विज्ञको सुझाव : पर्ख र हेर
काठमाडौं, २५ माघ : निक्षेपको ब्याजमा भएको वृद्धिसँगै कर्जाको ब्याजदर बढेपछि सेयर धितोमा कर्जा लिने लगानीकर्ताहरू प्रभावित भएका छन् । बैंकहरूले कर्जाको ब्याज बढाएपछि महँगिएको कर्जाको ब्याज तिर्नुभन्दा सेयर बिक्री नै गर्नु उपयुक्त ठानेका लगानीकर्ता अहिले सेयर बेचेर ऋण तथा ब्याज तिर्न थालेका छन् । सेयर बजारमा निरन्तर गिरावट आउनु र कर्जाको ब्याजदर बढ्नुले सेयर बिक्री गर्नुपर्ने अवस्था आएको लगानीकर्ता विष्णु भण्डारीले बताए । 'मैलै बेचेको छैन, तर सेयरको मूल्यमा आएको गिरावट र बढेको ब्याजदरले मजस्ता धेरै लगानीकर्ता बिक्री गर्न बाध्य भएका छन्,' उनले भने । आफूहरू भने सेयर बजारमा सुधार ल्याउने पहलका लागि धितोपत्र बोर्डसँग अनुरोध गर्न सोचमा रहेको उनले बताए । अर्का लगानीकर्ता विनोद दाहालले सेयरको लगानीले फाइदा दिनेभन्दा ब्याजको भार बढाउने भएकाले साँवा ब्याज भुक्तानी गरेर मार्जिन पुर्याउनका लागि भए पनि सेयर बिक्री गर्नुपर्ने अवस्था आएको बताए । 'बजार घट्दै गएको छ, ब्याज भने बढेको छ,' उनले भने, 'धेरै लगानीकर्ताहरूले ऋण लिएर सेयर खरिद गरेकाले ऋणको ब्याज तिर्नुभन्दा सेयर नै बेच्नु फाइदाजनक हुन्छ ।' ब्याज एवं मार्जिन कलको रकम जम्मा गरेर तिर्नुभन्दा घाटा सहेरै भए पनि सेयर बेच्ने प्रवृत्ति बढेपछि सेयर बजारमा घट्ने दर बढेको छ । सेयर धितो कर्जामा लिइएको ऋणको ब्याज तिर्ने दिन नजिकिँदै गएकाले बजारमा उच्च दरले गिरावट आउन थालेको विश्लेषकहरूले बताएका छन् । हरेक महिनाको मसान्तमा ब्याज भुक्तानी गर्नुपर्नेमा माघ महिनाको ब्याज तिर्ने दिन नजिकिएपछि खस्कँदो बजारमा केही दिन कुर्दा मूल्य अझै तल र्झने भएकाले लगानीकताहरू अहिले नै बिक्री गर्ने मनसायमा पुगेका हुन् । पछिल्लो समयमा वित्तीय संख्थाहरूले ५ प्रतिशत बिन्दुसम्मले कर्जाको ब्याजदर बढाएका छन् । बिक्रीको चाप बढेपछि नेपाल स्टक एक्सचेन्ज -नेप्से)मा सूचीकृत कम्पनीहरूको सेयर मूल्य निरन्तर घट्दै गएको छ । साताको कारोबार सुरु भएको पहिलो दिन आइतबारदेखि घट्न थालेको नेप्से परिसूचक सोमबार झनै उच्च दरमा घटेको छ । आइतबार ३ वर्षपछि ५ सय अंकभन्दा तल झरेको नेप्से परिसूचक सोमबार थप ७ अंकले घटेर ४ सय ९० अंकबाट पनि ओर्लिएको छ । अर्थतन्त्रका सूचकांकहरू नकारात्मक हुनु, राजनीतिक दलबीच किचलो बढ्नु आदि कारणले पनि सेयर बजार झन् झन् घटिरहेको विश्लेषकहरू बताउँछन् । उच्चतम बिन्दुबाट अहिलेसम्म नेप्सेमा ६० प्रतिशतले गिरावट आइसकेको छ । आर्थिक वर्ष २०६५ भदौको तुलनामा २०६७ पुस मसान्तमा सूचीकृत सेयर संख्यामा ५३.