'जमिमको हमने मारदिया'
हत्या भएको २१ घन्टापछि सोमबार बिहान ११ः५५ मा जमिम शाहकै कार्यालयमा फोन गरेर भारतीय डन भरत नेपालीले भने, 'उसको हमने मारदिया, इन्डियाके खिलाफ खडा होनेका सजा यही होगा' प्रहरी स्रोतका अनुसार मोटरसाइकलमा आएका दुई आक्रमणकारीमध्ये एक नेपाली र अर्का भारतीय हुन्, भारतीय नागरिकसँग नेपालको पनि नागरिकता छ
एक अनुसन्धान अधिकारी भन्छन्, 'आक्रमणकारीहरू युनुश अन्सारीलाई निशाना बनाएर भारतबाट आएका थिए, तर युनुश जेल परेपछि उनीहरुको निशाना बने जमिम' काठमाडौं,२५ माघ आइतबार अपराह्न २ः३० ः लाजिम्पाटमा सञ्चार व्यवसायी जमिम शाहको हत्या सोमबार बिहान ११ः५५ ः जमिमको स्पेसटाइम केबुलमा फोन गरेर आफूलाई भरत नेपाली बताउनेको दाबी, 'जमिमको हमने मारदिया, भारतके खिलाफ खडा होनेका सजा यही होगा ।'
११ वर्षअघि १५ असार २०५५ मा पूर्वमन्त्री तथा तत्कालीन सांसद मिर्जा दिल सादबेगको हत्या भएपछि पनि भारतीय अन्डरवल्र्ड डन छोटा राजनले यस्तै दाबी गरेका थिए । जमिमलाई मारेपछि पनि त्यही शैली र त्यही भाषामा दाबी गरिएको छ । फरक यत्ति हो, मिर्जाको हत्याको जिम्मेवारी छोटा राजनले लिएका थिए, जमिमको हत्याको जिम्मेवारी भरत नेपालीले लिएका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार भरत नेपालीले छोटा राजनसँगको वर्षौंको सम्बन्ध छोडेर आफ्नै समूह खडा गरेका छन् । स्पेसटाइम केबुलमा फोन गर्नेले नै सोमबार एभिन्युज टेलिभिजनमा पनि फोन गरेर जमिम हत्याको जिम्मेवारी लिएको थियो । 'फोन आएको खबर छ, तर त्यसैका आधारमा हत्या यसैले गरेको हो भनेर ठोकुवा गर्न सकिँदैन, अनुसन्धान हँुदै छ,' महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रमुख एसपी गणेश केसीले नयाँ पत्रिकासित भने । प्रहरी स्रोतका अनुसार शाहको हत्या गर्ने दुईजनामध्ये एक नेपाली र एक भारतीय हुन् । भारतीय नागरिकसँग नेपालको पनि नागरिकता भएको प्रहरीले पत्ता लगाएको छ । प्रहरीको उच्च स्रोत भन्छ, 'करिब-करिब सबै पत्ता लागिसकेको छ, हत्यारा केही दिनभित्रै पक्राउ पर्छन् ।' तर, घटनालगत्तै हचुवाका भरमा पक्राउ परेका सातैजनालाई प्रहरीले सामान्य सोधपुछपछि आइतबार राति नै छोडिसकेको छ । भरत नेपालीको समूहले युनुश अन्सारीको हत्या गर्ने योजना बनाएको प्रहरीले स्रोतले बताएको छ । 'तर, युनुश जेलमा परेकोले उनीहरूले टार्गेट बदले, जमिमलाई मारेे,' प्रहरी स्रोत भन्छ । ललितपुरको ताल्छीखेलमा अस्थायी बसोबास गर्दै आएका अन्सारीलाई भारतीय नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले १७ पुसमा पक्राउ गरेको थियो । उनलाई मुद्दा चलाएर जेलमा राखिएको छ । स्रोतका अनुसार युनुशको हत्या गर्न आएको समूहले युनुशलाई नभेटेपछि जमिमको दैनिकी चियो गर्न थालेको थियो । उनीहरूले दिन र स्थानसमेत पहिले नै तय गरेर हत्या गरेका हुन् । 