अयोग्य लडाकुको बिदाइ सकियो
दहवन -रोल्पा), २५ माघ : राष्ट्रसंघको प्रमाणीकरणमा अयोग्य ठहरिएका माओवादी सेनाका लडाकुको औपचारिक बिदाइ सकिएको छ । सिन्धुलीको दुधौलीस्थित दोस्रो डिभिजनबाट २३ पुसमा सुरु भएको लडाकु बिदाइ कार्यक्रम पाँचौँ डिभिजन रोल्पामा पुगेर सोमबार सकिएको हो । प्रमाणीकरणमा अयोग्य ठहराइएका चार हजार आठ लडाकुमध्ये दुई हजार तीन सय ९४ लडाकुमात्र औपचारिक बिदाइमा सहभागी भएका छन् । एक हजार सात सय १४ लडाकु भने औपचारिक बिदाइमा सहभागी भएनन् । सरकारले बेवास्ता गरेको भन्दै उनीहरू पहिले नै शिविरबाट बाहिरिएका थिए । सात मुख्य र २१ सहायक शिविरमा अनमिनको प्रमाणीकरणमा अयोग्य ठहरिएका चार हजार आठ लडाकु थिए । प्रमाणीकरणमा अनमिनले १८ वर्ष नपुगेको र युद्धविरामपछि भर्ती भएको आधारमा लडाकुलाई अयोग्य ठहर्याएको थियो । अयोग्यमध्ये दुई हजार नौ सय ७४ जनालाई बालबालिका र एक हजार ३५ जना युद्धविरामपछि भर्ना गरिएको भन्दै अनमिनले प्रमाणीकरण गरेको थियो । रोल्पाको दहवनस्थित पाँचौँ डिभिजन मुख्यालयमा सोमबार भएको बिदाइमा दुई सय ६८ लडाकु सहभागी भए । राष्ट्रसंघले आफ्नो प्रमाणीकरणमा पाँचौँ डिभिजनअन्तर्गतका मुख्य र सहायक शिविरमा गरी चार सय ५० जनालाई अयोग्य ठहराएको थियो । बिदाइ कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड, अनमिन प्रमुख करिन ल्यानग्रेनसहित राष्ट्रसंघीय सुरक्षा परिषद्का पाँच राष्ट्रका राजदूत तथा प्रतिनिधि, जनसेनाका कमान्डर पासाङ र डेपुटी कमान्डर बलदेवलगायत सहभागी थिए । बिदाइपछि लडाकुहरू राष्ट्रसंघले दिएको १० हजार र जनसेनाले दिएको १२ हजार नगदसहित आ-आफ्नो घरतिर लागेका छन् । अयोग्य लडाकुको पुनस्र्थापनका लागि दाताहरूले उपलब्ध गराएको ८० करोड रुपैयाँ शान्ति मन्त्रालयअन्तर्गतको शान्तिकोषमा छ । शान्तिकोषमा डेनमार्क, नर्वे, स्विट्जरल्यान्ड, बेलायत, जर्मनी र फिनल्यान्डले सहयोग गरेका छन् । राष्ट्रसंघीय महासचिवका विशेष प्रतिनिधि राधिका कुमारास्वामी, माओवादी अध्यक्ष प्रचण्ड र शान्तिमन्त्री रकम चेम्जोङ साक्षी बसेर १ पुसमा गरेको सम्झौतामा पुस १२ देखि सुरु गरी ४० दिनभित्र अयोग्य लडाकुको बहिर्गमन गराइसक्ने उल्लेख छ । त्यसलगत्तै संयुक्त राष्ट्रसंघको नेतृत्वमा सन् २००७ मा सम्पन्न प्रमाणीकरण प्रक्रियामा योग्य नठहरिएका लडाकुलाई घर पठाउन थालिएको थियो । नेपाल-भ्रमणमा रहेकी राष्ट्रसंघीय महासचिव वान की मुनकी