१७ प्रतिशतले वृद्धि भएको छ । आपूर्तिमा उच्चवृद्धि भएका कारण पनि सेयर बजारमा उच्च गिरावट आएको हो । यसैगरी, पछिल्लो समयमा नयँा लगानीकर्ता थपिएका छैनन् भने भएका लगानीकर्ताहरू पनि नयाँ क्षेत्रमा लगानीका अवसर खोज्न थालेका छन् । राष्ट्र बैंकले पछिल्लो समय सेयर धितोमा ऋण दिन बैंकहरूलाई कडाइ गरेको छ । १ सय ८० दिनको औसत वा पछिल्लो कारोबारमध्ये जुन कम हुन्छ, त्यसको ५० प्रतिशत रकममात्र बैंकहरूले सेयर धितोमा ऋण दिन पाउँछन् । त्यस माथि हरेक शुक्रबार मूल्य हेरेर मार्जिन कल गर्न निर्देशन दिइएको छ । बैंकको मार्जिक कल र बढ्दो ब्याजदरका त्रासमा घाटा सहेर भए पनि सेयर बिक्री गर्ने लगानीकर्ता बढेका हुन् । पछिल्लो समय सेयर बिक्री गर्नेहरूको ठूलो चाप रहेको दलाहरू बताउँछन् । बजार घटिरहेका बेला नियामक निकाय धितोपत्र बोर्डले लगानीकर्तालाई नआत्तिन र विवेकपूर्वक लगानी गर्न आग्रह गर्नुपर्ने नेप्से महाप्रबन्धक शंकरमान सिंहले बताए । 'यस्तो अवस्थामा बोर्डले केही गर्न सक्नुपर्छ,' उनले भने, 'बोर्ड बजारको नियामक तथा संरक्षक हो ।' सोमबार नेप्सेमा कारोबार भएका बैंक, विकास बैंक, जलविद्युत्, फाइनान्स र बीमा पाँचवटै उपसूचक घटेका छन् । 'अहिले समग्र अर्थतन्त्र नै गोलमाल छ,' सेयरबजार विश्लेषक संस्था ज्याम टेक्नोलोजिजका प्रबन्धनिर्देशक अशोक महर्जनले भने, 'त्यसको असर पनि सेयरबजारमा परेको हो ।' नेपाली लगानीकर्ताहरू बजार घटेपछि आत्तिएर बिक्री गर्ने तथा बढ्न थालेपछि उच्च मूल्य तिरेरै भए पनि किन्ने प्रवृत्तिका भएकाले बजार अझै घट्ने सम्भावना भएको उनले बताए । मूल्य ह्रासले यसैगरी निरन्तरता पाउने हो भने बजार क्रयासतर्फ उन्मूख हुन सक्नेमा सबैले ध्यान दिनुपर्ने उनले बताए । अर्थतन्त्रका नकारात्मक सूचकांकका अलावा बजारमा तरलता समस्या रहेकाले पनि लगानी समस्या भएको उनको भनाइ छ । सूचीकृत कम्पनीहरूको वित्तीय अवस्थाभन्दा पनि लगानीकर्ताको मनोविज्ञानका कारण बजार घटेको उनले बताए । 'सबै आत्तिएका छन्,' उनले भने, 'बजारमा निरन्तर गिरावट आइरहेको अहिलेको अवस्थामा केही समयका लागि पर्खने नीति लिनुपर्छ ।' 'घटेको बेलामा बेच्ने होइन, केही समय पर्खेर हेर्ने अनि सुधार हुन थालेपछि कम्तीमा ६ महिना बिक्री नगर्ने मनसायले खरिद गर्नुपर्छ,' उनले भने । किनौँ, बेचौँ र कमाइहालौँ भन्ने छोटो मनोविज्ञानबाट लगानीकर्ता माथि उठ्नुपर्ने उनको सुझाव छ । लगानीकर्ता निर्मल प्रधानले पुँजीबजारको वृद्धिमा सहयोग पुर्याउने भए सरकारले मार्जिन लेन्डिङ खुकुलो पार्नुपर्ने बताउँछन् । सेयर विश्लेषक रवीन्द्र भट्टराईले बजारको गिरावटलाई नियन्त्रण गर्न कारोबारको समय घटाउनुपर्ने बताए । 