे म जमिम सरको घर पानीपोखरी जान्थेँ । म हिँडेरै जान्थेँ । दिनभर उहाँको काम हुने ठाउँमा पुर्‍याएर घर ल्याउँथेेँ । साँझ ६ देखि सात बजेभित्र हामी उहाँको घर पुग्थ्यौँ । सातभन्दा ढिलो कहिल्यै हुन्थेन । बिहान पनि १० बजेभन्दा अघि एक-दुईपटक मात्र गएको छु । अपर्झट परेर बोलाएको एक-दुईपटक मात्र होला ।

त्यो दिन -आइतबार) पनि म १० बजे नै -जमिम) सरको घर पुगेको थिएँ । पिता र कान्छा भाइ -मसुद) सँग जमिम सर कुरा गर्दै हुनुहुन्थ्यो ।

जमिम सर अहिले ४७ वर्षको हुनुहुन्थ्यो, उहाँलाई दुईपटक हर्टएट्याक भइसकेको थियो, पछिल्लोपटक त केही महिनाअघि मात्र । एकपटक नर्भिक र अर्कोपटक गंगालाल अस्पतालमा उपचार भएको हो ।

पछिल्ला केही दिनदेखि उहाँलाई फेरि मुटु दुख्न थालेको थियो । कुराकानीमा उहाँ बुबासँग भन्दै हुनुहुन्थ्यो, 'म कोल्टे परेर नमाज पढ्न सक्दिनँ ।' मुटु दुख्छ भने किन घोप्टो परेर पढ्छस् त ? सीधा बसेर पढ् न त भनेर बुबाले सल्लाह दिँदै हुनुहुन्थ्यो । उहाँहरूले कुरा गरुन्जेल मैले गाडी सफा गरँे ।

हामी घरबाट निस्कँदा १२ बजिसकेको थियो । जमिम सरको बुबा अगाडिको सिटमा तथा मसुद र जमिम सर पछाडि बस्नुभएको थियो । हामीले सरलाई याक एन्ड यती होटेलमा छाड्यौँ । त्यसपछि मैले सरका पिता र भाइलाई कान्तिपथमा पुर्‍याएँ । नबिल बैंकमा उहाँहरूको काम रहेछ । पैसा निकाल्ने हो कि राख्ने हो, वा अरू केही काम हो मलाई थाहा भएन ।

आधा घन्टामा उहाँहरू र्फकनुभयो । हामी फेरि पुतलीसडकमा रहेको वाणिज्य बंैकमा पुग्यौँ । त्यहाँ पनि त्यस्तै आधा घन्टा लाग्यो होला । त्यसपछि हामी बागबजार गयौँ । उहाँहरू दुवै घर -बागबजारस्थित) मा बस्नुभयो । त्यस्तै पौने दुई बजेको थियो होला । अब तिमी जाऊ भनेर उहाँहरूले भन्नुभयो । म गाडी लिएर याक एन्ड यती होटल गएँ ।

त्यस्तै १० मिनेटपछि -होटलबाट) सर निस्कनुभयो । सधैँ लिने रातो ब्याग उहाँको हातमा थियो । कहाँ जाने सर भनेर मैले सोधँे । उहाँले घर जाने हो, सीधै घरमा लैजा भन्नुभो । हामी पानीपोखरीतिर गुड्यौँ ।

दरबारमार्गमा खासै जाम थिएन । लाजिम्पाट पुगेपछि जाम सुरु भयो । सर अगाडिको सिटमा बस्नुभयो, मेरो बायाँतिर । उहाँको साइडको झ्याल खुलै थियो ।

म गाडी चलाइरहेको थिएँ । उहाँ गाडीमा प्रायः धेरै कुरा गर्नुहुन्नथ्यो । तर पनि मैले बिहान सुनेको आधारमा भनेँ, 'सर हजुरलाई मुटु दुख्न थालेछ, फेरि एकपटक चेक गराउने हो कि ?' उहाँले भन्नुभयो, 'अँ, अब एक-दुई दिनमा गंगालालमा गएर चेकअप गराउनुपर्ला ।' हामीबीच यसभन्दा धेरै कुरा भएन ।

लाजिम्पाटमा पुग्दा अलि धेरै जाम भएकाले गाडी रोकियो । हामीलाई कसैले 'फलो' गरेको रहेछ । जाम भएको मौकामा उनीहरूले हामीलाई 'ओभरटेक' पनि गरेछन् । तर, त्यस्तो जाममा कसलाई हामीले ओभरटेक गर्‍यौँ, कसले हामीलाई ओभरटेक गर्‍यो हेक्का राख्ने कुरै भएन । हामीलाई यस्तो दुर्घटनाको त शंकै थिएन ।

|mान्सको दूतावासनजिकै हामी करिब सात मिनेट रोकियौँ, जामले गाडी पूरै रोकिएका थिए । अगाडि-पछाडि गाडी थिए । त्यहीबीचमा एक्कासि आवाज आयो, ड्याङ ।