'घटनाको अवस्था हेर्दा नै पुष्टि हुन्छ, यो सामान्य अपराधीले गर्न सक्ने काम हुँदै होइन, घटनामा पेसेवर सुटर संलग्न छन्,' स्रोत भन्छ । छानबिन गर्न, समिति नै समिति सुरक्षा कमजोरी ः प्रधानमन्त्री प्रधानमन्त्री माधवकुमार नेपालले जमिम शाहको हत्याले राजधानीको सुरक्षा कमजोर भएको पुष्टि भएको स्विकारेका छन् । उनले सुरक्षा अंगको कमजोरीले नै जमिमको हत्या-प्रयास सफल भएको टिप्पणीसमेत गरेका छन् । सोमबार अपराह्न करिब सवा चार बजेतिर जमिमनिवास पानीपोखरीमा पुगेका प्रधानमन्त्री नेपालले हत्यारालाई छिट्टै पत्ता लगाएर कारबाही गर्ने आश्वासन दिएका छन् । मृतक शाहका पिताले प्रहरीको कमजोरीले आफ्नो छोरो मारिएको गुनासो गरेका थिए । जवाफमा प्रधानमन्त्रीले भने, 'हो, सुरक्षा अंगकै कमजोरी हो, अब दोषी पत्ता लगाएर कारबाही गर्ने जिम्मेवारी सरकारको हो, तपाइर्ं ढुक्क हुनूस् ।' प्रधानमन्त्रीका साथमा वनमन्त्री दीपक बोहोरा र गृहराज्यमन्त्री रिजवान अन्सारी पनि गएका थिए । यता शाहको हत्याबारे छानबिन गर्न तीनवटा समिति बनेका छन् । सरकारले एउटा र प्रहरीले दुईवटा समिति बनाएको छ । प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी आयुक्तको कार्यालयले छुट्टाछुट्टै समिति बनाएका छन् । एउटै घटनाको छानबिन गर्न तीनवटा समिति बनेपछि कसले के गर्ने भन्नेबारे अन्योल सिर्जना हुने संकेत देखिएको छ । सरकारले शाह हत्याको छानबिन गर्न पूर्वन्यायाधीश गोविन्द पराजुलीको नेतृत्वमा पाँच सदस्यीय जाँचबुझ टोली गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टोली गठन गरेको हो । समितिको सदस्यमा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, महान्यायाधिवक्ताको कार्यालयका प्रतिनिधि र एकजना सुरक्षाविज्ञ रहेका छन् । त्यस्तै, हत्याको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले डिआइजी राजेन्द्रमानसिंह भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय 'स्पेसल टास्क फोर्स' गठन गरेको छ । टास्क फोर्समा एसएसपी रणबहादुर चन्द, एसपी मिलन बस्नेत, डिएसपी दिवस उदास र जगतमान श्रेष्ठ छन् । प्रहरी प्रवक्ता डिआइजी विज्ञानराज शर्माले हत्याको बारेमा स्पेसल टास्क फोर्सले अनुसान्धान सुरु गरिसकेको जानकारी दिए । फोर्सलाई सात दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ । यता महानगरीय प्रहरी आयुक्तको कार्यालयले पनि अनुसन्धान गर्न एसएसपी माधव जोशीको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएको छ । समितिमा एसएसपी मिलन बस्नेत, शिव लामिछाने, दिनेश अमात्य र डिएसपी प्रद्युम्न कार्की सदस्य छन् । गृहराज्यमन्त्रीले सुरक्षाका निमित्त प्रमुखलाई हपारे शाहको हत्याको विषयलाई लिएर गृहराज्यमन्त्री रिजवान अन्सारीले तीन सुरक्षा निकायका निमित्त प्रमुखहरूलाई हपारेका छन् । गृहमन्त्री भीम रावल सुरक्षा-प्रमुखहरूका साथ चीनमा छन् भने राज्यमन्त्री अन्सारीले सोमबार बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका निमित्त प्रमुखहरूलाई गृह मन्त्रालयमै बोलाएका थिए । 