'लगानीकर्ताको चाप नभएकाले ३ घन्टाको समय धेरै भएको छ,' उनले भने, 'समय घटाउँदा प्रतिस्पर्धा उच्च भई बजार कम घटन सक्छ ।' सोमबार सबैभन्दा धेरै बैंकिङ उपसूचक २ प्रतिशत -१२ अंक) भन्दा धेरैले घटेको छ । नेप्सेमा सबैभन्दा प्रभावशाली समूह मानिने बैंककै मूल्यमा उच्च ह्रास आएपछि अरू समूहका लगानीकर्तामा पनि नकारात्मक असर पर्न पुगेको हो । 'क' वर्गका कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स २ प्रतिशतभन्दा धेरैले घटेको छ । अधिकांश वाणिज्य बैंक 'क' वर्गमा पर्छन् । सोमबार स्टयान्डर्ड चार्टर्ड बैंकको प्रतिसेयर मूल्य १ सय ५१ रुपैयाँ घटेको छ भने नबिल बैंकको सेयर मूल्य १ सय ५० रुपैयाँले ह्रास आएको छ । यी दुई कम्पनी बैंकहरूमध्ये सबैभन्दा धेरै मूल्य भएका कम्पनीमा पर्छन् । सोमबारको गिरावटपश्चात दुवै कम्पनीको मूल्य क्रमशः ३०६० र २२५० रुपैयाँ कायम भएको छ । दुई वर्षअघि यी दुई बैंकको सेयर मूल्य क्रमशः ७ हजार र ५ हजार रुपैयाँभन्दा बढी थियो । धितोपत्र बोर्डले केही गर्नुपर्छ : शंकरमान सिंह महाप्रबन्धक, नेप्से
सेयर बजारको गिरावटलाई कसरी हेर्नुभएको छ ? शोधनान्तरलगायत अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक देखिएपछि सेयरबजारमा त्यसको प्रभाव पर्न गयो । त्यसमाथि सूचीकृत कम्पनीमध्ये अग्रणीस्थान ओगट्ने बैंक तथा वित्तीय संस्थाहरू रियलस्टेट लगानीका कारण जोखिममा परेका हल्लासमेत फैलाइए । सेयरबजारलाई सहयोग पुर्याउन सक्ने मार्जिक लेन्डिङ बन्देज भएको तथा सेयरधितोमा लिएको ऋण नवीकरण गर्न नपाइने, सातसात दिनमा बैंकले मार्जिक कल गर्नेजस्ता कारणले घट्न थालेको बजारलाई पछिल्ला हल्ला र सूचकांकले थप असर गर्यो । चालु आर्थिक वर्षको चार महिनाको तुलनामा पाँच महिनामा राष्ट्र बैंकले प्रकाशित गरेको समष्टिगत आर्थिक सूचकमा सुधार देखिएकाले अब सेयरबजारमा पनि त्यसको सकारात्मक प्रभाव पर्ला भन्ने अपेक्षा लिएको छु । यो मूल्य ह्रासलाई करेक्सन पनि भनिएको छ नि ? सेयरमूल्यलाई प्राविधिक दृष्टिले मूल्याङ्कन गर्दा मूल्य आम्दानी अनुपात अझै पनि उच्च छ । तर, विगतमा जुन गतिले बजार बढ्यो त्यो नजिर बनिसकेकाले अहिलेको मूल्यह्रासलाई करेक्सन भन्न लगानीकर्ताहरू सहमत छैनन् । अन्तर्राष्ट्रिय मापदण्डअनुसार मूल्य आम्दानी अनुपात १५/२० सम्म