आक्रमण गर्ने मान्छे मोटरसाइकलमा थियो, अगाडिबाट हान्यो भन्ने पछिमात्र थाहा भयो । मैले त केही पनि देखिनँ । आवाजमात्र आयो । यस्तो आवाज गोलीको हो भन्ने पनि लागेन सुरुमा त ।

जमिम सरलाई -कञ्चटमा) गोली लागेछ, उहाँ केही पनि बोल्नुभएन । पछि उहाँलाई अर्को गोली लागेछ, तर पनि केही बोल्नुभएन । मैले पनि के हुँदै छ भन्ने मेसो नै पाइनँ । त्यत्तिकैमा मलाई पनि गोली लाग्यो । ऐया ऐया भन्दै कराएर म गाडीबाट बाहिर निस्किएँ ।

म बाहिर निस्किएपछि गाडीभित्र सर चुपचाप बसेजस्तो मात्र देखेको थिएँ, तर ठम्याउन सकिनँ । मलाई त्यहाँका मान्छेले सडकपेटीमा ल्याए । गोली लागेछ भन्दै हल्ला गर्न थाले । मलाई ट्याक्सीमा राखेर अस्पतालमा ल्याइयो ।

अस्पताल आउँदासम्म म होसमै थिएँ । तर, मैले सरको बारेमा केही पनि थाहा पाइनँ । गोली यति छिटो चल्यो, कसले कताबाट चलायो भन्ने भेउसमेत पाइनँ । उहाँलाई कति गोली लाग्यो, कस्तो अवस्थामा हुनुहुन्छ भन्ने पनि थाहा पाइनँ । गाडी जाम भएकाले पछाडितिर ध्यान भएन, अगाडि गाडी नै गाडी थिए, त्यही मौकामा आक्रमण भएछ । संयोग पनि कस्तो ? जमिम सरले मुटु दुख्यो भनिरहनुभएको थियो, तर मुटुमै गोली लागेछ ।

हुने हुनामी त जसरी पनि हुन्थ्यो । तर म अहिले सोच्दै छु, त्यो दिन जमिम सर पछाडिको सिटमा बस्नुभएको भए गोली सीधै लाग्दैनथ्यो कि । अगाडि बसे पनि सिसा बन्द गरेको भए पनि ज्यान बच्थ्यो कि ।

-शिक्षण अस्पतालमा उपचार गराइरहेका चालक मथुरामान मालाकारसँगको कुराकानीमा आधारित, मालाकार ६० वर्षका छन्)

Subscribe to comments feed Comments (6 posted):

hgj on 12/02/2010 07:03:12
avatar
nirdosh manchhe mare aaparadhile.tiniharuko pani kahilai bhalo nahos.Jamim prati mero pani hardik shraddhanjali ra unko paribar prati samabedana
Thumbs Up Thumbs Down
0
राज सिलवाल on 12/02/2010 05:30:07
avatar
बिग्राया मान्छे को भत्काय घर भन्या जस्तो बिग्रियाको देशमा राम्रो मान्छे त कैल्य टिक्न सकछ र ? जहा जस्तो भय पनि उहा को परिवार पर्ति हार्दिक सम्भेदाना प्रकट गर्न चाहन्छु र दोषी लाई छिटो भन्दा छेतो कर्भई गर्न नाम्पुशक सरकार संग अनुरोध गर्छु /
राज सिलवाल
टेक्शस , अमेरिका
Thumbs Up Thumbs Down
1
nar on 12/02/2010 04:23:17
avatar
yo desko sarkarnai baisakhiko bharma chaleko chha tyo baisakhi bhane ko india ho yo sarkarlai aafno aayu lambaunu bahek aru tira sochne time chhaina rajdhani ko mutuma dindahadai manchheko jyan gai raheko chha but yo sarkarko chhor mantri haru still bhandai chha yo sarkar santi surachha parti sambedan sill chha laj lagdaina janta bhokai mareka chhan neta chai bhasan bharaman mai besta chha
Thumbs Up Thumbs Down
0
on 12/02/2010 01:07:42
avatar
jamim india birodi ho rey ,oe bhatmara indian haru sampurna nepalinai india birodhi hun ka kaslai marchas ?
Thumbs Up Thumbs Down
0
Suman Adhikari on 11/02/2010 15:15:59
avatar
nirdosh manchhe mare aaparadhile.tiniharuko pani kahilai bhalo nahos.Jamim prati mero pani hardik shraddhanjali ra unko paribar prati samabedana.
Thumbs Up Thumbs Down
-1
suman on 11/02/2010 15:05:33
avatar
nirdos manchhe mare aaparadhile.tiniharuko kahilai bhalo nahos.Jamim ra unko paribar prati mero pani hardik samabedana.
Thumbs Up Thumbs Down
-1
total: 6 | displaying: 1 - 6

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?