Newsletter
Email:
Home | अर्थ | एनआइडिसीको बैंकिङ कारोबार आजबाट

एनआइडिसीको बैंकिङ कारोबार आजबाट

Font size: Decrease font Enlarge font

 

नेपाल औद्योगिक विकास निगम लिमिटेड -एनआइडिसी) ले सोमबारबाट विकास बैंकका रूपमा कारोबार सुरु गर्ने भएको छ । उद्योगमा ऋण लगानी दिने उद्देश्यले ०१६ सालमा सरकारले स्थापना गरेको कम्पनी बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअन्तर्गत विकास बैंकमा रूपान्तरण भएको हो ।

फागुन ०६० यता नयाँ लगानी नगरेको उद्योग मन्त्रालयअन्तर्गतको यस कम्पनीले अब नेपाल राष्ट्र बैंकको नियमनमा रही वित्तीय कारोबार गर्ने भएको छ । सरकार र दाताबाट ऋण तथा अनुदान लिई उद्योगमा लगानी गर्न स्थापना भएको कम्पनीले अब सबै प्रकारका निक्ष्ाेप र कर्जा परिचालन गर्ने भएको छ ।

निगमका अध्यक्ष अर्थ मन्त्रालयका सहसचिव राजन खनालले आइतबार केही समय बैंकिङ कारोबार गरेपछि 'नेपाल औद्योगिक विकास बैंक' मा रूपान्तरण हुने पत्रकारलाई जानकारी दिए । उनले बैंकलाई उद्योगबाट अर्थ मन्त्रालयअन्तर्गत राख्न प्रयास भइरहेको जानकारीसमेत दिए ।

कम्पनीमा अर्थ मन्त्रालयको ८७ प्रतिशत र बाँकी उद्योग मन्त्रालयलगायत अन्य सरकारी निकायको सेयर रहेको छ । बैंक सञ्चालन गर्दा प्राविधिक रूपले अर्थ मन्त्रालयअन्तर्गत रहँदा सहज पर्ने भएकाले सो प्रयास भएको हो । यस कम्पनीमा एक प्रतिशतभन्दा कम सर्वसाधारणको पनि सेयर रहेको छ ।

४१ करोड ५८ लाख चुक्तापुँजी रहेको कम्पनीले यही आर्थिक वर्षभित्र सर्वसाधारणमा थप सेयर जारी गरी ६४ करोड चुक्तापुँजी पुर्‍याउने जनाएको छ । अहिले ३१ लाख रुपैयाँबराबर रहेको साधारण सेयरलाई १८ करोड ४२ लाख रुपैयाँ पुर्‍याइने अध्यक्ष खनालले बताए ।

कम्पनीले विभिन्न उद्योगमा ६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकामा हाल एक अर्ब कर्जा असुल हुन बाँकी रहेको छ । राष्ट्र बैंकको निर्देशनअनुसार, ८८ प्रतिशत निष्त्रिmय कर्जा रहेको र त्यसको नोक्सानी व्यवस्था गरिएको कम्पनी सचिव पाण्डुकुमार प्रसाईंले जानकारी दिए ।

०६० सालमा २ अर्ब कर्जा रहेकामा यस अवधिमा १ अर्ब असुली भइसकेको कम्पनीले जनाएको छ । नयाँ कर्जा प्रवाह नभएको हुनाले निष्त्रिmय कर्जा ८८ प्रतिशत देखिएको र वित्तीय कारोबार सुरु गरेपछि यो अनुपात घट्दै जाने कम्पनी सचिव प्रसाईंले बताए । 'सम्पूर्ण निष्त्रिmय कर्जाको नोक्सानी व्यवस्था गरेको हुनाले अब हुने कर्जा र ब्याज असुली पूर्ण मुनाफा हुनेछ,' उनले भने, 'कम्पनीको कुनै दायित्व नभएको हुनाले वित्तीय अवस्था सबल रहेको छ ।'