हुन ठीकै हो तर अझै पनि अधिकांश कम्पनीको अनुपात त्यसभन्दा धेरै छ । त्यसो भए अहिले बजार बढ्ने सम्भावना छ कि छैन ? सबै आधार हेर्दा तत्काल बढ्ने सम्भावना छैन । मार्जिन लेन्डिङ, सेयरधितोको ऋण नवीकरणजस्ता सुविधा दिन राष्ट्र बैंक सहमत छैन । लगानीकर्ताहरू पनि जस्तो हल्ला चल्यो, त्यसको पछि धेरै दर्गुछन् । हामीले सूचीकृत कम्पनीहरूले प्रकाशित गरेको विवरणअनुसार उनीहरूको अवस्था ठीक छ भनेर विज्ञप्ति निकाल्दा सञ्चारमाध्यमले नै अनेक दोष लगाएर प्रचार गर्छन् । त्यसैले यो अवस्थामा धितोपत्र बोर्डले केही गर्नुपर्छ । यो अवस्थामा लगानीकर्ताहरूमा आत्मविश्वास दिलाउन बोर्डको भूमिका महत्त्वपूर्ण हुनेछ । समग्र सेयरबजारको नियामक र संरक्षक भएकाले बोर्डको त्यो दायित्व पनि हो । बजार यसरी घट्नुमा लगानीकर्ताको भूमिका छैन ? लगानीकर्तालाई त्यसरी ठाडो भाषामा दोष लगाउन मिल्दैन । तर यहाँ आउने सबै राम्ररी बुझेर भने आएका छैनन् । २०६२/०६३ को जनआन्दोलन सफल भएपछि जसरी बजार बढ्यो, त्यस बेला सेयरबाट छिटो कमाइ हुने सुनेर राम्रोसँग नबुझी पनि लगानीकर्ताहरू यतातिर आकषिर्त भए । उनीहरूले कम्पनीको अवस्था राम्ररी नबुझी हावाको भरमा महँगो मूल्य तिरेर सेयर किने । त्यो उनीहरूको शिक्षा र चेतनाको कमीका कारणले हो । लगानीकर्ताले अब के गर्नुपर्छ ? अहिले पनि आत्तिइहाल्नुपर्दैन । घटेको बेला सेयर किन्ने उपयुक्त समय हुने अन्तर्राष्ट्रिय विज्ञ र विश्लेषकहरूले पनि बताएका छन् । त्यसैले लगानीकर्ताका लागि अहिले सेयर किन्ने उपयुक्त समय हो । आत्तियो भने बन्ने काम पनि बिग्रन्छ, त्यसैले आत्तिनुहुँदैन । कम्पनीको समग्र वित्तीय अवस्था हेरेर मजबुत कम्पनीको मात्र सेयर किन्ने हो लगानीकर्ताले अहिलेको बजारबाट पनि फाइदा कमाउन सक्छन् । अहिले सेयर किन्ने समय हो
निर्मल प्रधान लगानीकर्ता
सेयरबजार के कारणले घटिरहेको हो ?
यसमा सरकार र राष्ट्र बैंकको दोष छ । विश्वमा कतै पनि सेयरबजारलाई यसरी बन्धनमा पारिँदैन जस्तो अहिले नेपालमा गरिएको छ । यहाँ न मार्जिन लेन्डिङ हुन्छ न सेयर धितोमा लिएको ऋण नवीकरण गर्न पाइन्छ । लगानीकर्तासँग पनि पैसा फलाउने बोट छैन र सेयर लगानी पनि एक व्यवसायनै हो । त्यसैले यो व्यवसायमा पनि बैंकहरूले ऋण दिने गरेका हुन् । तर राष्ट्र बैंकले ऋणप्रवाहमा अत्यन्त कडाइ गरिरहेको छ । त्यसबाहेक देशका आर्थिकसूचक नराम्रो भएको समाचार आएकालेे लगानीकर्ताले विश्वाससाथ सेयरमा लगानी गर्न सकिरहेका छैनन् ।
त्यसो भए अहिले के गर्नुपर्छ बजार बढाउन ?