'उपत्यकामा दिउँसै यस्तो घटना हुँदा पनि तपाईंहरू के हेरेर बस्नुभयो ?' अन्सारीले सुरक्षा-प्रमुखहरूलाई सोधेका थिए । गृहराज्यमन्त्री अन्सारीले निमित्त प्रमुखहरूलाई हत्याबारे तत्कालै अनुसन्धान थाल्न निर्देशन दिएका थिए । बैठकमा सहभागी महानगरीय प्रहरी परिसर हनुमानढोका काठमाडौंका एसपी गणेश केसीले मन्त्री अन्सारीले घटनाको बारेमा अनुसन्धान गर्न निर्देशन दिएको जानकारी दिए । एसपी केसीले नै हत्यामा अन्तर्राष्ट्रिय अपराधी संलग्न भएको भन्दै राज्यमन्त्रीलाई 'बि्रफिङ' गरेका थिए । यसैबीच गृहराज्यमन्त्री अन्सारीले पनि शाहको हत्या हुनुमा सुरक्षा निकायको कमजोरी स्वीकार गरेका छन् । 'यस घटनामा प्रहरीको कमजोरी देखिएको छ । त्यसलाई सुधारेर अपराधीलाई कुनै पनि हालतमा पत्ता लगाएर कारबाही गर्छौं,' उनले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भने । यसैबीच पोस्टमार्टमपछि शाहको शव उनकै निवासमा राखिएको छ भने उनको बुधबार मुस्लिम परम्पराअनुसार अन्त्येष्टि हुने पारिवारिक स्रोतले जनाएको छ । यसैबीच सम्पादक समाज नेपाल र नेपाल मानव अधिकार संगठनले सोमबार छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी जमिमको हत्याको भत्र्सना गरेका छन् । सम्पादक समाजले सुरक्षित क्षेत्र ठानिएको स्थान लाजिम्पाटमा यस्तो घटना हुनुले दुःखी तुल्याएको जनाउँदै शाहप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै शोकसन्तप्त परिवारजनप्रति समवेदनासमेत प्रकट गरेको छ । 'जमिम हत्याले भारतीय सुरक्षा एजेन्सीलाई राहत ’ भारतीय मिडियाले जमिम शाहको हत्यालाई पाकिस्तानी जासुसको हत्या भन्दै समाचार दिएका छन् । भारतीय सञ्चारमाध्यमले त्यहाँको गुप्तचर स्रोतलाई उद्धृत गर्दै शाहको सम्बन्ध पाकिस्तानी जासुसी संस्था आइएसआई र भूमिगत गिरोहका नाइके दाउद इब्राहिमजस्ता भारतविरोधी शक्तिहरूसँग भएको दाबी गरेका छन् । दैनिक जागरणले 'नेपालमा आइएसआई र दाउद इब्राहिमको भित्री लडाइँको ताजा सिकार बनेका छन् जमिम शाह' भनेर समाचार प्रकाशित गरेको छ । स्पेसटाइम मिडिया नेटवर्कका मालिक जमिमलाई दाउदको दाहिने हात भन्दै उनी आइएसआईका लागि कार्यरत रहेको दाबी समाचारमा गरिएको छ । जमिमको मृत्युबाट भारतीय सुरक्षा एजेन्सीहरूले राहतको सास लिएकोसमेत समाचारमा उल्लेख गरिएको छ । भारतीय सरकारी समाचार एजेन्सी पिटिआईले समेत शाहको सम्बन्ध इब्राहिम र छोटा राजनजस्ता भूमिगत गिरोहसँग भएको दाबी गर्दै आफ्नो वेबसाइटमा समाचार लेखेको छ । त्यस्तै टाइम्स अफ इन्डियाले आफ्नो वेबसाइटमा शाहको दाउदसँग सम्बन्ध भएको दाबी गर्दै भारतले नेपाल सरकारलाई यसबारेमा सन् २००४ मा जानकारी गराइसकेको जनाएको छ ।



del.icio.us
Digg
jaya Nepal
bishal 'pandit' maryland USA
Post your comment