बालबालिका तथा सशस्त्र द्वन्द्वसम्बन्धी विशेेष प्रतिनिधि राधिका कुमारास्वामीको रोहवरमा सरकारका तर्फबाट शान्ति मन्त्रालयका सहसचिव साधुराम सापकोटा, जनसेनाका तर्फबाट बि्रगेड कमान्डर सरल सहयात्री, युनिसेफका तर्फबाट जुलियन मेलोसोप र राष्ट्रसंघका आवासीय प्रतिनिधि रोबर्ट पाइपरले १ पुसमा कार्ययोजनामा हस्ताक्षर गरेका थिए । माओवादी, सरकार र राष्ट्रसंघबीच भएको कार्ययोजनामा लडाकुले चाहेमा केही सीपमूलक तालिम लिन सक्ने व्यवस्था गरिएको छ । तर, सामान्यखालका तालिम मात्र प्याकेजमा ल्याइएको भन्दै अधिकांश लडाकुले यस्तो तालिम नलिने बताउँदै आएका छन् । हामी लडाइँ जित्दै छौँ : प्रचण्ड माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अयोग्य लडाकुको बहिर्गमनलाई शान्ति मोर्चाको लडाइँको संज्ञा दिँदै आफूहरूले जितेको बताएका छन् । अयोग्य लडाकु बिदाइ कार्यक्रममा बोल्दै प्रचण्डले भने, 'नेपाली जनताले चाहेजस्तो गरी शान्ति प्रक्रिया निष्कर्षमा पुगोस् भनेर हामीले शान्तिको मोर्चाको लडाइँ सुरु गरेका थियौँ । शान्ति मोर्चाको एउटा लडाइँ हामी जित्दै छौँ ।' देशमा शान्ति र संविधानविरोधी शक्ति षड्यन्त्रमा लागेपछि आफूहरूले एकपक्षीय रूपमा लडाकुलाई बाहिर निकाल्ने निर्णय गरेको प्रचण्डले बताए । उनले लडाकुलाई जिम्मेवार हुन पनि आग्रह गरे । 'शान्तिको मोर्चामा पनि नेपाली जनतालाई जिताउने कुरामा तपाईहरूको भूमिका घट्नेछैन ।' उनले भने, 'इतिहासले योग्य र अयोग्य फैसला गर्नेछ ।' कार्यक्रममा अनमिन प्रमुख करिन ल्यानग्रेनले बहिर्गमन प्रक्रियाको समापन नेपालको शान्ति प्रक्रियाको लागि सकारात्मक कदम भएको बताइन् । उनले भनिन्, 'यस्तो समयमा सबै पार्टीबीच विश्वसनीय वातावरण बन्नु सबैभन्दा महत्त्वपूर्ण छ ।' सूचीबाट हटाउन सकिने अयोग्य लडाकुको बिदाइको समाप्तिसँगै अनमिन प्रमुख ल्यानग्रेनले माओवादीलाई द्वन्द्वमा बालबालिका भर्ती र प्रयोग गर्ने पक्षहरूको सूचीबाट हटाउन सकिने बताएकी छिन् । उनका अनुसार सरकार, माओवादी र राष्ट्रसंघबीच भएको लडाकु बहिर्गमन कार्ययोजनालाई राष्ट्रसंघीय टोलीको अनुगमनपछि सूचीबाट हटाउन सकिनेछ । बिदाइ कार्यक्रममा ल्यानग्रेनले भनिन्, 'कार्ययोजना माओवादीले पूर्णरूपले पालना गरेको पुष्टि भएमा महासचिवको वाषिर्क प्रतिवेदनमा द्वन्द्वमा बालबालिका भर्ती र प्रयोग गर्ने पक्षहरूको सूचीबाट माओवादीलाई हटाउन सकिनेछ ।'
कहाँबाट कति बिदा भए ?