सरकार र राष्ट्र बैंकले प्रस्ट शब्दमा सम्बोधन गरेनन् भने सेयरबजार अझ घट्छ । अहिले सात दिनको कारोबार हेरेर बैंकहरूले मार्जिककल गर्दै आएका छन् । दुईचार रुपैयाँमात्र घट्यो भने पनि कल आउँछ । त्यसैले कल गर्ने प्रणालीलाई अहिले खारेज गरिनुपर्छ । त्यस्तै १८० दिनको औसत मूल्यको ५० प्रतिशत ऋण दिने व्यवस्थालाई ७० प्रतिशत पुर्याइदिनुपर्छ र सेयर ऋणलाई नवीकरण हुन सक्ने व्यवस्था गरिदिनुपर्छ । सेयरमूल्य अर्थतन्त्रमा जोडिएको छैन, त्यसैले यसको ह्रासले खास असर गर्दैन भन्दै सरकारका अधिकारीहरू बसिरहेका छन् । तर अर्थतन्त्रमा जोडिए/नजोडिए पनि यसमा ठूलो लगानी गरिएको छ, त्यो रकम डुब्यो भने देशमा आउन सक्ने समस्यालाई सरकारले नसोचेको देखिएको छ । सात खर्ब पुगेको बजार पुँजीकरण चार खर्बमा झरिसक्यो, यस्तै अवस्था हो भने कसैले थेग्न नसक्ने समस्या आउन सक्छ ।
यो गिरावट त करेक्सन हो भनिएको छ नि ?
मैले करेक्सन र क्रयासको कुरा गरेको होइन । न्यूनतम लगानी वातावरण चाहियो भनेको हो । मार्जिक कलमा फुकुवा, बैंकबाट ऋण लिन सहजआदि व्यवस्था गरेपछि पनि मूल्य घट्यो भने घट्न दिऊँ, त्यसमा हाम्रो आपत्ति होइन नि । जसले करेक्सन भयो भन्ने ठान्छन् उनीहरूले सेयर बेच्छन् र जसले हुन बाँकी छ भन्ने ठान्छन्, उनीहरूले किन्छन् । त्यसैले यसमा आत्तिनुपर्ने कारण नै छैन ।
यसरी मूल्य ह्रास हुनुमा लगानीकर्ताको कमजोरी छैन ?
लगानीकर्ताको कसरी भूमिका हुन सक्छ ? उनीहरूले पैसा ल्याएर यहाँ डुबाएका छन् । कसैले हावामा लगानी भयो भन्ने गरेको पनि सुनेको छु तर उसले बुझ्नुपर्ने हो, कसैले पनि आफ्ना दसनङ्ग्रा खियाएर कमाएको सम्पत्ति हावामा ल्याएर कतै पनि हाल्दैन । त्यसैले त्यो हचुवाको आरोप हो । राष्ट्र बैंक र सरकारको कमजोरीको प्रतिफल भोग्न भने लगानीकर्ता बाध्य भएका छन् ।
अहिले लगानीकर्ताले के गर्नुपर्छ ?
अहिले सकेसम्म सेयर बेच्नुहुँदैन । बरु मिलेसम्म किन्ने समय हो । आत्तिएर बेचेर सेयरबजारमा सहिद बन्नुभन्दा केही समय धैर्य गर्न सक्नुपर्छ । एक न एक दिन सेयरबजारको अवस्थाबारे सबै जानकार हुनेछन् र आजका अवरोधहरू हटाइनेछन् । त्यसैले धैर्य गर्नुपर्छ । आफूलाई विश्वास लागेको कम्पनीको सेयर किने हुन्छ ।



del.icio.us
Digg
Post your comment