प्रभावित बासिन्दालाई एम्बुलेन्स
सिन्धुपाल्चोक/ नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले प्रभावित क्षेत्रका बासिन्दालाई सहयोग स्वरुप एम्बुलेन्स प्रदान गरेको छ । सिन्धुपाल्चोकको ज्यामिरेस्थित इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको पावर हाउसमा आयोजित एक कार्यक्रममा एम्बुलेन्स हस्तान्तरण गरिएको हो । प्रभावित गाविसका प्रतिनिधि तथा स्थानीय सरोकारवाला समूहका प्रतिनिधिको रोहवरमा कम्पनीका महाप्रबन्धक विदुरबहादुर कार्कीले स्थानीय गैरसरकारी संस्था प्रयास नेपालका प्रतिनिधिलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरे । सरोकारवाला समूहसँग भएको सहमति र कम्पनीको स्थानीय बासिन्दाउपर रहेको संस्थागत सामाजिक उत्तरदायित्व (कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी) बहन गर्ने क्रममा एम्बुलेन्स प्रदान गरिएको कार्कीले बताए । स्थानीय बासिन्दासँग मिलेर अघि बढ्ने उनले बताए । आगामी दिनमा पनि स्थानीय प्रभावित बासिन्दालाई सहयोग पुग्ने सामाजिक कार्यहरू क्षमताले भ्याएसम्म गर्दै जाने प्रतिबद्धता उनले व्यक्त गरे । इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको पावर हाउसका स्टेसन म्यानेजर वीरेन्द्र श्रेष्ठले यसअघि पनि आयोजनाले स्थानीय स्कुलमा शिक्षकको तलब, भौतिक पूर्वाधार निर्माण आदिमा सहयोग गर्दै आएको बताए । एम्बुलेन्सबाट ग्रामीण भेगका जनताले भोग्नुपरिरहेको स्वास्थ्य समस्या कम हुने विश्वास उनको थियो । एम्बुलेन्स प्राप्त गर्ने संस्था प्रयास नेपालका अध्यक्ष रविलाल गिरीले ठूलो प्रयासपछि स्थानीय जनतालाई एम्बुलेन्स प्राप्त भएको बताउँदै व्यवस्थापन समिति बनाएर एम्बुलेन्स सञ्चालन गरिने बताए । एम्बुलेन्सबाट बिरामीको अस्पतालसम्म सहज पहुँच हुने भन्दै स्थानीय बासिन्दाले खुसी प्रकट गरे ।



del.icio.us
Digg
Post your comment