आव ०६३/६४ मा कम्पनीले ८ करोड ७५ लाख मुनाफा आर्जन गरेको थियो । त्यसयताको लेखापरीक्षण यही वैशाखमा टुंग्याउने गरी काम भइरहेको कम्पनी सचिव प्रसाईंले बताए । अपरिष्कृत विवरणअनुसार, कम्पनीले चालू आवको ६ महिनामा २८ करोड सञ्चालन मुनाफा आर्जन गरेको जनाइएको छ । करिब २२ करोड सञ्चित मुनाफा, ६ महिनाको खुद मुनाफा र चुक्तापुँजीसहित कम्पनीको नेटवर्थ ८९ करोड रुपैयाँ रहेको उल्लेख गरिएको छ ।

यस कम्पनीको एनआइडिसी क्यापिटल मार्केटसमा ४६ प्रतिशत, युनाइटेड इन्स्योरेन्समा १० प्रतिशत र नबिल बैंकमा ६ प्रतिशत सेयर लगानी गरेको छ । एनआइडिसीमा २ करोड ७० रुपैयाँ लगानी गरेकामा बोनस सेयर थपिएर करिब ५ करोड ९० लाख रुपैयाँ पुगेको, युनाइटेड इन्स्योरेन्समा ३० लाख रुपैयाँ लगानी गरेकामा ३३ लाख पुगेको र नबिल बैंकमा ३० लाख रुपैयाँ लगानी गरेकामा बोनस सेयर थपिएर ९ करोड रुपैयाँबराबर पुगेको छ । एनआइडिसी क्यापिटल मार्केटले यो वर्ष ३० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । त्यसपछि कम्पनीको लगानी अझ बढ्नेछ । बजार मूल्यअनुसार विभिन्न कम्पनीमा रहेको क्रस होल्डिङ सेयर बिक्री गर्दा साढे दुई अर्ब रुपैयाँ आम्दानी हुने कम्पनीले जनाएको छ ।

 

विश्व विकास बैंकको दोस्रो साधारणसभा

काठमाडौं/ विश्व विकास बैंक लिमिटेडले चुक्तापुँजी वृद्धि गरी २४ करोड रुपैयाँ पुर्‍याउने भएको छ । पोखरामा शनिबार सम्पन्न दोस्रो वाषिर्क साधारणले प्रबन्धपत्र र नियमावली संसोधन गर्ने तथा पूँजी संरचनामा परिवर्तन गरी पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरेको हो । बैैकले छिट्टै ७ करोड २० लाख बराबरको साधारण सेयर जारी गर्ने जनाएको छ । स्थापनाकालदेखि नै ३६५ दिन बैंकिङ सेवा, सन्ध्याकालीन सेवा, सुनचाँदी धितोमा कर्जा सुविधालगायतका विभिन्न आधुनिक बैंकिङ सेवाहरू उपलब्ध गराउँदै आएको छ । बैंकले हालै कार्यालय परिसरमा एटीएम मेसिन सञ्चालन गरेको छ । मंसिर मसान्तसम्ममा बैंकले ३९ करोड ४७ लाख निक्षेप संकलन गरी ३० करोड ३३ लाख कर्जाप्रवाह गरिसकेको जनाएको छ ।

मनकामनाको नाफा ५७० प्रतिशत वृद्धि

काठमाडौं/ मनकामना डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०६६/६७ को पुस मसान्तसम्ममा ९ करोड २२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ५७० प्रतिशतले बढी रहेको बैंकले जनाएको छ । साथै आव २०६५/६६ को पुस मसान्तसम्ममा बैंकको कुल कर्जा रु. ५६ करोड १३ लाख रहेकामा आव २०६६/६७ को पुस मसान्तसम्ममा कुल कर्जा १३८ प्रतिशतले वृद्धि भई १ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी आव २०६६/६७ को पुस मसान्तसम्ममा बैंकको कुल निक्षेप ७८ करोड ८० लाख रहेको छ, जुन अघिल्लो आवको पुस मसान्तसम्मको अवधिको तुलनामा १०२ प्रतिशतले बढी हो । बैंकको पुँजीकोष पर्याप्तता अनुपात पुस मसान्तसम्ममा ३४.६९ प्रतिशत रहेको छ । अघिल्लो आवको पुस मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात ७३.५८ प्रतिशत रहेकामा चालू आवको पुस मसान्तसम्ममा ८.७४ प्रतिशतमा झार्न सफल भएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ । हाल चुक्तापुँजी ७० करोड रहेको बैंकले यही फागुनसम्ममा ३० करोडबराबरको ३० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरिरहेको छ । बैंकले साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरिसकेको छ । साधारण सेयर निष्कासनपछि बैंकको चुक्ता पुँजी १ अर्ब हुनेछ ।

