लेनिन जस्तै म
प्रचण्डको परिभाषामा प्रचण्ड के हो ?
खै, यो कस्तो प्रश्न हो ? (लामो हाँसो) । मैले यसरी त सोचेकै छैन ।
अब सोच्नु न ।
प्रचण्ड अलिकति ठूलो आकांक्षा राख्ने र त्यसको परिपूर्तिका लागि कठोरता र लचकताको जुनसुकै सीमामा पनि पुग्न सक्ने व्यक्ति हो भन्न सक्नुहुन्छ तपाईं । तर, यस्तो आकांक्षा निजीचाहिँ होइन । परम्पराभन्दा अलि भिन्न ढंगले जनता र देश, मानवजातिकै लागि काम गर्न चाहने मान्छे हो ।
तपाईंको स्वभाव निर्माणमा कस-कसको प्रभाव छ ?
स्वभावको परिभाषामा म माक्र्सवादी दार्शनिक प|mेडरिक एङ्गेल्ससँग बढी सहमत छु । उनका विचारमा मानिसको स्वभाव ५० प्रतिशत जिन र ५० प्रतिशत वातावरणले निर्माण गर्छ । मेरो स्वभावमा पनि जिन अनि पारिवारिक परिवेश, छरछिमेक र
स्कुलको प्रभाव छ ।
तपाईंको स्वभावको सबल पक्ष के हो ?
खुलापन, सरलता, उदारता । यसलाई तपाइर्ं सबलता पनि भन्न सक्नुहुन्छ, दुर्बलता पनि भन्न सक्नुहुन्छ ।
अनि दुर्बल पक्ष ?
एकपटक हाम्रो पार्टीमा छलफल पनि भएको थियो । ममा थोरै अस्थिर मानसिकताजस्तो झल्किने, वेलावेलामा । मानसिक रूपले तनावमा हुने । सामान्यतः त्यो पनि अलि छिटो । म घटनाक्रमबाट अलि छिटो प्रभावित हुन्छु, अरूका तुलनामा । यसको कारण मभित्रको अलि बढी संवेदनशीलता हो ।
कसैलाई हेर्ने धारणा कसरी बनाउनुुहुन्छ ?
पहिले-पहिले मेरो -धारणा) अलि फरक थियो । के भन्छ भन्नेलाई विश्वास गर्थेँ । अहिले के भनिरहेको छ भन्दा पनि के गरिरहेको छ भन्ने हेर्छु । विशेषगरी म पृष्ठभूमि हेर्छु । कुन पारिवारिक, सामाजिक-सांस्कृतिक पृष्ठभूमि भन्ने हेर्छु । उसको समग्र विकासक्रम हेर्छु, के गरिरहेको छ भन्ने हेर्छु ।
सानोमा कस्तो हुनुहुन्थ्यो ?
असाध्य सोझो । मलाई सबैले 'देउताको गाई' भन्थे । मेरा हेडसर अहिले पनि भन्नुुहुन्छ, म त्यति लजालु मान्छे राजनीतिमा कसरी पुगेँ ? बच्चाहरूको बीचमा झगडा पर्यो भने सबैले 'यसलाई सोध्नुपर्छ, यसले झुटो बोल्दैन' भन्थे । अन्तर्मुखी त होइन तर संवेदनशील र लजालु थिएँ ।
कस्तो वेला रिस उठ्छ ?
सबैको उही त हो नि । आफूले भनेजस्तो, खोजेजस्तो, सोचेजस्तो नहुँदा रिस उठ्छ । म पहिला-पहिला परिवारभित्र छिटो रिसाउने, त्यो पनि साना-साना कुरामा रिसाउँथेँ, आजभोलि लाग्दैन ।
तपाईं सधैं ँभावुक भएँ’ भन्नुुहन्छ ? साँच्चै त्यति भावुक हो त तपाईं ?
स्वभावले म अलि बढी संवेदनशील त हो । त्यसैले छिट्टै भावुक बन्छु । सामान्य सामाजिक उपन्यास पढेँ भने पनि म आफ्नो भावना नियन्त्रण गर्न सक्दिनँ । सामाजिक चलचित्रका दृश्यले मलाई छुन्छन् । जनयुद्धभरि म एक-एक साथीको बलिदानले भावुक भएको छु । म आफैँले कुनै विषय प्रस्तुत गर्न थालेँ भने त्यही विषयले पनि मलाई भावुक बनाउँछ ।
कति रुनुहुन्छ ?
कुनै खास विषयमा रुने-हाँस्ने त भइहाल्छ ।
पछिल्लोपटक कहिले रुनुभएको थियो ?
संवेदनशील विषयमा प्रवेश गर्नुभयो भने म अहिल्यै रुन बेर मान्दिनँ । -हाँसो)
बन्द कोठा र सार्वजनिक मञ्चमा तपाईंका दुई बेग्लाबेग्लै स्वभाव किन प्रकट हुन्छन् ?
यो गलत हो । के बन्द कोठा, के खुला ठाउँ ? तर, एउटा कुरा त हो नै । बन्द कोठामा कुरा गर्दा अलि कूटनीतिक, अलि शिष्टाचारपूर्ण हुन सकिन्छ । कुरा उही हो, तर जनताको बीचमा भने म सीधा-सीधा भाषामा बोल्छु । यसलाई नबुझेर केही मान्छेले त्यसो भन्न सक्छन् ।
आत्ममूल्यांकनमा तपाईंको स्वभावगत कमजोरी के हो ?
मलाई आजभोलि धेरैले बढी नबोलिदिए हुन्थ्यो, त्यसले विवाद भयो भन्छन् । साह्रै धेरै कार्यक्रममा पनि नगइदिए हुन्थ्यो भन्ने छ । मलाई यो सल्लाह ठीकै लागेको छ । यो मेरो कमजोरी नै हो जस्तो लाग्छ ।
तपाईंका सार्वजनिक अभिव्यक्ति किन विवादमा पर्छन् ?
