लोडसेडिङ, लभ र मोबाइल
बागबजारको भीडभाड र कोलाहल छिचोल्दै मोडल कलेज पुग्दा शिक्षक डिलाराम गौतम, विद्यार्थीहरू रोमालक्ष्मी भण्डारी, योजना सिंह क्षेत्री, नेलिसा श्रेष्ठ, संगीता चौधरी, प्रकाश केसी र राजन आचार्य क्यान्टिनमा जम्मा भइसकेका थिए ।
हाम्रो उपस्थितिसँगै शिक्षक गौतमले चिया मगाए । र, थप्दै भने, 'अहिलेको कलेज लाइफमा धेरै अन्तर आइसक्यो ।' उनले खानेकुराको रोजाइ र रुचिमा पनि परिवर्तन आइरहेको संकेत गर्दै थिए । 'कलेज क्यान्टिनमा कसलाई के मन पर्छ ?' हाम्रो जिज्ञासा नटुंगिदै १२ कक्षा पढ्दै गरेकी योजनाले भनिन्, 'भोकमा यही भन्ने त हुँदैन ।' रोमाले थपिन्, 'छ्या ! कस्तो नमीठो भन्दै पनि खाइन्छ ।' क्यान्टिनमा हाँसो गुन्जियो ।
'क्यान्टिनमा अरू पनि केही होला नि ?' कक्षा ११ मा अध्ययनरत राजनले प्रश्नको आशय बुझे । र, अलिक लजालु शैलीमा भने, 'हामी केटाहरू कहिलेकाहीँ केटीलाई साइड हान्छौँ ।' विद्यार्थीका कुरा सुनेर शिक्षक गौतम मुस्कुराइरहेका थिए । 'शिक्षक नि शिक्षक ?'
जिज्ञासा शिक्षकप्रति लक्षित थियो । 'धेरै त कलेजकै बारेमा कुरा हुन्छ । तर, कहिलेकाहीँ हाम्रै तहका जोक र ठट्टा पनि हुन्छन्,' शिक्षक गौतमले भने, 'अलिक बढी फुर्सद भयो भने वैवाहिक जीवनका बारेमा पनि कुराकानी हुन्छ ।'
विद्यार्थीले भने फुर्सदमा आफूहरूबीच फिल्म, म्युजिक र टेलिभिजन सोबारे कुराकानी हुने गरेको बताए । 'कहिलेकाहीँ केटाहरू र प्रेमका विषयमा पनि गफ हुन्छ,' संगीताले कुरा टुंग्याउन नपाउँदै रोमाले थपिन्, 'केटाहरूको हेयर स्टाइल, डे्रसअप, बोलाइ आदिबारे पनि कुरा हुन्छ ।' यो फेरोमा शिक्षकहरूको कुरा पनि कम काटिँदैन रे क्यान्टिनमा ।
'त्यो त झन् नहुने कुरै भएन,' योजनाको छोटो प्रतिक्रिया थियो ।
'साँच्ची, शिक्षकले कलेजमा विद्यार्थीलाई कसरी ध्यान पुर्याउँछन् ?' हाम्रो सोधाइलाई शिक्षक गौतमले यसरी जवाफ दिए, 'कलेजभित्र प्रवेश गर्नेबित्तिकै विद्यार्थीले तोकिएको डे्रस लगाएका छन् कि छैनन् ? विद्यार्थी कलेजको नीति-नियमभित्र बस्छन् कि बस्दैनन् ? विद्यार्थीको बानी-व्यहोरामा कसरी परिवर्तन आइरहेको छ ? उसको क्रियाकलाप कस्तो छ ? भन्नेजस्ता कुरामा ध्यान रहन्छ हाम्रो ।' कलेजले अनुशासन अनुगमन गर्नै भनेर सिसी क्यामेरा पनि राखेको रहेछ ठाउँ-ठाउँमा ।
विद्यार्थीहरू भने सिसी क्यामेरालाई शत्रु नै ठान्दा रहेछन् । नेलिसाले गुनासो गरिन्, 'परीक्षाको वेलामा साथीलाई सोध्न र चिट चोर्न त झनै गाह्रो पार्यो यसले ।' तर, लोडसेडिङले गर्दा सिसी क्यामेरा बन्द हुने भएकाले अहिले धेरै विद्यार्थीलाई कक्षाकोठामा हल्ला गर्न सहज भएको छ । 'मौका छोप्यो, हल्ला गर्यो,' विद्यार्थी राजन भन्दै थिए, 'लङ लिभ लोडसेडिङ !'
गपि“mदै जाँदा शिक्षकले पढाउने शैली, कक्षाकोठामा बज्ने विद्यार्थीका सेलफोन र क्लास बंकिङ्का पनि प्रसंग उठे । 'सबै शिक्षकमा पढाउने क्षमता एकै प्रकारको हँुदैन । हामी रमाइलो तरिकाले पढ्न पाइयोस् भन्ने चाहन्छौँ,' रोमाले भनिन्, 'पढाएको कुरा बुझिएन भने विद्यार्थीलाई अप्ठेरो पर्छ ।'
'क्लास बंक' गर्ने समस्यालाई निमिट्यान्न पार्न नसकिएको स्वीकारोक्ति थियो शिक्षक गौतमको । तर, उनी भन्दै थिए, 'हाम्रो कलेजमा यो समस्या त्यति ठूलो छैन । कलेजको नियम कडा छ ।'
बरु कक्षाकोठामा बज्ने विद्यार्थीको सेलफोनले शिक्षकलाई हैरान पारेको गुनासो थियो उनको । तर, विद्यार्थी भने शिक्षकको मोबाइल बज्न हुने, विद्यार्थीको बज्न नहुने भन्ने कुरा न्यायसंगत नभएको गुनासो गर्दै थिए । 'कि सबैको स्विच अफ, कि सबैको ओपन हुनुपर्छ,' विद्यार्थी प्रकाशले सुझाए, 'यसमा सरहरूले पनि ध्यान पुर्याए राम्रो हुन्थ्यो ।'
गफै-गफमा भुल्दा टेबिलमा रहेका चियाकप रित्तिइसकेका थिए । विद्यार्थीले क्लास लिनु थियो । र, शिक्षक गौतमलाई पनि व्यस्त हुनुपर्ने संकेत प्राप्त भइसकेको थियो । 'ल फेरि भेटौँला, राम्ररी पढ्नुस्-पढाउनुस्' भन्दै हामी कलेजबाट बाहिरियौँ ।



del.icio.us
Digg
Post your comment