त्यसपछि कम्पनी हालसम्मका विकास बैंकमध्ये सबैभन्दा बढी पुँजी हुने विकास बैंक हुने जनाइएको छ ।

नेपाल बैंकको शैक्षिक कर्जा

काठमाडौं/ नेपालको सबैभन्दा जेठो बैंक नेपाल बैंक लिमिटेडले स्वदेश तथा विदेशमा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी शैक्षिक कर्जा ल्याएको छ । पुस महिनादेखि सुरु भएको यो कर्जा लिन कम्तीमा पनि प्रमाणपत्र वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने बैंकका उपभोक्ता कर्जा-प्रमुख मीना सैँजूले जानकारी दिइन् ।

०६१ सालदेखि उपभोक्ता कर्जा दिन सुरु गरेको बैंकले पछिल्लो समयमा शिक्षा क्षेत्रका लागि योगदान हुनेगरी कर्जा सुरु गरेको हो । शैक्षिक कर्जा लिन चाहने नेपाली नागरिक कम्तीमा पनि १८ वर्ष पूरा भएको हुनुपर्ने र अभिभावक कम्तीमा पनि २५ वर्षको हुनुपर्ने बैंकले उमेर सीमा तोकेको छ । विद्यार्थी र बाबुआमाको संयुक्त नाममा प्रदान गरिने कर्जाको एक प्रतिशत रकम बैंकमा पहिले जम्मा गर्नुपर्ने प्रावधान राखिएको कर्जा-प्रमुख सैँजूले बताइन् ।

न्यूनतम ५ लाखदेखि २५ लाखसम्म ऋण लिन सकिने व्यवस्था गरिएकामा ऋणीले बैंकमा अनिवार्य रूपमा सुरक्षणबापत घर-जग्गा दृष्टिबन्धक पारित गरिदिनुपर्ने प्रावधान राखिएको छ । विदेशमा अध्ययन गर्न लाग्ने कुल खर्चको ८० प्रतिशतसम्म वा ट्युसन-शुल्क, भर्ना-शुल्क र टिकट-खर्च मात्रको एक सय प्रतिशतसम्म कर्जा दिनसक्ने बैंकले जनाएको छ ।

न्यूनतम दुई वर्ष र अधिकतम दस वर्षसम्मको कर्जा अवधि तोकिएको कर्जाको पाँच वर्षे अवधिका लागि वाषिर्क ९ दशमलव ५० ब्याजदर र दस वर्षे अवधिका लागि दस प्रतिशत ब्याजदर तोकिएको बैंकले जनाएको छ । स्वीकृत सबै कर्जा रकम एकैपटक वा पटक-पटक गरी अधिकतम चार किस्तामा अध्ययनरत शैक्षिक संस्थाको नियमअनुसार अध्ययन अवधिभित्र प्रदान गरिनेछ । बैंकले सरल र सस्तो ब्याजदरमा शैक्षिक कर्जा दिएकाले ग्राहक लाभान्वित हुने सैँजूले बताइन् । निश्चित तथा नियमित आयस्रोत भएका व्यक्तिका लागि यस्तो कर्जा उपयोगी हुने सैँजूको भनाइ छ ।

बैंकले सवारी कर्जा, घर कर्जा, मार्जिन लेन्डिङ, व्यक्तिगत आवधिक कर्जा र व्यक्तिगत अधिविकर्ष कर्जा पनि दिँदै आएको छ । ०६१ सालमा सबैभन्दा पहिले सवारी र घर कर्जा सुरु गरेको बैंकले ०६४ साल भदौदेखि व्यक्ति आवधिक तथा व्यक्तिगत अधिविकर्ष कर्जा योजना अघि सारेको थियो । अन्य उपभोक्ता कर्जाले राम्रो सफलता पाएकाले शैक्षिक कर्जा सुरु गरेको बैंकले जनाएको छ ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
5.00
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?