खास विषयलाई सम्बोधन नै नगर्ने, प्रश्नमा प्रवेश नै नगर्ने हो भने विवाद हुन्न । विषयलाई तीखो ढंगले राखेपछि चिज बहसमा जान्छ । त्यसलाई मान्छेले आ-आफ्नो वर्गस्वार्थअनुसार मूल्यांकन गर्छन् ।
तपाईंका केही स्वभावगत कमजोरीकै कारण पछिल्ला दिनमा तपाईंको सार्वजनिक छविमा ह्रास आएको छ, होइन ?
म त्यसो त मान्दिनँ । जनताको बीचमा होइन, एउटा वर्ग जसलाई अभिजात पनि भन्न सकिन्छ, राज्यसत्तामा लामो समयदेखि कब्जा जमाएको सानो वर्ग पनि भन्न सकिन्छ, दलाल, सामन्त वा नोकरशाहको वर्ग पनि भन्न सकिन्छ, त्यो वर्ग सचेत ढंगले प्रचण्डको छवि बिगार्न लागेको छ भन्ने मैले बुझेको छु । किनकि मेरो छविले उनीहरूको वर्गस्वार्थमा हानि पुर्याएको छ । मेरो स्वभावमा कतिपय कमजोरीले पनि तिनलाई मद्दत पुर्याएको होला तर जनतामा मेरो छवि कमजोर भएको छैन । अहिले माओवादी नेतृत्वविरुद्ध, खासगरी प्रचण्डलाई ताकेर दुष्प्रचारको राष्ट्रिय-अन्तर्राष्ट्रिय षड्यन्त्र भएको छ, त्यसले आमजनतालाई प्रचण्डलाई बचाउन जरुरी छ भन्ने बोध गराएको छ ।
तपाईंको स्वभावलाई कोसँग तुलना गर्न सकिन्छ ?
मैले यो धेरै ठाउँमा, धेरैपटक भनेको छु कि मेरो स्वभाव मलाई लेनिनको जस्तो लाग्छ । लेनिनलाई म बढी नै आदर्श ठान्छु- आक्रमकता, लचकता, दृढता र साहसमा पनि । नीतिमै पनि उहाँ साहसिक निर्णय लिन सक्नुुहुन्थ्यो । मैले आफूलाई लेनिनसँग तुलना गर्न खोजेको होइन, उहाँ धेरै महान् हुनहुन्थ्यो । म उहाँलाई पछ्याउन चाहन्छु ।
तपाईंमा संयमको कमी छ, होइन ?
त्यस्तो होइन । आवश्यक परे म जति पनि संयम लिन सक्छु, नपरे लिन्न ।
निजी जीवनमा तपाईं कस्तो हुनुहुन्छ ?
मेरो निजी जीवन नै छैन जस्तो लाग्छ, आजभोलि त । खुसी पनि सार्वजनिक, दुःख पनि, परिवार पनि । तैपनि श्रीमान्-श्रीमतीको सम्बन्ध, बाबु-छोरा, बाबु-छोरी, बाबु-आमाको सम्बन्ध त हुन्छ नै । सामूहिक ढंगले खान-बस्न खुब रमाइलो लाग्छ ।
फुर्सदको समय कसरी बिताउन चाहनुुहुन्छ ? के भनिन्छ भने कसैको फुर्सद बिताउने शैलीले उसको स्वभावको सही मापन हुन्छ ।
हो र ? मचाहिँ सकेसम्म नयाँ-नयाँ ठाउँमा जान चाहन्छु । विशेषगरी पहाड, खोलानाला, छहराले मलाई तान्छन् । म कहिले तातोपानी, कहिले कता जाने कारण पनि त्यही हो । प्रकृतिले मलाई रिप|mेसमेन्ट गराउँछ । हाइस्कुल पढ्दा भने म खेलकुद भनेपछि मरिहत्ते गर्थें, त्यसमा पनि अझ फुटबल । स्नातक भएपछि भलिबल खेल रमाइलो लाग्न थाल्यो । मलाई लेखपढ पनि मन पर्छ ।
अहिले के पढ्दै हुनुहुन्छ ?
चिनियाँ उपन्यास 'रेड क्रयाग' दोहर्याएर पढ्दै छु ।
तपाईंको स्वभाव र राजनीति-कूटनीतिमा कति तालमेल छ जस्तो लाग्छ ?
मेरो स्वभावले कुल मिलाएर राजनीतिलाई सहयोग नै गरेको छ जस्तो लाग्छ, केही अंश छाडेर । नत्र म आन्दोलनको यो ठाउँमा आउन सम्भव थिएन । कूटनीति पनि राजनीतिमातहत नै हुन्छ । कूटनीतिमा पनि मेरो स्वभाव बाधक छैन ।
तर, पछिल्ला दिनमा भारतसँग कूटनीतिका मामिलामा तपाईं त चुक्नुभयो नि ?
त्यसो होइन । जब राजनीति नै फरक पर्छ, त्यतिखेर राजनीतिले काम गर्दैन । त्यतिखेर कूटनीति सहायक हुन्छ, राजनीति प्रधान हुन्छ । भारतसँग पनि अब कूटनीतिको चरण सकियो, त्यसैले विषय अब राजनीतिमा गयो । त्यही कुरा मान्छेले नबुझेका वा बुझपचाएका हुन् ।



del.icio.us
Digg
Tamil tiger jastai dhwasta hunechhas prachanda..
राजेन्द्र ढकाल ,मधुमल्ला,मोरङ (हाल अफ्गानिस्तान )
Post your comment