इलामको चुलाचुलीस्थित पहिलो डिभिजन र मातहतका तीन सहायक शिविर -११ माघ) अयोग्य लडाकु : ८७८ औपचारिक बिदामा सहभागी : ४७५ बिदाइअघि नै घर लागेका : ४०३
दोस्रोे डिभिजन (२३ पुस) अयोग्य लडाकु : ३७२ औपचारिक बिदामा सहभागी : २०१ बिदाइअघि नै घर लागेका : १७१
तेस्रो डिभिजन, शक्तिखोर र अन्तर्गतका शिविर -३ माघ) अयोग्य लडाकु : ५८७ औपचारिक बिदामा सहभागी : २५८ बिदाइअघि नै घर लागेका : ३२९
चौथो डिभिजन,
झ्याल्टुङडाँडा ( ७ माघ) अयोग्य लडाकु : ६२२ औपचारिक बिदामा सहभागी : ३६१ बिदाइअघि नै घर लागेका : २६१
पाँचौँ डिभिजन (२५ माघ) अयोग्य लडाकु : ४५० औपचारिक बिदामा सहभागी : २६८ बिदाइअघि नै घर लागेका : १८८
छैटौँ डिभिजन -२० माघ) अयोग्य लडाकु : ६०० औपचारिक बिदामा सहभागी : ५३० बिदाइअघि नै घर लागेका : ७०
सातौँ डिभिजन ( १६ माघ) अयोग्य लडाकु : ४६८ औपचारिक बिदामा सहभागी : ३३४ बिदाइअघि नै घर लागेका : १३४ जम्मा अयोग्य लडाकु : ४००८ बिदाइमा सहभागी लडाकु : २३९४ बिदाइअघि नै घर लागेका : १७१४ राष्ट्रपतिको भ्रमण एजेण्डा तय काठमाडांै/ मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमणको एजेण्डा तय गरेको छ । सोमबारको बैठकले नेपाल-भारत सरकारबीच हुने सम्झौताका एजेण्डा पारित गरेको हो । बैठकले राष्ट्रपतिको भ्रमणका क्रममा हवाई सेवा विस्तार, रेल्वे सेवा तथा हेटौंडामा पोलिटेक्निक निर्माणका लागि सम्झौता गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले वीरगन्जमा नेपाल-भारत मैत्री भवन निर्माणबारे सम्झौता गर्ने स्वीकृति पनि दिएको छ । राष्ट्रपति डा. यादव ३ फागुनमा २७ सदस्यीय प्रतिनिधिमन्डलसहित भारत भ्रमणमा जाँदै छन् । भारत सरकारले जयनगर-बिजलापुर, बिजलापुर-बर्दिबास, जोगवनी-विराटनगर, नौतनवा-भैरहवा तथा नेपालगन्जरोड-नेपालगन्जमा रेल्वे सेवा सञ्चालनमा सहयोग गर्नेछ । रेल्वे सेवा निर्माणमा ६ अर्ब ८० करोड भारतीय रुपैयाँबराबर खर्च लाग्ने अनुमान गरिएको छ । हेटांैडाको पोलिटेक्निकका लागि करिब २२ करोड खर्च हुने अनुमान छ । यसैगरी, मन्त्रिपरिषद् बैठकले व्यवस्थापिका संसद्को बजेट अधिवेशन अन्त गर्न सोमबार नै राष्ट्रपति डा. यादवसमक्ष पत्राचार गर्ने निर्णय गरेको छ । संसद्मा छलफलका विषयहरू सकिएको भन्दै संसदको चालू अधिवेशन अन्त गर्ने निर्णय भएको हो । बैठकले स्पेसटाइम नेटवर्कका सञ्चालक जमिम शाहको हत्या छानबिन गर्न पूर्व न्यायाधीश गोविन्द पराजुलीको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोगसमेत गठन गरेको छ । आयोगमा नायब महान्याधिवक्ताको कार्यालयका प्रतिनीधि, नेपाल प्रहरीका एआइजी, अनुसन्धान विभागका प्रतिनिधि तथा विज्ञ रहनेछन् । शाहको आइतबार दिउँसो लाजिम्पाटमा अज्ञात समूहद्वारा गोली हानी हत्या भएको थियो ।



del.icio.us
Digg
Post your comment